राज गर्ने कलर

- रोजिन शाक्य

वैशाख ८, २०७६

 

फेसनको हरेक नयाँ सिजनको आगमनसँगै प्यान्टोन कलर इन्स्टिच्युटले आउँदो सिजनलाई ध्यानमा राखेर प्यान्टोन फेसन कलर ट्रेन्ड रिपोर्ट सार्वजनिक गर्छ । उक्त रिपोर्टअनुसार यो वर्षको गर्मीमा आत्मविश्वास र उच्च मनोबल सञ्चार गर्नेदेखि खुसी, उमंग, उत्साहलाई प्रोत्साहन गर्ने रंगहरूले प्राथमिकता पाउनेछन् । यसैगरी सिर्जनात्मकता, रोमाञ्चता एवं नयाँ प्रयोगका लागि उत्प्रेरित गर्ने रंगहरूको आगमन हुने कुरा बताएको छ । कलर रिपोर्टमा आउँदो सिजनमा बढी प्रभावकारी हुने र प्रचलन आउने कलर शेडका रूपमा १२ वटा शेडलाई प्राथमिकतामा राखिएको छ भने चारवटा क्लासिक न्युट्रल शेडलाई यस पटक फेसनको परिवेशमा रुचाइने कलर शेडका रूपमा समेटिएको छ । 

यसपटकको फेसनको दुनियाँमा फियस्ता नाम दिइएको फेस्टिभ ओरेन्ज शेडको लहर चल्नेछ । उत्साह, जोस तथा प्यासनको परिचायकका रूपमा यो कलर शेडलाई प्रस्तुत गरिएको छ । समृद्धि, सुन्दरता र गतिको संवाहकका रूपमा जेस्टर रेडलाई धेरैले आफ्नो कलेक्सनमा पार्ने सम्भावना छ । यस पटकको कलर रिपोर्टमा महत्वपूर्ण मानिएको रंग हो टर्मरिक जुन ओरेन्ज शेडकै परिवारमा पर्छ । लिभिङ कोरल नामक कलर शेड पनि यसपटकको फेसनमा हिट रहनेछ । मूलतः यसको गोल्डेन अन्डरटोनमा झल्कने शालिनता र सौम्यताले फेसनप्रेमीहरूमा आकर्षण सिर्जना गर्नेछ । 

देख्नेबित्तिकै सम्मोहित गर्ने कलर शेडका रूपमा पिन्क पिकक अगाडि आउनेछ । यसलाई सकारात्मक इच्छा जागृत गर्ने कलर शेडका रूपमा चिनाइएको छ । पेपर स्टेक कलर शेड यो वर्षको समरमा फेसनप्रेमीहरूको रोजाइमा पर्न सक्ने प्रबल सम्भावना छ । स्वादमा चटपटे जस्तै भनेर चिनाइएको यो शेड पहेंलो र हरियो रंगको मिश्रण हो । खुसी, आनन्द र उमंगको परिचायकका रूपमा एस्पेन गोल्ड धेरैको प्रिय हुनसक्छ । यसपटकको फेसनसिजनलाई कलरफुल बनाउने क्रममा प्रिन्सेस ब्लूको भूमिका पनि उत्तिकै रहनेछ । रोयल ब्लुको आभाश दिने यो कलरले फेसन परिवेशमा उज्यालो र सकारात्मकता सञ्चार गर्नेछ । चकलेट जस्तै स्वादिलो, नाईं भन्न नसकिने र सम्मोहित गर्न सक्ने क्षमता भएको कलर शेडका रूपमा टफी कलर शेडलाई प्रस्तुत गरिएको छ । यो कलर शेडले पेट भरियो तर मन भरिएन भन्ने आशयका साथ लोभ्याइरहने बताइएको छ । 

यसपटकको फेसनमा म्याङ्गो मोजिटो नाम दिइएको गोल्डेन येलो कलर शेड आराम र खुशी संचार गर्ने कलर शेडका रूपमा अगाडि आउनेछ । नयाँ शुरुवात र प्रकृतिसितको आत्मीयता प्रवाह गर्ने कलरका रूपमा टेरारियम मोस सबैको कलेक्सनमा रहनेछ । पिंक मिसिएको ल्याभेन्डर शेडका रूपमा स्वीट लिलाक कलरलाई प्रस्तुत गरिएको छ । फेसनको दुनियाँमा यसले चार्म, शालीनता र सौम्यता सञ्चार गर्नेछ । यसबाहेक प्यान्टोनको कलर रिपोर्टमा चारवटा न्युट्रल शेडलाई पनि स्थान दिइएको छ, जसमा भरोसाको प्रतिक बहुमुखी गुण अनुभव गर्न पाइने सोयबिन कलरलाई प्रस्तुत गरिएको छ । यसै गरी यो वर्षको क्यालेन्डरमा इक्लिप्स कलर शेडले समेत चर्चा पाउनेछ । गम्भीर तथा रहस्यमय स्वभावको प्रतिकका रूपमा प्रस्तुत गरिएको छ डिप ब्लु कलरलाई । अन्य न्युट्रल शेडमा स्वीट कर्न र ब्राउन ग्रानाइट लोकप्रिय रहनेछन् । स्वीट कर्न कलर शेडलाई कोमलताको प्रतीक मानिएको छ भने ब्राउन ग्रानाइटलाई शक्ति, समझदारी, प्रामाणिक र समयसीमा भन्दा बाहिरको निश्छलताका रूपमा दर्साइएको छ ।

 

प्रकाशित :वैशाख ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्