लोकतान्त्रिक मञ्चको दुर्गति

- किशोर नेपाल

वैशाख १३, २०७६

यो खुला मञ्च हो । खुला मञ्च अर्थात् ओपन थिएटर । वास्तवमा यो लोकतन्त्र मञ्च हो । पञ्चायती व्यवस्थाकालीन सरकारले यसको निर्माण गरे पनि यसको बढीभन्दा बढी प्रयोग लोकतन्त्रवादीले नै गरेका थिए । हामीले दुई दिनअघि मात्र लोकतन्त्र दिवस मनायौं । खुला मञ्चको अभाव कसैलाई किन खट्किएन होला ? यसको जवाफ खोज्नु आवश्यक छ । 

‘ठूलो टुँडिखेल’ लाई आधाजति टुक्य्राएर त्यसको आधा भागमा तत्कालीन बडामहारानी रत्नराज्यलक्ष्मीदेवीको नाममा पार्क ‘बगैंचा’ र आधा भागमा खुला मञ्च निर्माण भएको थियो । खुला मञ्चपछाडिको पूरै टुँडिखेल सैनिकहरूका लागि कबाज खेल्न छुट्याइएको थियो । खुला मञ्च अहिले पनि छ, तर त्यो बन्द छ । मञ्चको भित्ता सोडा लागेर मक्किएको छ । मानिसका पिसाबले यसको परिसरलाई दुर्गन्धित तुल्याएको छ । खुला मञ्चको अघिल्लो भाग, जहाँ दर्शक र श्रोता नेताहरूको भाषण सुन्न बस्ने र उभिने गर्थे, सार्वजनिक बसको पार्किङ बनेको छ । यसको अगाडिपट्टि, रत्नपार्कसँग जोडिएको भागमा, पसल र होटल खुलेका छन् । पार्कमा व्यवसायिक गतिविधि बढेका छन् । रत्नपार्क पहिलेदेखि नै देह व्यापारका लागि बदनाम ठाउँ हो । भनिन्छ, अहिले उक्त व्यापारमा वृद्धि भएको छ । 

खुला मञ्चको त्यो भाग, जहाँ मानिसहरू जाडोमा घाम तापेर बदाम खाँदै चौरमा लुटपुटिन्थे, ती चौर कतै छैनन् । खुला मञ्च छिर्ने ढोकाको चार लहरमा बस बिसौनी बनेका छन् । त्यसको उत्तरतिर ढेपिएर बनेका छन् रेस्टुराँ, खुद्रा पसल र शौचालय । शौचालयको भित्तामा टाँसिएको सूचनापाटीमा लेखिएको छ– दिसा गरेको १० रुपैयाँ, पिसाब फेरेको ५ रुपैयाँ मात्र । पहिले यही ठाउँमा त्रिपालमा ओतिएर तथा आकाशे पुलका झोले पसलमा जो विभिन्न सक्कली–नक्कली सामानको बिक्री गर्थे ती यता देखिएका छैनन । काठमाडौं महा–नगरपालिकाले रत्नपार्क र खुला मञ्चको दुर्गति पारेर पसलेहरूका लागि सटर बनाइदिएको छ । सटर अर्थात् स्थायी पसल । यसका साथै खुला मञ्चको (र, रत्नपार्कको पनि) अन्तिम दिन नजिक आएको बुझिन थालेको छ । यो त सबैलाई थाहै छ, पुरानो बसपार्कमा काठमाडौं महानगरले धरहराभन्दा अग्लो बहुतले भवन बनाउँदैछ । त्यसको असर भोग्दैछ खुला मञ्चले । 

खुला मञ्चको आफ्नै वैशिष्ट्य, आफ्नै इतिहास छ । यो मञ्चको भवन बनेपछि सरकारले यसको पछिल्लो भाग ‘युवा कलाकार समूह’को कार्यालय राख्ने प्रयोजनका लागि निःशुल्क उपलब्ध गराएको थियो । मञ्चको वरिपरि नेपाली कला क्षेत्रका हस्तीहरूको जमघट हुन्थ्यो । पञ्चायत कालीन समयमा यो मञ्च बेलायतको हाइड पार्कको समानान्तर नै त थिएन, तर हाइड पार्कका धेरै फिचरहरूसँग मिल्दोजुल्दो थियो यो मञ्च । यो मञ्चमा विशिष्ट पाहुनाहरूको अभिनन्दन हुन्थ्यो । पञ्चहरूका सभा र भेला हुन्थे । काठमाडौं सहरमा राजनैतिक चेतनाको विस्तारसँगै सुरक्षा समस्या बढेको महसुस ग¥यो राजदरबारले । यही सुरक्षा सन्त्रासका कारण काठमाडौं नगर पञ्चायतले विदेशी अतिथिहरूको नागरिक अभिनन्दन बन्द कोठामा गर्न थालेपछि खुला मञ्चको सरकारी महत्व घट्यो । ती नेपाली भाग्यमानी पुस्ताका थिए, जसले विश्वका साँच्चैका, ‘जमामर्द’ नेताहरूको नागरिक अभिनन्दन खुला मञ्चमा गर्न पाए । खुला मञ्चमा भएको एउटा नागरिक अभिनन्दन थियो चीनका तत्कालीन उप–प्रधानमन्त्री तथा उदार आर्थिक नीतिका प्रवर्तक तेंग श्याओ पिंगको । उनको भाषण तेजस्वी थियो । उनले आफूलाई उदार लोकतन्त्रको पक्षमा खडा गरेका थिए । 

केही अविस्मरणीय भाषण भएका छन् खुला मञ्चमा । राजा वीरेन्द्रले २०३६ जेठ १० मा बहुदलीय प्रजातान्त्रिक व्यवस्था र निर्दलीय पञ्चायत व्यवस्थाका बीच जनतालाई कुनै एक व्यवस्था चुन्ने अधिकार दिंदै जनमत संग्रहको घोषणा गरेपछि बीपी कोइरालाले नेपाली जनतालाई खुला मञ्चबाटै सम्बोधन गर्नुभएको थियो । जेलजीवन, निर्वासन र फेरि जेल जीवनपछि बीपीले सार्वजनिक भाषण गर्नु भएको पहिलो अवसर थियो त्यो । उहाँले आफ्नो भाषणमा जनतासमक्ष नेपाली कांग्रेसलाई ‘उत्तराधिकारी’ सरकारका रूपमा प्रस्तुत गर्नु भएको थियो । बीपीको भाषणलाई त्यतिबेला धेरैले मन पराएका थिएनन । बीपीले जनमत संग्रहलाई बिनापूर्व सर्त मान्नुभएको थियो । खासगरेर, उग्रवादी राजनीतिका हर्ताकर्ताहरू उहाँ राजतन्त्रप्रति धेरै नरम हुनुभएको भनेर कुरा काट्न थालेका थिए । बीपीलाई यो आलोचनाले छोएन । उहाँबाट कुनै प्रतिक्रिया आएन । त्यस दिन बीपीसँगै खुला मञ्चमा भाषण गर्ने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले राजतन्त्रको कटु आलोचना गर्दै जनमत संग्रहका लागि पूर्वसर्तहरू राख्नुभएको थियो । 

खुला मञ्चमा भएको अविस्मरणीय सभाहरूमा बीपी कोइरालाको अन्तिम जनसभा थियो । यही जनसभामा बीपीले कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको थियो, ‘कुनै पनि विषयमा दुबिधा भए देशको माटो मुठ्ठीमा लिएर सोच्नु । आफ्नो विवेकले जे भन्छ त्यही निर्णय लिनु ।’ त्यही भाषणले बीपीलाई नेपाली समाजमा ‘अजातशत्रु’ का रूपमा स्थापित गरेको थियो । 

त्यस्तै अविस्मरणीय भाषण थियो मनमोहन अधिकारीको । जनमत संग्रहमा बहुदल पक्षको पराजयपछि उहाँले जनमत–संग्रहमा दरबारले धाँधली गरेर निर्दलीय पक्षलाई जिताएको आरोप खुलेआम लगाउनुभयो । उहाँले शिक्षा सामग्री केन्द्र सानो ठिमीको प्रेसमा सात लाख फर्जी मत छपाएर निर्दलीय पक्षमा खसालिएको जानकारी आफूलाई सरकारकै मानिसहरूले दिएको बताउनुभएको थियो । अधिकारीको उक्त भाषण अत्यन्त आक्रामक र अविस्मरणीय थियो । 

खुला मञ्च पञ्चायतले बनाए पनि यसको उपभोग बहुदलीय प्रजातन्त्र र जनवादी राजनीतिक धारका मानिसले बढी गरे । टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, केआई सिंह, रामहरि शर्मा, मदन भण्डारी, प्रचण्ड आदि थुप्रै मूर्धन्य नेताले यसको उपभोग गरेका थिए । लगभग ५० हजार मानिसको फौज धान्न सक्ने क्षमता भएको खुला मञ्चजस्तो जनताको साझा ठाउँ अर्को छैन । अहिले त्यहाँ चिनियाँ निर्माण कम्पनीको क्याम्प, बस पार्क र अरू विभिन्न प्रकारका फोहोर राखिएको छ । मञ्चमा बेवारिसे मानिसहरू सुत्ने गरेका छन् । बेलाबेलामा लागू पदार्थ सेवनकर्ताहरूको भीड लाग्ने बताउँछन् पसलेहरू । खुला मञ्चसँग काठमाडौं महानगरपालिकाले जे–जस्तो ब्यवहार गरेको छ त्यो असभ्यताको पराकाष्ठा हो । अहिलेको संसारमा मानिसहरू घर भत्काएर पार्क बनाउँछन्, हामीकहाँ पार्क ध्वस्त पारेर घर निर्माण गरिन्छ । खुला मञ्च काठमाडौंको सास फेर्ने थलो थियो । अब त्यो पनि ‘सफोकेटेड’ भएको छ ।

काठमाडौंका मानिसको प्रकृति जसले जे गर्दा पनि सहने छ । यो जनताको कमजोरी होइन । महानगरको वाम नेतृत्वले काठमाडौं नामको सुुन्दर कान्तिपुर सहरको जति खराब व्यवस्थापन गरेको छ, त्यति अरूबाट भएको छैन होला । जनता जागेको दिन के होेला ? बेला–बेलामा देखेका छन् नेताहरूले काठमाडौंका जनता जागेका !

प्रकाशित :वैशाख १३, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्