तपाईंको बौद्धिक सम्पत्ति कत्तिको सुरक्षित छ ? 

- साप्ताहिक संवाददाता

वैशाख १५, २०७६

मैले भौतिक सम्पत्तिलाई कहिल्यै प्राथमिकतामा राखिनँ । त्यसैले पनि सुरक्षित नै छन् होला बौद्धिक सम्पत्ति । यो कुरा मैले भन्दा पनि मलाई देख्ने, बुझ्ने र सुन्नेहरूले भन्न सक्लान् । 

आनन्द राई, संगीतकार

खै कसरी भन्ने सुरक्षित छन् भनेर, मलाई त त्यस्तो लाग्दैन । 

राम थापा, हास्य अभिनेता

जति सुरक्षित हुनुपर्ने हो, त्यति छैनन्, किनभने वास्तविक तथ्यांक प्राप्त गर्न गाह्रो छ । कहाँ– कसको गीत कति पटक बज्छन्, थाहा पाउन गाह्रो छ । तैपनि रोयल्टी संकलन समाजले जुन पाइला चालिरहेको छ, त्यसले गर्दा गीतकार, संगीतकार तथा गायकहरूको बौद्धिक सम्पत्तिको अधिकारप्रति सजगता बढाएको छ । विश्व बजारमा प्रयास भए अनुसार हरेक ठाउँलाई समेटेर कानुनी दायरामा ल्याएर रोयल्टी उठायो र वितरण चुस्त, दुरुस्त र निष्पक्ष भयो भने मेरो मात्र होइन, हरेक स्रष्टाको बौद्धिक सम्पत्ति सुरक्षित हुनेछ । 

रन्जित कुमार साहनी, गायक 

लामो सोच र खोजबाट सिर्जना हुने कुरा हो— बौद्धिक सम्पत्ति । एउटा सर्जकको बौद्धिक सम्पत्ति जो कोहीले बिना सोच, बिना खोज, सहज रूपमा चोरी गरेको देख्दा यो हालसम्म सुरक्षित हुन सकेको छैन जस्तो लाग्छ ।

आलोकश्री, संगीतकार

संसारमा धनभन्दा पनि ठूलो अर्थात सबैभन्दा ठूलो सम्पत्ति नै बौद्धिकता (शिक्षा) हो, जुन जति बाँड्यो त्यति बढ्छ । यद्यपि, चोरी–चकारीले भरिएको यो दुनियाँमा बौद्धिक सम्पत्ति पनि जोगाउन धौ–धौ छ । कतिबेला कुनचाहिँले चोरेर आफ्नो ठप्पा लगाउने हो, त्यसको भर छैन ।

सञ्जय श्रेष्ठ, गायक

नेपालको कानुनमा कपिराइट अधिकार भए पनि शसक्त ढंगले लागू भएको छैन । त्यसैले हाम्रा बौद्धिक सम्पत्तिहरू सुरक्षित छैनन् । 

बाबु बोगटी, गायक

यो देशमा आफूले कमाएको सम्पत्ति त राता–रात अर्काको नाममा गएको थाहा हुँदैन । आफुले स्वीकृति नदिई जो–सुकैको सिर्जना अर्काको हुनसक्छ । कसरी जोगाउन सकिएला आफ्नो बौद्धिक सम्पत्ति भन्ने चिन्ता छ मलाई त । 

सविना कार्की, गायिका

आफ्नो सम्पत्तिको सुरक्षाको अनुभूति कुनै पनि नेपाली नागरिकले राम्रोसंग गर्न नसकिरहेका बेला बौद्धिक सम्पत्तिको सुरक्षा गर्न कठिन त छ नै, तैपनि आफ्नो बौद्धिक सम्पत्तिको सुरक्षा गर्न म आफैं कटिबद्ध छु । हरेक हकवालाहरू सजग भए अबको केही वर्षमा यो सुरक्षा दश गुणाले बढ्नेछ । प्रतिलिपि अधिकार ऐनमा त २०५९ सालदेखि नै सुरक्षित छ ।

महेश खड्का, संगीतकार 

मेरो बौद्धिक सम्पत्ति ? झट्ट सुन्दा लाग्छ, यसमा मेरो पूर्ण अधिकार छ अर्थात् आफ्नै वसमा सुरक्षित छ । हुनु पर्ने पनि यहि हो, तर वास्तविकता अलि फरक छ । नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानुन फितलो भएका कारण वास्तविक सर्जकमाथि मनलाग्दी भैरहेको छ । सिर्जनाको कुनै सिमा र बन्धन हुँदैन । त्यसो हुनु भनेको पनि सिर्जनामाथिको पाप हो, तर सिर्जनाको सहि सर्जकको पहिचान गरी उसले पाउनुपर्ने अधिकारको ग्यारेन्टी भने राज्यको नियम–कानुनले तय गर्ने कुरा हो ।

कन्हैया सिंह परियार, गायक/संगीतकार 

मेरो बौद्धिक सम्पत्ति जोखिममा भएकाले म बौद्धिक बैंकको खोजीमा छु, जहाँ मेरो बौद्धिक सम्पत्ति सुरक्षित होस् । 

उज्वल भण्डारी, उज्जु डार्लिङ

हिजोको दिनमा त लाग्दैनथ्यो, तर आज सुरक्षित हुने क्रममा छ जस्तो लाग्छ । 

विश्व नेपाली, गायक

नेपालजस्तो देशमा सरकारी जग्गा त बेचेर खाँदा रहेछन् । प्रतिलिपिअधिकार सुरक्षित गराउने निकायमा पनि दलालहरूै देख्छु । यससम्बन्धी चेतना पनि छैन । हाम्रो कुनै पनि अधिकारको सुरक्षा छैन । 

भुपेन्द्र खड्का, गीतकार 

सबैभन्दा सुरक्षित सम्पत्ति भनेकै बौद्धिक सम्पत्ति हो, जुन बढ्छ तर घट्दैन । त्यसैले मेरो विचारमा यो सुरक्षित छ । 

कृषा चौलागाईं, चलचित्रकर्मी 

बौद्धिक सम्पत्तिमाथि सर्जकको अधिकारसम्बन्धी लिखित कानुन भए पनि जबसम्म व्यवहारिक रूपमा इमान्दारीपूर्वक स्वयं सर्जकहरू नै कानुनलाई व्यवहारमा लागु गर्न लागि पर्दैनन्, तबसम्म सर्जकको बौद्धिक सम्पत्ति कत्तिको सुरक्षित छ भन्ने होइन कि असुरक्षित नै छ भन्नुपर्छ । 

दिनेश राउत, निर्देशक

मलाई लाग्छ, यो विषयमा केही वर्षदेखि पर्याप्त चर्चा भैरहेको छ र बौद्धिक सम्पत्तिको सुरक्षासम्बन्धी कडा कानुन पनि बनेको छ । अरु राष्ट्रमा जस्तै नेपालमा पनि बौद्धिक सम्पत्ति स्रष्टामा सुरक्षित छ । गीत–संगीतको मात्र कुरा गर्दा अहिले त युट्युबको आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले आफ्नो कृति कसैले चोर्ने अवस्था नै छैन । त्यसैले मलाई लाग्छ मेरो वौद्धिक सम्पत्ति सुरक्षित छ । 

देविका बन्दना, गायिका

फिटिक्कै छैन । बौद्धिक सम्पत्तिको संरक्षण जरुरी छ । 

जितु नेपाल, अभिनेता 

नेपालमा भर्खरै यो विषयलाई केही गम्भीरतापूर्वक लिन थालिएको छ । अहिले नै सुरक्षित छ भन्न सकिने अवस्था त छैन तर आशावादी चाहिँ छु । 

प्रकाश सपूत, गायक

शत–प्रतिशत सुरक्षित हुनुपर्छ र हुने पनि छ तर अहिलेसम्म भएको छैन । 

मिलन मोक्तान, संगीतकर्मी 

मेरो बौद्धिक सम्पत्ति माफियाको हातमा छ । सर्वहाराको चारवर्षे सरकारले बाँकि तीन वर्षमा कुरा बुझ्यो भने पुरै हिसाब किताब हुन्छ जस्तो लाग्छ । 

चेतन सापकोटा, संगीतकार 

नियम–कानुनहरू त बनिरहेका छन् । त्यसका आधारमा अहिलेसम्म सुरक्षित हुन नसकिरहेका बौद्धिक सम्पत्तिहरू आगामी दिनमा सुरक्षित हुने कुरामा आशावादी छु । 

सुदन डोटेल, गीतकार 

बौद्धिकता मैले यही संसारबाट प्राप्त गरेको छु । मेरो आफ्नो भन्ने केही छैन । म अरूबाट सिक्छु र आफूलाई जानेको कुरा अरूलाई सिकाउँछु । मेरो अध्ययन र ज्ञान सबैलाई काम लागोस् । सबैले सिकून् र प्रयोग गरून् भन्ने नै मेरो चाहना रहेकाले मेरो बौद्धिक सम्पत्ति सुरक्षित नै छ । बौद्धिकता आफ्ना लागि मात्र काम लाग्ने विषय होइन । सबैले सबैसँग राम्रो कुरा सिक्दा हुन्छ, यो कब्जा गर्ने वा लुकाएर राख्ने खालको सम्पत्ति होइन । 

राजेश अहिराज, विश्लेषक 

मानिसको बुद्धिले सिर्जना गरेका सबै कुरा बौद्धिक हुन् । बौद्धिक सम्पत्तिसम्बन्धी कानुनले बौद्धिक सम्पत्ति अधिकार संरक्षणको व्यवस्था गर्छ, तर कानुन बन्नु र त्यसको कार्यान्वयन हुनु फरक कुरा हुन् । नेपालजस्तो तेस्रो विश्वमा यसको अवस्था अझ चिन्ताजनक अवस्थामा छ । कानुन परिपालना गराउने निकायको उदासीनताका कारण यो समस्या ज्यूँका त्यूँ छ । गीत–संगीत, चलचित्रका साथै अन्य बौद्धिक सिर्जनाको अनधिकृत व्यापार रोक्न राज्य कहिल्यै अघि सरेको पाइँदैन । एकाध पटक कतै छापा मारेजस्तो खबर सुनिन्छ । ती पनि आर्थिक लेनदेनमा टुंग्याइन्छन् । त्यससँगै ‘कपीराइट’ सम्बन्धी नागरिक चेतना विकासमा पनि राज्यले काम गरेको छैन । संसारका अरू विकसित मुलुकको दाँजोमा नेपालमा बौद्धिक सम्पत्ति सुरक्षाको सवाल दशकौं टाढा छ । त्यसैले म आफ्नो बौद्धिक सम्पत्ति सुरक्षित हुन्छ भनेर कहिल्यै ढुक्क भएर बस्न सक्दिनँ ।

लेनिन बञ्जाडे, लेखक 

मेरो विचारमा अहिलेको समयमा बौद्धिक सम्पत्तिको संरक्षण जटिल बन्दै गएको छ । इन्टरनेट तथा सामाजिक सन्जालको विकासले बौद्धिक सम्पत्ति सुरक्षाको अवस्था दयनीय भएको हो । 

श्वेच्छा केसी, मोडल 

पूर्ण रूपमा सुरक्षित छ जस्तो लाग्दैन । अस्ति भर्खरै मात्र एक कविको कविता चोरी गरेर अर्कोले आफ्नो नाममा छपायो । त्यसका विरुद्ध उक्त कविता श्रष्टा पत्रकार सम्मेलन नै गर्नुपर्‍यो । यसरी बेलाबखत सिर्जनाहरू चोरी भैरहन्छन् । अन्तर्राष्ट्रिय जगत्मा यसको उपाय छ । त्यसका लागि सफ्टवेयरहरू निर्माण भएका छन्, तर हाम्रोमा त्यो सिस्टम छैन । 

मीनराज वसन्त, लेखक 

गुगलले इन्टेलेक्चुएल प्रोपर्टीका सम्बन्धमा राम्रै व्यवस्था गरेको छ । प्रतिलिपि अधिकार ऐन पनि छ, तर बौद्धिक सम्पक्ति चोरेर टुत्रा–टुक्रा पारेर सामाजिक सन्जालमा दुरुपयोग गर्नेहरूलाई कसरी दायरामा ल्याउने भन्ने उपाय पत्ता लगाउने बौद्धिक व्यक्तिहरूको खाँचो छ । 

केदार घिमिरे, हास्य अभिनेता 

अहिलेसम्म त कसैको पनि बौद्धिक सम्पत्ति सुरक्षित भएजस्तो लाग्दैन । मेरो बौद्धिक सम्पत्ति पनि नजानिदो ढंगले चोरी भैरहेको छ । 

कुलेन्द्र विश्वकर्मा, गायक 

सांसारिक सम्पत्ति अरूले चोरेर लिन सक्छन् तर बौद्धिक सम्पत्ति भनेको आफ्नो क्षमतामा भर पर्ने कुरा हो । त्यसकारण कसैले धम्क्याउने, तर्साउने, लोभ देखाउनेजस्ता कार्य गर्दैमा म विचलित 

हुन्नँ र सधैं आफ्नो विवेक र विचारले निर्णय लिने हुँदा मेरो बौद्धिक सम्पत्ति सुरक्षित छ भन्ने मलाई लाग्छ । 

आस्ना अवस्थी, कोरियोग्राफर 

सुरक्षित... हा हा हा ! रमाइलो प्रश्न, यो डिजिटल संसारमा मेरो सिर्जना कति बेला कसको फेसबुकको भित्तामा पुग्छ र त्यहाँबाट कसको बहसमा चढ्छ पत्तो हुँदैन । ज्ञान जति बाँड्यो त्यति बढ्छ भन्ने भनाइलाई म पनि मान्छु तर बजारमा रहेका बौद्धिक चोरीका समाचारले मलाई पनि त्रसित नबनाएको चाहिँ होइन । 

निशा पन्थी, युवा व्यवसायी 

फिटिक्कै छैन । यद्यपि हामी वर्तमान संविधानको धारा २५ मा यसलाई सम्पत्तिसम्बन्धी मौलिक हकमा राख्न सफल भएका छौं । अब यसलाई कार्यान्वयन गराउन गतिशील हुनेछौं र यो अधिकारलाई जसरी पनि सुरक्षित गराउन अग्रसर हुने छौं । 

लक्ष्मण शेष, संगीतकार 

मेरो बौद्धिक सम्पत्ति मैले सुरक्षित पाएको छैन । युट्युवमा लोड भैसकेको मेरा चलचित्र तथा नीजि गीतलाई अरुले नै भिडियो बनाएर युट्युवमा बग्रेल्ती हालेका छन् । मैले लेखेका लेख सृजनाहरू अरुले प्रतिलिपि गरेर आफ्ना विभिन्न माध्यममा प्रयोग गरेका छन् । कानूनी प्रकृया सजिलो नभएका कारण मेरो बौद्धिक सम्पत्ति अरुले प्रयोग गरेको टुलुटुलु हेरेर बस्नु पर्ने अबस्था नेपालमा छ ।

डब्बु क्षेत्री, निर्देशक/सञ्चारकर्मी 

आफ्नो गीतहरू नाम चलेका हामीले भन्दा बढी पारिश्रमिक लिएर सोधपुछ त परै जाओस् गीत त बिगारेर गाइदिन्छन् । विभिन्न आइडल नामका फ्रेन्चाइज शोहरूले समेत सर्जकको नाम समेत नराख्दा त झन् मन दुख्दो रहेछ । त्यसैले सरकारले बौद्धिक सम्पत्तिको कदर गर्न कानुनमा रहेको अधिकारबाट बन्चित गराउनु भएन । सम्पूर्ण अधिकार सुनिश्चित हुन सके हामी पनि आर्थिक, सही सिर्जनादेखि सबै कुरामा सक्षम हुन सक्थ्यौं र सरकारलाई पनि करमार्फत् धनी बनाउने थियौं ।

रामचन्द्र काफ्ले, गायक

मेरो त के कुरा, यहाँ कतिखेर कसको बौद्धिक सम्पत्ति चोरी हुन्छ पत्तो हुँदैन । 

निशान भट्टराई, गायक

प्रकाशित :वैशाख १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्