माथि–माथि सैलुड्डेमा...

- अधिकारी रवीन्द्र

वैशाख २२, २०७६

दोलखामा थुप्रै धार्मिक तथा पर्यटकीय स्थल छन् । जिरी, कालिञ्चोक, भिमेश्वर महादेव, च्छो रोल्पा हिमताल, खरिढुङ्गा, रोल्वालिङदेखि लिएर अनगिन्ती छहरा–छाँगाले सुशोभित छ– दोलखा । गौरीशंखर संरक्षण क्षेत्र पनि यहीँ पर्छ । चर्चामा नआएको तर साह्रै मनोरम ठाउँ सैलुङका सम्बन्धमा भने धेरैलाई खासै जानकारी नहुन सक्छ । सिन्धुपाल्चोकको मुढेबाट दाहिने बाटो लागेपछि निगाले र बाघखोर, काटाकुटी हुँदै गाडीमा एक घण्टाभित्र पुगिन्छ— ढुङ्गे । ढुङ्गेबाट कालापानी हुँदै सैलुङ गए पनि हुन्छ अथवा त्यहाँबाट तेर्सो लागेर खोलाखर्क पुगी सैलुङ लागे पनि हुन्छ । कालापानी दोलखा जिल्लाको सैलुङ गाउँपालिकामा पर्छ भने खोलाखर्क रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ । दुवै बाटोबाट करिब आधा घण्टा हिंड्नैपर्छ सैलुङको टाकुरा पुग्न । ‘सै’ को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का हो । यहाँ सयभन्दा बढी थुम्का छन् ।

हरिहर कोइराला र म डेढ दिने भ्रमणका लागि भनेर बनेपाबाट बेलुकी ४ बजे हिंडेका थियौँ । ७ बजे मुढे पुगेर बास बस्यौँ र भोलिपल्ट ७ बजे बिहान त्यहाँबाट हिंडेका हामी बाटो छलिएकाले ९ बजे मात्र कालापानी पुग्यौँ । बाटोमा हेर्नलायक थुप्रै दृश्य देख्न सकिन्छ : कालिन्चोक, चरीकोट बजारदेखि तामाकोसीसम्म । अग्लाअग्ला डाँडा, दक्षिण फर्किएका देउरालीका बस्ती, पारिपट्टिका हरियो बाक्लो वन, ग्रामीण घर, बान्की परेका चौडा आलुबारीहरू बिछट्टै सुन्दर लाग्छन् । बाटो ७ मिटर फराकिलो र आरामदायक छ जहाँ बर्खा सिजनबाहेक अरू बेला सहजै साना गाडी एवं मोटसाइकल दौडाउन सकिन्छ । 

लालबहादुर दाईको जस्ताको कटेजमा केही घण्टामा माथिबाट फर्कन्छौँ भनेर खाना अर्डर गर्‍यौ र मोटसाइकल त्यहीँ राखेर उँभो लाग्यौँ । त्यहीँ वरिपरि करिब १० वटा कटेज होटल प्रयोजनका लागि बनाइँदै रहेछ । गाडी र मोटसाइकल पार्किङका लागि बसपार्क पनि बन्दै रहेछ । 

भर्खरै ढुङ्गा छापेर बाटोको स्तरोन्नति गरिएको रहेछ । गुराँसको जङ्गलबीचबाट खोस्रिएको बाटो हिंड्नुको मज्जा फागुन–चैतमा दुई गुना हुन्छ, किनभने यतिबेला विभिन्न रङका गुराँसले वनै ढकमक्क हुन्छ । हिँड्ने क्रममा करिब १५ मिनेटपछि पाइलाहरू यस्तो बिन्दुमा पुग्छन् कि जो–कोही एकछिन त हेर्‍या–हेर्‍यै हुन्छन् । सैलुङको सुन्दरता अपरम्पार लाग्छ जब एकपछि अर्को, अर्कोपछि अझ अर्को अनगिन्ती थुम्का मनै हर्ने गरी एकसाथ आँखाअगाडि उभिन्छन् । सूर्यको किरणले गालामा चुम्नै बाँकी छ र धेरै थुम्का कुइरोको घुम्टोले अझै ओझेलमा छन् । आकार फरक भए पनि सबैको रूपाकृति एउटै छन् ।

मध्यहिउँदमा ती पहाड सेतो हिउँले आँखै खाने गरी टल्किन्छन् । साउन–भदौमा फेरि हरियो घाँसको कार्पेटले डाँडाहरू छोपिन्छन् । जनैपूर्णिमामा यहाँ यही हरित पर्यावरणबीच मेला लाग्छ । चैत–वैशाखमा फेरी ती डाँडाले आफ्नो रुप फेरिसक्छन् । यतिबेला हिउँको चिसो निख्रिने सुरसार हुने भएकाले घाँसेडाँडाहरू ओइलाएर सुनौला हुन्छन् । हिउँको पग्लाइले ती थुम्काका शरीरमा असाधारण सौन्दर्य झल्काउने बुट्टे धर्काहरू खोपिएका छन् । एउटा थुम्काको आकृति ऐनामा परावर्तन भएझैँ ऐनैऐनाको जोडभित्र दुरुस्तै बान्की परेका थुम्काहरूको गल्छेडोबाट हिँड्ने क्रममा लाग्छ, म कुनै एउटा बाटो पत्ता लगाउने खेलको पात्र हुँ । 

यसरी सैलुङ्गे पहाडका थुम्काहरूले विशेषतः प्रत्येक वर्ष तीन रङ फेर्छन्– हरियो, सेतो र सुनौलो । यहाँको मुख्य पहाडको उचाइ समुद्री सतहबाट ३ हजार १ सय ५० मिटर छ, जहाँ बौद्ध स्तूप तथा दृशयावलोकनका लागि सेतो भ्यू टावर छ । यही ठाउँमा वरिपरि ढुङ्गाको पर्खालभित्र सैलुङ्गेश्वरी महादेवको आरधनास्थल छ । बौद्ध धर्मावलम्बीहरू उक्त क्षेत्रमा पुर्खाहरूको सम्झनामा दीप प्रज्वलन गर्छन् । सैलुङको दक्षिण–पूर्वी पानीढलो रामेछाप जिल्लामा पर्छ, जुन क्षेत्रमा बाघको जस्तो आकार भएको ढुङ्गा छ । त्यहीँ नजिक हिउँ पग्लिएपछि बन्ने पानी चौँरीका लागि उपयोगी होस् भनेर पोखरी बनाइएको छ । जाडो मौसममा चिसो छल्न चौँरीहरू बेसीतिरको जङ्गल जाँदा रहेछन् । जेठ–असारपछि मात्र तिनीहरू सैलुङ आएर चर्न थाल्छन् । यही सेरोफेरोको झझल्को दिने कुन्ती मोक्तानको बहुचर्चित गीत छ– ‘माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई ।’

नापी–नक्सा वा मानचित्रहरूमा महत्वपूर्ण मानिने जियोडेटिक डेटम प्वाइन्ट सैलुङमा पनि छ । सैलुङ क्षेत्रमा एउटा शिला छ जसलाई लुम्बिनीबाट फड्को हानेका गुरु पद्मसम्भवको पाइला मानिने स्थानीय जनप्रतिनिधि लालबहादुर तामाङ बताउँछन् । त्यस्तै सैलुङको तल्लो क्षेत्रमा तीनवटा गुफा छन् । सैलुङ गुफामा गणेश मन्दिर छ । गुरु रिन्पोचेले यहीँ ध्यान–तपस्या गरेको बताइन्छ । दोस्रो गुफालाई गोदावरी गुफा भनिन्छ । काटाकुटी निवासी कृष्णराज श्रेष्ठका अनुसार १२ वर्षमा एकपटक ललितपुरको गोदावरीमा लाग्ने मेलाताका यो गुफामा रहेको ढुङ्गाको कापबाट दूधजस्तै सेतो पानी आउँछ । त्यसैले यो गुफालाई गोदावरी गुफा भनिएको हो । तेस्रो गुफालाई धर्मद्वार भनिन्छ जहाँ एउटा सानो प्वाल छ । त्यो प्वालबाट जो भिक्र–बाहिर गर्न सक्छ त्यो व्यत्ति धर्मात्मा अन्यथा पापी हो भन्ने प्रचलन छ । चलिआएको किंवदन्तीअनुसार सैलुङ्गेश्वरीको दर्शन गरेपछि बास बस्न घरै आइपुग्नुपर्छ अनि त्यहाँ महादेवलाई चढाएको पैसा कसैले पनि टिप्नु हुँदैन ।

सैलुङबाट सगरमाथासहित गौरिशंखर श्रिंखला, अन्नपूर्ण, नीलगिरि, मनास्लु, लाक्पा दोर्जे, नुम्बुर आदि हिमाल देखिन्छन् । राजाधानी काठमाडौंबाट केवल १ सय २६ किलोमिटर दूरीमा रहेको यो ठाउँ प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ ।

 

प्रकाशित :वैशाख २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्