समाज, लिंग, यौन र यौनिकता

- सपना अधिकारी

वैशाख १५, २०७६

 

सामाजिक हिसाबले हेर्दा अहिले पनि लिंग शब्दको अर्थ महिला तथा पुरुष नै भनेर बुझिन्छ, तथापि तेस्रो लिंगी वा अन्य नखुलेका व्यक्ति पनि अहिले समाजमा अगाडि आइरहेका छन् । हामीले बुझ्नुपर्ने कुरा के पनि छ भने समाज अथवा राज्यले महिला वा पुरुषलाई कस्तो भूमिका प्रदान गर्छ, अधिकार र साधन–स्रोतको बाँडफाँड कसरी हुन्छ, त्यसको प्रयोगको पहुँच उपलब्धता कसरी हुन्छ ? मानिसमा कस्तो व्यवहार र मानसिकता विकास गर्न सिकाउँछ त्यसको बोध गर्नु नै लैंगिक आधार हो ।

हाम्रो जस्तो पुरुषप्रधान समाजमा महिलाहरू पुरुषको अधीनमा रहेर परिस्थितिको जिम्मेवारी तिनीहरूको शरीर वा शारीरिक बनावटलाइ अन्यायपूर्ण सोचाइको सामना गर्नुपर्ने परिस्थितिले लिंगको अवधारणा आएको देखिन्छ । सदियौंदेखि के मानिँदै आयो भने महिला–पुरुष चरित्रिक विशेषता मात्र हुन् । तिनका भूमिकाहरू र समाजमा प्राप्त हुने दर्जा आदि सबै तिनका जैविक वा शारीरिक भिन्नताले निर्धारण हुन्छन् । शरीरका कारणले नै महिला र पुरुषबीचको अन्तर तथा भेदभावको विकास भएको देखाउँछ । 

साँच्चै भन्ने हो भने उनिहरूबीचको समानता सामान्य र प्राकृतिक हो अनि त्यसलाई हटाउन केही आवश्यकता नै पर्दैन । यौन तथा शारीरिक बनावटसँग सम्बन्धित कुरा सामान्य हुन् । प्रत्येक प्राणीमा भाले वा पोथी मिलेर बच्चाबच्ची जन्मन्छ भन्ने कुरा सबैलाई थाहै छ । तिनै बच्चाबच्ची बिस्तार–बिस्तारै लोग्नेमान्छे वा स्वास्नीमान्छेमा रुपन्तरित हुन्छन् । समाजले उनीहरूलाई पुरुषोचित वा स्त्रीका विशेषताहरूका साथ विकसित गर्छ । तिनका गुण एवं व्यवहार गर्ने तरिकाहरू भूमिका र जिम्मेवारी अधिकार र अपेक्षाहरू पनि फरक–फरक हुन थाल्छन् । 

यौनको जानकारी तथा पहिचान जैविक विशेषताका आधारमा हुन्छ । यौन प्रकृतिक देन हो । यो स्थायी हुन्छ, हरेक गाउँ वा समाजमा शारीरिक रूपले स्त्री–पुरुषका अंग उही नै हुन्छन् । जव स्त्री र पुरुष यौवनावस्थामा प्रवेश गर्छन्, उनीहरूमा शारीरिक वृद्धिसँगै यौनांगहरूको संरचना एवं क्रियाकलापमा परिवर्तन आउँछ । यौन अवस्थामा दुई प्रकारका विशेषता देखा पर्छन्— प्रारम्भिक र माध्यमिक । 

प्रारम्भिक भन्नाले यौनाङ्गमा आउने परिवर्तनले यौनरस तथा जीव कोषिकाहरू उत्पन्न हुन थाल्छन् । यौवनको मूल लक्षण केटीमा रजस्वला हुनु र केटामा स्वपनादोष हुनु हो । यौन रसको उत्पादनमा आउने वृद्धिले युवा–युवतीमा यौनाकर्षण देखा पर्छ, तर रुढिवादी समाजमा युवा–युवतीको यौनचाहना परिपूर्तिमा रोक लगाइन्छ । बुझ्नुपर्ने कुरा यौन प्रकृतिक देन हो, यसलाई रोकेर रोक्न सकिँदैन भन्ने हो । जति नै नियम–कानुन भए पनि लुकिछिपी भए पनि मानिसहरूले आफ्नो उक्त चाहना परिपूर्ति गरिरहेका हुन्छन् । 

अहिले मानिसलाई विज्ञान र प्रविधिले निकै सहज बनाएको छ । कतिले यसलाइ सदुपयोग गरिरहेका छन् कतिले दुरुपयोग । इन्टरनेटको माध्यमबाट पनि यौन चाहना पूर्ति गर्नेहरूको ठूलो संख्या छ । हाम्रो देशमा खुलेआम यौन क्रियाकलाप बर्जित छ, यौनले समाजलाई बिगारिरहेको छ भन्ने एकथरीको तर्क छ । विकसित देशहरूमा बढी स्वतन्त्रता छ, तथापि समाज सभ्य नै छ । प्रमुख कुरा यौनलाइ कसरी लिने भन्ने हो । हरेक नेपालीले कस्तो खालको यौन शिक्षा लिइरहेका छन् भन्ने हो । सबैभन्दा ठूलो खाडल भनेको हाम्रो देशमा मानिसहरूलाई यौन शिक्षाबाट वञ्चित गरिनु नै हो । त्यसले गर्दा अपराधकर्म बढिरहेका छन् । कानुनले बन्देज लगाए पनि बर्सेनि बलात्कारका घटना बढिरहेका छन् । सभ्य समाज निर्माणका लागि यौन शिक्षालाई बर्जित वस्तु होइन, खुल्ला बहसका रूपमा लिएर अघि बढ्नु उपयुक्त हुन्छ । 

 

(अधिकारी मानोविज्ञानमा स्नातकोत्तर अध्ययनरत छिन् ।)

 

प्रकाशित :वैशाख १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्