रेल पहिले आउला कि बालुवाटार पहिले जाला

- साप्ताहिक संवाददाता

वैशाख ९, २०७६

 

बालुवाटारको जग्गा केस प्रतिनिधि पात्र हो । देशभर राजनीति दलका कार्यकर्ता भूमाफियासँगको साँठगाँठबाट टाढा छैनन् । जो राजनीति गर्छन्, निश्चित कुनै पेसामा छैनन्, तर ठूलो घर र चिल्लो गाडीमा हुइँकिन्छन् । राजनीतिमा लागेर सुखी जीवन बिताउनेहरूको सम्पत्ति छानबिन गरे भूमाफिया पत्ता लगाउन गाह्रो छैन । 

सरस्वती सुब्बा 

सरकारी जग्गा, खासगरी सरकारले मुआब्जा तिरी अधिग्रहण गरेको जग्गा, भूमाफिया र शक्तिशाली व्यत्तिहरूले आफ्नो नाममा लिएका प्रमाण भेटिएपछि सरकारी जग्गा कहाँ–कस्तो अवस्थामा छन् विवरण दिनु भनेर अर्थ समितिबाट मागेका थियौं, तर सम्बन्धित कार्यालयले आजसम्म विवरण दिएन– कथा डरलाग्दा छन् । 

रामकुमारी झाँक्री

भूमाफिया ढकाल र सुवेदीले बालुवाटारको ४–४ आना जग्गा (जम्मा आठ आना) एक जना श्रद्धेय नेतालाई जम्मा ४ लाखमा किन्न लगाएर ठगेछन् । नेतालाई ठग्ने भूमाफिया मुर्दावाद । 

धनराज गुरुङ 

राजधानीका विभिन्न भागमा अवस्थित नेपाल सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी तथा भू–माफियाको मिलेमतोमा अपचलन हुनु डरलाग्दो संकेत हो । 

रवीन्द्र मिश्र

भ्रष्टाचारका मुद्दा कहिल्यै न्यायालयको प्राथमिकतामा पर्दैनन्...र त भ्रष्टाचारी र भूमाफियाहरू हौसिएर लोकतन्त्रमा लुटतन्त्र मच्चाइरहेका छन् । जय होस् तिनको । 

राम जिसी 

अस्ति रवीन्द्र अधिकारी हवाई माफियाबाट फसाइए, हिजो प्रम ओलीलाई सांस्कृतिक माफियाबाट होली वाइन पिलाइयो, आज विष्णु पौडेल भूमाफियाबाट ठगिए । केही त दया गर माफिया हो, सोझासिधा नेताहरूलाई आनन्दले देश चलाउन देऊ । 

द टकला

महासचिव विष्णु पौडेलले नवलपरासीस्थित बर्दघाटको आठ कट्ठा जग्गा दिएर उक्त जग्गा लिनुभएको हो । प्रचलित कानुन बमोजिम खरिद गरेकोमा भूमाफियासँग साँठगाँठ भन्ने समाचार आउनुमा के रहस्य छ ? कसैको चरित्र हत्या गरी समाचार बनाएर पेट पाल्ने प्रवृत्तिको पत्रकारिता मान्य हुँदैन । 

अर्जुन आचार्य 

म पनि दुई–चार जना भूमाफिया बटुलेर प्रधानमन्त्री निवासको जग्गा खरिद गर्न जानुपर्‍यो । झुक्किएर उपहार पो दिइहाल्छन् कि ? 

रोनिश सामी घले 

कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको पालादेखि सुरु भएको सरकारी जग्गा हडप्ने षड्यन्त्रका विरुद्ध जुनसुकै पार्टीका जग्गा दलाल र भूमाफिया भए पनि यो सरकारले शक्तिशाली आयोग बनाएर फटाहाहरूको पाता फर्काउने हो भने त्यो नै देश र जनताको पक्षमा सही काम गरेको मानिनेछ ।

ओमकुमार थापा

ओलीले राजीनामा दिनु पर्ने रे ? तिमी भूमाफिया हौ कि कांग्रेस कार्यकर्ता ? सन्त नेताले गुमाएको जग्गा छानबिन गर्न लगाउने प्रम उल्टै दोषी भए ? 

इलाइट आकाश

मुलुकमा जे–सुकै तन्त्र आए पनि यी भूमाफिया र हुतिहारा भ्रष्ट कर्मचारीतन्त्रले देशलाई भित्रभिक्रै खोत्रो पारी खाइसकेका छन्, हन कस्तो सञ्जाल छ हौ यो भित्र, तैट । यी माफियाले कुन दिन नेपालै बेची खान बेर लाउन्नन् । 

पिंकी श्रेष्ठ

सालको पनि अन्त्य भो, मान्छेको पनि अन्त्य भनेको देखियो तर भूमाफिया र भ्रष्टाचारको अन्त्य भएको कहिल्यै देख्न पाइएन । २०७६ सालमा यसको पनि अन्त्य भएको देख्ने ठूलो रहर छ । 

शक्ति न्यौपाने 

मलाई पनि अलि पछि राजनीति गर्ने मन थियो, तर केही दिन भयो अचानक त्यो आइडिया ड्रप गरेको छु । के भर छ र भूमाफियाहरूले सरकारी जग्गा मलाई जबर्जस्ती भिडाए भने ? 

तरकारी माफिया

सत्य युगमा भगवान् विष्णुले अन्त कतै जग्गा नपाएर समुन्द्रमा पानीमाथि सर्पको ओछ्यान लगाएर सुत्नुपर्‍यो । कलियुगमा महासचिव विष्णुले अन्त कतै जग्गा नपाएर वालुवाटारको सरकारी जग्गा भूमाफियासँग मिलेर लुट्नुपर्‍यो । 

निर्मला घोडासैनी 

रेल पहिले आउला कि बालुवाटार (प्रम निवास) पहिले जाला ? थाहा चाहियो । 

नयनराज पाण्डे 

बालुवाटारको जग्गा सरकारको नाममा फिर्ता गरेर मात्र पुग्ला ? भूमाफियामार्फत चलखेल र सरकारी जग्गा अपचलन गर्ने नेकपाका महासचिव विष्णु पौडेल, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई कारबाही हुनु पर्दैन ? 

डाइफोरगूनर

हाम्रो बाग्मती पनि यस्तै हुन सक्थ्यो । शिरदेखि पुछारसम्म हरियो पार्क । सरकारका मन्त्रीको खाँचो चैँ यस्तो पार्कभन्दा ६–८ आनाको घडेरी थियो । भू–माफिया र चारखाल अड्डका हाकिमले नदीका बगरलाई घडेरी बनाइदिए । राजनीतिमा सार्वजनिक भन्दा समुह/व्यक्तिको स्वार्थ हावी भएपछि हुने यस्तै हो । 

सूर्यराज आचार्य 

भूमाफिया र भ्रष्ट कर्मचारीलाई कारवाही नगर्ने हो भने प्रधानमन्त्री ज्यू, तपाईं यो सरकारी निवासबाटै अन्यत्र सर्न बाध्य हुनुहुनेछ । तपाईं जहाँ बसेर प्रतिवेदन बुझिरहनुभएको छ, त्यो जग्गा नै व्यक्तिको नाममा सरिसकेको छ । 

नारायण वाग्ले

प्रकाशित :वैशाख ९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्