सिनेमामा पैसा छ, लोभ लागिहाल्छ

- किशोर नेपाल

वैशाख ८, २०७६

केनिपा’ नाम अलिकति अनौठो नै छ । केनिपा सिंह यो नाम उनको ड्याडीको नामको पहिलो अक्षर र ममीको नामको पहिलो अक्षर जोडिएर बनेको हो । पा अक्षर नामको लय मिलाउन राखिएको हो । प्रयोगशील सिनेमा ‘साइँली’ हेर्ने दर्शकले सह–नायिकाको भूमिकामा रहेकी केनिपाको अभिनय निकै–निकै–निकै मन पराए । साइँली मेनुका प्रधानको साथी र दयाहाङ राईकी प्रेमिकाको भूमिकामा जमेकी थिइन् । २०७६ सालका नेपाली सिनेमामा केनिपाको नाम चम्किनेमा जानिफकारहरू सहमत छन् ।

केनिपा नाट्य अभिनयमा नयाँ नाम होइन । सिनेमाका लागि उनी नयाँ प्रतिभा हुन् । नयाँ नायिकामा केनिपा एउटा चम्किलो नाम हो । नाटकको पृष्ठभूमिबाट सिनेमामा आएकी केनिपा एकै दृष्टिका भरमा कसैलाई प्रभावित गर्ने अभिनेत्री होइनन् । उनमा अभिनयप्रति गाम्भीर्य छ । उनी चहक–महकमा होइन, अर्थपूर्ण अभिनयमा विश्वास गर्छिन् । ‘हामी विज्ञापनका सेलेब्रिटीजस्ता होइनौं,’ केनिपा भन्छिन, ‘हामी अभिनेता वा अभिनेत्री हौं । हामीले आफ्नो भूमिका र अभिनयप्रति सधैं सजग र सचेत रहनुपर्छ ।’

सिनेमा र नाटकको अभिनयमा खासै फरक देख्दिनन् केनिपा । उनी भन्छिन्, सिनेमामा एक्सन–कट हुन्छ । नाटकमा हुँदैन । नाटकमा अभिनय गर्दा मज्जा आउँछ, सिनेमाको अभिनय रोचक हुन्छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको साइँली संवेदनशील सिनेमा हो । यसमा जबर्जस्ती भावुकताको प्रदर्शन गराइएको छैन । साइँलीमा मेनुका प्रधान र गौरव पहाडी नायिका तथा नायकको भूमिकामा छन् भने केनिपा र दयाहाङ राई मेनुका र गौरवका मित्रका रूपमा देखा पर्छन् । 

केनिपा कुशल अभिनेत्री हुन्, तर उनी आफूलाई राम्री नर्तकी मान्दिनन् । दयाहाङसँग नाच्दा उनी नर्भस भइन् । नाच्न निकै गाह्रो भयो उनलाई । मेरो प्रश्न थियो— नाच्न नआउने पनि अभिनेत्री हुन्छन् त ?

‘हुन्छन् नि । किन नहुनु ? म छु नि ।’ उनले हँसाइन् ।

बिदेसिएपछि प्रेमी र प्रेमिकाको जीवनमा कस्तो असर पर्छ ? साइँलीको मूल कथा र सन्देश यही लाग्यो केनिपालाई । सिनेमामा अभिनय गर्दा केनिपालाई सहज अनुभव भयो । निर्देशकसँग उनको सम्बन्ध बिग्रिएन । निर्देशकले जे चाहे त्यही अभिनय गरिन् केनिपाले । मेनुकासँग उनको राम्रो र्‍यापोर्ट रह्यो । साइँली सिनेमाको छायांकन घाचोक र ह्यांग्जाकोट, पोखरामा भएको थियो । काठमाडौंमा केही दृश्यको सुटिङ भएको थियो । सुटिङ जम्माजम्मी ४५ दिनमा सकिएको थियो ।

केनिपा भन्छिन्, ‘म अलि बोल्ने मानिस परें । त्यसैले जिस्किँदा–जिस्किँदै कट पनि अलि बढी नै खाएँ । कथावस्तु नै रमाइलो साइँलीको । साइँलाले साइँलीलाई पट्याउने । स्टोरी लाइन त्यहींबाट सुरु हुने । कथा कति सहज ढंगले अघि बढेको छ भने सम्झिँदा नै आश्चर्य लाग्छ । सुटिङ कहिले नसकिए हुने भन्ने खालको वातावरणमा सिनेमा बन्यो । त्यो मेरा लागि रमाइलो अनुभव थियो ।’

केनिपा स्कुलमा ड्रामामा भाग लिन्थिन् । पछि उनले ड्रामाको तालिम लिइन् गुरुकुलबाट । सुनिल पोखरेलको स्कुलिङ हो । दुर्भाग्यवश गुरुकुल विस्थापित भयो । त्यसपछि उनी मण्डलामा गइन् । केनिपा एक दर्जनभन्दा बढी नाटकमा प्रस्तुत भैसकेकी छिन् । ‘जार’ र ‘लाटीको छोरो’उनले अभिनय गरेका मुख्य नाटक हुन् । केनिपाको विचारमा नाटक अभिनय सिक्ने एउटा प्रक्रिया हो । यो प्रक्रियामा मानिसमा परिपक्व हुने भन्दा पनि सिक्ने लगन चाहिन्छ । अभिनय मानिसले सोचेजस्तो सजिलो छैन ।

केनिपामा सिनेमाप्रतिको आकर्षण बढेको छ । पहिलो त, सिनेमाको फ्रेम ठूलो छ । एक्सपोजर बढी छ । यसमा पैसा पनि छ । पैसा भनेपछि अलिकति लोभ त लाग्ने नै भयो । नाटकमा सस्टेन्याबिलिटीका लागि सिनेमामा काम गर्नु जरुरी छ । जो संघर्षमा छन् ती सधैं संघर्षमै रहने कुरा पनि आएन । 

प्रकाशित :वैशाख ८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्