ड्रिम बाबु–आमाकै

- रामजी ज्ञवाली

वैशाख २४, २०७६

बलिउडमा जस्तै नेपाली कला क्षेत्रमा पनि बुवा–आमाकै बाटो पछ्याउँदै कलाकार बनेका सेलिब्रेटी निकै धेरै छन् । कतिपय सेलिब्रेटीका सन्तान छोटो समयमै उचाइमा पुगेका छन्, जसको प्रत्यक्ष उदाहरण हुन्– अनमोल केसी ।

भुवन केसी र सुुस्मिताका छोरा अनमोल अहिलेका सर्वाधिक महँगा सेलिब्रेटी हुन् । होस्टल, गाजलु, जेरी, ड्रिम्स, कृ आदि चलचित्र दिइसकेका अनमोलले छोटो समयमै राम्रो नाम तथा दाम कमाए । अहिले उनलाई निर्माताहरूले ४०–५० लाख रुपैयाँसम्म अफर गर्छन् ।

भुवन केसी भन्छन्, ‘छोराले प्रगति गर्दा कुन बाबु–आमालाई खुसी लाग्दैन ? भुवनको भनाइ छ– अनमोल अहिले आफ्नै ढगंबाट अघि बढिरहेका छन्, उनलाई सल्लाह सुझाव दिने बाहेक मैले केही गर्नुपरेको छैन ।’

अहिलेका चर्चित अभिनेता गौरव पहाडी अभिनेता टीका पहाडीका छोरा हुन् । टीका पहाडी लामो समयदेखि चलचित्रमा सक्रिय छन् । होस्टल बस्दासम्म कहिल्यै चलचित्रमा काम गर्ने इच्छा नराखेका गौरव होस्टलबाहिर निस्किएपछि बिस्तारै चलचित्रमा अभिनय गर्ने चाहना बढ्दै गएको बताउँछन् । गौरवले अर्धकट्टी, होस्टल, मन्जरी, मिस्टर भर्जिन, रातो घर आदि चलचत्रिमा महत्वपूर्ण र प्रभावशाली भूमिका निर्वाह गरिसकेका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र साइँली केहि समय अघि प्रदर्शन भएको छ भने राम्रो प्रतिक्रिया मिलेको छ, गौरवलाई ।

अभिनेत्री केकी अधिकारी पनि चलचित्रको छत्रछायाँमै हुर्किइन् । दर्जनको हाराहारी चलचित्र तथा सयौं गीतमा देखिएकी यी सुन्दर अभिनेत्रीका बुबा हुन्– निर्देशक बद्री अधिकारी । टेलिचलचित्र तथा ठूलो पर्दाका चलचित्रमा चिनिएको नाम हो बद्री अधिकारी । सानैदेखि कला क्षेत्रमा रुचि भएकी केकी झन्डै १० वर्षदेखि मनोरन्जन उद्योगमा छिन्, उनले चलचित्र स्वरबाट पदार्पण गरेकी हुन् ।

दर्जनौं चलचित्र निर्देशन गरेका सोभित बस्नेतका छोरा सलोन बस्नेतका आधा दर्जन चलचित्र प्रदर्शनमा आइसकेका छन् । अधिकांश चलचित्रमा सहायक भूमिकामा देखिएका सलोनले छोटो समयमै राम्रो नाम कमाएका छन् । सानो छँदा बालकलाकारको भुमिकामा देखिएका सलोन चलचित्रमा राम्रैसँग जमेका छन् ।

अभिनेत्री तथा निर्देशक झरना थापा तथा निर्माता सुनिलकुमार थापाले समेत आफ्नी छोरी सुहाना थापालाई चलचित्रमा ल्याएका छन् । सुहाना अभिनीत चलचित्र ए मेरो हजुर–३ २०७५ को हिट चलचित्र मानिन्छ । पहिलो चलचित्रनै दमदार चलेपछि सुहाना मख्ख छिन्, उनका बा–आमा नहुने त कुरै भएन । सुहाना चाँडै बुबाआमाकै अर्को चलचित्र भागवत गीतामा काम गर्ने पक्का भएको छ । सुहानाले ए मेरो हजुर ३ मा अनमोल केसीसँग काम गरेकी थिइन्, यो चलचित्रमा पनि अनमोलनै हुने बजारमा चर्चा छ । सुहानाले पहिलो चलचित्रबाट निकै राम्रो प्रतिक्रिया मिलेकाले अब यो यात्रालाई निरन्तर दिने बताइन् ।

बालकलाकार अनुभव रेग्मीले सानै उमेरमा नाम कमाए । विकासराज आचार्यको चलचित्र नाई नभन्नु ल सिरिजका नियमित कलाकार अनुभवले छोटो समयमै आधा दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । अनुभवकी आमा कविता रेग्मी केही चलचित्र तथा विज्ञापनमा देखिएकी छिन् । उनका बा अरुण रेग्मी चलचित्र निर्माता हुन् । अनुभव पछिल्लो समय चम्किएका बालकलाकार हुन् ।

अभिनेत्री मौसमी मल्लका छोरा विक्की मल्लले चलचित्र समयबाट पदार्पण गरेका थिए । त्यसपछि नागबेली, साइकलजस्ता चलचित्रमा देखिएका विक्कीका चलचित्र सफल त भएनन्, तै पनि उनी अहिले एउटा नयाँ प्रोजेक्टमा पुनः देखिने चर्चा छ ।

चर्चित लोकगायिका मञ्जु पौड्यालकी छोरी स्नेहा पौड्याल अहिले म्युजिक भिडियोमा व्यस्त छिन् । यतिबेला स्नेहा राम्रो चलचित्रको खोजीमा छिन् । केही म्युजिक भिडियोमा काम गरेकी स्नेहाको अभिनयको प्रशंसा हुने गरेको छ । गायिका मन्जु पौडेलले छोरीलाई चलचित्र क्षेत्रमा ल्याउन खोजिरहेकी छिन् । मन्जु भन्छिन्, ‘राम्रो ब्यानरबाट छोरीलाई चलचित्रमा इन्ट्रि गराउन खोजिरहेकी छु ।’

अभिनेत्री रिस्ता बस्नेतकी आमा विपना बस्नेत मेकअप आर्टिस्ट, हेयर ड्रेसर हुँदै कलाकारितामा आएकी थिइन् । बिपना २०५३ सालमा हेयर स्टाइलिस्टका रूपमा काम सुरु गरेर अभिनयमा हाम फालेकी हुन् । उनले २०५३ सालमा पहिलो पटक चलचित्र पराई घरमा अभिनय गर्ने अवसर पाइन् । रिस्ताले पनि थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् । रिस्ताका बुबा दीपक क्षेत्री लामो समयदेखि खलनायकका रूपमा अभिनय कर्ममै छन् । यद्यपी पछिल्लो समय उनलाई स्वास्थ्यले खासै साथ दिएको छैन । रिस्ता पनि चलचित्रमा खासै जम्न सकेकी छैनन् ।

सोभित बस्नेतका भाई जयकिसन बस्नेत पनि लामो समयदेखि कला क्षेत्रमा सक्रिय छन् । उनकी छोरी जान्हवी बस्नेत समेत नेपाली चलचित्रमा काम गरिरहेकी छिन् । जान्हवीले चलचित्र क्षेत्रमै अघि बढ्ने इच्छा राखेकी छिन् । उनले केहि वर्षदेखी निरन्तर चलचित्रमा काम गरिरहेकी छिन् ।

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर पनि नेपाली चलचित्रमा देखा पर्दैछिन् । कविता यस्तो प्रेम कहानीबाट चलचित्रमा डेब्यु गर्न लागेकी हुन् । अमेरिकामा अध्ययन गरिरहेकी कविताले अब निरन्तर चलचित्र क्षेत्रमा काम गर्ने बताउँछिन् ।

अभिनेता गजित विष्ट तथा निर्मात्री सम्झनाका छोरा सौगात विष्टले चलचित्र हैरान निर्देशन गरे । सानै उमेरमा चलचित्र निर्देशन गरी गिनिज वर्ड रेकर्डमा नाम लेखाएका सौगातले त्यसअघि लभ यू बाबा निर्देशन गरेका थिए । चलचित्रले कमाल गर्न नसकेपनि सौगात भने निरन्तर चलचित्र निर्देशनमा अगाडी बढ्ने बताउँछन् । उनि भन्छन्, ‘चलचित्र चल्नु–नचल्नु अर्कै कुरा हो, काम निरन्तर गर्छु ।’

निर्माता छविराज ओझाका छोरा साकार ओझाले चलचित्र मंगलम तथा ड्रिम्समा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन् । उनी चाँडै चलचित्र निर्देशन गर्ने सोंचमा छन् । चलचित्र क्षेत्रमा झन्डै पाँच वर्षदेखि सक्रिय साकार आफ्ना बुबासँग काम सिक्दै अघि बढिरहेको बताउँछन् ।

गायक भक्तराज आचार्यका दुई छोरा सत्यराज आचार्य तथा स्वरुपराज आचार्य नेपाली संगीत क्षेत्रमा स्थापित नाम हुन् । संगीतकार शिलाबहादुर मोक्तान तथा गायिका कुन्ति मोक्तानका छोरीहरू शीतल र शिवानी पनि नेपाली सांगीतिक क्षेत्रमा चिनिएको नाम हो । बुवा–आमाकै पथमा हिँडेका यी दिदी–बहिनीले थुप्रै लोकप्रिय गीतमा स्वर दिएका छन् ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल गोपीकृष्ण मुभिजका संस्थापक उद्धव पौडेलकी छोरी हुन् । उद्धवका सन्तानहरू चलचित्रकर्ममै सक्रिय छन् । पौडेलले व्यवसायिक जीवनबाट अवकाश लिएसँगै आफूले सम्हाल्दै आएको गोपीकृष्ण मुभिज तथा एनएफडीसीको अध्यक्षको जिम्मेवारी निकितालाई सुम्पिएका थिए । उद्धवकै जेठा छोरा निरज पौडेलले गोपीकृष्ण मुभिजको अध्यक्षको जिम्मेबारी सम्हालेका छन् । यसका साथै चलचित्र वितरण कम्पनी क्यूव डिस्ट्रीब्युसनको जिम्मेवारी पनि उनैले सम्हालिरहेका छन् ।

उद्धवका कान्छा छोरा निरक पौडेल डेढ वर्षकै उमेरमा चलचित्रमा प्रवेश गरेका थिए । उनले सन् १९८९ मा प्रदर्शन भएको चलचित्र तिलहरीमा बाल कलाकारका रूपमा काम गरिसकेका छन् । २००९ मा प्रदर्शन भएको कुसुमे रुमाल–२ बाट निर्देशकका रूपमा उदाएका निरकले यही वर्ष चलचित्र रोज निर्देशन गरेका छन् । निरकले चलचित्र निर्देशनसँगै बुवा उद्धव पौडेलले सम्हाल्दै आएको एनएफडीसीको प्रवन्ध निर्देशकको जिम्मेवारी समेत सम्हालिरहेका छन् । उद्धवकी नातिनी समेत चलचित्र क्षेत्रमा प्रवेश गरिसकेकी छिन् । उद्धवका कान्छा छोरा निरककी छोरी आर्य पौडेलले चलचित्र रोजमा अभिनय गरेकी छिन । आर्य सवा एक वर्षकै उमेरमा चलचित्र रोजमा देखिएकी हुन् ।

सयौं गीतमा स्वर तथा संगीत दिएका शम्भुजित बासकोटाका छोरा सौर्यजित बासकोटाले सन् १९९८ चलचित्र गुरुचेलामा बालकलाकारका रूपमा काम गरेका थिए । अहिले उनी संगीतकारका रूपमा सक्रिय छन् । सौर्यजित केहि समय अघि प्रदर्शन भएको चलचित्र चौका दाउका निर्माता पनि हुन् ।

अभिनेता संजोग कोइराला पनि चलचित्र क्षेत्रमै व्यस्त छन् । उनका बुबा शेखर कोइराला निर्माता हुन् । १९९९ मा चलचित्र साथी तथा परदेशीमा बालकलाकारका रूपमा काम गरेका संजोगले उत्सव, कथा काठमाण्डौं आदि चलचित्रमा काम गरेका छन् । अभिनेता मदनदास श्रेष्ठका छोरा रेमनदास श्रेष्ठले पनि केही चलचित्रमा अभिनय गरेका छन् । उनी आधा दर्जन चलचित्रमा देखिएका छन् ।

निर्देशनक सुरज सुब्बा नाल्बोका छोरा युदिन लिम्बू नाल्बो पनि चलचित्र क्षेत्रमै सक्रिय छन् । युदिन अहिले सहायक निर्देशकका रूपमा काम गरिरहेका छन् । हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठले केही टेलिचलचित्रमा अभिनय गरेका छन् भने चलचित्र छक्कापञ्जा–३ को संवादसमेत लेखेका छन् । हास्यकलाकार हरिवंश आचार्यका छोरा मोहित आचार्यले पनि चलचित्रमा अभिनय गरिसकेका छन् । महजोडीको समेत लगानी रहेको चलचित्र शत्रुगतेमा उनको अभिनय हेर्न पाइन्छ ।

हास्यकलाकार किरण केसीका छोरा सूदन केसी पनि चलचित्र निर्देशनमा आएका छन् । उनले किरणकै निर्माण रहने चलचित्र दाल भात तरकारी अहिले प्रदर्शन भैरहेको छ ।

रेडियो नाटक, सिरियल र सिनेमामा अभिनय गरेर प्रिय बनेकी अभिनेत्री सुशीला रायमाझीको अल्पायुमै निधन भयो । ५२ वर्षको उमेरमा पाठेघरको क्यान्सरका कारण संसार छोडेकी सुशीलाको आवाज अहिलेपनि धेरैले सम्झिएका छन् । कुनैवेला उनको आवाजको माग यतिसम्म थियो की उनको आवाज नभै रेडियोमा नाटकहरु वज्दैन्थे । विस्तारै उनले चलचित्रमा देखिईन् । विस्तारै उनकी छोरी प्रसिद्धीका रायमाझी पनि अभिनय क्षेत्रमै प्रवेश गरिन् । यद्यपी उनले आफ्नो अभिनयलाई निरन्तरता दिन सकिनन् । आफ्नै आमाले निर्माण गरेको चलचित्र धनसम्पत्तीबाट प्रसिद्धिकाले चलचित्रमा डेब्यु गरेकी थिईन् ।

निर्मात्री तथा अभिनेत्री नुतन प्रधानकी छोरी ईश्वरी प्रधानले पनि आफुलाई नेपाली कला दुनियामा चिनाईन् । आमाकै वाटो पछ्याएर ईश्वरीले अभिनय थालिन् । उनकै नाममा स्थापना भएको ईश्वरी फिल्मस्को ब्यानरमा धेरै चलचित्र निर्माण भएका छन् । ईश्वरीले गायनको अनुभव पनि संगालेकी छिन् । उनैले गाएको एउटा गित मलाई बाबाको माया धेरै लाग्छ रे निकै हिट भएको थियो । सोह्रवर्षे जोवनवाट मुख्य अभिनेत्रीको रुपमा देखिएकी उनले त्यसअघि पनि धेरै चलचित्रमा बालकलाकारको भुमिकामा काम गरेकी थिईन् । उनले सोह्र वर्षे जोबान, नेपाल प्यारो छ, सरस्वती लगायतमा मुख्य अभिनेत्रीका रुपमा काम गरेकी थिईन् । इश्वरीका वुवा सम्भु प्रधान पनि निर्देशन क्षेत्रमा लामो समयदेखी संघर्षरत व्यक्ती हुन् ।

अभिनेत्री राधा लम्सालकी छोरी हुन् अरुणीमा लम्साल । नेपाली चलचित्र क्षेत्रमा झण्डैं एक दशक नियमित रुपमा देखिएकी उनी आजभोली भने खासै चलचित्रमा देखिएकी छैनन् । अरुणीमाकी आमाले पनि दर्जनौं चलचित्रमा काम गरिसकेकी छिन् । दोबाटो, पूजा, जिद्दी, सपनाको नौलो संसार, पाले दाइलगायतका सिनेमामा काम गरेकी राधासँग नेपाल राष्ट्र बैंकमा जागिर खाएको अनुभव पनि छ । यि आमाछोरीले एउटै चलचित्रमा पनि काम गरेका छन्, जुन चलचित्र हो दिप शिखा ।

चर्चित संगितकार शिलावहादुर मोक्तान र चर्चित गायिका कुन्ती मुक्तानका छोरीहरु सित्तल र सिवानी मुक्तान पनि नेपाली सांगितिक क्षेत्रमा चिनिएको नाम हो । बुबा–आमाकै पथमा हिडेका यि दुई छोरीले धेरै गित गाएका छन् ।

निर्देशक नारायण पूरीका छोरा संयम पुरी चलचित्रमा काम गरिरहेका छन् । नारायणकै निर्देशन रहेको सन् २००० को चलचित्र आगो मार्फत संयम बाल कलाकारका रुपमा चलचत्रि क्षेत्रमा भित्रिएका थिए । त्यसपछि पनि उनले केहि चलचित्रमा बालकलाकारको रुपमा देखिए । सन् २०१२ को चलचित्र सायदमा मुख्य भुमिकामा काम गर्दै उनी मुख्य भुमिकाको क्यारेक्टरको सुरुवात गरेका हुन् ।

नेपाली सांगितिक क्षेत्रमा चर्चित नाम उदितनारायण र दिपा नारायण झाका छोरा आदित्यनारायण झाले पनि केहि चलचित्रका गितमा स्वर दिएका छन् । अहिले सम्म आधा दर्जनको हाराहारी गीत गाएका उनले रणविर कपुर, दिपिका पादुकोण लगायतको अभिनय रहेको चर्चित चलचित्र रामलिला लगायतका केही बलिउड चलचित्रका गीतमा समेत स्वर दिएका छन् ।

लामो समयदेखी चलचित्र उद्योगलाई पेशा वनाउँदै आएका निर्माता प्रदिप कुमार उदय पनि वुवाकै पथमा अघि वढिरहेका छन् । द्धारिका उदय लामो समयअघिदेखी यो क्षेत्रमा थिए । चलचित्र हलका साथै उनले धमाधम चलचत्रि निर्माणमा हात राखे । हाल चलचित्र निर्माण, वितरण र प्रदर्शन गरि तिनै बिधामा सक्रिय उदय नेपाल चलचित्र संघको अध्यक्ष समेत भैसकेका छन् । उनले निर्माण गरेको चलचित्र सुभ लभ केहि समय अघि प्रदर्शन भएको थियो ।

१९९५ को मा प्रदर्शन भएको चलचित्र दाजु भाई मार्फत अभिनय यात्रा थालेकी अभिनेत्री सज्जा मैनाली हाँस्य कलाकार गोपालराज मैनाली कि छोरी हुन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेकी सज्जा अहिले भने नेपाली चलचित्रमा देखिएकी छैनन । उनी केहिवर्षअघि बिदेश पलायन भइन् ।

पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिषा बस्नेतले गत वर्ष चलचित्र क्षेत्रमा पाइला राखिन्, निरिषा जानी नजानीबाट चलचित्रमा आएकी हुन् । यद्यपी उनले कल्पना गरेको जस्तो प्रतिक्रिया भने प्राप्त भएन । वर्ष २०७५ मा अभिनेत्री उमा बेबी गिरीकी छोरी शिवानी गिरी चलचित्र कही कतै मार्फत चलचित्रमा पाइला चालिन् । यस्तैगरी, निर्देशक तथा कलाकार अशोक शर्माले छोरा अंकितलाई पनि आफ्नै बाटोमा ल्याउने तरखर गरेका छन् । उनले आगामी दशैमा प्रदर्शन हुने चलचित्र रातो टिका निधारमा मार्फत छोरालाई चलचित्र क्षेत्रमा ल्याउने तयारीमा छन् ।

हाल अमेरिकामा रहेकी अरुणीमा लम्साल कलाकार राधा लम्सालकी छोरी हुन् । आधा दशक अगाडिको समयमा अरुणीमा चल्तिकी अभिनेत्री थिइन् तर अहिले हराएकी छिन् ।

मौसमी मल्लका छोरा बिक्की मल्लले चलचित्र समय मार्फत चलचित्रमा पाइला राखेका थिए । त्यसपश्चात उनले अर्को चलचित्र साइकलमा पनि अभिनय गरे । यद्यपी निरन्तरता दिन सकेनन् । यस्तै अभिनेता शिव श्रेष्ठले पनि चलचित्र एउटा यस्तो प्रेम कहानी मार्फत आफ्ना छोरा शक्ति श्रेष्ठलाई चलचित्रमा भित्र्याउँदैछन् । हाल यो चलचित्रको काम रोकिएको छ ।

यति मात्रै होइन, बुबा–आमालाई फलो गर्ने अरु केहि कलाकारहरु पनि छन् । चलचित्र, गीतसंगीत क्षेत्रमा बुवाआमाको पथ पछ्याउने छोराछोरीको संख्या उल्लेख्य छ । घरको माहोलले छोराछोरीलाई त्यसतर्फ आकर्षित गरिरहेको पाइन्छ । अभिनयमा मात्रै होइन, नेपाली कला क्षेत्रका अन्य विधाहरुमा समेत कलाकारका छोराछोरीहरुले बुबा–आमाको बाटो हिड्ने गरेको पाइएको छ । तर, स्थापित कलाकारहरु भने धेरै कम छन् । कतिपय गुमनाम भैसकेका छन् भने कति स्थापित हुने आशामा संघर्ष गरिरहेका छन् ।

प्रकाशित :वैशाख २४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्