न्यास्रो

- अविरल थापा

वैशाख ११, २०७६

यो मनको बानी अनौठो हुन्छ । कति कुरा नजिक हुँदा वास्ता गर्दैन तर टाढा भएपछि सोधखोज गर्न थाल्छ । चिन्दै नचिनेको मानिसको पनि न्यास्रो लाग्न सक्छ । सधैं स्कुल–कलेज जाँदा वा कार्यालय जाँदा कतिपय मानिस बाटो वा बसमा प्रायः सधैं देखिन्छन्, भेटिन्छन् तर बोलचाल,हुँदैन । एउटै बाटोमा भेटिने मानिस धेरै दिनसम्म आएन भने मनले, आँखाले खोज्न थाल्छ ।

विशेषतः धेरै दिनसम्म वा समयसम्म आफूलाई माया लाग्ने मानिससँग भेट्न नपाउँदा हुने सकसकलाई सायद न्यास्रो भनिन्छ, तर न्यास्रो मानिसको मात्र लाग्दैन, ठाउँको पनि लाग्छ । आफ्नो गाउँको न्यास्रो, घरको न्यास्रो, बसेको कुनै ठाउँको न्यास्रो, खाने ठाउँको न्यास्रो । 

किन होला कुन्नि, भेटेका सबै मानिसको न्यास्रो लाग्दैन । कहिलेकाहीं सधैं गैरहने पसल वा खाने होटलमा लामो समयपछि जाँदा कहाँ जानुभएको थियो ? तपाईंको न्यास्रो लागेर पनि भन्छन् । सायद न्यास्रो सम्बन्धको गहनतामा भर पर्छ । जिन्दगीमा कसैको बानी परेको हुन्छ । भेट्ने बानी, बोल्ने बानी, अचानक त्यो मानिस काम परेर वा परिबन्धले टाढा जानुपर्ने हुन्छ र विगतका यादहरू सम्झेर अनायास कसैको न्यास्रो लागिदिन्छ । धेरै दिनसम्म छोराछोरीसँग भेट्न वा बोल्न नपाउँदा बाआमालाई लाग्ने न्यास्रो संसारको सबैभन्दा शक्तिशाली न्यास्रो हुनसक्छ । छोराछोरीलाई उस्तै न्यास्रो लाग्न सक्छ । भेटेर सुखदुःख साटेपछि र समय बिताएपछि केही समयलाई फेरि न्यास्रो मेटिन्छ । 

यो मनको बानी अनौठो हुन्छ । कति कुरा नजिक हुँदा वास्ता गर्दैन तर टाढा भएपछि सोधखोज गर्न थाल्छ । चिन्दै नचिनेको मानिसको पनि न्यास्रो लाग्न सक्छ । सधैं स्कुल–कलेज जाँदा वा कार्यालय जाँदा कतिपय मानिस बाटो वा बसमा प्रायः सधैं देखिन्छन्, भेटिन्छन् तर बोलचाल,हुँदैन । एउटै बाटोमा भेटिने मानिस धेरै दिनसम्म आएन भने मनले, आँखाले खोज्न थाल्छ । किन नआएको होला ? केही भयो कि ? कहाँबाट आउँथ्यो होला भनेर मनले कुरा गर्न थाल्छ । कस्तो अचम्म होला, कुरै नगरेको मानिसको पनि किन न्यास्रो लाग्छ ? हृदयमा त्यस्तो कुन रसायन हुन्छ जो अन्जान मानिसको यादमा पनि रसाइदिन्छ ? कसैको न्यास्रो मेट्न भेट्नैपर्ने, कसैको न्यास्रो मेट्न बोल्नपर्ने, कसैको न्यास्रो मेट्न छुनैपर्ने भने कसैको न्यास्रो हेर्दैमा मेटिने, यो न्यास्रोका पनि अनेक रंग र वजन छन् । 

फेरि एक जनालाई न्यास्रो लाग्दैमा अर्कोलाई पनि लाग्छ, भन्ने हुँदैन । कसैले त्यही मानिसलाई अगाध प्रेम गरेको हुन सक्छ भने अर्कोलाई सामान्य लाग्न सक्छ । बेलाबखत तँलाई त मेरो न्यास्रो पनि लाग्दैन कि क्याहो भनेर एकले अर्कासँग गुनासो पनि गरेको सुनिन्छ । कसैले लाग्नुपर्छ र लगाउँछु भन्दैमा न्यास्रो लाग्दैन यो त स्वतःस्फुर्त लागिदिन्छ । कुन बेला कसको न्यास्रो लागिदिन्छ, आफ्नै मनलाई पनि थाहा हुँदैन । कसैको याद आउनु र न्यास्रो लाग्नु फरक कुरा हो । याद आउँदैमा मन अत्तालिन्न तर न्यास्रो लागेपछि मनले भेट्न वा बोल्न खोज्छ । याद त जिन्दगीमा धेरैको आउँछ जान्छ तर मन जो–कोहीलाई सम्झेर त्यसै न्यासि्रँदैन ।

धेरै वर्षसम्म परदेशमा बसेको मानिस देश सम्झेर न्यास्रिन्छ, सहर पसेको मानिस गाउँ सम्झेर न्यास्रिन्छ । केही न केही गुमाएर वा अलग्गिएर जिउनु स्वभावतः हरेक मानिसको नियति नै हो । जति मिलाउन खोजे पनि जिन्दगीको हिसाबकिताबमा बेरुजु निस्किरहन्छ । मिलाउन खोज्दाखोज्दै ठ्याक्कै सय पार्छु र आनन्दले बस्छु भन्दाभन्दै उनान्सय मात्र भैदिन्छ । मानिसको जीवन सुखको खोज हो, यता गएर हुन्छ कि भन्छ उता गएर हुन्छ कि भन्छ, यसो गरेर हुन्छ कि उसो गरेर हुन्छ कि योसँग हुन्छ, अर्कोसँग हुन्छ कि भनेर सुख खोजेर भौंतारिइरहन्छ, तर आफूभित्र नपसी कहिल्यै सुख भेटिदैन । न्यास्रो सायद अरूसँग सुख खोजेर पो लागेको हो कि ? आफू भएको ठाउँमा रमाउन नसकेर पो लागेको हो कि ? आफूसँग भएको मानिसले नपुगेर पो हो कि ?

मानिसको मन र दिमाग सदा विभाजित हुन्छ । मनले एकथोक गरौं भन्छ, दिमागले हुँदैन भन्छ । दिमागले सदा हिसाब–किताब गर्छ, नाफाघाटा हेर्छ तर मनले शान्ति खोज्छ । व्यापारमा दिमाग चलाउने र प्रेममा मन चलाउने मानिस कहिल्यै पछुताउँदैन । मानिसको मन हजारौं यादको चिहान हो, कतिबेला कसको के उधिनिएर आउँछ, भर हुँदैन । अहिले अर्कैसँग गएको भए पनि कतै घुम्न जाँदा पहिले सँगै गएको मानिसको याद बल्झिन्छ ।

हृदयमा गाडिएर बसेको कुरा सतहमा आइदिन्छ र कसैको न्यास्रो लागिदिन्छ । न्यास्रो लाग्दैमा कहाँ मेट्न पाइन्छ र ? कहिले ठाउँले दिँदैन, कहिले परिस्थितले दिँदैन, कहिले समयले दिँदैन, कहिले समाजको दायराले दिँदैन । पानी हेरेर प्यास त कसको मेटिन्छ र ? न्यास्रो सधैं एउटै मानिसको पनि लाग्दैन, एउटै ठाउँको पनि लाग्दैन । कहिले कुनै गीत सुन्दा त कहिले सिनेमा हेर्दा वा पुस्तक पढ्दा पनि कसैको याद बल्झिदिन्छ र मनमा हुटहुटी बढिदिन्छ । ठेगाना नभएको छुट्टिएको मानिसलाई देख्न पाए हुन्थ्यो, भेट भैदिए हुन्थ्यो भनेर ऊ आउने–हिँड्ने बाटोमा आँखा ओछ्याउन मन लाग्छ । 

अपुर्णता हरेक मानिसको नियति हो । केही न केही र कोही न कोही गुमाएरै जीवन सकिन्छ । सकिन्छ, लागेको न्यास्रो मेट्नुहोस् तर मेटिनैपर्छ भन्ने पनि के नै छ र ?

 

प्रकाशित :वैशाख ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्