फुर्वा तेन्जिङले सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष गर्ने

- साप्ताहिक संवाददाता

वैशाख ५, २०७६

मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्य बोकेर किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’  अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औं पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको  नाम गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ता भैसकेको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौं) ले नेपाल पर्यटन बोर्ड सँगको सहकार्यमा ओझेलमा रहेका पर्यटकीय सम्भावना रहेका स्थानहरूको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता सञ्चालन गरिरहेको छ ।

 

प्रतियोगीले देशैभरीका ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण हुनसक्ने कुनैपनि गाउँठाउँका प्राकृतिक, सांस्कृतिक, भेषभुषा, जातजातीको पहिचान, खानपान, कला लगायतका कुनै एक विषयवस्तुमा केन्द्रित रही अधिकतम पाँच मिनेटसम्मको  भिडियो बनाउन सक्नेछन् । कुनै व्यक्ति समूह वा संस्थाले फरक फरक विषयवस्तुमा केन्द्रित रही एकभन्दा बढी भिडियो समावेश गर्न सक्ने प्रावधान रहेको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए । गत जानवरी १ तारिखवाट सुरु भएको यो प्रतियोगितामा ३१ मे २०१९ सम्म चल्नेछ । देशैभरिबाट भिडियो सङ्कलनार्थ यस फाउण्डेशनले सातै प्रदेशका १६ ठाउँ काठमाडौं, हेटौंडा, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ, विरगञ्ज, जनकपुर, इटहरी, विर्तामोड, मोरङ, पोखरा, तनहुँ र भैरहवा गरी पत्रकार सम्मेलन एवं अन्तरक्रियाको आयोजना गरिसकेको छ ।

 

राष्ट्रिय सभाकी सांसद कोमल ओली, भ्रमण बर्ष २०२० का संयोजक सुरज बैद्य, पर्यटन बोर्डका सीईओ दिपकराज जोशी, अल्ट्रा धावक मीरा राई, पूर्व राष्ट्रिय फुटबलर एंव प्रशिक्षक राजुकाजी शाक्य, कलाकार तथा सामाजिक अभियन्ता निर्मल शर्मा, अभिनेत्री श्वेता खड्का, नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, किर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा लगायतले फुर्वालाई राजधानीमा आयोजित एक कार्यक्रमका भिडियो च्यालेन्ज ‘मेरो गाउँ, मेरो ठाउँ’  अंकित झन्डा हस्तान्तरण गरेका हुन् ।

 

सांसद कोमल ओलीले नेपालका गाउँठाउँलाई विश्वभर परिचित गराउन यो अभियान अत्यन्तै सान्र्दभिक एवं समयसापेक्ष रहेको बताउँदै सबैलाई सहयोगको अपिल गरिन् । भ्रमण बर्षका संयोजक सुरज बैद्यले यो अभियानको अवधारणा नै उत्कृष्ट रहेकाले भ्रमण बर्ष २०२० पनि यस अभियानसँग जोडिएको जानकारी दिए । उनले लुकेका ठाउँलाई बाहिर ल्याउन यस्ता अभियान महत्वपूर्ण हुने भन्दै यस्ता अभियानका लागि ‘भ्रमण बर्ष २०२०’ कार्यक्रमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वि विल राइज फाउन्डेसनका अप्रेसन निर्देशक अनुप के बरालले भिडियो च्यालेन्ज अभियानले आफ्नो ठाउको विशेष पहिचानलाई बाहिर ल्याउन सहयोग गर्ने भन्दै अहिलेसम्मको सहभगिताले आफुहरु उत्साहित भएको बताए । सगरमाथा अरोही फुर्वा तेन्जिङ शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयास अनुरुप आरोहणको १४ औं पटक ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराउने प्रतिबद्धता व्यक्त गर्दै यस अभियानले नेपालको पर्यटन विकासमा ठुलो योगदान दिने बताए ।

 

देशैभरबाट आएका भिडियोहरुलाई पाँच जनाको निर्णायक समितीले छानेर उत्कृष्ट १० वटा भिडियो प्रतिस्पर्धामा आउने छन् । प्रतिस्पर्धाबाट  छानिएका उत्कृष्ट भिडियोले एक लाख रुपैयाँ नगदसहितको पुरस्कार पाउने छ । दोस्रोले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँको पुरस्कारको पाउँछन् । उत्कृष्ट १० भिडियोलाई सामाजिक संजालमा राखेर आएको प्रतिक्रिया अनुसार पब्लिक च्वाइस अवार्डको घोषणा हुने छ । यो विधामा पनि उत्कृष्ट भएको एउटा भिडियोलाई एक लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

 

उत्कृष्ट सम्पादन र लेखनले भिडियो पनि छनोट र यसलाई भने २५/२५ हजार रुपैयाँको पुरस्कार दिइने फाउन्डेसनले जानकारी दिएको छ । उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीबाट दुई लाख रुपैयाँको एकेडेमिक कोर्सको ज्ञान पनि पाउने भएका छन् ।

 

कुनै पनि भिडियो नदोहोरियोस् र कसले कुन ठाउँ वा विषय उठान गर्दैछ भन्ने जानकारीका निम्ति फाउन्डेसनको वेवसाइट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी (www.wwrf.org.np) मार्फत अनलाइन फम भर्नुपर्ने छ । यसपछि आफूले तयार पारेको भिडियो भने गुगल ड्राइभमार्फत संकलन गर्न सकिने छ ।

प्रकाशित :वैशाख ५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्