७५ का ९३  चलचित्र हेरेपछि

- विष्णु शर्मा

वैशाख १, २०७६

अंग्रेजीमा एउटा शब्द छ–अब्जरडिटी । नेपालीकरण गर्दा त्यसको शाब्दिक अर्थ ‘अवसाद’ हुन आउँछ । अब्जरडिटी दर्शनले यसलाई अझ सजिलोसँग व्याख्या गरिदिएको छ कारण–प्रभावमा होइन, भाग्यमा विश्वास गर्ने । यहाँ उक्त शब्दको चर्चा गर्नुको अर्थ वर्ष २०७५ मा नेपाली चलचित्रको प्रवृत्ति र बजार सिंहावलोकन गर्नु हो । ‘अब्जरडिटी’ शब्द वरपर नेपाली चलचित्रको मनोविज्ञान घुम्यो गत वर्ष, जुन नेपाली चलचित्रको वर्तमान चरित्र हो । 

चरित्र संश्लेषण गर्नुअघि वर्ष २०७५ को नेपाली चलचित्रको गणित बुझौं । यो वर्ष कुल ९३ कथानक चलचित्र प्रदर्शनमा आए । एउटा चलचित्रमा औसत ७० लाख रुपैयाँ लगानी मान्दा वार्षिक लगानी ६३ करोड रुपैयाँभन्दा माथि हुन आउँछ । कुल रिलिजमध्ये एक दर्जनभन्दा कम चलचित्रले लगानी उठाए र बाँकी टाइटानिक जहाजजस्तै डुबे । ‘छक्का पञ्जा–३’ को २० करोड रुपैयाँलाई सर्वाधिक ग्रसर मान्दा बजार आयतन १ सय ८ करोड रुपैयाँ सालाखाला हुन आउँछ । 

क्यूएफएक्सको वर्तमान टिकट दरअनुसार ‘छक्का पञ्जा–३’ लाई ८ लाख दर्शकले हलमा हेरे जुन मुलुकको कुल जनसंख्याको अनुमानित २ दशमलव ४ प्रतिशत हो । वर्ष २०७५ मा ७० भन्दा बढी विदेशी चलचित्र (हलिउड र बलिउड) अन्तर्राट्रिय प्रदर्शनमा आए जसमध्ये ४ वटा हलिउड चलचित्रले नेपालमा १ करोडभन्दा माथिको ग्रस कारोबार गर्नु सामान्य होइन । कथ्य र प्रस्तुतिमा ताजा भारतीय र अमेरिकी चलचित्र नेपालमा राम्रैसँगै चले । टिकट झ्यालमा स्टार भर्सेज स्टोरीको यो एउटा सजीव द्वन्द्व थियो । 

काठमाडौं र मुलुकको दोस्रो ठूलो चलचित्र बजार पोखराको वर्ष २०७४ मध्यदेखि २०७५ लगभग अन्त्यसम्म गरिएको संश्लेषित एउटा तथ्यांकको निष्कर्ष पनि निकै रोचक छ जसले नेपाली चलचित्र क्षेत्रमा आशाको सञ्चार गर्छ । उक्त तथ्यांकअनुसार यो अवधिमा ४८ प्रतिशत दर्शकले नेपाली, ३७ प्रतिशतले भारतीय तथा १५ प्रतिशतले अंग्रेजी चलचित्र हेरेका थिए । यो गणितका दुई निष्कर्ष छन् : नेपाली चलचित्रको बजार उम्दा छ र विदेशी चलचित्र घरेलु चलचित्रका लागि चुनौतिका रूपमा उभिएको छ । 

अब कस्ता चलचित्र प्रदर्शनमा आए भन्ने प्रवृत्तिको विश्लेषण गरौं । ‘अवसाद’ दर्शन वरपर वर्ष २०७५ ले फन्को मार्‍यो, उक्त घर्षण वर्ष २०७६ मा अझ गाढा बन्ने विश्वास गर्न सकिन्छ । ‘अब्जरडिटी’ शब्दसँग केही वाक्य गाँसिएर आउँछन् जुन नेपाली चलचित्रको वर्तमान चरित्र हो । कुल रिलिज ९३ चलचित्रको केन्द्रिय प्रवृत्ति पलायन, भाग्य, पुँजी, फेन्टासी, प्रशंसा, अर्थविहीन कमेडी एवं जोक्स, लार्जर द्यान लाइफ रहे । 

यो प्रवृत्तिले विवेक, आलोचना, प्रश्न तथा अनुसन्धानलाई निषेध गर्छ भने पूजा रुचाउँछ र सिर्जनशीलताको ढोका बन्द गरिदिन्छ । समीक्षकहरूको भनाइअनुसार नेपाली चलचित्रको मूलधार यही प्रवृत्तिलाई काँधमा बोकेर बुर्कुसी मारिरहेको छ । ‘छक्का पञ्जा–३’ अवसाद मनोविज्ञानको उत्कर्ष हो र दाल भात तरकारी तथा शत्रुगते त्यसका संक्षिप्त उदाहरण हुन् । सशक्त धक्का नदिएसम्म यो चिन्तनले नेपाली दृश्यभाषा, मनोविज्ञान, दर्शकीय टेस्ट तथा बजारलाई पूर्णतः कब्जामा राख्ने निश्चित छ । 

अब चरित्र चित्रण र पात्रको चर्चा गरौं, जसले नेपाली समाजको मुड र हैसियत बुझ्न मद्दत गर्छ । कूल रिलिजको ९५ प्रतिशत चलचित्रको केन्द्रिय द्वन्द्वमा केटा–केटीबीचको सम्बन्ध छ । बुलबुल, प्रसाद र भोर (नारी सशक्तीकरण), छक्का पञ्जा–३ (शिक्षा), साइँली (वैदेशिक रोजगार), क्याप्टेन र डमरुको डन्डिबियो (खेल), कथा–७२ (संवेदना), सयकडा दश (सदाचार), खाग र हरि (इमान्दारिता), द म्यान फ्रम काठमाडौं (धार्मिक सहिष्णुता) भिन्न अप्रोचसहित रिलिज भए र प्रशंसा बटुले । 

प्रदर्शित अधिकांश चलचित्रमा चित्रण गरिएका पात्र पुलिस, चोर, फटाहा, डन, दलाल, गुन्डा, बलात्कारी, हिंसात्मक तथा लडाकु छन् । निकै कमले मात्र आदर्शवान नायकत्व, मजदुर, शिक्षक, वैज्ञानिक, खेलाडी तथा समाज सुधारकहरूको चित्रण गरेका छन् । यसलाई चलचित्रले जस्ता पात्र चित्रण गर्छ, निर्माता तथा निर्देशक बाँचेको समाजको चरित्र पनि यस्तै हुन्छ भन्ने अर्थमा बुझ्नुपर्छ । 

किनभने यतिबेला समाजले चलचित्रलाई निर्देशित गर्दैछ । समाजमा यस्ता पात्रको उपस्थिती बलशाली मात्र होइन, केन्द्रीय राजनीतिमा समेत यही प्रवृत्तिको हालिमुहाली छ । नेपाली चलचित्रले समाजभन्दा एक स्टेप अघि बढेर आदर्श पात्र निर्माणमा रुचि देखाएन । अहिले पनि चोर, फटाहा र पुलिस पात्र सान्दर्भिक भैरहनु बदलिएको समाजको आकांक्षासामु ठूलो प्रश्न हो । 

वर्ष २०७५ सम्म आइपुग्दा सफलताका दुई मानक रहे चलचित्रमा । समीक्षकले रुचाएका चलचित्र बक्स अफिसमा चलेनन् अथवा दर्शकले रुचाएका चलचित्र बक्सअफिसमा हिट रहे । ‘छक्का पञ्जा–३’ले बजार अर्थतन्त्रको इको–सिस्टमलाई सन्तुलनमा राख्ने प्रयत्न गर्‍यो । कलाभन्दा कमोडिटिज अवधारणाले निर्माण गरिने बहुसंख्यक चलचित्र असफल रहे । सबैमा ‘सिर्जनात्मक गरिबी’को साझा सेटब्याक देखियो । हामी पटकथामा चुक्यौं । समाजसँग गाँसिन सकेनौं । हाम्रा लागि चलचित्र पैसा छाप्ने मेसिन बन्यो । हामी समाज र चलचित्रबीच एकेडेमिक पुल बन्न सकेनौं । 

विश्व चलचित्रको बाछिटाबाट नेपाल अछुतो रहने कुरै भएन । नेपाली चलचित्रले यो वर्ष गरेको कमाइको दुई गुणा पैसा विदेशी चलचिक्रले लगे । कन्टेन्टमा विविधिता मानिएका त्रेजी रिच एसियन्स, ब्ल्याक प्यान्थर, आक्वाम्यान तथा बोहिम्यान र्‍याप्सोडीले बक्सअफिसमा करोड कमाउनुबाट नेपालमा हलिउडको प्रभाव देखिन्छ । हलिउड डाइभर्सिटीका यी ठूला उत्पादनसँग टाइम म्यागजिनले लेखेजस्तै ‘विश्व चलचित्रको विनिर्माण’को सन्देश जोडिएको छ जसको अर्थ हो : अब नेपालले लार्जर द्यान लाइफ होइन, कन्टेन्टमा आधारित मानवीय मूल्यका पटकथा छान्नुपर्छ । 

नेपाली चलचित्रसँग स्पष्ट वर्तमान छैन । यो संरचनागत भ्याकुममा आगामी वर्ष विदेशी चलचित्र (भारत र अमेरिका)ले फाइदा उठाउन सक्नेछन् भने हलिउडको प्रभाव अझ बढ्न सक्छ । यो वर्ष मोफसलका १३ वटा हलमा थ्रीडी प्रविधि जडान भयो, जसको सीधा अर्थ हो, हलिउड अब नेपाली चलचित्र बजारको नयाँ खेलाडी हो तर, बलिउड स्टारका चलचित्र तासको घरजस्तै ढले काठमाडौंमा । बक्सअफिसको समीकरण उल्टियो । 

डिजिटल प्रभुत्व यतिबेला विश्व चलचित्रको यथार्थ हो । नेटफिल्क्स र डिज्ने प्लसजस्ता ठूला स्ट्रिमिङ साइटको प्रभाव बलशाली छ । नेपालमा नेटफ्लिक्सको प्रभाव वर्ष २०७५ मा अझ बढेको छ । हलमा रिलिज नहुने ठूला हलिउड चलचित्र नेपालबाटै हेर्न सकिनु, आइफ्लिक्स र डिस होमले सेवा विस्तार गर्नु तथा नेपाली वितरकले चलचित्र स्ट्रिमिङका लागि भारतीय नेटफ्लिक्ससँग डेलिगेसन जानु सामान्य परिघटना होइनन । विश्व चलचित्रको गुरुत्वाकर्षणबाट नेपाल अछुतो छैन भन्ने यथार्थ हो । सीधै हललाई चुनौती दिने स्ट्रिमिङ सेवाको अभ्यास काठमाडौंमा समेत सुरु भैसकेको छ । 

वर्तमान विन्दुसम्म आइपुग्दा नेपाली चलचित्रले आफूलाई साहित्यिक उत्पादनका रूपमा स्वीकार गरेन जुन हाम्रो ‘मुख्य समस्या’ हो । चलचित्रलाई बौद्धिक एवं प्राज्ञिक उत्पादनका रूपमा नलिँदासम्म संख्याले गुण दिँदैन । यद्यपि हामीकहाँ ‘एन्टी–थेसिस’ भैरहेको छ, संख्या टन्नै हुँदा पनि गुण छैन । बक्सअफिस सफलता प्राविधिक पक्ष हो तर, क्राफ्टमा हामी कमजोर छौं भन्ने कुराको पुष्टि यो वर्षका चित्रले गर्छन् । वर्षमा हेरिएका सबै चलचित्रको समस्या लेख्य साहित्यमै थियो । लेख्यपछि बल्ल दृश्य साहित्य निर्माण हुने हो जसले गर्दा थ्रेट बजार होइन, चलचित्र लिट्रेसी हो । आवरण होइन, आत्माको खोजी जरुरी हो । 

हामीसँग आशावादी हुनु बाहेकको उपाय पनि छैन । यतिबेला चलचित्र मेकिङको एउटा तप्का गम्भीर हुँदै काममा लागिरहेको छ । वर्ष २०७६ मा चलचिक्रमा केही नयाँ काम हुनेछन् जसले सिनेम्याटिक संचारलाई सशत्त तुल्याउन सक्छन् । ती हुन्– दोख, सल्लीपिर, होल टाइमर्स, चिसो वर्षा, हिँडेर अमेरिका, गुडबाइ काठमाण्डू तथा रेड फल्लुज । यो हलिउड र बलिउड मनोविज्ञान विच्छेदतर्फको सुखद अवसर हो । यी चलचित्रको संरचना युरोपेली मोडलबाट प्रभावित हुनेछन् जसको अर्थ पर्दामा स्टारभन्दा पाक्र सशत्त हुनु हो र दृश्य भाषाको खोजी गर्नु हो । 

आउने वर्ष प्रदर्शनमा आउने चलचित्रले नेपाली समाज कति डेमोक्र्याटिक छ भन्ने कुराको नाडी छाम्नेछन् । किनभने वर्तमान सरकार अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्दैछ । यतिबेला सरकारी निकाय चलचित्र विकास बोर्डको मुख्य उद्देश्य चलचित्र नीति लागू गर्नु र नयाँ कानुन बनाउनु हो भने राज्यले आयोजना गरेको लगानी सम्मेलनमा अर्थमन्त्रीद्धारा प्रस्तुत २ करोड ५० लाख डलर (झन्डै पौने ३ अर्ब) लागतको चलचित्र सिटी दाताबाट उपेक्षाको शिकार बन्नु विडम्बना हो । 

अर्कातर्फ, वर्ष २०७६ मा जातजाति तथा क्षेत्रीय चलचित्र निर्माण ट्रेन्ड बढ्नेछ । पोखरामा गुरुङ चलचित्रको बलियो उदय हुनसक्छ । वर्ष २०७५ को अन्त्यदेखि केही गुरुङ चलचित्रले नेपाली चलचित्रलाई चुनौती दिँदै व्यवसायिक प्रदर्शन थालेका छन् । डकुमेन्ट्री तथा इन–डिपेन्डेन्ट चलचित्र निर्माणको संख्या बढ्नेछ किनभने लोकार्नो, भेनिस, बुसान आदि फेस्टिभलले नेपाल ओपन डोर्सको थालनी गरेका छन् । बर्लिन, टोरन्टो, सनडान्स तथा कान्स फेस्टिभलमा नेपालको उपस्थिति सुखद हुनसक्छ ।

तैपनि, वर्ष २०७६ मा नेपाली चलचित्र ‘अवसाद’ न्यारेटिभबाट मुक्त हुन्छ कि हुँदैन, हलिउड र बलिउडबाट आयातित ‘हेजेमोनी’लाई फन्को मार्छ कि तीसँग सम्बन्ध विच्छेद गर्छ भन्ने प्रश्नको यो उत्तर मै नेपाली चलचित्रको भविष्य लुकेको छ । 

(शर्मा चलचित्र समीक्षक हुन्)

प्रकाशित :वैशाख १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्