स्किल बढाउन  ध्यान दिनुपर्छ

- जनक तिमिल्सिना

वैशाख १०, २०७६

नेपालीहरूमाझ चर्चित एप हाम्रो पात्रोका संस्थापक हुन्– शंकर उप्रेती । बारामा जन्मिएका उप्रेतीले पुल्चोक इन्जिनिरिङ क्याम्पसबाट सन् २००४ मा कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन् । सन् २००८ मा उच्च शिक्षाका लागि अमेरिका गएका उप्रेतीले सन् २०१० मा बोस्टन युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङमा मास्टर्स गरे । ३७ वर्षीय उप्रेतीले अमेरिकामा रहँदा केही वर्ष क्यालिफोर्नियाको सिलिकन भ्यालीस्थित सिमेन्टिक कर्पोरेसनको उच्च तहमा बिताए । अमेरिकामै रहँदा सन् २००९ मा उनले विदेशमा रहेका नेपालीहरूलाई तिथिमिति हेर्न सुविधा होस् भनेर हाम्रो पात्रो एप निर्माण गरे । ५० लाखभन्दा बढी स्मार्टफोन प्रयोगकर्ताले डाउनलोड गरेको उक्त एपलाई नै राम्रो बनाउन उनले सन् २०१५ मा सिमेन्टिक कर्पोरेसनको वार्षिक करोडभन्दा बढी कमाइ हुने आकर्षक जागिरलाई बाई–बाई गरे । तिथिमितिबाहेक हाम्रो पात्रो अहिले समाचार, रेडियो, विदेशी विनिमय, मौसमको जानकारीजस्ता सुविधाका लागि पनि रोजाइको एप सावित भएको छ । हाम्रो पात्रोलाई ग्रोथ गर्न पूर्णकालीन भएर लागि परेका उप्रेतीसँग जनक तिमिल्सिनाले गरेको कुराकानी :

हाम्रो पात्रो बनाउने कन्सेप्ट कसरी आयो ? 

सन् २००८ मा म पढ्न भनेर अमेरिका आएको थिएँ, त्यतिबेला सोसल मिडिया यति पपुलर थिएन । विदेशमा बस्ने नेपालीहरूलाई कुन चाडपर्व आयो भनेर थाहा पाउन गाह्रो थियो । म छापिएकै नेपाली भित्ते पात्रो बोकेर अमेरिका आएको थिएँ, तर एक वर्षपछि अर्थात् अर्को वर्ष त्यो पात्रो काम लागेन । अर्को वर्षदेखि दसैं–तिहारजस्ता ठूला चाडबाडहरू त थाहा हुन्थे तर क्वाँटी खाने, आमाको मुख हेर्ने जस्ता दिन सम्झिन गाह्रो हुन्थ्यो । सन् २००७ मा मैले आइफोन किनेँ, आफूसँग स्मार्टफोन भएकाले आफ्नै नेपाली पात्रो पनि त्यसमा राख्न पाए हुन्थ्यो भन्ने लाग्यो । सन् २००९ तिर आइफोनका लागि हाम्रो पात्रोको पहिलो भर्सन बनाए । त्यतिबेला त्यो एप मैले आफैंले सम्झिन मात्र तयार पारेको थिएँ । 

सबैका लागि उपयोगी एप बनाउने सोच कसरी पलायो ? 

सुरुमा मैले आफ्ना लागि मात्र पात्रो बनाएँ । त्यो पात्रो मैले साथीहरूलाई क्यालेन्डर बनाएको छु, कस्तो छ भनेर देखाए । मेरा साथीले यो त हामी सबैलाई काम लाग्ने कुरा हो नि भने । मैले त्यतिबेला यसलाई रिलिज गरिसकेको थिइनँ । म विद्यार्थी थिएँ, एप रिलिज गर्न प्रत्येक वर्ष ९९ डलर तिर्नुपर्थ्यो । त्यतिबेला अमेरिका आएर संघर्ष गरिरहेको विद्यार्थी भएकाले त्यति पैसा नै मेरा लागि ठूलो कुरा थियो । बेकारमा रिलिज गरेर किन पैसा खर्च गर्ने भन्ने लागिरहेको थियो । साथीहरूले हामी सबैका लागि काम लाग्ने पात्रो हो भनेर रिलिज गर्न कर गरें । त्यतिबेला ९९ डलर तिरेर रिलिज गर्दा चित्त त दुखेको थियो बेकारमा ९९ डलर खर्च गर्नुपर्‍यो भनेर । यद्यपि रिलिज गर्नासाथ एकदमै राम्रो प्रतिक्रिया आयो । त्यसपछि मलाई आफूले जीवनकै एउटा बेस्ट डिसिजन गरे भन्ने लाग्यो । साथीहरूले हामी सबैलाई चाहिने पात्रो हो भन्नुभयो, त्यहीँबाट हाम्रो पात्रो नामाकरण भएको हो । अकस्मात नै यस्तो नामाकरण भएको हो । धेरै फिचर राखिसकेपछि एपको नाम चेन्ज गर्ने कि भन्ने पनि लाग्यो, तर हाम्रो पात्रो ब्रान्ड नेमजस्तो भैसकेकाले चेन्ज नगर्नु नै उपयुक्त हुन्छ भन्ने धेरैको मत रह्यो । त्यसपछि हाम्रो ब्रान्डले निरन्तरता पायो । अहिले हाम्रो पात्रो, हाम्रो किवोर्ड, हाम्रो डिक्सनरी भन्ने बितिकै एउटै ग्रुप हो भन्ने थाहा हुन्छ । 

हरेक वर्ष कसरी पात्रो फिक्स गर्नुहुन्छ ? 

हामी नेपाल पञ्चांग समितिको पात्रोका आधारमा क्यालेन्डर तयार गर्छौं, त्यो सरकारबाट मान्यताप्राप्त आधिकारिक पाक्रो हो । त्यसबाहेक संयुत्त राष्ट्रसंघले दिएका डेटहरू पनि समेटेका छौं । हरेक वर्ष हामी यसलाई अपडेट गर्दै जान्छौं, कुनै वर्ष सरकारका सार्वजनिक बिदा पनि परिवर्तन भैरहेका हुन्छन् । हामी ती सबै कुरा फ्लो गर्छौं । 

पहिले तपाईंहरू पात्रोमा सीमित हुनुहुन्थ्यो, अहिले समाचारलाई पनि प्राथमिकता दिइरहनुभएको छ नि ? 

सुरुमा हामीले पात्रो निकाल्यौं । त्यो लोकप्रिय हुँदै गयो । यसको निर्माण नेपालबाहिर बस्ने नेपालीहरूलाई नेपालसँग जोड्ने उद्देश्यले भएको हो । नेपालीहरूलाई नेपालमा के भैरहेको छ भन्ने चासो पनि उत्तिकै छ । हामीलाई पनि न्युज राख्न पाइयो भने मानिसहरूलाई एकै ठाउँमा पढ्न सजिलो होला भन्ने लाग्यो अनि सन् २०१३ देखि हामीले यसमा न्युज राख्न थाल्यौं । हाम्रो पात्रो त पपलुर छँदै थियो, न्युज बार पनि निकै लोकप्रिय भयो । अहिले पात्रोसँगै न्युजमा पनि एकदमै धेरै इन्गेजमेन्ट छ । नेपाली भाषामा भएकाले नेपाली न्युजको सेक्टरमा अझ बढी इनोभेसन गर्ने ठाउँ छ । त्यसकारण अहिले हामीले अलि बढी फोकस न्युजमा गरेका छौं किनभने युजरहरूको इन्ट्रेस्टपनि त्यतातिरै छ । सबै न्युज एकै ठाउँमा पढ्न पाइयो, त्यो पनि सजिलो भयो । एउटा विषयमा नेपालमा फरक–फरक मिडियाले के लेखिरहेका छन्, त्यसमा पनि एक्सेस होस् भनेर हामीले समाचारलाई प्राथमितामा राखेका हौं । 

सबै युजरलाई एउटै टोकरीमा ल्याउने फराकिलो दायरा कसरी निर्माण भयो ? 

यो सबै युजरहरूकै प्रतिक्रियाबाट सम्भव भएको हो । सन् २००९ मा हामीले पात्रो मात्र निकाल्यौं । त्यतिबेला नेपालमा त्यति स्मार्टफोन थिएनन् । स्मार्टफोन चलाउने धेरै नेपाली देशबाहिर बस्नेहरू नै हुनुहुन्थ्यो । त्यतिबेला अमेरिका, अस्ट्रेलियाजस्ता देशमा भएका नेपालीहरूले मात्र हाम्रो पात्रो चलाउँथे, हामीले पनि आइओएस भर्सनमा मात्र हाम्रो पात्रो ल्याएका थियौं । देशबाहिर बस्नेहरूलाई एक्सचेन्ज रेट कति छ भन्ने जानकारी पनि चाहिने । त्यसैले वैदेशिक विनिमय दर हेर्न पाए हुन्थ्यो भन्ने फिडब्याक आएपछि त्यसलाई पनि समेटियो । त्यसपछि रेडियो सुन्न पाए हुन्थ्यो भन्ने कुरा आयो अनि हामीले यसमा एफएमको एक्सेस पनि राख्यौं । 

यो एप यति लोकप्रिय हुनुको कारण के हो ? 

हामीले प्रयोगकर्ताहरूले के–के चाहनुहुन्छ, त्यही–त्यही कुरा राख्दै गयौं । सन् २०१३ मा एन्ड्रोइड एप पनि एकदमै पपुलर भयो । अर्को कुरा हामीले के पायौ भने नेपालमा हुने धेरैजसो स्मार्टफोन हाई क्यापासिटीका हुँदैनन्, कम क्षमताका हुन्छन् । त्यसैले सबैलाई एउटै ठाउँमा दिने हो भने एप पनि सानो हुने भयो, सबै कुरा एउटै ठाउँमा पनि हुने भयो । सानो एपमा धेरै फिचरहरू राख्दा त्यसले लो मेमोरी भएको डिभाइसमा पनि काम गर्ने भयो । अमेरिकातिर एउटै एपलाई मल्टिपल एप बनाउने ट्रेन्ड छ । मोबाइलमा धेरै एप राख्दा मेमोरी फूल हुन्छ, त्यसैले एउटै एपमा धेरै फिचर समेटिएको हो । हाम्रो पात्रो मन पराइनुको कारण पनि एउटै एपमा धेरै कुरा हुनु हो । अरु एप डाउनलोड गरिरहनु परेन । स्पेस पनि धेरै खाएन । एउटै ठाउँमा सबै कुरा भएकाले सबैले रुचाइदिनुभएको होलाजस्तो लाग्छ । 

अहिले बढी प्रयोगकर्ताले पात्रोका लागि हाम्रो पात्रो एप प्रयोग गर्छन् कि समाचारका लागि ? 

अहिले खासगरी चार वटा कुराका लागि हाम्रो एप सबैभन्दा धेरै हेरिन्छ । एक पात्रो, अर्को रेडियो सुन्न र तेस्रो समाचार हेर्न । विदेशी विनिमय दर पनि लोकप्रिय छ । 

समाचारलाई हाम्रो पात्रोले कसरी समेट्छ ?

नेपालका धेरैजसो न्युज पोर्टलसँग हाम्रो अन्डरस्ट्यान्डिङ छ । उहाँहरूको पोर्टलको आरएसएस फिड हामीले हाम्रो एपमा इन्टरपेटर गर्छौं । त्यसपछि पूरै समाचार पढ्न त्यही न्युज पोर्टलको साइटमा जानुपर्छ । त्यो हाम्रो अन्डरस्ट्यान्डिङ हो । हामी आफैं न्युज प्रोड्युस गर्दैनौं, हामी त्यसका एक्सपर्ट होइनौं, हाम्रो एक्सपटिज टेक्नोलोजी प्रोभाइड गर्नेमा मात्र हो । 

भिडियो स्टोरीमा पनि जोड दिइरहनुभएको छ नि ? 

अहिले भिडियो बनाउने, भिडियो प्रोड्युस गर्ने ट्रेन्ड एकदमै बढी छ । न्युज अर्गनाइजेसनहरूले पनि भिडियो कन्टेन्ट उत्पादन गर्दै हुनुहुन्छ । भिडियोको कन्सेप्ट पनि सुरु गर्नुहोस् भनेर हामीलाई बीबीसी नेपाली सेवाबाट सुझाव आएको हो । अहिले सबैतिर भिडियो बनाउने र मल्टिमिडिया स्टोरी तयार गर्ने क्रम बढेको छ, त्यसैलाई ध्यान दिएर हामीले यसको सुरुवात गरेका हौं । युट्युब हेर्दा त्यहाँ धेरै कुरा हुन्छ, चाहिने पनि नचाहिने पनि । हामीले न्युज रिलेटेड नेपाली भिडियो मात्र अर्गनाइज गर्न यो सेक्सन ल्याएका हौं ।

पात्रोको लोकप्रियतापछि समाचारमा जोड दिनुभयो, आफ्नै मिडिया हाउस खोल्ने योजना पनि छ ? 

त्यस्तो कुनै योजना छैन, हामी टेक्निकल कम्पनी हौं । हामी नेपालका सबै न्युज अर्गनाइजेसनसँग सहकार्य गर्छौं । आफ्नै मिडिया हाउस स्थापना गर्ने कुरामा हाम्रो रुचि छैन, किनभने हामी सबै इन्जिनियर हौं । बरु, हामीले नेपाली भाषाका लागि काम गर्ने, नेपाली प्रयोगकर्ताहरूलाई चाहिने सुविधामा बढी फोकस गर्ने सोच बनाएका छौं । 

एपको भविष्य कस्तो देख्नुहुन्छ ? 

एपको भविष्य राम्रो छ, यो लङट्रम गेम होजस्तो लाग्छ । अहिले एकचोटि एप निकाल्यो, त्यही पपुलर हुन्छ भन्ने छ, तर त्यस्तो हुँदैन, हामीले एकपटक एप बनाइसकेपछि हरेक वर्ष अपडेट गर्नैपर्छ । हामी आफ्नो एपलाई वर्षमा तीन चार पटक अपडेट गरिरहेका हुन्छौं । कहिलेकाहीं त महिना–महिनामा अपडेट गरिरहेका हुन्छौं । एपमा राम्रो भविष्य त छ, तर त्यसका लागि सस्टेनचाहिँ गर्न सक्नुपर्छ । 

सुरुमा तपाईं ९९ डलर तिर्न हिचकिचाउनुभएको थियो । अहिलेको अवस्थाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 

अहिले हाम्रो आय ठीकै छ । नेपाली मार्केटमा मात्र जाने भएकाले हाम्रो व्यापार सीमित भएको हो । अहिले हाम्रो आयको प्रमुख स्रोत विज्ञापन हो । नेपालमा अमेरिकाको जस्तो विज्ञापन शुल्क महँगो छैन । सन्तुष्ट छौं तर हामी अझ धेरै गर्न सक्छौं । हामीसँग टेक्निकल र नन टेक्निकल गरी २० जनाको टिम छ । नेपाली बजारमा अझ बढी काम गर्न सक्ने अवसर छ । 

नेपालमा आइटीको विकासको सम्भावना कत्तिको देख्नुहुन्छ ? 

नेपाल आइटीमा एकदमै राम्रो सम्भावना भएको देश हो । राम्रो भैरहेको पनि छ, बाहिरका धेरै आइटी कम्पनीका अफिस नेपालमा छन् । नेपालमा एकदमै राम्रो छ, तर मुख्य कुरा विद्यार्थीलाई अझ बढी प्राक्टिकल ट्रेनिङ दिनुपर्छ । इन्जिनियरिङ तथा आइटीका विद्यार्थीलाई इन्ड्रस्टीहरूसँग सहकार्य गरेर कोर्स अघि बढाउँदा राम्रो हुन्छ । नेपालमा अहिले पनि यो क्षेत्रमा आवश्यक म्यानपावर उपलब्ध छैन, अझै धेरै जनशक्तिको खाँचो छ । अर्को कुरा, जुन कुरा हामीले विदेशमा गर्दा एकदमै महँगो पर्छ, त्यही कुरा नेपालमा खर्चका हिसाबले सस्तोमै सम्पन्न गर्न सकिन्छ । क्वालिटी म्यानपावर भयो भने आइटीमा एकदमै ठूलो स्कोप छ । धेरै आइटी कम्पनीले नेपालमा अहिले पनि राम्रो गरिरहेका छन् ।

सिलिकन भ्यालीजस्तो आइटीको हबमा काम गर्नुभयो । कस्तो अनुभव रह्यो ? 

एकदमै रमाइलो अनुभव भयो । सिलिकन भ्यालीमा सिक्ने धेरै अवसर छन् । सिलिकन भ्यालीले मलाई रिस्क लिनुपर्छ भन्ने कुरा सिकायो । अर्को, सफलता भनेको त्यतिकै प्राप्त हुँदैन, कडा मेहनत गर्नुपर्छ भन्ने कुरा सिके । सिलिकन भ्यालीमा एकदमै ट्यालेन्टेड मानिसहरू छन् । त्यहाँ काम गर्दा मैले त्यहाँको टेक्नोलोजी नेपालीहरूमाझ पुर्‍याउन सकियो भने अझ कति राम्रो हुन्छ भन्ने प्रेरणा पनि पाएँ । नेपाली एप पनि सिलिकन भ्यालीको स्ट्यान्डर्डको होस भन्ने मेरो ठूलो इच्छा थियो । सिमेन्टिक कर्पोरेसनमा काम गर्दा मैले छुट्टीमा मात्र हाम्रो पात्रोको काम गर्न पाउँथे, अरू बेला त अफिसकै काम गर्नुपर्थ्यो । सन् २०१५ मा अब भएन, फुल टाइम यसैमा लागियो भने अझ राम्रो गर्न सकिन्छ कि भनेर जागिर छाडें । मेरो सोचाइ यहाँको टेक्नोलोजीलाई नेपालमा कसरी ट्रान्सफर गर्ने भन्नेमा बढी फोकस थियो । त्यसकारण मैले त्यहाँको जागिर छोडेर पूर्ण रूपमा हाम्रो पात्रोलाई फोकस गरें । 

त्यहाँ के कुरालाई बढी महत्व दिइन्छ ? 

मुख्य कुरा इन्जिनियरिङ कल्चर राम्रो छ । लर्निङ अपरच्युनिटी राम्रो छ । ठूलो इन्भेस्टमेन्ट र संसारका सबै भन्दा ट्यालेन्ट मानिसहरू यहीं हुनुले सिलिकन भ्यालीलाई सिलिकन भ्याली बनाएको हो । अर्को कुरा, इभेस्टरहरू पनि यही फोकस छन् । स्मार्ट मान्छे र कुस्त पैसा भएका इन्भेस्टरहरू एक ठाउँमा भएपछि उनीहरू रिस्क लिन पनि हिचकिचाउँदैनन् । १ सयवटामा लगानी गर्दा १० वटा मात्र सफल भए पनि उनीहरूलाई रिटर्न सयमा लगानी गरेभन्दा बढी आउँछ । लगानीकर्ता, रिस्क लिने प्रवृत्ति तथा ट्यालेन्ट म्यानपावरको कम्बिनेसनले नै सिलिकन भ्यालीलाई सिलिकन भ्याली बनाएको हो । 

नेपालको प्रतिष्ठित शैक्षिक संस्थामा अध्ययन गर्नुभयो, अमेरिकामा पनि पढ्नुभयो । नेपाल र अमेरिकाको शिक्षा प्रणालीमा के–कस्ता भिन्नता रहेछन् ? 

हाम्रो शिक्षा अलि बढी सैद्धान्तिक र घोकन्तेजस्तो लाग्यो । यहाँचाहिँ बढी प्राक्टिकल र इन्डस्ट्रीलाई सीप सिकाउने खालको पाएँ । कोर्स र सेलेबस त जता पढे पनि उही हो । त्यतिबेलाको तुलनामा अहिले नेपालमा पनि धेरै परिवर्तन आएको छ । नेपालको एजुकेसन सेक्टर पनि धेरै राम्रो भैसकेको छ । अहिले इन्टरनेट र युट्युबहरूमै कति कोर्सहरू पाइन्छ, तर सन् २००४ मा म पास आउट हुँदा यति धेरै कोर्स इन्टरनेटमा पाइँदैनथ्यो । हामी नेपालमा एक्जाममा बढी फोकस भएर पढ्छौं, यहाँ चाहिँ कन्सेप्टमा बढी फोकस गर्न लगाइन्छ । किताबको प्रश्न कहिल्यै आउँदैन, आफै दिमाग लगाएर उत्तर दिनुपर्ने हुन्छ । नेपालमा चाहिँ किताब पढ्नुपर्ने, किताबमा जे छ त्यसैबाट प्रश्न आउँछ, तर यहाँ आफूले पढेको किताबमा कुनै पनि उत्तर पाइँदैन, यहाँ परीक्षामा कन्सेप्ट कति बुझेको छ भन्ने कुराको महत्व हुन्छ । नेपालका एक्जामका लागि र अमेरिकामा कन्सेप्टका लागि पढ्नुपर्दो रहेछ । 

आइटी, कम्प्युटर र सफ्टवेयर इन्जिनियरिङमा भविष्य बनाउन चाहनेहरूलाई के सुझाव दिनुहुन्छ ? 

कलेज पढ्दाखेरि नै प्रशस्त प्राक्टिस, कोडिङ आदि गर्नुहोस् । प्रोजेक्ट सकेसम्म धेरै गर्नुहोस् । अहिलेको समयमा धेरैजसो कोर्स अनलाइनमै निःशुल्क उपलब्ध हुन्छन् । हार्वर्डका कतिपय कोर्सको भिडियो नेपालमै हेर्न सकिन्छ । स्ट्यानफोर्डको कतिपय कोर्स अनलाइनबाटै सिक्न सकिन्छ । मैले आइओएसको कोर्स स्ट्यानफोर्डको अनलाइन हेरेरै सिकेको हुँ । अहिले एकदमै राम्रो समय छ, त्यसैले आफू कसरी राम्रो इन्जिनियर हुने भन्ने कुरामा फोकस गर्नुपर्‍यो । त्यसका लागि धेरैभन्दा अभ्यास र धेरैभन्दा धेरै प्रोजेक्ट गर्न जरुरी छ । यो बढी अभ्यासको क्षेत्र हो, त्यसैले किताब पढेर मात्र हुँदैन । अहिले कलेज पढ्ने विद्यार्थीले टेक्निकल र सफ्ट स्किल बढाउन ध्यान दिनुपर्छ । कलेजको कोर्सले मात्र नपुग्ने भएकाले अनलाइन हेर्ने, अपडेट हुने आदि काम पनि गर्नुपर्छ । 

भविष्यको योजना के छ ? 

हाम्रो पात्रोलाई कसरी अझ राम्रो बनाउने भन्ने हो । अहिले हामीले धेरै फिचर अपडेट गरिसकेका छौं । त्यसलाई कसरी थप राम्रो बनाउँदै जाने त्यसमै केन्द्रित छौं । रेडियोमा नयाँ कुरा गर्न सकिन्छ कि भन्ने छ । नेपालमा प्रोडकास्टको ट्रेन्ड चलिरहेको छ, हामीले त्यसलाई पनि हेरिरहेका छौं । हाम्रा रेडियोहरू अहिले वान वेजस्ता भएका छन्, त्यसलाई टु वे बनाउने कुरामा पनि ध्यान दिँदैछौं ।

 

प्रकाशित :वैशाख १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्