गाउँ सर्दै साइबर क्राइम

- जनक तिमिल्सिना

वैशाख २०, २०७६

साइबर कानुन तथा सोसल मिडिया प्रयोग सम्बन्धित शिक्षा एवं जनचेतनाको अभावका कारण गाउँमा साइबर क्राइमका घटना बढ्न थालेका छन् । 

१२.कात्तिक २०७५ मा दोलखाकी एक ३९ वर्षीया महिला रमा (नाम परिवर्तन) महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी लिएर पुगिन् । अविवाहित ती महिलाले आफ्नो उजुरीमा उकेश (नाम परिवर्तन) ले आफ्नो फेसबुकमा अश्लील म्यासेज तथा अश्लील तस्बिर पठाएर चरित्रहत्या गरेको उल्लेख गरेकी थिइन । ‘मलाई उनले म्यासेन्जरमा कल गर्थे, पछि म्यासेन्जरबाट अश्लील म्यासेज पठाउने, अश्लील फोटो पठाई मेरो चरित्रहत्या गर्ने काम गरे,’ रमाले आफ्नो उजुरीमा भनेकी छिन् । उनले त्यस्ता म्यासेज तथा फोटोले बदनाम गर्ने, बेइज्जति गर्ने, मान प्रतिष्ठामा आँच पुर्‍याउने र परिवारमा बिखण्डन ल्याउने तथा सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरी मानसिक तनाव दिने अमर्यादित कार्य गरेकाले विद्युतीय कारोबार ऐनबमोजिम कारबाही गर्न तथा क्षतिपूर्ति भराइदिन आग्रह गरेकी छिन् । 

रमाको उजुरीपछि प्रहरीले उक्त घटनामाथि अनुसन्धान थाल्यो । पर्वत घर भएका ३८ वर्षका उकेशले उनलाई फेसबुक म्यासेन्जरमार्फत अश्लील म्यासेज तथा तस्बिर पठाएर हैरान गरेको खुल्न आयो । २४ कात्तिकमा ती युवक पक्राउ परे । त्यसपछि काठमाडौं ल्याइएका उकेशले आफ्नो मोबाइलबाट अश्लील म्यासेज तथा फोटो पठाएको सहजै स्वीकार मात्र गरेनन्, म्यासेन्जरमा अश्लील कुराकानी गर्दा आफू उत्तेजित भै आफ्नो संवेदनशील अंगको फोटो खिचेर पठाएको समेत बताए ।

१२ कात्तिक मै प्रहरी कहाँ अर्को उजुरी आयो । प्रकृति फरक रहेको उक्त उजुरीअनुसार २२ वर्षीया युवती मीना (नाम परिवर्तन) धादिङका २२ वर्षीय शत्रुधन (नाम परिवर्तन)सँग प्रेममा पर्छिन् ।

त्यही क्रममा उनीहरूबीच शारिरीक सम्बन्ध स्थापित हुन्छ । युवकले युवतीलाई थाहै नदिई अन्तरंग सम्बन्धका तस्बिर खिच्छन् । पछि उनीहरूबीच मनमुटाव बढ्छ अनि युवतीले अर्कै युवा रोज्छिन् । आफ्नी प्रेमिका अर्कैसँग लागेपछि शत्रुधन आफूले खिचेका अश्लील तस्बिर तथा भिडियो पब्लिक गरिदिने भन्दै युवतीलाई ‘ब्ल्याकमेलिङ’ गर्छन् । ‘अन्य केटासँग विवाह गरिस भने मसँग भएको अश्लील भिडियो तथा फोटोहरू पोष्ट गरी दिन्छु भनि धम्की दिँदै आएको’ मीनाले आफ्नो उजुरीमा उल्लेख गरेकी छिन्, ‘हामी रिलेसनमा रहँदाको अवस्थामा मैले थाहा नपाउने गरी खिचेको मेरो गोप्य अङ्गको तस्बिर पठाइ, पछि पब्लिक सेयर गर्ने, धम्की दिँदै ब्याकमेलिङ गर्दै चरित्रहत्या गरे ।’ 

कन्चनपुरकी १९ वर्षीया निलिमा (नाम परिवर्तन)को परिचय एक साथीमार्फत डडेल्धुराका २० वर्षीय युवा रमेश (नाम परिवर्तन)सँग हुन्छ । फोन नम्बर साटासाट भएपछि उनीहरूबीच कहिलेकाहीँ फोनमा समेत कुराकानी हुन्छ । दुई जनाबीच घनिष्ठता बढ्दै गएपछि उनीहरू प्रेममा पर्छन् तर, रमेशको आनीबानी राम्रो नभएको जानकारी पाएपछि युवती उनीबाट टाढिदैं जान्छिन् । रमेशले निलिमालाई आफूसँग विवाह नगरे इन्टरनेटबाट बदनाम गरिदिने भन्दै धम्काउन थाल्छन् । उनी यतिमा मात्र रोकिँदैनन्, नीलिमाका नाममा फेक फेसबुक एकाउण्ट खोलेर नग्न तस्बिरमा निलिमाको फोटो जोडी फेसबुकमा अपलोड गर्न थाल्छन् । त्यसपछि निलिमा प्रहरीको शरणमा पुग्छिन् । प्रहरीले रमेशलाई उनकै घरबाट पक्राउ गरेर कारवाही अघि बढाउँछ । पक्राउ परेका रमेशले आफूले राखेको विवाहको प्रस्ताव निलिमाले अस्वीकार गरेर उल्टै जड्याँ, गँजेडी भनेर गाली गलौज गरेकाले आवेशमा आई निलिमाको फोटोसँगै नग्न प्रोफाइल पिक्चर राखेर नक्कली आइडी खोलेको बताएका छन् । 

गोरखा, धादिङ, दोलखा, पर्वत, कन्चनपुर, डडेल्धुरा आदिका ग्रामीण क्षेत्रका यी तीन प्रतिनिधि घटनाले इन्टरनेटको विस्तारसँगै साइबर क्राइमको महामारी गाउँमा फैलन थालेको संकेत गर्छन् । साइबर अपराधसम्बन्धी केस हेर्ने महानगरीय अपराध महाशाखाको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा सामाजिक सन्जालसँग सम्बन्धित १९ वटा घटना घटेका छन् । गत वर्ष भने सामाजिक सन्जालसँग सम्बन्धित ५० वटा साइबर अपराधका घटना घटेका थिए । यस्तै, चालु आर्थिक वर्षमा ह्याकिङका ८, एसएमएस थ्रेटका ९, फुसिङका ५ वटा घटना घटेका छन् । काठमाडौं प्रहरी परिसरमा आएका मुद्दा र तिनको प्रकृति केलाउने हो भने सहरको तुलनामा गाउँमा साइबर अपराध मौलाउन थालेको प्रस्ट हुन्छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको मुद्धा शाखाका प्रमुख मोहनकुमार थापाका अनुसार जनचेतना, साइबर कानुनसम्बन्धी ज्ञानलगायतका कारण सहरमा साइबर क्राइममा कमी आए पनि गाउँमा यसमा वृद्धि भैरहेको छ । ‘सहरका मानिसहरूले साइबर अपराधका सम्बन्धमा जानकारी पाए, साइबर कानुनको पनि ज्ञान भयो, सामाजिक सन्जालमा के गर्ने के नगर्ने भन्ने विषयमा पनि धेरैले जानकारी पाए,’ थापा भन्छन्, ‘तर, गाउँमा जनचेतनाको अभाव, अशिक्षाजस्ता कारणले मानिसहरू साइबर अपराधका विषयमा अनभिज्ञ देखिन्छन्, त्यही कारणले अहिले गाउँमा साइबर अपराध बढिरहेको छ ।’ थापाका अनुसार साइबर अपराधमा पक्राउ परेका अधिकांशले बयानका क्रममा आफूहरूलाई सामाजिक सन्जालमा यस्ता कार्य गर्दा कानुनी रुपमा दण्डित हुनुपर्छ भनेर थाहा नभएको बताएका छन् । 

साइबर सेक्युरिटीसँग सम्बन्धित संस्था इन्फर्मेसन सेक्युरिटी रेन्सपोन्स टिम नेपाल (एनपीसर्ट)का अध्यक्ष चिरञ्जीवी अधिकारी सबैभन्दा पहिले जनचेतना अभिवृद्धि गर्नुपर्ने कुरामा जोड दिन्छन् । ‘साइबर अपराधलाई पूरै घटाउन सकिँदैन्, यसलाई सकेसम्म कम गर्ने हो,’ अधिकारी भन्छन्, ‘त्यसका लागि जनचेतना अभिवृद्धि गर्ने र सोसल मिडिया, साइबर कानुन जस्ता विषय पाठ्यक्रममै राखेर अध्यापन गराउन जरुरी भैसकेको छ ।’ अधिकारी साइबर क्राइम प्रहरीले हेर्ने भएकाले साइबर अपराध हेर्ने प्रहरी सेललाई बलियो बनाउनुपर्ने बताऊँछन् । विज्ञहरू साइबर क्राइम रोक्न त्राइम हुनुभन्दा पहिले सामाजिक सन्जालमा के गर्ने के नगर्ने भन्ने कुराको जानकारी दिनुपर्नेमा समेत जोड दिन्छन् । 

साइबर क्राइमका सम्बन्धमा महानगरीय अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडौंले मात्र अनुसन्धान गर्ने भएकाले पीडितहरूलाई थप असहज हुने गरेको छ । जिल्लामा प्रहरीले उजुरी लिए पनि ऊक्त विषयमा छानबिन एवं अनुसन्धान गर्ने जनशत्ति र प्रविधिको अभावका कारण पीडितले काठमाडौं आउनुपर्ने बाध्यता छ ।

गाउँमा साइबर अपराध बढ्यो

मोहनकुमार थापा, डिएसपी महानगरीय प्रहरी परिसर, काठमाडौं 

साइबर अपराधको अहिलेको ट्रेन्ड कस्तो छ ? 

साइबर अपराध बढिरहेको छ, अहिले मासिक १५ देखि २० वटा मुद्दा दर्ता भैरहेका छन् । तथ्यांक हेर्दा यो अझm बढ्ने क्रममा छ, घट्ने त्रम देखिँदैन् । बदलिदो ट्रेण्ड हेर्ने हो भने पहिले सहरका मानिसहरू बढी पीडित हुन्थे र अपराध गर्नेहरू पनि सहरकै हुन्थे । अहिले सहरका मानिसहरू साइबर अपराध गर्नुहुन्न, त्यस्तो काम गर्‍यो भने कारबाही हुन्छ भन्ने जानकारी नै भएर होला । अहिले गाउँको त्यो पनि रिमोट एरियाका मानिसहरू साइबर क्राइममा बढी संलग्न पाइन्छन् । पीडित र पीडक दुवैमा रिमोट एरियाका मानिसहरू देखिन थालेका छन् । 

गाउँतिरबाट साइबर क्राइमका कस्ता केस आइरहेका छन् ? 

गाउँतिर ठूला खालका साइबर अपराध छैनन् । सामान्य तर कानुनविपरीतका घटना भैरहेका छन् । तीमध्ये धेरैजसो अश्लील म्यासेज, तस्बिर पठाउने काम भैरहेको पाइन्छ । फेक एकाउण्ट खोलेर त्यसबाट अश्लील म्यासेज, अश्लील फोटो महिलाहरूलाई पठाउने प्रवृत्ति छ । यसमा गाउँका महिलाहरू पीडित छन् । अपराधमा पुरुषहरू बढी संलग्न छन् । 

उमेर समूहका हिसाबले हेर्दा कस्तो देखिन्छ ? 

उमेर समूहका हिसाबले हेर्दा महिलाहरू प्रायः अण्डर ३० र पीडकका हिसाबले हेर्दा २५ वर्षभन्दा मुनिका बढी देखिन्छन् ।

प्रकाशित :वैशाख २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्