के छ टेलिकमको फोरजीमा ?

- साप्ताहिक संवाददाता

वैशाख १९, २०७६

नेपाल टेलिकमले देशभर फोरजी प्रविधिको मोबाइल नेटवर्क विस्तार गर्ने कार्यलाई तीव्रता दिएको छ । यसका लागि हङकङको सीसीएसआई तथा चिनियाँ कम्पनी जेडटीईलाई जिम्मेवारी प्रदान गरिएको छ । यही गतिमा काम भैरहे आगामी दसैं–तिहारसम्ममा देशभर फोरजी नेटवर्क विस्तार सम्पन्न हुने नेपाल टेलिकमले बताएको छ ।  टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार फोरजी नेटवर्क धेरै गुणस्तरीय हुनेछ र यसको माध्यमबाट तीव्र गतिमा डाटा चलाउने मात्र होइन, गुणस्तरीय भ्वाइस सेवा समेत प्रयोग गर्न सकिनेछ । 

स्पिड

टेलिकमले विस्तार गर्न लागेको फोरजी नेटवर्कको अधिकतम स्पिड १३० एमबीपीएस हुनेछ । अहिले काठमाडौं र पोखरामा सीमित टेलिकमको फोरजी सेवाको अधिकतम स्पिड ३२ एमबीपीएस मात्र छ । यो कार्यका लागि टेलिकमले १२ हजार जति वाइड ब्यान्ड मल्टिपोर एन्टेना तथा १ हजार ५ सय जति एक्सेस राउटर एवं आइपी माइक्रोवेभको प्रयोग गर्नेछ । 

भीओएलटीई

भ्वाइस ओभर एलटीई नाम दिइएको यो सुविधाले मोबाइल नेटवर्कमा हुने भ्वाइस कलको गुणस्तर बढाउनेछ । डाटाको गतिजत्तिकै भ्वाइस (आवाज) को गति पनि बढ्नेछ । यसले फोन लाग्ने समय पनि घट्नेछ । यो सुविधामा भिडियो कल गर्न तेस्रो एपको आवश्यकता पनि पर्दैन । हाल भ्वाइस सुविधामार्फत मात्र फोन कल गर्न सकिने सुविधा छ, तर फोरजीमा डाटा सेवा उपयोग गरेर गुणस्तरीय भ्वाइस सुविधासमेत प्रयोग गर्न सकिनेछ । 

भीओवाइफाई

यसमा हुने सुविधा भ्वाइस ओभर वाईफाई अर्थात भीओवाइफाई पनि हो । भिओवाइफाई भिओएलटीईकै विस्तारित रूप हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको मोबाइलको नेटवर्क बिना पनि वाइफाइको सहयोगमा फोन लाग्नु हो । कुनै स्थानमा मोबाइल नेटवर्क कम छ वा छँदै छैन तर मोबाइल वाइफाईसँग कनेक्ट छ भने वाइफाईकै सहयोगमा अर्को मोबाइल नम्बरमा फोन गर्न सकिन्छ । यसको अर्थ अहिले हामीले प्रयोग गरे जस्तै वाइफाईमार्फत गुणस्तरीय भ्वाइस कल गर्न सकिनु हो । 

सेल्फ अर्गनाइजिङ नेटवर्क

टेलिकमको फोरजी नेटवर्कमा पूर्णरुपमा स्वचालित सेल्फ अर्गनाइजिङ नेटवर्क (एसओएन) प्रविधि रहनेछ । कुनै बीटीएस टावरमा कुनै समस्या आएर नेटवर्कमा गडबडी भए त्योभन्दा पर रहेको अर्को बीटीएस टावरले त्यो समस्या बुझेर आफ्नो क्षेत्र बाहिरको मोबाइललाई यसमार्फत नेटवर्क प्रदान गर्नेछ । यो काम पूर्ण रुपमा स्वचालित हुनेछ । 

टावर

फोरजी विस्तारका क्रममा घना बस्ती र ठूला घरहरू भएका स्थानमा नेटवर्कलाई सुचारु बनाउन करिब ६ हजार साना टावर राखिने टेलिकमले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा यस्ता साना खालका टावर स्थापित हुनेछन् । ती टावरले नेटवर्कलाई बलियो बनाउन सघाउनेछन् । घरको भूमिगत तलामा फोन नलाग्ने, धेरै भीड हुने स्थानमा फोन नसुनिने समस्या समाधानका लागि यसो गर्न लागिएको हो ।

फाइभजी रेडिनेस

टेलिकमले देशभर विस्तार गर्ने फोरजी नेटवर्क पछि फाइभजीको विस्तार गर्नेछ । देशभर फोरजी विस्तार पछि टेलिकमले परीक्षणका रूपमा काठमाडौंसहित पोखरा, नेपालगञ्ज र विराटनगरमा फाइभजी नेटवर्कको परीक्षण हुनेछ । टेलिकमले काठमाडौं र पोखरामा २०७३ पुस १७ फोरजी सेवा सुरु गरेको थियो । 

यस्तो हुनेछ फाइभजी

दक्षिण कोरिया केही दिन पहिले फाइभजी नेटवर्क प्रयोगमा ल्याएर विश्वकै पहिलो फाइभजी नेटवर्क प्रयोग गर्ने देश भएको छ । अब अन्य देशमा पनि विस्तारै यसको प्रयोग सुरु हुनेछ । सबैभन्दा तीव्र गतिको फोरजी नेटवर्कमा डाटाको स्पिड करिब ४५ एमबीपीएस अर्थात मेगाबिट्स प्रतिसेकेन्ड छ भने फाइभजीको गतिलाई करिब एक हजार एमबीपीएस सम्म बढाउन सकिने बताइएको छ । यसको अर्थ फोरजीको तुलनामा फाइभजीको गति करिब १० देखि २० गुणासम्म बढी हुनेछ । 

फाइभजीलाई अलग–अलग प्रविधिको संगम पनि भनिन्छ । यसमा मिलिमिटर वेब्स, स्मल सेल, म्यासिभ माइमो, बिमफमिङ तथा फुल डुप्लेक्स जस्ता प्रविधि प्रयोग हुन्छ । डाटा ट्रान्सफरका लागि ठूलो टावरको नजिकै स्मल सेलमा आधारित बेस प्वाइन्ट राखिन्छ । यी प्वाइन्टले टावरको फ्रिक्वेन्सीलाई विभिन्न स्थानमा फैलिन सहयोग गर्छन् । त्यसैगरी मल्टिपल इनपुट र मल्टिपल आउटपुट भनिने प्रविधि म्यासिभ माइमो पनि प्रयोग गरिन्छ । 

फोरजीको टावरमा एन्टेनाका लागि करिब एक दर्जन पोर्ट्स प्रयोग गरिन्छ भने म्यासिभ माइमो बेस स्टेशनमा एन्टेनामा १ सय भन्दा बढी पोर्ट्स हुन्छन् । विभिन्न सिग्नल क्रस कनेक्सन नहोस् भनेर बिमफमिङ प्रविधि प्रयोगमा ल्याइन्छ । यसको सहयोगले सिग्नल निर्धारित दिशामा बग्न सहयोग पुग्छ । त्यसैगरी फुल डुप्लेक्स प्रविधिले इनकमिङ तथा आउटगोइङ डाटालाई सम्हालेर राख्न सक्छ । 

फाइभजी प्रविधि हाइटेक प्रविधि हो । यसका कारण वायरलेस नेटवर्क निकै तीव्र हुन्छ । मोबाइलमा फुल एचडी भिडियो केही सेकेन्डमै डाउनलोड हुन्छ । यद्यपि स्मार्टफोनमा भिडियो हेर्न मात्र यसको प्रयोग सीमित हुँदैन । यसको सहयोगले ड्राइभरलेस ट्रान्सपोर्ट, स्मार्ट सिटी, भर्चुअल रियालिटी तथा अत्यन्तै तीव्र गतिको रियल टाइम अपडेट प्राप्त गर्न सकिन्छ । 

फाइभजी आपसमा सम्वाद गर्न सिग्नलमा आधारित प्रविधि हो । यसको सहयोगले एउटा गाडीबाट अर्को गाडीमा भएको मानिससँग संवाद गर्न मात्र होइन, उनीहरू दुईका बीच कति दूरी र गति हुनुपर्छ भन्ने विषयमा समेत डाटाको सहयोगले सम्वाद गर्न सकिन्छ ।

थ्रीजी, टुजी र वानजीका विशेषता

थ्रीजी अर्थात थर्ड जेनेरेसन । यो मोबाइल टेलिफोनमा विकसित नयाँ प्रविधि हो । विश्वका विभिन्न देशमा यो प्रविधिको प्रयोग गर्ने विषयमा छलफल भैरहेको समयमा नेपाल टेलिकमले दक्षिण एसियामै पहिलो पटक यो प्रविधिलाई नेपाल भित्र्याएको थियो । पहिले स्थानीय टेलिफोन प्रचलित थियो । खबर आदान–प्रदान गर्न तार प्रयोग गरिन्थ्यो । ती टेलिफोन अहिले पनि प्रचलित छन्, तर तारविहीन टेलिफोन अर्थात् मोबाइल टेलिफोन अहिले विकसित भएर थ्रीजी सम्म पुगेको छ अनि फोरजीको तयारी भैरहेको छ । फोरजीमा अझ उच्च गतिमा डाटा ट्रान्सफर गर्न सकिन्छ ।

थ्रीजी प्रविधिमा उच्च गतिको डाटा ट्रान्सफर गर्न सकिन्छ । थ्रीजी प्रयोग गरी प्रयोगकर्ता जहिले पनि इन्टरनेटसँग आवद्ध भैरहेको हुन्छ । खासगरी तीब्र गतिमा डाटा पठाउन र प्राप्त गर्न यसको प्रयोग गरिन्छ । त्यसैगरी फोन कल र रिसिभ गर्ने दुवैले एक–अर्काको अनुहार र हाउभाउ हेरी भिडियो कल समेत गर्न सक्छन्, तर यसरी कल गर्न कुराकानी गर्ने दुवै व्यक्तिसँग थ्रीजी सीम र त्यसै अनुसारको सुविधा भएको मोबाइल सेट हुनु आवश्यक छ । सामान्यतः थ्रीजी सेवामा भिडियो कल, लाइभ टीभी र भिडियो स्ट्रिमिङ तथा इन्टरनेट र इमेलसहितको हाई स्पिड डाटा कनेक्सन प्राप्त गर्न सकिन्छ । 

टुजी

टुजी अर्थात दोस्रो पुस्ताको मोवाइल फोन प्रविधिमा डिजिटल प्रविधि प्रयोग गरिन्छ । यसमा एउटा मोबाइलबाट अर्को मोबाइलमा डिजिटल रुपमा भ्वाइस अर्थात खबर प्रवाहित हुन्छ । त्यसैगरी यसको ध्वनि प्रवाहित गर्ने क्षमता पनि वानजीको तुलनामा निकै उच्च हुन्छ । त्यसबाहेक एसएमएस अर्थात् टेक्स्ट म्यासेजका रुपमा डाटा सर्भिस पठाउन सकिन्छ । वानजीमा एसएमएस पठाउन सकिँदैन । व्यवसायिक रुपमा टुजीको पहिलो प्रयोग सन् १९९१ मा फिनल्यान्डको रेडियोलिन्जा कम्पनीले गरेको थियो । 

वानजी

वानजी अर्थात पहिलो पुस्ताको प्रविधि सन् ८० को दशकमा प्रारम्भ भएको थियो । टुजी प्रविधि नआउँदासम्म यसको प्रयोग गरियो । यसमा एनालग प्रविधिको रेडियो सिग्नलको सहायताले खबर आदान प्रदान गर्न सकिन्थ्यो । 

व्यवसायिक रूपमा पहिलो पटक वानजी नेटवर्कको प्रयोग जापानको एनटिटी डोकोमोले सन् १९७९ मा गरेको थियो । यो सर्वप्रथम टोकियो सहरमा मात्र लागू गरिएको थियो । पाँच वर्षपछि त्यसले जापानभर आफ्नो कभरेज विस्तार गर्‍यो र जापानभर वानजी कभरेज भएको विश्वको पहिलो राष्ट्र बन्यो । सन् १९८१ मा डेनमार्क, फिनल्यान्ड, नर्वे, स्वीडेन आदि राष्ट्रले यो प्रविधिको फोन प्रयोग गरे । यी देश नै विश्वमा पहिलो पटक अन्तर्राष्ट्रिय रोमिङ सेवा प्रदान गर्ने राष्ट्र समेत बने । अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध भए एक देशको मोवाइल फोन अर्को देशमा पनि प्रयोग गर्न सकिन्छ । 

शून्य जी

तारविहीन टेलिफोन प्रयोग गर्ने क्रममा सर्वप्रथम मोबाइल रेडियो टेलिफोन सिस्टम प्रयोग गरिएको थियो । ब्रिफकेसजस्तो मोडलमा निर्माण गरिएको यो सिस्टमलाई विशेषत कार वा ट्रकमा ठाडो पारेर राखिन्थ्यो । हाल प्रचलित मोबाइल फोन अर्थात सेलुलर फोनभन्दा पहिले यसको प्रयोग गरिएकाले यसलाई प्रि–सेलुलर अर्थात शून्य जी प्रविधि पनि भनिन्छ । त्यसको केही समयपछि नै वानजी अर्थात पहिलो पुस्ताको प्रविधि प्रयोगमा आएको हो । 

प्रकाशित :वैशाख १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्