अनमोलबाट प्रभावित भएँ

- कृष्ण भट्टराई

वैशाख १९, २०७६

पहिलो चलचित्रबाटै दर्शकको मन जित्न सफल थोरै कलाकारको सूचीमा अभिनेत्री सुहाना थापा पनि समावेश भएकी छिन् । अभिनेत्री तथा निर्देशक झरना थापा तथा निर्माता सुनीलकुमार थापाकी छोरी सुहानाले हाल प्रदर्शनरत चलचित्र ए मेरो हजुर–३ बाट रजतपटमा पदार्पण गरेकी हुन् । व्यवसायिक रूपमा सफल उक्त चलचित्रमा सुहानाले अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेकी छिन् । पहिलो चलचित्र भए पनि सुहानाले उक्त चलचित्रमा आफूलाई अनुभवी कलाकारका रूपमा प्रस्तुत गरेकी छिन् । दर्शकले समेत उनको भूमिकाको प्रशंसा गरेका छन् । अमेरिकामा व्यवस्थापन विषयमा स्नातक गरिरहेकी सुहाना पहिलो चलचित्रको सफलतासँगै अभिनयलाई नै निरन्तरता दिने मुड बनाउन थालेकी छिन् । साप्ताहिकका कृष्ण भट्टराईसँगको कुराकानीका क्रममा सुहानाले पछिल्लो एक वर्षको अवधिमा आफूले भोगेका तीता–मीठा अनुभवहरू साटेकी छिन् । 

अहिले केमा व्यस्त ?

चलचित्र ए मेरो हजुर–३ सिनेमा हलमा प्रदर्शन भैरहेको छ । त्यसकै पोस्ट प्रोमोसनमा व्यस्त छु । 

आफ्नो पहिलो चलचित्र, अहिलेसम्म कति पटक हेरियो ? 

तीनवटा सिनेमा हलमा दर्शकहरूको बीचमा बसेर तीन पटक हेरिसकें । अझै तीन वटा छुट्टा–छुट्टै हलमा दर्शकसँग बसेर हेर्न बाँकी नै छ । 

दर्शकको बीचमा बसेर आफ्नै चलचित्र हेर्दाको अनुभव कस्तो हुँदो रहेछ ? 

हामीले मेहनतका साथ गरेको कामको सही र उचित मूल्यांकन गर्ने अन्तिम व्यक्ति नै दर्शक नै हुनुहुन्छ । उहाँहरूसँग बसेर आफ्नो चलचित्र हेर्दा आफ्ना कमी–कमजोरी समेत पत्ता लाग्ने रहेछ । 

दर्शकहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ? 

युवा दर्शकहरूले समग्र चलचित्र नै मन पराउनुभएको पाएँ । युवतीहरूले चलचित्रको कमेडी पक्ष मन पराउनुभयो । यो चलचित्रमा होस्टलमा बस्ने युवतीहरूले गर्ने रमाइला कुराकानी तथा उनीहरूका हाउभाउलाई अधिकांशले मन पराएको पाएँ । 

कुनै–कुनै संवाद त सुन्नै नसकिने खालको छ भन्ने प्रतिक्रिया पनि आए नि ? 

चलचित्रका केही संवाद छाडा छन् भनिएको मैले पनि सुनें । केटी–केटी भेला भएर छाडा कुरा गर्न थाले भने केटाहरूलाई पनि पछाडि छाड्छन् भन्ने कुरा होस्टलमा बसेर पढ्ने जो–कोहीले अनुभव गरेको हुनुपर्छ । चलचित्रमा तीनै कुरा समेटिएको छ । चलनचल्तीका शब्दभन्दा अलि बढी भएकैले सेन्सर बोर्डले यसलाई ‘पिजी’ सर्टिफिकेट दिएको हो । 

छायांकनको पहिलो दिन चलचित्रले आजको जस्तो सफलता पाउला भन्ने कुरा सोच्नुभएको थियो ? 

त्यतिबेला मैले केवल काममा मात्र ध्यान दिएकी थिएँ । परिणाम जस्तो आए पनि त्यसलाई स्वीकार गर्छु भन्ने सोचेकी थिएँ । अहिले आएको उत्साहजनक परिणामबाट म अत्यन्त खुसी छु । 

पहिलो चलचित्रका लागि कसरी तयार हुनुभयो ? 

चलचिक्रको स्त्रिप्ट तयार भएपछि ममी (निर्देशक झरना थापा) ले अभिनेताका रूपमा अनमोल केसीलाई कन्फर्म गर्नुभएछ । बुवा (निर्माता सुनीलकुमार थापा) र ममीले अभिनेत्रीका लागि बाहिर कतै भौंतारिनुभन्दा आफ्नै छोरीलाई नै प्रस्ताव राखौं भन्ने सल्लाह गर्नुभएछ । आफ्नै ममीले निर्देशन गर्ने घरकै ब्यानरको राम्रो चलचित्रबाट प्रस्ताव आएपछि म सहजै तयार भएँ । 

अभिनयका लागि तयार हुनुहुन्थ्यो त ? 

तयारी गरेर त बसेकी थिइन् । त्यतिबेला म अमेरिकामा अध्ययन गरिरहेकी थिएँ । अत्यन्त राम्रो स्क्रिप्ट तयार भएको कुरा सुनेपछि नेपाल फर्किएँ । 

नेपाल आएपछि के–कस्तो तयारी गर्नुभयो ? 

करिब तीन महिना अभिनय तथा नृत्यको प्रशिक्षण लिएँ । वर्कसपमा अभिनयको प्रशिक्षण लिने क्रममा धेरै कुराको ज्ञान हासिल गरें । नृत्य त म सानैदेखि गर्थें, तीन महिना लामो दैनिक तीन घण्टाको प्रशिक्षणपछि पारंगत नै भएँ । 

यसअघि अभिनयको कुनै प्रशिक्षण लिनुभएको थियो ? 

अमेरिकामै छँदा मैले तीन महिनाको एउटा कोर्स गरेकी थिएँ, जसमा थिएटर र अभिनयको सैद्धान्तिक ज्ञान प्रदान गरिन्थ्यो । 

चलचित्र प्रदर्शन भएपछि आफ्नो अभिनय आफैंलाई कस्तो लाग्यो ? 

मलाई लाग्छ एउटा कलाकारले आफ्नो मूल्यांकन आफैंले गर्न सक्दैन । कलाकारको अभिनयको मूल्यांकन गर्ने काम दर्शकको हो । दर्शकको मूल्यांकनमा सफल हुने कलाकार मात्र सफल कलाकार मानिन्छ । 

आफूलाई कत्तिको सफल मान्नुहुन्छ त ? 

पहिलो चलचित्र भएकाले ममा पनि धेरै कमी–कमजोरी हुन सक्छन् । यद्यपि, मैले बेस्ट दिने प्रयास गरेकी छु । त्यो प्रयासमा म सफल भएकी छु जस्तो लाग्छ । 

सुहानाको अबको यात्रा कसरी अघि बढ्ला ? 

मेरो करिब डेढ वर्षको अध्ययन बाँकी नै छ । करिब चार महिनापछि आफ्नो पढाइ पूरा गर्न अमेरिका फर्कनुपर्ने बाध्यता छ । यसबीच कुनै राम्रो प्रोजेक्टबाट प्रस्ताव आयो भने अनलाइन परीक्षा दिएर अभिनयलाई निरन्तरता दिने सम्भावना पनि छ । यद्यपि, यी सबै भविष्यका कुरा हुन् । 

अर्थात् नेपाललाई चटक्क छाडेर जान मन छैन ? 

छैन, आफ्नो देश, आफ्नो परिवार, आफ्नो क्षेत्रलाई चटक्कै छाड्ने मनै छैन । यद्यपि, पढाइ भनेको पढाइ नै हो । त्यसलाई पनि समयमै पूरा गर्नुपर्नेछ । 

आगामी चलचित्र होम प्रोडक्सन कै हुनेछ कि बाहिरको ? 

घर भित्रको अथवा बाहिरको जताको पनि हुनसक्छ । यद्यपि, राम्रो प्रोडक्सन हाउस हुनु अनिवार्य छ । राम्रो प्रोडक्सन हाउसले राम्रो स्क्रिप्टमा उत्कृष्ट चलचित्र बनाउने निश्चित हुन्छ । 

अहिलेसम्म प्रस्ताव आएको छ कि छैन ? 

आजको मितिसम्म त आएको छैन । 

पहिलो चलचित्रको निर्देशक आफ्नी आमाबाहेक अरू कोही भएको भए तपाईं अभिनेत्री बन्ने सम्भावना कत्तिको रहन्थ्यो ? 

त्यसको सम्भावना अत्यन्तै न्यून हुन्थ्यो । यद्यपि, आमाकै निर्देशनमा अभिनय गर्दा मलाई भन्दा पनि चलचित्रलाई नै फाइदा भयो । 

कसरी ? 

यदि उहाँको ठाउँमा अरू कोही निर्देशक भएको भए उहाँलाई मेरो क्षमताका बारेमा कम जानकारी हुन्थ्यो । आमाले जसरी ममा भएको प्रतिभा निचोरेर निकाल्न सक्षम हुनुभयो, अरूलाई गाह्रो हुन सक्थ्यो । 

सेटमा आमाको गाली पनि खाइयो कि ? 

गाली नै त खाइन, यद्यपि सेटमा उहाँ र म आमा–छोरीभन्दा पनि कलाकार र निर्देशककै रूपमा रह्यौं । उहाँले हरेक सटमा मलाई निर्देशककै रूपमा निर्देशन दिनुभयो, आमा भएको छनकसमेत दिनुभएन । 

अनमोल केसीसँगको केमेष्ट्रिका बारेमा के भन्नुहुन्छ ? 

यो कुरा त मैलेभन्दा पनि दर्शकले भनिसक्नु भएको छ । हाम्रो केमेस्ट्री अत्यन्त सुन्दर देखिएकै कारण चलचित्रले सफलता पाएको हो । 

अनमोलसँग अफेयरकै चर्चा चल्यो नि ? 

एउटा रोमान्टिक चलचित्र प्रदर्शन हुने क्रममा त्यसका अभिनेता–अभिनेत्रीको अफेयरको चर्चा चल्नु वर्ल्ड वाइड ट्रेण्ड नै हो । मैले उक्त चर्चालाई पब्लिसिटी स्टन्टका रूपमा मात्र लिएँ । 

अर्थात्, तपाईंहरू एक–अर्काप्रति आकर्षित हुनुहुन्न ? 

उहाँ नेपालको सुपरस्टार हो । म भर्खरै यो क्षेत्रमा पाइला चालेकी नयाँ कलाकार । हामीबीच एक–अर्काप्रति आकर्षित हुने भन्ने कुरै आउँदैन । रमाइलो कुरा चाहिँ के भयो भने सँगै काम गर्ने क्रममा उहाँबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ । त्यसले मलाई आगामी दिनमा समेत सहयोग पुर्‍याउनेछ । 

कतिपय युट्युब च्यानलमा त तपाईंहरूको विवाहसम्मको कुरा आयो नि ? 

मैले अघि नै भने नि, चलचित्रमा हाम्रो केमेस्ट्री मिलेपछि चलेको चर्चा हो त्यो । म भरखरै २१ वर्षकी भएँ । विवाह त के मैले प्रेमका बारेमा समेत सोच्ने बेला भएको छैन । 

अनमोल केसीबाट चाहिँ कत्तिको प्रभावित हुनुभयो ? 

उहाँ अति नै सहयोगी र मिक्रवत् व्यवहार गर्ने व्यत्ति हुनुहुन्छ । छायांकनका क्रममा उहाँले मलाई हरेक कुरामा सर–सल्लाह दिइरहनुभयो । स्टार भए पनि उहाँको व्यवहार अत्यन्त सामान्य छ । म उहाँको त्यही बानी–बेहोराबाट प्रभावित भएकी छु । 

यो एक वर्षको अवधिमा तपाईंले अभिनयलाई कसरी बुझ्नुभयो ? 

हामीले दैनिक जीवनमा दिमागले भनेका/अर्‍हाएका कामहरू गरिरहेका हुन्छौं । अभिनयचाहिँ हामीले दिमागलाई भन्न पाउने अर्थात् हाम्रो दिमागलाई हामी आफैंले वशमा पार्ने कुरा रहेछ । 

सुहाना कति राम्री ? 

सुन्दरता भन्ने कुरा क्षणिक हुन्छ । म राम्री भन्दा पनि ज्ञानी छु जस्तो लाग्छ ।

 

आफूमा के–कस्ता कमजोरी पाउनुहुन्छ ? 

कमजोरी त धेरै छन् । म सधैं एउटै मुडमा रमाउन सक्दिनँ । परिस्थिति अनुसार मेरो मुड पनि चेञ्ज भैरहन्छ । अझ अभिनय गर्ने क्रममा एउटा सिनमा हाँसिरहेकी छु भने अर्को सिनमा रुनुपर्ने हुन्छ । म एकैपटक त्यसरी आफूलाई परिवर्तन गर्न सक्दिनँ । 

छायांकन अवधिको सबैभन्दा रोमाञ्चक क्षण ? 

झन्डै ५ हजार मिटर अग्लो स्थानको गोक्यो लेकमा भएको छायांकन मेरा लागि सबैभन्दा रोमाञ्चक रह्यो । हामी करिब १० जनाको समूह लुक्लाबाट हेलिकप्टरमा त्यहाँ पुगेका थियौं । चारैतिर हिउँ थियो । हिउँको बीचमा पुगेर अभिनय गर्नु पर्दा गाह्रो पनि उत्तिकै थियो । एकातिर हिउँमा चिप्लिने डर, अर्कातिर हिउँभित्र खुट्टा अड्किएर जुत्ता लगाउनै गाह्रो पर्ने अवस्था । यद्यपि, हामी त्यहाँ एउटै परिवारका सदस्य झैं भएर काममा रमायौं । पछि चलचित्रको पर्दामा उक्त लेकको दृश्य देख्दा ती सबै दुःख बिर्सिएँ । 

पहिलो चलचित्रबाटै प्रसंशक त टन्नै कमाउनुभयो होला नि ? 

अलि–अलि कमाउँदै छु । बाटोमा हिँड्दा कतिपयले चिन्न थाल्नुभएको छ । सोसल साइटहरूमा धेरैभन्दा धेरै म्यासेज पाइरहेकी छु । सबैले मेरो अभिनयको प्रशंसा गर्नुभएको छ । सबैले माया गरिदिनु भएकोमा अत्यन्त खुसी पनि भएकी छु । 

तपाईं त भगवान् श्रीकृष्णको जबर्जस्त प्रशंसक हुनुहुँदो रहेछ ? 

हजुर, करिब दुई वर्षदेखि म कृष्ण भक्त नै भएकी छु । 

भगवान् कृष्णप्रतिको भक्तिभाव चाहिँ कसरी जाग्यो ? 

मेरो विचारमा हरेक मानिसले चारवटा कारणले भगवानलाई सम्झिन्छन् । एउटा अप्ठ्यारो परेको बेला, दोस्रो पैसा कमाउन सकियोस् भनेर, तेस्रो दुःख परेका बेला तथा चौथो स्वास्थ्यका कारणले । दुई वर्षअघि म एकप्रकारको तनावमा थिएँ । सामाजिक सञ्जालका कारण मेरो तनाब बढेको थियो । म को हुँ भन्ने कुराले मलाई चिन्तित बनाएको थियो । त्यही बेला मलाई ममीले उपहारका रूपमा दिनुभएको भागवत गीता पढ्न थालें । पहिलो दिन त केही पनि बुझिनँ । दोस्रो दिन एउटा पाठमा ‘मेरो भक्त हुनुपर्छ’ भनिएको रहेछ । मैले भगवान कृष्णलाई पुकारेर उहाँको मन्त्र समेत पाठ गर्न थालें । त्यसपछि मैले भागवत् गीताका सबै पाठ पनि बुझें । त्यही बेलादेखि म उहाँको भक्त भएँ । 

भागवत गीताको सार के पाउनुभयो त ? 

म को हुँ भन्ने कुरा राम्रोसँग बुझें । हामी म र मेरो भनेर नै जिन्दगी बिताइरहेका हुँदा रहेछौं । रिस, घृणा, लोभ सबै अनावश्यक कुरा हुन् भन्ने कुरा मैले गीता पढेरै जानें । 

अर्थात अचेल तपाईं रिसाउनु हुन्न ? 

पहिले–पहिले म झनक्क रिसाउने स्वभावकी थिएँ । भगवान् कृष्णको भक्त भएपछि ममा रिस, राग, लोभ, मोह केही पनि बाँकी छैन । 

फुर्सदमा के गर्न रुचाउनुहुन्छ ? 

पुस्तकहरू पढ्छु । म साहित्यिक कृतिहरू अध्ययन गर्न मन पराउँछु । अलि बढी फुर्सद भयो भने विभिन्न विधाका चलचित्र हेर्छु । 

बुवा र आमामध्ये कसको बढी माया लाग्छ ? 

मलाई दुवै जनाको बराबर माया लाग्छ । उहाँहरूले पनि मलाई आ–आफ्नै तरिकाले उत्तिकै माया गर्नुहुन्छ । 

प्रसँग बदलौं, चलचित्र क्षेत्र कस्तो लाग्यो ? 

यो क्षेत्रमा आउनुअघि चलचित्र क्षेत्र रमाइलो, ल्याभिस, लक्जरी, नेम–फेम पाइने क्षेत्र होला जस्तो लागेको थियो । वास्तवमा मेरो कल्पना भन्दा ठीक विपरीत रहेछ यो क्षेत्र । यहाँ राम्रो कामको प्रशंसा त हुने रहेछ, तर खुट्टा तान्नेहरूको बाहुल्यता रहेछ । यो सानो क्षेत्रमा पनि कतिधेरै अप्ठ्याराहरू रहेछन् । हरेक चलचित्रकर्मी इगोले भरिएका हुँदा रहेछन् । कोही अलि माथि जान खोज्यो भने उसलाई कसरी हुन्छ तानेर पुनः तल ल्याउन खोज्नेहरू सक्रिय हुने रहेछन् । 

त्यो कुराको अनुभव कसरी गर्नुभयो ? 

चलचिक्र छायांकनका त्रममा त व्यस्तताका कारण त्यस्ता कुरामा ध्यान दिइएन् तर जब चलचित्र प्रदर्शन हुने बेला आयो, त्यहींदेखि यो क्षेत्रको वास्तविक चरित्र देख्न थालें । चलचित्र प्रदर्शन भएर दर्शकले अत्यन्त मन पराउन के थालेका थिए, केही समीक्षकले हामीलाई चोटै चोट दिए । नक्कल गरिएका रिमेक हिन्दी चलचित्रको वाह–वाही गर्ने समीक्षकहरूले आफ्नै देशको चलचित्रलाई छ्या–छ्या भनेको पनि देखें । यद्यपि, अन्त्यमा सत्यकै जित हुन्छ भनेजस्तो दर्शकहरूको अपार माया र साथका कारण आज हामी सफल भएका छौं । 

समीक्षकको काम नै चलचित्रमा भएका कमी–कमजोरी औंल्याउनु होइन र ? 

सबैलाई आफ्नो धारणा व्यक्त गर्ने छुट छ तर सिनेमा हलमा हाउसफूल भएको, दर्शकहरूले टिकट नपाएर फर्कनुपरेको दृश्य एकातिर छ भने अर्कातिर बेकारको चलचित्र, समय बर्वाद हुने चलचित्र भनेर लेख्ने छुट छैन । मैले अघि पनि भनें, चलचित्र राम्रो छ कि नराम्रो भन्ने कुराको मूल्यांकन दर्शकले गर्ने हो, समीक्षकहरूले होइन । चलचित्रको कथा कहिले पनि बासी हुँदैन । यदि चलचित्रको कथा बासी हुन्थ्यो भने हामीले सधैं खाइरहने दाल–भात–तरकारी पनि बासी हुनुपर्ने होइन र ? कथा कहिल्लै बासी हुँदैन, त्यसलाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुरा चाहिँ महत्वपूर्ण हो । 

प्रकाशित :वैशाख १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्