चलचित्रको दृश्यशत्ति

- अभिषेक यात्री

वैशाख ६, २०७६

भनिन्छ चलचित्र समाजको ऐना हो । समाजमा घट्ने मानिसका कथा–व्यथा, शैली–व्यवहार, चालचलन, दुःख–संघर्ष र संस्कृतिलाई कलाका माध्यमबाट पर्दामा प्रस्फुटित गर्नु चलचित्रको काम हो । चलचित्रले मानिसलाई समाजको वास्तविकता देखाउने मात्र होइन जिन्दगीका विभिन्न आयामका सम्बन्धमा पाठ समेत सिकाउँछ । चलचित्रले नै हामीलाई सफलता, धैर्यता तथा सम्पन्नता हासिल गर्न प्रेरणा दिएका उदाहरण पनि छन् ।

मनोरञ्जन प्रदान गरेर पनि निश्चित अवधिका लागि दर्शकलाई खुसी एवं आनन्दित तुल्याउन सकिन्छ । चलचित्रमा देखाइएका पात्र र तिनका व्यथा तत्कालै घटेका वास्तविक घटना होइनन् कुरा जान्दाजान्दै पनि मानिसहरू चलचित्रका अत्यन्तै मार्मिक र दुःखदायी दृश्यमा आँसुसम्म खसाल्न पुग्छन् । 

संसारभरका क्रान्तिकारीहरूले गीत–संगीत,चलचित्र, प्रहसन आदिका माध्यमबाट पनि जनचेतना फैलाउन ठूलो सहयोग पुग्छ भनेर कलालाई प्रशस्तै महत्व दिँदै आएका छन् । गीत गाएर वा अभिनय गरेर जनताको मन–मस्तिष्कमा विद्रोहको भाव जगाउने काम सफल कलाकारहरूले गरेको तथ्य नौलो होइन । कलाको प्रभावबाटै झस्किएर शासक वर्ग बेलाबेलामा कलाकारहरूमाथि अंकुश लगाउन समेत पछि पर्दैन । पशुपति शर्मा प्रकरण त्यसैको पछिल्लो उदाहरण हो । गीत प्रतिबन्धित गर्नुपर्ने अवस्था किन आयो भन्ने जवाफमा सरकारप्रमुखबाटै अत्यन्तै अवाञ्छनीय टिप्पणीसमेत आयो । कलाकारले कहाँसम्म प्रभाव पार्दो रहेछ भन्ने उदाहरण स्वयं दुईतिहाइको सरकारको त्यो अत्यासले देखाइदियो ।

 नेपालमा एक समय थियो जब पञ्चायतमा महजोडी लगायतले शासकको धरफकडको डर हुँदाहुँदै निरंकुशताविरोधी कार्यक्रमहरू गर्थे, रामेश–रायन, जीवन शर्मा आदिका गीतबाट तत्कालीन त्रान्तिकारीहरू निकै हदसम्म प्रोत्साहित हुन्थे । त्यस्ता कला आजका दिनमा इतिहास भैसकेका छन् । दर्पण छायाँ, कुसुमे रुमालले जसरी जनतामा प्रेमको सौन्दर्यात्मक वर्णन गर्थ्यो, त्यसरी नै बलिदान, आगोजस्ता चलचित्रले जनतामा जागरण ल्याउँथे । आजभोलिका चलचित्र तथा गीतसंगीत यतिसम्म कर्तव्यविमुख भएका छन् कि तिनको उद्देश्य सन्देशमूलक सामग्री भन्दा पनि क्षणिक उन्माद र पैसा भएको छ । दुःखलाग्दो कुरा त चलचित्रका साथै गीतमा समेत यौन उत्तेजना ल्याउने, नारीलाई उपभोग्य वस्तुका रुपमा प्रस्तुत गर्ने मात्र होइन, अत्यन्तै असान्दर्भिक र अप्राकृतिक ठट्यौलीका लागि आदर्श तथा नैतिकताको ख्यालसमेत राखिँदैन । आजभोलिका चलचित्र पश्चिमका पहिरन, बोल्ने–खाने शैली तथा सभ्यता नै हाम्रोभन्दा उत्कृष्ट हो भन्ने मानसिकताबाट ग्रस्त छन् । के अब देशमा प्राकृतिक र सिर्जनात्मक कलालाई उत्ताउलो र कृत्रिम कलाले विस्थापित गरेकै हो त ? सरकारका कलाक्षेत्रसम्बन्धी अधिकार राख्ने निकायहरू निकम्मा सावित भएकै हुन् त ?

त्रिचन्द्र क्याम्पस

प्रकाशित :वैशाख ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्