मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैन

- साप्ताहिक संवाददाता

वैशाख २०, २०७६

शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवापुस्ताकी लेखिका हुन् । उनका लेखहरूमाथि सोसल मिडिया तथा अनलाइनहरूमा चर्को बहस हुने गरेको छ । रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेकी शीतल काठमाडौंको रामकोटमा जन्मिएकी हुन् । अहिले उनी हिरो मोटोकर्प नेपालकी मिडिया कोर्डिनेटरका रूपमा कार्यरत छिन् । शीतलसँग उनको लेखन, यौन जीवनसम्बन्धी धारणा, विवाह, नारी स्वतन्त्रता आदि विषयमा साप्ताहिकको कुराकानी :

 

पहिले खुबै लेख्नुहुन्थ्यो । अहिले उति देखिनुहुन्न, केमा व्यस्त हुनुहुन्छ ? 

मैले कहिल्यै चर्चित हुनका लागि लेखिनँ, सुधार्नका लागि लेखें । यो विषयमा लेख्यो भने सुध्रिन्छ भन्ने भएपछि लेखें । मसँग जुन विषयमा तथ्य हुन्थ्यो त्यसकै बारेमा लेखें । अहिले पनि लेख्नुपर्ने धेरै कुरा छन्, कति आधा लेखेर छाडेकी छु, तर सुधार्ने कुरा के छ भन्ने कुराको ठ्याक्कै जवाफ नभेटेर रोकेको हो । नत्र लेख्न त किन छाड्नु र ?

चर्चित हुनका लागि लेख्दिनँ भन्नुभयो, तर तपाईं लेखेरै चर्चित हुनुभएको हो नि ? 

हा हा हा (लामो हाँसो) । तपार्इंहरूले मलाई चर्चित नै मान्नुहुन्छ भने त म चर्चितै हो । 

लाखौंले तपाईंका लेख पढ्थे, कस्तो प्रतिक्रिया आउँथ्यो ? 

कैयौं प्रतिक्रिया त यस्ता पनि आउँथे, जसलाई म पढ्नै सक्दिन थिएँ । एकपटक ‘मेरो जीवन, मेरो मर्जी’ शीर्षकमा लेख लेखेकी थिएँ, जसमा मैले बच्चा जन्मियो भने पहिलो हक आमाको हुन्छ, बाबु भनेको त आमाले चिनाइदिने व्यक्ति हो भनेर लेखेकी थिएँ । उक्त लेखमा यति गाली आएको थियो कि म गाली पढ्दापढ्दै सिरियस भए, यतिसम्म सिरियस कि झन्डै फेड हुने अवस्था सिर्जना भयो । कतिसम्म भने मलाई मात्र होइन, मेरी आमा र बुबासमेतलाई गाली गरिएको थियो । मेरो साथीले तिम्रो काम लेख्ने हो, गाली पढ्ने काम तिम्रो होइन भनेर सम्झाएपछि बल्ल म नर्मल भए । उसले गालीबाट प्रभावित हुन्छौं भने तिमीले किन लेख्ने ? तिमीले आफ्नो लेखबाट अरूलाई प्रभावित तुल्याउने हो, यसरी सिरियस हुने होइन भनेर सम्झाएपछि म ठीक भए । त्यसपछि मैले कति धेरै लेख लेखे, तर कमेन्ट कहिल्यै पढिनँ । अहिले पनि म लेख लेख्छु, कमेन्ट पढ्दिनँ । लेख त म आफ्नो मर्जीले लेख्छु, गाली त उनीहरू आफ्नो मर्जीले गछनर्् । म उनीहरूको मर्जीको गाली किन खाउँ ? त्यसकारण अहिले म कमेन्ट हेर्दिनँ । 

कतिपयले तपाईंको लेखनलाई सेक्सिलो लेखन भनेर कमेन्ट गर्छन् । आफैंलाई चाहिँ कस्तो लाग्छ ? 

सेक्स भन्ने कुरा म मेरो हरेक लेखमा आओस् भन्ने चाहन्छु । मेरो जीवनमा त्यो कुराको एकदमै महत्व छ । यदि त्यो कुरा बुझिएन भने मलाई जीवन अधुरो हो जस्तो लाग्छ । जब जीवन नै अधुरो हुन्छ जस्तो लाग्छ भने म एउटा लेख्न रुचाउने मान्छेले त्यो कुरालाई किन छुटाउँछु ? त्यसैले यो प्रश्नबाट मलाई झन प्रेरणा मिल्यो । मलाई सेक्सका बारेमा लेख्ने, खुल्ला कुरा गर्न चाहने मान्छे भनेर चिनाउनुभयो भने म त्यसलाई सगर्व स्वीकार गर्छु । 

लेखनमा यौनलाई कलात्मक तरिकाले प्रस्तुत गर्नुहुन्छ ? कसरी सीप चल्छ ?

(लामो हाँसो..) । हेर्नुस् जब कसैले त्यो कुरालाई सम्मानका साथ स्वीकार गर्छ र अनुभव हुन्छ नि तब त्यो मानिसले लेख्न सक्छ, भिड्न सक्छ । आफ्नो जीवनमा खत्रा राम्रो यौनसुख भोग गरेको छ, यौन शिक्षा पाएको छ, यौनको परिभाषा बुझेको छ भने अरूलाई पनि बुझाउन सक्छ । जब आफ्नै जीवनमा उसले कहिल्यै यौनसुख पाएको छैन, यौनको परिभाषा बुझेको छैन, यौन सन्तुष्टि पाएको छैन भने त्यो मानिसले न लेख्न सक्छ न त्यसको अनुभव भन्न सक्छ । 

भनेपछि अनुभव र बुझाइले मानिसलाई लेखनमा परिपक्व बनाउने हो ? 

म यो शताब्दीको ३६ वर्ष पुगेकी केटी मान्छे हुँ । त्यसकारण तपाई मबाट यौनको अनुभवै पाएको छैन भन्ने अपेक्षा नगर्नुहोस् । 

यौनका बारेमा गम्भीर खालका लेखहरू पनि लेख्नुभएको छ । त्यस्ता लेख लेख्ने कन्सेप्ट कसरी तयार गर्नुहुन्छ ? 

कन्सेप्ट फुर्नेभन्दा पनि म हरेक लेख सुधार्नका लागि लेखिरहेकी हुन्छु । एउटा लेख, ‘सहभागिता हो यौन सम्बन्ध ः गिभ एन्ड टेक’ भन्ने थियो । मैले के भनेकी थिएँ भने सहभागिता त हो नै, साथै म्यासेज पनि के थियो भने अझै पनि लाखौं महिला छन्, जो लोग्नेसँग शारीरिक सम्बन्ध राख्न नचाहेको कुरा भन्न सक्दैनन् । नेपालमा मात्र होइन, दक्षिण एसियाकै महिलामा म एउटा योनि भएको वस्तु हुँ र मेरो लोग्नेले उपभोग गर्छ भन्ने छ । मैले नाइँ भन्न पाउँछु, नाइँ भन्न सक्छु, नाइँ भन्दाभन्दै पनि जबर्जस्ती ग¥यो भने त्यसका लागि कानुन पनि छ भन्ने त धेरै परको कुरा हो । सम्मान गर्दा यसका राम्रा पक्षहरू पनि छन्, तर नेपालमा त एउटी स्वास्नीले आफ्नो लोग्नेसँग मन नलागेको भन्न पनि सक्दिनँ, यो कुरा सुधार हुनुपर्छ । 

तपाईं महिला अधिकार र यौनका सम्बन्धमा महिला–पुरुष बराबरी सहभागिताको एड्भोकेसी गर्नुहुन्छ । एउटी महिलाका लागि ड्रिम यौन जीवन कस्तो हो त ? 

ड्रिम यौन जीवनको परिभाषा म दिन सक्दिनँ, मलाई थाहा छैन । यो हरेक मानिसपिच्छे फरक–फरक होला । अहिलेको अवस्थामा नेपाली महिलाहरूका लागि मन नलागेको दिन लोग्नेसँग सुत्न नजान ऊ स्वतन्त्र हुनुपर्छ । जब ऊ स्वतन्त्र हुन्छे नि बल्ल त्यसपछि उसको ड्रिम के हो भन्ने कुरा आउँछ । जब कि यहाँ त सुत्नका लागि नै मन्जुरी छैन भने कसरी उसलाई मज्जा हुन सक्छ ? कसरी उसले प्लेजर पाउन सक्छे ? 

यौनजीवनका विषयमा कुरा गर्नै लजाउने हाम्रो जस्तो संकीर्ण समाजमा कमै महिलाले यौनमाथि कलम चलाउँछन् । तपार्इंमा त्यो आँट कहाँबाट आयो ? 

म के भन्छु भने केटीमान्छे सबैभन्दा पहिले आफ्नो खुट्टामा उभिनुपर्छ, तबमात्र उसले आफ्ना बारेमा फैसला गर्न सक्छे । म गएको चार–पाँच वर्षदेखि लगातार लेखिरहेकी छु, कहीं म यौनका कुरा लेख्छु, कहीं महिला स्वतन्त्रताको कुरा । म किन लेख्न सक्छु भने म आफ्नै पैसाले भाडा तिरेको घरमा बस्छु, म बिहान उठेर आफँले कमाएको पैसाले ब्रेकफास्ट खान्छु, दिउँसो लन्च पनि आफ्नै पैसाले गर्छु । लक्किली मैले यो सव पाएँ । जब यौनका बारेमा लेख्नुपर्छ तब केटीमान्छेले झन् बढी कमाइ गर्नुपर्छ, यहाँ समाजले नचाहेको कुरा बोल्नु भनेको समाजबाट अस्वीकृत हुनु हो । अस्वीकृत हुनु भनेको सपोर्ट नहुनु हो । बुबाको इच्छाअनुसार नचल्दा उहाँले खर्च दिनुहुन्न । दाइले सपोर्ट गर्न छाड्छ, किनभने उसको इच्छा बहिनी एकदमै साधारण होस्, भनेको मानोस् अथवा घरपरिवारले रोजेको केटासँग खुरुक्क जाओस् भन्ने हुन्छ । म त गइनँ, बरु दाइहरूको जस्तै मलाई पनि अंश चाहिन्छ भनेर बसे भने दाइबाट पनि अस्वीकृत भए । त्यसकारण मैलेजस्तै लेख्न चाहने अथवा यौन र स्वतन्त्रताको विषयमा लेख्न चाहनेले त पैसा कमाउन अझ जरुरी छ । पैसा कमाउनु भनेको आफ्नो खुट्टामा उभिनु हो । जब मानिस आफ्नो खुट्टामा उभिन्छ भने उसले लेख्छ मैले त यो कुराको सुख पाए, सुविधा पाए, ज्ञान पनि पाए मैले पाएको ज्ञान अरूलाई किन नदिने भन्ने कुराका बारेमा उसलाई चेतना हुन्छ र भन्न सक्छ, लेख्न सक्छ । आफ्नो खुट्टामा नउभिएका कुनै पनि केटीले सेक्स, स्वतन्त्रता र आफ्नो पार्टनरका बारेमा कुरा गर्न सक्दैनन् ।

महिलाको यौन स्वतन्त्रता पनि आर्थिक आत्मनिर्भरतासँग जोडिएको छ भन्न खोज्नुभएको हो ? 

हो, एकदमै जोडिएको छ । आर्थिक आत्मनिर्भरता पनि शिक्षासँग जोडिन्छ । अहिले २४ वर्षमा त अनिवार्य रूपमा विवाह गर्नुपर्छ । विवाह गरेपछि सन्तान जन्मिन्छन्, त्यसपछि स्याहार्नुप¥यो । कुनै कम्पनीमा काम गरिरहेको छ भने त्यसमा ब्रेक लगाउनुपर्छ । परिवारले बच्चा पाइसक्यौ अब अफिस नजाऊ, तिम्रो श्रीमान्ले कमाइहाल्छ भनेर फकाइन्छ । त्यसपछि उनले भएको काम पनि छोडछिन् । जानी÷नजानी समाजले केटीमान्छेलाई अघि बढ्न दिँदैन, त्यस्तै केटीमान्छे पनि मलाई समाजले ठीकै गरेको त होला भन्ने भ्रममा बस्छन् । अहिले जे भैरहेको छ, न त्यसले केटीमान्छेलाई फाइदा गरेको छ न त केटाहरूलाई नै । 

आफँ यति खुल्ला हुनुहुन्छ, लेखनमा पनि त्यत्तिकै खुला भएर पोखिनुहुन्छ । विवाह नहोला भन्ने तनाव भएन ? 

हो, मेरो एक जना नजिकको साथीले एकदमै रिसाएर गाली गर्दै अब तेरो विवाह हुने सम्भावना जिरो भयो भन्नुभा’थ्यो । उहाँले यस्तो लेखिसकेपछि कसैले पनि तसँग विवाह गर्दैन भन्नुभा’थ्यो, तर विवाहका बारेमा म यति क्लियर थिए कि जो मलाई एउटा हेडलाइन देखेर विवाह गर्न आउँछ, त्योसँग मचाहिँ कहाँ विवाह गर्छु र म पनि विवाह गर्दिनँ । कमसेकम म त्यति लेख्दाखेरि पनि आफ्नो खुट्टामा उभिएकी थिए । हरेक लेखनमा आफ्नो खुट्टामा उभिएको छु भन्ने कुराले मलाई जाँगर दिन्थ्यो । मैले लेखिरहन सक्नुको कारण पनि त्यही हो । 

तपाईंको लेखनका पाठक पुरुष बढी छन् कि महिला ? 

मेरो लेखनका पाठक पुरुषभन्दा बढी महिला छन् । केटीहरूले मलाई यति धेरै म्यासेज गर्छन् । त्यसमध्ये एउटी बहिनीले मलाई म्यासेज गर्नुभएको थियो, ‘शीतल दिदी, म तपाईंलाई चिन्दिनँ तर मैले म्यासेज गरें । म तपाईका आर्टिकलहरू पढ्छु, पढिसकेपछि अन्तिममा तपाईंभित्र म छु कि जस्तो लाग्छ ।’ मैले त्यसको स्क्रिन सट नै राखेकी छु । 

महिलाहरूको इमोसन कसरी टिपेर ल्याउनुहुन्छ लेखनमा ? 

मेरा साथीहरूमध्ये एक–दुई जनाको डिभोर्स भयो, एक–दुई जनाको वैवाहिक जीवन विवादमा बितिरहेको छ भने एक–दुई जना अविवाहित नै छन् । म त्यो सम्मिश्रणमा छु । उनीहरूको गन्थन–मन्थन सुन्दा मलाई सुधार्नुपर्ने धेरै कुरा छन् जस्तो लाग्छ । सुधार्ने प्रयास हुनु जरुरी छ जस्तो पनि लाग्छ । म एकदमै चेतनशील महिला हुँ । मसँग चेतना हुनु भनेको त्यसलाई म आफैंमा सीमित गर्नु हो जस्तो लाग्दैन, मसँग कुनै राम्रो कुरा छ भने मैले त्यो कुरा भन्नुपर्छ । अब भन्ने माध्यम लेखन नै हो । भाग्यले पाठकहरूले मन पनि पराइदिनुभयो । हामी नेपाली महिलाहरू कस्तो अवस्थामा छौं भने न हामी आफ्नो शरीरका बारेमा कुरा गर्न सक्छौं, न रहरका बारेमा । हामीलाई तेरो शरीर यस्तो हो, तैले यस्तो गर्नुपर्छ भनेर बताइएको छ । 

नेपाली केटाहरूको मनस्थिति कस्तो पाउनुभएको छ ? 

एकदम दुःखद कुरा भन्नुपर्छ, मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमैै छैनजस्तो लाग्छ मलाई । 

साँच्चै त्यस्तो अनुभव गर्नुभएको हो ? 

अँ साँच्चै । त्यो खालको चेतना मैले नेपाली केटाहरूमा फेला पारेकी छैन । भेट्छु, केही मानिसहरू भेट्छु तर अझै सुधार्नुपर्नेछ । ऊ कही न कही अलमलिएको छ, मेरो कुरालाई लिएर ऊ अलमलिन्छ । एउटा केटा मसँग विवाहका लागि कुरा गर्न आएको थियो । उसको भनाइ यसअघि जे–जे भयो–भयो, अब लेख्न छोडिदेऊ न त भन्ने थियो । 

जुन कुरा म कल्पना पनि गर्न सक्दिनँ । मैले उसलाई फिर्ता पठाइदिए । यदि यही अवस्था रह्यो भने मलाई त के घाटा लाग्ला केटाहरूलाई नराम्रोसँग घाटा लाग्छ । भन्नुको अर्थ मसँग विवाह गर्नुप¥यो भन्ने होइन, तर उनीहरूलाई धेरै सुधार्नुपर्ने जरुरी छ । 

कस्तो यौन सम्बन्ध हुनुपर्छ ? 

मैले चाहेको साझेदारीपँर्ण यौन सम्बन्ध हो । त्यो पनि सहभागितापँर्ण अर्थात् साझेदारीमा हुने यौनसम्बन्धको कल्पना गरेकी हुँ मैले । 

कस्ता केटाले तपाईंलाई तान्छ ? 

म चेन्ज भैरहन्छु । म १७ वर्षमा जसलाई मन पराउँथे, त्यो केटासँग बसेर अहिले चिया पनि पिउन चाहदिनँ, २४ वर्षमा जसलाई मैले मन पराएँ त्यसलाई हेर्नै चाहदिनँ । २८ वर्षमा जसलाई मन पराए, त्योसँग छ–सात वर्षपछि मैले आएर कुरा गरें । यो बीचमा मैले चार–पाँच जना केटालाई मन पराएछु । १७ वर्षदेखि ३६ वर्षको १९ वर्षको ग्यापमा मलाई चार जना केटा मन परे । अहिले फर्केर हेर्दा १७ वर्षको उमेरमा मलाई जुन केटा एकदमै मन पथ्र्यो, जसलाई म लुकीलुकी हेर्थें, अहिले त्यो केटा मेरो अगाडि आए पनि हेर्न चाहँदिनँ । मलाई त्यो इच्छा नै छैन । १९ वर्षको अन्तरमा ममा यति धेरै चेन्ज आएकोछ भने अब म यस्तै खालको केटा मन पर्छ भनेर कसरी भनँँ ? 

 

तपाईंको ड्रिम ब्वाइ कस्तो हो ? 

मैले खाँटी कल्पना गरेको ड्रिम ब्वाइ त छैन, तर मलाई केटी मान्छेको अस्तित्व स्वीकार गर्ने पुरुष मन पर्छन् । 

अस्तित्व भनेको के ? 

अस्तित्व भनेको शरीर मात्र होइन, उसको निर्णयलाई स्वीकार गर्ने केटा मन पर्छ । म अहिले पनि तिमी आफँलाई सुधार भन्नेसँग चिया पिउदिनँ । म ३६ वर्ष उमेर पुगेको, पढेलेखेको, जागिर खाएको अनि राम्रो चेतना भएको मान्छे हुँ । मलाई आज आएर कुनै पनि केटाले सुधार्न सक्दैन । उसले सुधार भन्छ भने ऊ गलत हो । म उसलाई भन्छु, तिमीलाई सुधार्नुपर्नेछ, तिम्रो मानसिकता गलत छ । मलाई मेरो अस्तित्व स्वीकार गर्ने पुरुष मन पर्छ । 

शारीरिक सुन्दरताले आकर्षिक गर्छ ? 

यसमा केटीमान्छे र केटामान्छेको भावना फरक हुन्छ । आजसम्म हामी केटी मान्छेले के बुझेका छौ भने केटामान्छेलाई केटी भए पुग्छ । केटाहरूले के भन्छन्, थाहा छैन । हामी सामान्यतः केटालाई केटी भए पुग्छ भन्छौं । मैले भनेको केटालाई केटी भएर पनि पुग्दैन, केटीलाई केटा भएर पनि पुग्दैन । प्रेम हुनुप¥यो, सम्मान हुनुप¥यो । एक–अर्काको प्रगतिमा रमाउन सक्ने हुनुप¥यो । त्यसपछि कुनै सम्बन्ध हुन्छ भने त्यहाँ शरीरको कुनै महत्व हुँदैन । त्यो दुई जनाबीचमा त आत्माको प्रेम हुन्छ । आत्माको मिलन हुन्छ, जब आत्ममिलन हुन्छ दाह्री भए÷नभएको, अग्लोहोचो भन्ने प्रश्नै हुँदैन । मैले गर्ने प्रेममा त्यहीं हो । म कुनै केटाको अनुहार हेरेर प्रेम गर्ने केटी होइन, म आत्मालाई प्रेम गर्ने मान्छे हुँ । 

विवाह कहिले गर्नुहुन्छ ? 

विवाहका बारेमा पनि मेरो आफ्नै धारणा छ । विवाह गराइने कुरा होइन, हुने कुरा हो । विवाह बन्धन होइन । हाम्रो चलनमा जुन विवाह भन्ने संस्था छ, त्यसलाई करेक्सन गर्नुपर्छ । जबसम्म यो विवाह भन्ने संस्था सुध्रिँदैन, तबसम्म मलाई विवाह गर्ने इच्छा छैन र म गर्दिनँ पनि । मलाई विवाहका रूपमा चलिरहेको संस्थाप्रति भरोसा छैन । मलाई भरोसा हुन यो चलन सुध्रिनुप¥यो । 

के सुधार आवश्यक छ विवाहमा ? 

विवाह कसैले गराइदिएर हुने कुरा होइन, विवाह आफैं हुने हो । ३२ वर्ष पुगेको केटालाई केटी खोजेर तपाईंले विवाह गराउन सक्नुहुन्छ ? त्यो उमेरको केटाले आफ्नो विवेकले जुन केटीसँग जीवन बिताउन चाहन्छ, जुन केटी मन परेको हुन्छ, जो केटी उसले स्वीकार गरेको हुन्छ त्यसैसँग विवाह हुने हो । नचिनेको मान्छेसँग साँझ गएर शारीरिक सम्बन्ध राख्ने हामी कस्तो संस्थामा बसिरहेका छौं ? अहिले पनि हाम्रो वरपर कसरी विवाह हुन्छ भने केटाकेटीले एकपटक भेटेका हुन्छन्, विवाहको फैसला बाबुआमाले गर्छन् । त्यसपछि इन्गेजमेन्ट हुन्छ । विवाहको रात गएर उनीहरू सँगै सुत्छन् । कसरी गर्न सक्छन् त्यस्तो ? विवाह भन्ने संस्थामा त्यही कुरा सुधार्नुपर्छ । जुन मानिससँग जिन्दगी बिताउनु छ, त्यो मान्छेलाई के मन पर्छ÷के पर्दैन, साकाहारी हो कि मांसहारीजस्ता आधारभँत कुरा नसोधी राति त्यो मान्छेसँग गएर सुत्नुपर्छ र लुगा खोल्नुपर्छ । योभन्दा झुर कुरा के होला ? जुन मानिसलाई जिन्दगी बिताउनेको भावना थाहा छैन, जात, पढाइ, गोत्र मिलेको त हुन्छ तर सबैभन्दा मिल्नुपर्ने त मन हो, मन मिल्नुप¥यो नि । सबै कुरा मिलाउँछन्, तर मन मिल्ने नमिल्ने कसैलाई थाहा हुँदैन । हामीलाई विवाह भन्ने संस्था चाहिन्छ, तर सुधार गरिएको विवाह संस्था त चाहिन्छ । 

मागी विवाह खारेज गर्नुपर्छ, लभ म्यारिजलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हो ?

मागी विवाहका फाइदा भनिदिनुहोस् न त, मैले लभ म्यारिजलाई प्रोत्साहित किन नगर्ने ? 

परिवारले उनीहरूको भविष्य सुनिश्चित गरिदिएको हो भनिन्छ नि त ? 

जसको वर्तमान नै राम्रो हुँदैन, उसको फ्युचर कसरी राम्रो हुन्छ ? त्यस्तो कुरा गरेर हुन्छ, हामीले त वर्तमानमा बाँच्न सिक्ने हो । वर्तमान राम्रो भएपछि पो भविष्यको योजना बनाउन सकिन्छ । विवाह गर्ने केटी–केटी कस्ता छन् एक–अर्कालाई थाहै छैन, उनीहरूले कसरी भविष्यको योजना बनाउँछन्, बरु अहिले पनि हामीभित्र छँवाछुत देखिन्छ । अहिले पनि बाहुनले क्षेत्रीसँग लभ गरेर विवाह गर्न झगडा गर्नुपर्ने अवस्था छ । हामी त जात हेरेर विवाह गर्छौं, बाउको सम्पत्ति हेरेर विवाह गर्छौं, केटाको सर्टिफिकेट हेरेर विवाह गर्छांैं । केटी कति राम्री छे, कति लामो कपाल छ, कतिको सर्लक्क परेकी छे, भोलि घरमा आएर काम गर्न सक्छे कि सक्दिन जस्ता कुरा हेरेर विवाह गर्छौं । मेरी प्रेमिका हो, प्रेमी हो भनेर कसले खोजेको छ र ? यहाँ त लोग्नेस्वास्नी खोज्या छन् । घरपरिवार र गाउँले मिलेर विवाह गरिदिन्छन्, सँगै बस्छन्, अनि सन्तान हुन्छन् । हामीले जीवन नै कहाँ जिएका छौं, हामीले त केवल विवाह भन्ने संस्था जोगाइदिइरहेका छौं । 

भनेपछि, नेपालीहरूको यौनजीवन खुसी छैन ? 

अहँ, म त देख्दिनँ । मेरो आँखाले सुख देख्दै देख्दैन, केवल निराशा मात्र छ । 

प्रकाशित :वैशाख २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्