टाटु मोह बढ्दै, सम्मेलन हुँदै

- राजाराम पौडेल

वैशाख ८, २०७६

 

टाटु एउटा कला हो । नेपालमा पनि यसको क्रेज बढ्दै गएको छ । टाटुका बारेमा वृद्धि भएको सकारात्मक बुझाइका कारण टाटु मोह बढ्दै गएको हो । शरीरमा टाटु खोप्नेहरूको लक्ष्य एउटै हुँदैन । कोही आफूलाई युनिक देखाउन टाटु खोपाउँछन् भने कोही टाटुको प्रयोगमार्फत 

आफ्नो शरीरमा भएका अनावश्यक दाग छोप्छन् र सुन्दर देखिन्छन् । सुन्दर र हेन्डसम देखिने रहरले टाटुतर्फ आकर्षित हुनेहरू पनि उत्तिकै छन् ।

नेपालमा १५ सयदेखि २० हजारसम्मका टाटु खोपिँदै आएको छ । टाटु खोप्दाको मेहनत, समय र साइजअनुसार यसको शुल्क निर्धारण हुन्छ । टाटु खोप्नेहरू दिनप्रतिदिन बढिरहेका छन् । ‘बढी मात्रामा १८ देखि ३५ वर्ष उमेर सम्मकाले टाटु खोप्ने गरेका छन् । त्यसका अतिरिक्त बालबालिकादेखि वृद्धवृद्धासम्ममा टाटुको मोह पाइन्छ,’ गगन टाटु लेकसाइड पोखराका सञ्चालक गगन थापाले भने । टाटु आर्टिस्टको कलाका कारण समेत यसप्रतिको आकर्षण बढेको छ । महिला तथा पुरुष दुवैले टाटु खोपाउँछन् । टाटुले शरीरलाई सिँगार्ने काम मात्र नगरेर शरीरमा भएका खटिराहरू समेत हटाउन सघाउँछ । 

सुरु–सुरुमा टाटुलाई त्यति राम्रो मानिँदैनथ्यो, तर अहिले टाटुप्रतिको बुझाइमा सकारात्मक परिवर्तन आएको छ । टाटु बनाइसकेपछि त्यसलाई मेट्न केही गाह्रो हुन्छ । टाटु मेट्न रेजर गरिन्छ तर त्यसलाई पूरै हटाउन सहज हुँदैन । त्यसकारण टाटु खोप्न मन पराउनेहरूले आर्टिस्ट चिनेर मात्र काम गराउनुपर्छ— यही काममा १८ वर्षको अनुभव सँगालेका गगनले भने । 

नर्मल टाटु २० मिनेटमै खोप्न सकिन्छ । आर्ट हेरेर कुनै दिनभर, कुनै दुई–तीन दिनसम्म पनि लाग्छ । टाटुका विभिन्न क्याटागोरी हुन्छन् । 

आफ्नो रुचिअनुसार यसलाई प्रयोग गर्न सकिन्छ । टाटु आर्टिस्टले भगवान्देखि खेलाडीसम्म, विभिन्न आकृतिदेखि कला–संस्कृतिसम्मलाई शरीरमा कलात्मक ढंगले प्रस्तुत गर्छन् । आफूलाई मनदेखि नै मन परेका विषयलाई टाटु आर्टिस्टमार्फत शरीरमा प्रतिबिम्बित गर्न पाउँदा टाटुप्रेमीहरू पनि उत्साहित हुन्छन् । कतिपय व्यक्तिले प्रदर्शनकै लागि टाटु खोपाउँछन् । उनीहरू आफ्नो टाटु प्रदर्शन गर्दै अरूको ध्यान खिच्न खोज्छन् । कोही सम्झनाका लागि टाटु बनाउँछन् । उनीहरू आफ्नो टाटुको प्रदर्शन गर्दैनन्, स्पेसल व्यक्ति अथवा आफैंले हेर्नका लागि टाटु बनाउँछन् । गोप्य अंग वरिपरी टाटु खोपाउनेहरू पनि उत्तिकै हुन्छन् । कतिपयले बढी मात्रामा देखिने शरीरको भागमा टाटु खोपाउने गरेका छन् । टाटुको प्रदर्शन गर्मीमा बढी गरिन्छ । आफूलाई आकर्षक देखाउन कलाकार तथा खेलाडीले यसको प्रयोग गर्दा उनीहरूका प्रशंसक आकर्षित हुने गरेका छन् । 

सन् १९६० को दशकबाट नेपालमा विदेशी पर्यटक मार्फत नेपालमा टाटु देखिन थालेको हो । सन् १९९० को दशकमा नेपालमा टाटु खोप्ने स्टुडियो स्थापना हुन थाले । त्यति बेलाका टाटुलाई सोखका रूपमा लिइन्थ्यो । अहिले टाटुलाई फेसनका रूपमा लिन थालिएको छ, फलस्वरूप अहिले यसको प्रयोग र आकर्षण बढ्दै गएको छ । काठमाडौं, पोखरा आदि ठाउँमा प्रशस्तै टाटु स्टुडियो छन् र यो क्रम नेपालका अन्य ठाउँमा पनि फैलँदै गएको छ । 

टाटु आर्टिस्टलाई फोरम प्रदान गर्ने उद्देश्यले नेपाल टाटुको स्थापना १० वर्षअघि नै भएको हो, जसले वर्षैपिच्छे अन्तर्राष्ट्रिय टाटु सम्मेलनको आयोजना गर्दै आएको छ । ओमप्रकाश गुरुङ, मोहन गुरुङ तथा विजय श्रेष्ठ यसका संस्थापक हुन् । यस क्रममा नवौँ सस्करणको अन्तर्राष्ट्रिय टाटु सम्मेलन वैशाख १३ गतेदेखि १५ गतेसम्म हेरिटेज गार्डेन सानेपा, ललितपुरमा आयोजित हुँदैछ । सम्मेलनमा एक सय टाटु स्टुडियोका १ सय २० जना आर्टिस्ट सहभागी हुनेछन् । नेपालका ४० टाटु आर्टिस्ट तथा अरू विदेशका टाटु आर्टिस्ट सम्मेलनमा सहभागी बन्नेछन् । तीनदिने कार्यक्रममा टाटु बनाऊने कार्यक्रमका अतिरित्त नाच्ने–गाउने, झाँकी प्रदर्शन गर्नेसहित कल्चरल कार्यक्रमसमेत हुनेछ । यो सम्मेलनको प्रमुख उद्देश्य टाटुलाई प्रमोट गर्नु नै हो । 

‘हेवि म्युजिक हुँदैन, कल्चरल कार्यक्रमलाई स्थान दिनेछौं,’ आयोजक नेपाल टाटुका ओमप्रकाश गुरुङले भने । टाटु कलाको आदान–प्रदान गर्ने उद्देश्यले आयोजित सम्मेलनमा नेपालको टाटु कलाले विदेशमा समेत स्थान प्राप्त गर्नेछ । सम्मेलनलाई हरेक वर्ष पर्यटन बोर्डले सघाउँदै आएको छ । हरेक दिन बिहान ११ बजेदेखि बेलुका ८ बजेसम्म सम्मेलनका कार्यक्रम सञ्चालन हुनेछन् । ‘टुगेदर फर आर्ट’ यो सम्मेलनको मुख्य नारा हो ।

सम्मेलनमा नेपालका अतिरिक्त अस्ट्रेलिया, स्पेन, भारत, इटाली, बर्लिन, अमेरिका, ब्राजिल, ग्रिस, रसिया सर्विया, जर्मनी, इन्डोनेसिया, स्वीजरल्यान्ड, फान्स, अस्ट्रिया, युके, चिन, सिंगापुर आदीका टाटु आर्टिस्ट सहभागी हुनेछन् । सम्मेलनले टाटु आर्टिस्टबीचको आत्मीयता बढाउने विश्वास लिइएको छ । टाटु कलामा एकरुपता ल्याउन सघाउने मात्र नभएर नेपालको कला संस्कृति विदेशमा र विदेशको कला संस्कृति नेपालमा आदानप्रदान गर्न मद्दत पुग्नेछ— यो अन्तर्राष्ट्रिय सम्मेलनका आयोजकहरू बताउँछन् ।

नेपालमा कति टाटु स्टुडियो छन्, कति टाटु आर्टिस्ट छन् भन्ने यकिन तथ्याङ्क भने कतै छैन । टाटु कला सिक्ने र सिकाउनेहरू बढ्दै जाँदा यसप्रतिको आकर्षण बढेको छ । जब युवाहरूले टाटुलाई कलाका रुपमा बुझ्न थाले यसको माग र लोकप्रियता बढ्न थाल्यो । टाटु खोप्न प्रयोग गरिने इक्युपमेन्टका र यसको क्वालिटिका कारणसमेत यसप्रति आकर्षक बढाउन मद्दत पुग्यो । नेपालमा रहेका टाटु स्टुडियोमा टाटु खोपाउन पुग्नेमा नेपाल घुम्न आएका विदेशी पर्यटकको संख्या समेत उल्लेख्य हुन्छ । उनीहरूमध्ये कतिपयले नेपालको चिनोका रूपमा टाटु खोपाउने गरेका छन् ।

 सन् १९९७ मा पोखराबाट टाटु खोप्ने व्यवसाय सुरु गरेका मोहन गुरुङले काठमाण्डौको ठमेल हुँदै अमेरिकामा समेत टाटु स्टुडियो सञ्चालन गरेका छन् । टाटुले नेपालको संस्कृति विदेशमा फैलाउन समेत मद्दत पुर्‍याउँदै आएको गुरुङ बताउँछन् ।

 

प्रकाशित :वैशाख ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्