बाकसमा देशका कुरा

- साप्ताहिक संवाददाता

वैशाख २३, २०७६

नाट्य विधा वैकल्पिक मिडियाको एउटा विधा हो, जसको माध्यमबाट आवाजविहीनहरूको आवाजलाई मञ्चमा उतारिन्छ । व्यंग्यात्मक शैलीमा गलत कुराको भण्डाफोर तथा सही कुराको सपोर्ट गर्नु नाटकको विशेषता हो । नाट्य विधामार्फत उठाइएका विषयले समाज रूपान्तरणमा ठूलो महत्व राख्छ । 

यसै क्रममा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले एउटा नाटक लेखे र शीर्षक दिए— ‘बाकस’ । जुन नाटक वैशाख ६ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भैरहेको छ ।  शनिबारसम्म मञ्चन भएको यो नाटकले देशको वास्तविकता बोलेको छ । दुई वर्षअघि मात्र लेखिएको यो नाटकले आमाका रूपमा देशलाई प्रतिविम्बित गर्दै नेपाल आमाको वास्तविक पीडा व्यक्त गर्न खोजेको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिको जिम्मेवारी सकिएपछि सरुझक्त नाट्य क्षेत्रमा नै सत्रिय हुन खोजे । नाट्य क्षेत्रमा औधी रुचि राख्ने उनको आउजाउ पोखरा थिएटरमा बढ्न थाल्यो । त्यहाँ भैरहेका नाट्य गतिविधि अनि नाटक क्षेत्रमा आउन खोज्ने नयाँ पुस्ताको जोस देखेर उनमा पनि उत्साह थपियो । पोखरा थिएटरले नयाँ नाटक मञ्चन गर्ने तयारी गर्‍यो तर कुन नाटक मञ्चन गर्ने भन्ने निर्णय भएको थिएन । सरुभक्तले आफ्ना विभिन्न नाटकका पाण्डुलिपि थिएटरका अध्यक्ष परिवर्तन कार्कीलाई दिए । सरुभक्तका सबै नाटकमा बेग्लाबेग्लै विशेषता हुन्छन् । यतिबेला भने बाकस नाटक रोजाइमा पर्‍यो । नाटकको विषयवस्तुको गाम्भीर्यता तथा यसभन्दा अघि मञ्चन भएका नाटकभन्दा फरक शैलीको भएकाले लेखक सरुभक्तलाई यो नाटक मञ्चन हुन्छ भन्ने विश्वास थिएन तर नाटक मञ्चन गर्ने तयारी सुरु भयो । निर्देशनको जिम्मासमेत सरुभक्तलाई लिन आग्रह गरियो । २५ वर्षपछि नाटक निर्देशनमा कमब्याक गर्दै उनले नयाँ पुस्तामा हौसला थपे । निर्देशनमा परिवर्तनले उनलाई सघाए अनि तयार भयो— नाटक बाकस । 

नेपाल आमा आफ्नै सन्तानका कारण बिरामी परेको, नेताहरूले जनतालाई आफ्नो स्वार्थका लागि मात्र प्रयोग गरेको, भाषण ठूला–ठूला गर्ने तर जिम्मेवारी आउँदा एकले अर्कालाई दोष थुपार्दै पञ्छिन खोज्ने, बाध्यतावश थुप्रै नेपाली विदेश जान बाध्य भएको, विदेशबाट कोही काठको बाकसमा त कोही अपांग भएर फर्किएको कुरालाई मार्मिक ढंगले चित्रण गरिएको छ नाटक बाकसमा । पहुँचवालाले आफ्नो शक्ति कसरी दुरुपयोग गरिरहेका छन् भन्ने कुरा झल्काउने प्रयास यो नाटकमा देख्न सकिन्छ । यति हुँदाहुँदै पनि बिरामी परेकी नेपाल आमाको रोग निको भै सबै कुरामा सकारात्मक परिवर्तन आउन आशा भने अझै बाँकी भएको सन्देश नाटकमा हेर्न पाइन्छ । द्वन्द्वका कारण सोझासाझा जनता टुहुरा भएका तथा सन्तान गुमाउँदा परेको पीडालाई नाटकमार्फत देखाइएको छ । यो नाटकमा भैरव नृत्य समेत समावेश छ । १ घण्टा १५ मिनेट लामो यो नाटक हेर्दा दर्शकलाई देशको वास्तविकता स्मरण हुन्छ । विषयवस्तुलाई प्रस्ट्याउन कलाकारहरूले गरेको मेहनत प्रशंसनीय छ । 

झन्डै डेढ दर्जन नाटक निर्देशन गरेका श्रेष्ठले यसअघि २०५१ सालमा ‘अग्नि पर्खाल’ नाटक निर्देशन गरेका थिए । २०३५ सालमा बन्द खामभिक्र मुत्तक संग्रह प्रकाशनपछि औपचारिक रूपमा साहित्यिक यात्रा सुरु गरेका सरुभक्तले भने— नाटक उत्कृष्ट सावित हुन कलाकारको मेहनत जरुरी छ ।’ सरुभक्तले एकांकी र पूर्णांकी गरी झन्डै ८० वटा नाटक लेखिसकेका छन् । राजाराम पौ८ेल

प्रकाशित :वैशाख २३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्