२०७५ मा को कति चले !

- कृष्ण भट्टराई

वैशाख २, २०७६

चलचित्र प्रदर्शन भएपछि त्यो सफल भयो कि असफल भन्ने कुराको निर्णय दर्शकले गर्छन् । दर्शकले साथ दिएको चलचित्र सफल हुन्छ, साथ दिएनन् भने राम्रा चलचित्र पनि असफल हुन्छन् । वर्ष २०७५ मा प्रदर्शनमा आएका चलचित्रले यही नै सन्देश दिएका छन् । खासगरी राम्रो भनिएका चलचित्र एकै दिन प्रदर्शन हुनुले पनि केही चलचित्रको व्यवसायिक पक्ष फितलो भएको पाइयो भने कतिपय अवस्थामा प्राकृतिक तथा राजनैतिक कारणले समेत चलचित्रको व्यवसायमा प्रत्यक्ष प्रभाव पर्‍यो । यो वर्ष प्रदर्शनमा आएका चलचित्रका आधारमा अभिनेता तथा अभिनेत्रीहरूको प्रस्तुति कस्तो रह्यो त ? 

विपिन कार्की, हरि, प्रसाद तथा गोपी

अभिनेता विपिन कार्कीका लागि वर्ष २०७५ औषत रह्यो । यो वर्ष उनले अभिनय गरेका तीन चलचित्र हरि, प्रसाद तथा गोपी प्रदर्शनमा आए । यी तीनवटै चलचित्र विषयवस्तुका दृष्टिकोणले उत्कृष्ट रहे । यद्यपि तीमध्ये हरी र गोपीले अपेक्षा अनुरुप व्यवसाय गर्न सकेनन् भने प्रसादले दर्शकको मन जित्यो । यी तीनवटै चलचित्र मार्फत विपिनले आफूले हरेक प्रकारको भूमिकामा अब्बल अभिनय गर्न सक्ने कुरा प्रमाणित गरिदिएका छन् । जेठमा प्रदर्शनमा आउने विपिनको नयाँ चलचित्र जात्रै जात्रा दर्शकमाझ प्रतिक्षाको विषय भएको छ । 

दीपकराज गिरी, छक्का पञ्जा–३ 

दीपकराज गिरीले पुनः एकपटक आफू नेपाली चलचित्रको नम्बर एक ‘मेकर’ भएको प्रमाणित गरिदिए । उनले निर्माण तथा अभिनय गरेको चलचित्र ‘छक्का पञ्जा–३’ वर्षकै सर्वाधिक व्यवसाय गर्ने चलचित्र सावित भयो । अघिल्ला चलचित्रमा कमेडीमात्र गरेको आरोप झेलेका दीपकराजले छक्का पञ्जा–३ मा कमेडीसँगै एउटा गम्भिर विषयसमेत उठाए अनि केही सन्देश पनि दिए । अभिनेताका रूपमा समेत दीपकराजको कामले प्रशंसा पायो । 

दीपाश्री निरौला, छक्का पञ्जा–३ 

कुनै बेलाकी कुशल अभिनेत्री दीपाश्री निरौला अहिले अभिनयभन्दा निर्माण एवं निर्देशन मार्फत चर्चामा आइरहेकी छिन् । छक्का पञ्जा–३ लाई कुशलतापूर्वक निर्देशन गरेर दीपाश्रीले आफूलाई सफल चलचित्रकर्मीको सूचीमा उभ्याएकी छिन् । यसै पनि नेपाली चलचित्रमा महिला निर्देशकको संख्या कम भएको अवस्थामा दीपाले त्यो अभाव पूर्तिमात्र गरेकी छैनन्, वर्षकै सर्वाधिक सफल चलचित्र निर्देशन गरेर आफूमा भएको क्षमता समेत प्रमाणित गरेकी छिन् । 

दीपिका प्रसाईं, छक्का पञ्जा–३

अघिल्लो वर्ष चलचित्र ‘ऐश्वर्या’ बाट रजतपटमा पदार्पण गरेकी अभिनेत्री हुन्– दीपिका प्रसाईं । पहिलो चलचित्रबाटै प्रसस्त सम्भावना देखाएकी दीपिकाले दोस्रो चलचित्र ‘छक्का पञ्जा–३’ मा अझ सशक्त भूमिका निर्वाह गरेर दर्शकलाई प्रभावित तुल्याइन् । यतिबेला तेस्रो चलचित्रमा अनुबन्ध भैसकेकी दीपिका राम्रो स्क्रिप्टमा मात्र काम गर्ने अडानमा बसेका कारण सफल भैरहेको अनुमान गर्न सकिन्छ । 

प्रियंका कार्की, ह्याप्पी डेज, कोहलपुर एक्सप्रेस, मट्टीमाला, नाइँ नभन्नु ल–५, कथा काठमाडौं, छक्का पञ्जा–३ तथा अनागत

अभिनेत्री प्रियंका कार्कीका लागि वर्ष २०७५ फलदायी रह्यो । यो वर्ष उनले अभिनय गरेका सातवटा चलचित्र प्रदर्शनमा आए । तीमध्ये केही चलचित्र असफल भए भने केही चलचित्र व्यवसायिक रुपमा उत्कृष्ट सावित भए । ह्याप्पी डेज, कोहलपुर एक्सप्रेस, मट्टीमाला, अनागत, कथा काठमाडौं आदि चलचित्र व्यवसायिक रूपमा असफल वा औसत भए पनि नाइँ नभन्नु ल–५ तथा छक्का पञ्जा–३ उत्कृष्ट रहे । प्रियंका व्यक्तिगत कारणले पनि वर्षभरिनै चर्चामा रहिन् । अभिनेता आयुष्मान देशराज जोशीसँगको उनको इन्गेज्मेन्ट चर्चाको विषय बन्यो । वर्षको उत्तराद्धमा प्रियंकाले आयुष्मानसँगको सहकार्यमा आयांक फाउण्डेसन स्थापना गरेर समाजसेवामा समेत सक्रिय हुने घोषणा गरिन् । 

अनमोल केसी, क्याप्टेन तथा ए मेरो हजुर–३ 

अभिनेता अनमोल केसी नेपाली चलचित्रका सुपरस्टार हुन् भन्दा फरक पर्दैन । यो वर्ष उनले अभिनय गरेका दुई चलचित्र क्याप्टेन तथा ए मेरो हजुर–३ प्रदर्शनमा आए । ए मेरो हजुर–३ आज शुक्रबारदेखि प्रदर्शन हुने भएकाले यसको व्यवसायिक पक्षका बारेमा केही भन्न मिलेन । चलचित्र क्याप्टेन व्यवसायिक रूपमा सफल भयो । अघिल्लो वर्ष चलचित्र कृमा एक्सन भूमिकामा प्रस्तुत भएका अनमोल यो वर्ष क्याप्टेनमा फुटबलरका रूपमा पनि उत्तिकै जमे । चलचित्रको पर्दामा उनलाई वास्तविक खेलाडी नै देखियो । ए मेरो हजुर–३ मा उनी दोहोरो भूमिकामा देखा पर्दैछन् । यो चलचित्रमा उनी संगीतकर्मीको भूमिकामा छन् । ए मेरो हजुर–३ को भूमिकामा उनलाई दर्शकले कत्तिको रुचाउने हुन्, हेर्न बाँकी नै छ । 

प्रदीप खड्का, रोज तथा लभ स्टेसन 

चकलेटी अभिनेता प्रदीप खड्काको फ्यान फलोइङ लोभलाग्दो छ । उनी जहाँ पुग्छन्, त्यहाँ प्रशंसकहरूको भीड लाग्छ । यो वर्ष प्रदीपले अभिनय गरेका दुईवटा चलचित्र प्रदर्शित भए । पहिलो थियो रोज । गोपिकृष्ण मुभिजको यो चलचित्र व्यवसायिक रूपमा खासै सफल हुन सकेन । यद्यपि प्रदीपको भूमिकाले भने प्रशंसा पायो । दोस्रो चलचित्र लभ स्टेसन अहिले पनि सिनेमा हलमा प्रदर्शन भैरहेको छ । व्यवसायिक सफलतातर्फ अग्रसर यो चलचित्रमा प्रदीपले लभर ब्वाइको भूमिका निर्वाह गरेका छन् । प्रदीप आगामी वर्ष कबड्डी–कबड्डीको तेस्रो सिक्वेलमा देखिने प्रवल सम्भावना छ । 

उपासना सिंह ठकुरी, क्याप्टेन

पहिलो चलचित्रबाटै सफलता पाउने थोरै कलाकारमा अभिनेत्री उपासना सिंह ठकुरीको नाम पनि आउँछ । चलचित्र क्याप्टेनमार्फत रजतपटमा आएकी यी अभिनेत्रीले आफ्नो पहिलो चलचित्रबाट प्रसस्त सम्भावना देखाएकी छिन् । आगामी वर्ष उनी कबड्डी–कबड्डीको सिक्वेलमा देखिने सम्भावना छ । 

उमेश थापा र कविता गुरुङ, बोबी 

उमेश थापा र कविता गुरुङ दम्पत्ति हुन्, जो नर्वेमा बसोबास गर्छन् । उनीहरूले आफ्नै जीवन कथामा आधारित चलचित्र बोबीमार्फत रजतपटमा पदार्पण गरेका हुन् । पहिलो प्रयासमै उनीहरूले दर्शकको मन जितेका छन् । उक्त चलचित्रको सफलतापछि उनीहरूले त्यसको सिक्वेल निर्माण गर्ने घोषणा समेत गरिसकेका छन् । 

नम्रता श्रेष्ठ, प्रसाद 

अभिनेत्री नम्रता श्रेष्ठलाई भर्सटाइल भन्दा फरक पर्दैन । उनी रोमान्टिक चलचित्रमात्र होइन कलात्मक चलचित्रमा पनि उत्तिकै फिट छिन् । यो वर्ष नम्रताले अभिनय गरेको चलचित्र प्रसाद प्रदर्शनमा आयो, जसमा उनको अभिनय लोभलाग्दो देखियो । व्यवसायिक रूपमा समेत सफल भएको यो चलचित्रमा नम्रताले निःसन्तान र गरिवीको पीडालाई प्रभावकारी शैलीमा चित्रण गरेकी छिन् । आगामी वर्ष उनी चलचित्र जाइरामा खेलाडीको भूमिकामा प्रस्तुत हुँदैछिन् । 

स्वस्तिमा खड्का, बुलबुल, नाइँ नभन्नु ल–५ तथा जय भोले 

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र बुलबुलको व्यवसायिक पक्ष जे जस्तो भए पनि उनले अभिनयबाट भने प्रशंसा पाएकी छिन् । उक्त चलचित्रमा निम्न वर्गीय महिलाका साथै टेम्पो चालिकाको अफ्ठेरो भूमिकालाई समेत उनले सहजताका साथ निर्वाह गरेकी छिन् । चलचित्रमा स्वस्तिमाको अभिनयबाट दर्शकका आँखा रसाएको पाइन्छ । व्यवसायिक रूपमा सफल चलचित्र नाइँ नभन्नु ल–५ मा पनि स्वस्तिमाको भूमिकाले दर्शकको मन जितेको थियो । चलचित्र जय भोलेमा पनि उनको भूमिका मन पराइयो । 

गौरव पहारी, साइँली तथा मिस्टर भर्जिन 

अभिनेता गौरव पहारीका लागि यो वर्ष मिश्रित रह्यो । उनले अभिनय गरेका दुई चलचित्र मिस्टर भर्जिन तथा साइँली प्रदर्शनमा आए । मिस्टर भर्जिनको व्यवसायिक पक्ष खासै राम्रो हुन सकेन, यद्यपि साइँलीबाट भने गौरवले राम्रो सफलता हासिल गरे । साइँलीमा उनको अभिनय प्रशंसनीय रह्यो । 

मेनुका प्रधान, साइँली

अभिनेत्री मेनुका प्रधानले अभिनय गरेको जम्मा एउटा मात्र चलचित्र साइँली यो वर्ष प्रदर्शनमा आयो । चलचित्रमा उनी शीर्षक भूमिकामा प्रस्तुत भएकी छिन् । रंगमञ्चको पृष्ठभूमिबाट आएकी यी अभिनेत्रीको अभिनय त्यसै पनि सुन्दर हुन्छ । चलचित्र साइँलीमार्फत उनले पुनः एक पटक आफूलाई प्रमाणित गरेकी छिन् । 

खगेन्द्र लामिछाने, डमरुको डन्डिबियो तथा जय भोले 

अभिनेता खगेन्द्र लामिछोनका वर्ष २०७५ औषत रह्यो । एकातिर चलचित्र जय भोलेले व्यवसायिक सफलता हासिल गर्यो भने अर्कातिर चलचित्र डमरुको डन्डिबियो चल्न सकेन । त्यसो त चलचित्र जय भोलेमा नै उनी आफ्नो चरित्रभन्दा भिन्न भूमिकामा प्रस्तुत भएका थिए, जसमा उनले न्याय गरे । डमरुको डन्डिबियोबाट खगेन्द्र अति नै आशावादी थिए । डन्डिबियो खेललाई केन्द्रमा राखिएको यो चलचित्रमा खगेन्द्र प्रभावकारी शैलीमा प्रस्तुत भएका थिए । 

दयाहाङ राई, भैरे, नेप्टे तथा साइँली 

अघिल्लो वर्ष झण्डै आधा दर्जन चलचित्रमा देखिएका अभिनेता दयाहाङ राई यो वर्ष तीनवटा चलचित्रमा देखा परे । भैरे, नेप्टे तथा साइँलीमार्फत दर्शकमाझ आएका अभिनेता राईका अघिल्ला दुई चलचित्र व्यवसायिक रूपमा सफल मानिएनन् । भैरे र नेप्टेले निराश बनाए पनि उनलाई साइँलीको सफलताले राहत दिएको हुनुपर्छ । आगामी वर्ष दयाले अभिनय गरेका दुई चलचित्र नीरफूल तथा आप्पा प्रदर्शनमा आउने छन् । 

साम्राज्ञी राज्य लक्ष्मी शाह, कायरा तथा इन्टु मिन्टु लन्डनमा 

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह प्रायः छनोट गरेर मात्र चलचित्रमा अभिनय गर्छिन् । यो वर्ष उनले अभिनय गरेका दुई चलचित्र प्रदर्शन भए–कायरा तथा इन्टु मिन्टु लन्डनमा । चलचित्र कायरामा उनी आर्यन सिग्देलको जोडीका रूपमा प्रस्तुत भएकी थिइन् भने इन्टु मिन्टु लन्डनमामा उनलाई धीरज मगरको साथ थियो । कायराले सफलताको स्वाद चाख्न सकेन । यद्यपि इन्टु मिन्टु लण्डनमा भने व्यवसायिक रूपमा सफल भयो । आफूले अभिनय गरेको एउटा चलचित्र असफल तथा अर्को चलचित्र सफल भएकाले उनका लागि यो वर्ष औषत मानियो । साम्राज्ञी यतिबेला चलचित्र मारुनीको छायांकनमा व्यस्त छिन्, जुन आगामी वर्ष प्रदर्शनमा आउनेछ । 

सौगात मल्ल, जय भोले

अघिल्लो वर्ष फाटेको जुत्ता, लालपुर्जा, झ्यानाकुटी, पञ्जेबाजा तथा संरक्षण जस्ता चलचित्रमार्फत दर्शकमाझ आएका अभिनेता सौगात मल्ल यो वर्ष एउटा मात्र चलचित्र जय भोलेमा देखिए । अघिल्लो वर्षका अधिकांश चलचित्र व्यवसायिक रूपमा असफल भएपछि सौगातले यो वर्ष धेरै चलचित्रमा हात हालेनन् । उनको मुख्य भूमिका रहेको चलचित्र जय भोले भने व्यवसायिक रूपमा सफल भयो । 

प्रकाशित :वैशाख २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्