कस्तो रह्यो रंगमञ्च ? 

- साप्ताहिक संवाददाता

वैशाख ६, २०७६

सुनिल पोखरेल 

नाट्यक्षेत्रलाई सरसर्ती हेर्दा गत वर्ष निकै नाटक मञ्चन भए, जसमा केही नाटक उल्लेख्य सफलता हासिल गरे भने कतिपय गुपचुप नै थिएटरबाट बाहिरिए । गत वर्ष अत्यधिक नाटक मञ्चनमा आए पनि नाटकका दर्शक भने घटिरहेका छन् । यो विषयमा रंगकर्मीहरूले ध्यान पुर्‍याउन जरुरी छ । यसरी दर्शक घट्नुको प्रमुख कारण राम्रा नाटक मञ्चन नहुनु तथा निरन्तर धेरै नाटक मञ्चन हुनु नै हो । अर्को कुरा नाटकमा गुणस्तर नपुगेको पनि हो । यद्यपि यस विषयमा मैले दर्शकहरूसँग बसेर कुरा गर्न पाएको छैन । अर्को कुरा गत वर्ष नेपालमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव पनि सम्पन्न भयो । उक्त महोत्सवमा धेरै नाटक मञ्चन भए, तर म बिरामी भएकाले एउटा पनि नाटक हेर्न पाइनँ । अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५ नाट्य क्षेत्रको ठूलो उपलब्धि हो । महोत्सवले नाटक हेर्ने साथीहरूलाई हामी कहाँ छौं र अरु कहाँ छन् भन्ने अनुभूति गराएको हुन सक्छ । त्यसैले महोत्सवबाट पाठ सिक्नु जरुरी छ । गत वर्ष मन्चन भएका कतिपय नाटक राम्रा थिए । मेरो सम्झनामा भएकामध्ये जिउँदो आकाश, जोखाना, थ्री सिस्टर्स नाटक निकै राम्रा थिए । ती नाटकलाई निर्देशन गर्ने निर्देशक आर के मेहता, किरण चाम्लिङ तथा घनश्याम श्रेष्ठले राम्रो काम गरेका छन् । त्यसैले मैले यिनीहरूमा सम्भावना देखेको छु । त्यसबाहेक अरू नाट्यकर्मीले पनि राम्रो काम गर्नुभएको छ, यद्यपि अहिले सम्झनामा आएन, क्षमा चाहन्छु ।

अनुप बराल 

नाट्य गतिविधि र नाटकघरमा दर्शकहरूको उपस्थितिका हिसाबले वर्ष २०७५ सुखद् रह्यो । गत वर्ष देशमा नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव तथा रारा नाटक महोत्सव लगायतका थुप्रै महोत्सव सम्पन्न भए । यस्ता नाट्य महोत्सवले रंगमञ्चिय गतिविधिलाई राजधानी केन्द्रित मात्र नभएर देशका अन्य स्थानमा पनि पुर्‍यायो । ती कार्यक्रम अलग ठाउँमा काम गर्ने रंगकर्मीहरूबीच सम्बन्ध बनाउने सेतु पनि बने । त्यस क्रममा नाट्य प्रस्तुति मात्र भएनन्, अन्य गतिविधि जस्तै विभिन्न विषयमा कार्यपत्र अनि अन्तरसंवादहरू पनि भए । यसले नेपाली रंगकर्मी तथा दर्शकलाई नयाँ स्वाद लिने अवसर जुटायो । जसको प्रभावस्वरूप आउने समयमा हाम्रो रंगमञ्च अझ फराकिलो हुने विश्वास लिएको छु । अर्को कुरा, निजी तथा सरकारी तवरमा स्थापित नाट्य घरहरूमा नियमित नाटक मञ्चन गरिनु रंगमञ्चिय हिसाबले राम्रो थियो । विशेष गरेर नयाँ महिला तथा पुरुष निर्देशकहरूको आगमनले नाटकमा रौनक र विविधता थप्यो । मैले गत वर्ष हेरेका नाटकहरूमा रूप, शैली र विषयका हिसावले बाथ टब, खबर हराएको चिठ्ठी, गर्व छिट्टा, शकुन्तलाको औंठी, जोखाना, सेम टाईम नेक्सट इयर, राजेन्द्रलक्ष्मी आदि सराहनीय थिए । 

घिमिरे युवराज 

नेपाली नाट्य क्षेत्रका लागि वर्ष २०७५ साल फलदायी रह्यो । गत वर्ष धेरै महोत्सवहरू भए । जसले युवाहरूमा जोस, जाँगर र उर्जा प्रदान गरेको छ । यस्तै गत वर्ष कौशी थिएटर र थिएटर मल स्थापना भए । यसले पनि नयाँ आशा जगाएको छ । गत वर्ष संगीत नाट्य एकेडेमीको आयोजनामा तीनदिन जोतिनरेश्वर नाट्य महोत्सव भयो । यस्तै तामाङ भाषाको सेलो नाट्य महोत्सव पनि सम्पन्न गरियो । त्यसैगरी सातवटा नाटकघरको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव आठ दिन चल्यो । यसले पनि नेपाली नाट्य क्षेत्रलाई कसरी अघि बढाउन सकिन्छ भन्ने बाटो देखाएको छ । राष्ट्रिय नाचघरको आयोजनामा सुर्खेतमा रारा राष्ट्रिय नाटक महोत्सव सम्पन्न भयो ।

जनकपुरमा मिथिला नाट्य महोत्सव, विराटनगरमा मिथिला नाट्य महोत्सव, पोखरा नाट्य महोत्सव, नेपाल विद्यालय स्तरीय नाट्य महोत्सवहरू पनि सम्पन्न गरिए । यसले युवापुस्तालाई नाटकसँग जोड्न सहयोग गरेको छ । त्यस बाहेक गत वर्ष काठमाडौंका हरेक नाटक घरमा निरन्तर नाटक मञ्चन भए । काठमाडौं बाहिर पनि विगतका वर्षको तुलनामा बढी नाटक मञ्चन भएका छन् ।

गत वर्ष मञ्चन भएका नाटकमध्ये बाथ टब, जोखाना, शकुन्तलाको औंठी, मुनामदन, सखी, सेम टाइम नेक्स्ट इयर, सके तिरौंला नत्र फिरिमा, बर्बरी, गर्व छिट्टा, लिलामे माइलो, चराहरूको सम्मेलन आदि नाटक राम्रा थिए । यस्तै, निर्देशकहरूमा विकास जोशी, किरण चाम्लिङ, सविन कट्टेल, जीवन बराल, रेनुका कार्की, चे शंकर रिजाल, हिरा बिजुली आदिले उत्कृष्ट काम गरेको पाएँ । 

प्रकाशित :वैशाख ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्