मातातीर्थ औंसीको महत्त्व

- साप्ताहिक संवाददाता

वैशाख २१, २०७६

जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी

महर्षि वाल्मिकी रचित महाकाव्य रामायणमा त्यसका मुख्य पात्र रामद्धारा उच्चारण गरिएको यो श्लोकले भन्छ : आफूलाई जन्म दिने आमा र आफू जन्मिएको भूमि बराबर स्वर्ग पनि होइन । आमाको महत्व र स्थान दर्साउन यो श्लोक नै पर्याप्त छ । त्यसैले हाम्रो समाजमा सबै भन्दा पुजनीय भनेकै आमा हुन् । आमालाई पुज्ने वा इश्वरिय आसन दिने संस्कार नेपाली वा हिन्दूहरूमा मात्र नभै संसार भरिका सबै जाति, समुदाय, सम्प्रदाय एवं धर्ममा समान रूपले व्याप्त छ ।

अझ कतिपय समाज त मातृसतात्मक परम्पराद्धारा संचालित हुँदै आएको छ । यही सेरोफेरोमा शनिबार मनाइने मातातीर्थ औंसीको महत्व यहाँ वर्णन गरिरहनु पर्दैन । हिन्दू परम्पराका दृष्टिकोणले हेर्ने हो भने मातातीर्थ औंसीका दिन आफ्नी आमा र आमातर्फका मावली पूर्वजहरूलाई तर्पण दिइन्छ । त्यसैले पनि हाम्रो समाजमा यो पर्वको विशिष्ट महत्व रहँदै आएको छ । 

मातातीर्थ औंसीका दिन नेपालमा मातृ दिवस वा आमा दिवस मनाइन्छ । यो आमालाई सम्मान गर्ने र सम्झने दिन पनि हो । हिन्दू संस्कृतिअनुसार वैशाख कृष्णपक्ष औंसीका दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसीका रूपमा चिनिन्छ । यो दिन जन्म दिने आमाको मुख हेरी गच्छेअनुसार मीठो–मसिनो ख्वाउने चलन छ । आमा नहुनेहरूले भने थानकोटस्थित गर्जुधारामाथि पहाडको फेदीमा रहेको मातातीर्थमा स्नान गरी तर्पण दिन्छन् । 

मातातीर्थसँग जोडिएको कथा

भगवान् विष्णुको सातौं अवतार मानिने मर्यादा पुरुषोक्तम श्रीराम वनवासका त्रममा घुम्दै एकदिन मातातीर्थ आइपुगे । उनलाई अपरिचित र नौलो देखेर स्थानीय बासिन्दाहरूले आक्रमण गरे । फलस्वरूप राम र स्थानीय बासिन्दाहरूबीच घमासान युद्ध भयो । युद्धले गर्दा दुवै पक्ष तिर्खाले आकुल–व्याकुल भए ।

त्यही बेला माता सीतालाई पनि प्यास लाग्यो । पानी खोज्दै जाँदा कतै पानी नभेटिएकाले भगवान् रामले गंगामाताको स्तुति गरे– ‘माता गंगासमो तीर्थ पिता पुष्कर मे वचः’ भन्ने मन्त्रोच्चारण तीन पटक गर्दै रामले जमिनमा वाण प्रहार गरेपछि वाण लागेको ठाउँमा पानीको कुण्ड बन्यो । त्यहाँ माता सीताजीले सारा ब्रह्माण्डको साक्षात् दर्शन पाउनुभयो । ब्रह्माण्डको दर्शन पाउँदा उहाँको स्वरूप कुण्डमा रहेको ढुंगामा कोरिन पुग्यो ।

अर्को कथाअनुसार कुनैबेला घना जंगल रहेको त्यो ठाउँमा गोठालाहरू गाई चराउन आउँथे । उनीहरू त्यही कुण्डको नजिकै बसेर खाजा खान्थे । ती गोठालाहरूमध्ये एण्टा गोठाला खाजा नखाई कुण्ड भएतिर मात्र जान्थ्यो ।

उसले त्यहाँ रहेको कुण्डमा आफ्नी आमाको दर्शन पाएकाले ऊ घर फर्कने वेलामा एक्लै फर्कन नमानेको र आमालाई पनि सँगै लाने इच्छा राख्दा आमाले छोरालाई हामी मृत आमाहरूको दर्शन गर्न सधैं वैशाख औंसीको दिन यो तीर्थमा आउनू भनी छोरालाई सम्झाई–बुझाई घर पठाइन् । भनिन्छ, त्यसै दिनदेखि त्यो ठाउँको नाम मातातीर्थ रहेको हो ।

विकीबाट

प्रकाशित :वैशाख २१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्