अहिलेसम्म प्रेममा परेकी छैन

- जनक तिमिल्सिना

वैशाख ४, २०७६

ग्लोबल कलेजमा प्लस टु अध्ययनरत क्रिष्टिन पौडेलको डेब्यु चलचित्र शुभलभ हालै प्रदर्शनमा आएको हो । टिनएजमै चलचित्रको मुख्य अभिनेत्री भएकी काठमाडौं बबरमहलकी क्रिष्टिनले ऊक्त चलचित्रमा चर्चित ज्योतिष हरिहर अधिकारीसँग स्त्रिन सेयर गरेकी छिन् । कालो आउटर, टिसर्ट र जिन्समा निकै खुलेकी यी सुन्दर अभिनेत्रीसँग सोमबार नयाँबानेश्वरमा जनक तिमिल्सिनाको जम्काभेट भयो । 

फिल्म खेल्ने संयोग कसरी जुर्‍यो ? 

रुचि पनि थियो । यो प्रोजेक्टको कुरा दाइमार्फत आएको थियो । म भेट्न गएँ, उहाँहरू एकदमै वेलकमिङ हुनुहुन्थ्यो, स्क्रिप्ट मन पर्‍यो अनि मैले काम गर्ने निर्णय गरें । 

ज्योतिषको फिल्म खेल्नुभयो ? आफैंलाई ज्योतिषप्रति कत्तिको विश्वास लाग्छ ? 

पहिले त खासै जानकारी थिएन यो विषयमा । उहाँ (हरिहर अधिकारी) सँग भेट्नुअघि खासै विश्वास लाग्दैनथ्यो । आफूले कहिल्यै चिना पनि हेराएकी थिइन् । उहाँसँग भेट भएपछि ए यो पनि एउटा स्टडी रहेछ, यो पनि एक्युरेट नै हुँदो रहेछ भन्ने लाग्यो । 

चिना देखाउनुभयो ? 

अँ, देखाए नि !

कस्तो रहेछ त तपाईंको भाग्य ? 

एकदम छोटो समय भयो चिना देखाएको । त्यसैले उहाँले भनेका कतिपय कुरा फिल गर्ने समय नै आएको छैन । अलि समय बितेपछि मात्र प्रेडिक्सन मिले–नमिलेको अनुभूति होला । 

सानै उमेरमा फिल्मको लिड रोलमा अभिनय गर्दाको अनुभव कस्तो रह्यो ? 

एकदमै राम्रो थियो, सुटिङमा रमाइलो पनि भयो । मैले घरबाहिर बसेर घुम्ने, नयाँ–नयाँ साथी बनाउने अवसर पनि पाएकी थिइनँ । त्यो दुवै अवसर पनि पाएँ । एकदमै बिजी पनि भइयो । त्यो कुरा सम्झँदा अहिले एकदमै रमाइलो लाग्छ । 

शुभ लभबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ? 

मेरो कामको एप्रिसियट गरिदिनु मेरा लागि एकदमै ठूलो कुरा हुन्छ । अहिले जसले मुभी हेर्नुभएको छ, उहाँहरूले इन्स्टाग्राम र फेसबुकमा टेक्स्ट पठाएर मेरो कामलाई एप्रिसियट गरिरहनुभएको छ । क्यारेक्टरलाई एकदमै जस्टिफाइ गर्नुभएको छ भन्ने प्रतिक्रिया आइरहेको छ । 

रिल लाइफमा त प्रेमिका बन्नुभयो, रियल लाइफमा कोही प्रेमी छन् कि ? 

अहिलेसम्म छैन । 

प्रेम प्रस्ताव पनि आएका छैनन् ? 

सामान्यतः प्रेम प्रस्ताव जसलाई पनि आइरहेको हुन्छ, तर अहिलेसम्म प्रेममा परेकी छैन । 

प्रेम प्रस्ताव राख्नेहरूलाई कसरी जवाफ फर्काउनुहुन्छ ? 

अहिले त धेरैजसो सोसल नेटवर्किङबाटै प्रस्ताव आइरहेको हुन्छ । चिनेका मानिसहरूले पनि त्यतैबाट प्रस्ताव गर्छन् । म उहाँहरूको फिलिङलाई सम्मान गर्दै हामी साथीका रुपमा बसौ भनेर डिल गर्छु । 

साह्रै राम्री हुनुहुन्छ । तपाईंको यो सुन्दरताको रहस्य के हो ?

म यसमा खासै ध्यान दिन्नँ । बाहिर निस्कँदा मेकअप महत्वपूर्ण हुन्छ तर घरमा बस्दा चाहिँबिना मेकअप नै हुन्छु । 

मेकअपका के–कस्ता सामग्री प्रयोग गर्नुहुन्छ ? 

प्राइमर, मोइस्चराइजर, कम्प्याक्ट पाउडर, फाउण्डेसन, ब्लसर, आइलाइनर तथा लिपिस्टिक । 

पहिरन कसरी छनोट गर्नुहुन्छ ? 

म प्रायः जेमा कन्फटेबल फिल हुन्छ त्यही लगाउन रुचाउँछु, तर पहिरन ठाउँ हेरेर पनि निर्धारण हुन्छ । टप्स र जिन्समा एकदम कन्फटेबल फिल गर्छु । ठाउँअनुसार जे कन्फटेबल हुन्छ त्यही क्यारी गर्छु । 

सपिङमा कति खर्च हुन्छ ? 

कहिलेकाहीं धेरै पनि खर्च भैरहेको हुन्छ । हिसाबचाहिँ राख्दिनँ । 

के कुरामा बढी रिस उठछ ? 

मलाई रिस उठिरहेको हुन्छ । रिस उठे पनि त्यो लामो समयसम्म जाँदैन तर मलाई सिम्पल कुरामा पनि रिस उठिरहेको हुन्छ । 

सामाजिक सन्जालमा कति समय बिताउनुहुन्छ ? 

म इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक खासै प्रयोग गर्दिनँ । 

फुर्सद कोसँग बिताउनुहुन्छ ? 

मिल्ने साथीहरूसँग समय बिताउन रुचाउँछु । फुर्सदमा कतिपय साथी मेरै घरमा आइरहेका हुन्छन्, कतिपय समयमा मिल्ने साथीहरूको घरमा पनि गैरहेकी हुन्छु ।

प्रकाशित :वैशाख ४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्