नयाँ वर्षले जगायो आशा, चले दुवै चलचित्र 

- साप्ताहिक संवाददाता

वैशाख ७, २०७६

नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै प्रदर्शन भएका ठूला ब्यानरका दुई चलचित्र ‘ए मेरो हजुर–३’ तथा ‘जात्रा’ दुवैलाई दर्शकले मन पराएका छन् । गत शुक्रबार प्रदर्शनमा आएका यी चलचित्र सिनेमा हलमा पुनः एकपटक दर्शकको भीड जम्मा गराउन सफल भएका हुन् । तुलनात्मक रूपमा ए मेरो हजुर–३ ले राम्रो व्यवसाय गरिरहेको छ भने यात्रा पनि सन्तोषजनक व्यवसाय गर्न सफल भैरहेको छ । यो साता कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नहुने भएकाले यी दुई चलचित्रले अझै एक साता दर्शकलाई सिनेमा हलसम्म तान्न सक्छन् । कस्तो रह्यो त यी दुई चलचिक्रको व्यवसाय ? 

ए मेरो हजुर– ३ 

२ ०७५ सालको अन्तिम शुत्रबार प्रदर्शनमा आएको चलचित्र ए मेरो हजुर–३ ले सन्तोषजनक व्यापार गरेको छ । मंगलबारसम्म ए मेरो हजुरका शोहरू हाउसफुल छन् र शो पनि थपिइरहेको हलवालाहरू बताउँछन् । सवा २ करोड लगानी भएको यो चलचित्रले राम्रो फाइदा गर्ने चलचित्रकी निर्देशक झरना थापा बताउँछिन् । थापाका अनुसार मंगलबारसम्म यसले ४ करोड १ लाख रुपैयाँ संकलन गरिसकेको छ । झरनाको निर्देशनको चलचित्र ए मेरो हजुर–३ मा अभिनेता अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । झरना पुत्री सुहानाको यो डेब्यु चलचित्र हो । चलचित्रमा अनमोल प्रेम पात्रको भूमिकामा छन् भने सुहाना आर्या पात्रको भूमिकामा देखिन्छिन् । प्रेम रकस्टार हुन्छन् । आर्याले प्रेमलाई असाध्यै मन पराउँछिन् । यद्यपि उनले प्रेमसँग भेट्न पाउनु भनेको आकाशको फल आँखा तरी मर जस्तै हुन्छ । 

यता प्रेम पनि आर्यालाई खुबै मन पराउँछन् । तैपनि प्रेमजस्तै देखिने घनश्यामसँग आर्याको भेट भैरहन्छ । घनश्याम पात्रमा पनि अनमोलले नै अभिनय गरेका छन् । उनी यो पात्रमा गरिब देखिन्छन् । ए मेरो हजुर–३ यस्तै–यस्तै प्रेमसम्बन्ध र रकस्टारको जिन्दगीको वरिपरि घुमेको छ । चलचित्रमा अनमोलले प्रेमिकालाई प्रभावमा पार्न आफू स्टार हुँ भन्ने कुरा देखाउन खोज्दैनन् । यस्ता मसला धेरैजसो बलिउडका चलचित्रमा देख्न पाइन्छ । ए मेरो हजुर–३ मा यस्ता थुप्रै मसला छन् । यो चलचित्रलाई पूर्ण रूपमा कमर्सियल बनाउन खोजिएको छ । चलचित्रमा सुहानाको साथीको भूमिकामा रक्षा गौतमले अभिनय गरेकी छिन् । उनको संवादमा धेरैजसो अश्लील शब्द प्रयोग गरिएको छ, जसले गर्दा परिवार तथा आफन्तसँग बसेर चलचित्र हेर्दा केही अप्ठेरो महसुस हुन्छ । 

चलचित्रमा प्रयोग भएका ती शब्द जुन तरिकाले प्रस्तुत गरिएको छ, त्यसलाई पचाउन नेपाली दर्शकलाई हम्मेहम्मे पर्छ । चलचित्रमा रक्षाले होस्टलमा बस्ने केटीहरूले यस्ता शब्द पनि प्रयोग गर्छन् भन्ने कुरा देखाउन खोजेकी छिन् । यद्यपि ती अश्लिल शब्द प्रयोग नगरिएको भए पनि केही फरक पर्दैनथ्यो । 

अभिनयको पक्षमा सुहानाले पहिलो चलचित्रबाटै प्रसस्तै सम्भावना देखाएकी छिन् । उनले असाध्यै राम्रो काम गरेकी छिन् । सुहानाको अभिनय हेर्दा नेपाली चलचिक्रले अर्की सशत्त अभिनेत्री पाएको छ भन्दा कुनै अत्युक्ति नहोला । अनमोलको अभिनय क्षमतामा पनि तिखारिएको छ । अनमोल चलचित्रमा एउटा रकस्टारको चरित्रमा पनि फिट देखिन्छन् भने घनश्याम नामको गरिब पात्रको भूमिकामा पनि उत्तिकै फिट छन् । चलचित्रको कथा र प्रस्तुति बेजोड छ । गीत–संगीतको पाटोलाई राम्रोसँग प्रस्तुत गरिएको छ । 

मध्यान्तरसम्म चलचित्रले निकै हँसाउँछ । यसले दर्शकहरूलाई तब अलि गम्भीर बनाउन थाल्छ जब मुख्य पात्रको जिन्दगीमा अनेकन् झमेला आउन थाल्छन् । मध्यान्तरपछि केही समय चलचित्र स्लो हुन्छ । यद्यपि केही समयमै त्यसले पिक–अप लिन्छ । समग्रमा हेर्दा ए मेरो हजुर–३ मनोरञ्जनका लागि उत्कृष्ट छ, तर यो कुनै कोसेढुंगा बन्ने चलचित्र भने होइन । तैपनि चलचित्रले दर्शकलाई भने बाँधेर राख्छ । अनमोलका प्रशंसकहरूका लागि यो चलचित्र राम्रो उपहार हो भने यो चलचित्रबाट सुहानाका प्रशंसक पक्कै बढ्ने छन् । चलचित्रमा समावेश भएका अन्य कलाकारमा अर्पण थापाले उत्कृष्ट अभिनय गरेका छन्, सलोन बस्नेतको अभिनय पनि राम्रो छ, रक्षा गौतमको अभिनय दमदार छ । 

सरोज खनाल, रविन्द्र झा आदिको अभिनय उत्कृष्ट छ । निर्देशक थापाले यी सबै कलाकारबाट राम्रो काम लिन सकेकी छिन् । चलचित्रको सिनेम्याटोग्राफी राम्रो छ । एडिटिङ तथा ब्याक ग्राउन्ड म्युजिक पनि सन्तोषजनक छ । भिएफएक्सको काममा भने अलिकति चुकेको देखिन्छ । ड्रेसअप सुहाउँदो छ । गीतहरू राम्रोसँग प्रस्तुत गरिएका छन् । चलचित्र हेर्दा दर्शकलाई बोरिङ अनुभव हुँदैन । यो चलचित्रलाई म्युजिकल लभ स्टोरी भन्दा कुनै फरक पर्दैन ।

यात्रा 

गत हप्ता प्रदर्शनमा आएको चलचित्र हो– यात्रा । यो चलचित्रमा सलिनमान बनियाँ मुख्य भूमिकामा छन् । लामो समयदेखि विभिन्न कथामा चलचित्र बने पनि तिनका विषयवस्तु एउटै धारमा बगेको पाइन्थ्यो, तर यात्रामा भने ब्लगरहरूको कथा उठाइएको छ । यो नयाँ विषय हो । चलचित्रमा सलिनमान एउटा ब्लगर हुन्छन् जसको एउटा टिम छ । उक्त टिम नयाँ–नयाँ प्रतिभावान् मानिसहरू खोजेर उनीहरूको जिन्दगीमा परिवर्तन ल्याउने उद्देश्य बोकेर हिँडेको हुन्छ । यही क्रममा अतिथि कलाकारका रूपमा रहेकी समृद्धि राईले सलिनमानको टिमलाई एक ठाउँमा एउटी युवतीको स्वर मीठो छ, उनी टुङ्ना बजाउँदै गीत गाउँछिन् भनेपछि सलिनमानको ग्रुप ती युवतीको खोजीमा लाग्छ । 

टुङ्ना बजाउने ती युवती मलिका महत हुन्छिन् । मलिकाको यो डेब्यु चलचित्र हो । चलचित्रमा उनी दृष्टिविहिन हुन्छिन् । उनले टुङ्ना बजाएर गीत गाउँछिन् भने सलोन बस्नेतले मादल बजाएर उनलाई साथ दिन्छन् । उनीहरू गाउँ–गाउँमा गै गीत गाएर पैसा उठाउने काम गर्छन् । त्यसपछि सलिनमानको ग्रुपले उनीहरूलाई फेला पार्छ । चलचित्रमा हेर्दा भने उनीहरू ती युवतीलाई खोज्न गएको जस्तो देखिँदैन । उनीहरूले सलोन र मलिकालाई देखेपछि विभिन्न कुरा हुन्छन् । 

यतिबेला सलिनमानको जति क्रेज छ त्यसलाई जोगाउन उनले अभिनयमा थप सुधार ल्याउनुपर्ने देखिन्छ । चलचित्रमा निर्देशक फ्रेमिङ राम्रो बनाउने र सट राम्रो निकाल्ने कुरामा मात्र तल्लीन भएको पाइन्छ । निर्देशकले कलाकारबाट जति काम लिन सक्थे त्यति लिन सकेका छैनन् । क्यामेरामेनले राम्रो काम गरेका छन् । सिनहरू राम्रो खिचिएको छ । यो चलचित्र डबिङ तथा ब्याकग्राउन्ड म्युजिकको पार्टमा अलिकति चिप्लिएको छ । डबिङमा जहाँ बोल्नु नपर्ने थियो त्यहाँ बोलिएको छ र बोल्नुपर्ने ठाउँमा बोलिरहेको छैन, जसले गर्दा दर्शकलाई केही असजिलो लाग्न सक्छ ।

चलचित्रमा समावेश भएका संवाद बढी साहित्यिक छ । जुन युवती गाउँमा बस्छिन्, पढेलेखेकी छैनन्, तैपनि उनको ड्रेसअपदेखि सबै कुरा एकदम राम्रो देखिन्छ जुन प्राकृतिक लाग्दैन । यस्तै सलिनमानको हकमा पनि उनको ड्रेसअप अनुसार संवादको तालमेल मिलेको छैन । सलिनमानले जुन पात्रको अभिनय गरेका छन्, त्यो अनुसार संवाद पनि मिलेको छैन । चलचित्र यात्राका एक्सन निर्देशकको कामको भने प्रशंसा गर्नैपर्छ । कतै–कतै चलचित्र सुस्त गतिमा अघि बढेको छ जसले गर्दा दर्शकलाई बोरिङ हुन सक्छ । कथामा पनि अझ राम्रो गर्न सकिन्थ्यो, यात्रा त्यसमा पनि चुकेको पाइन्छ । 

यो चलचित्रको मंगलबारसम्मको व्यवसायिक पाटो हेर्दा यसले लगानी उठाउन सक्छ । चलचित्रका निर्माता सुशील पोखरेलका अनुसार यो चलचित्रमा २ करोड ५० लाख लगानी भएको छ । मंगलबारसम्मको आम्दानी हेर्दा चलचित्रले २ करोड २० लाख रुपैयाँ कलेक्सन गरिसकेको पोखरेलले जानकारी दिए । यो चलचित्र हलबाट उत्रिएको छैन, त्यसैले चलचित्र यात्रा फाइदामा जाने कुरामा आफू ढुक्क भएको निर्माता पोखरेल बताउँछन् ।

 

प्रकाशित :वैशाख ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्