नयाँ वर्षको आगमन कहाँ कसरी ?

- त्रिचन्द्र प्रतीक्षा

चैत्र ३०, २०७५

विश्वका प्रायः सबै मुलुकमा इस्वी सन्का आधारमा जनवरी १ तारिखदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । नेपाली पात्रो अनुसार वैशाख १ गतेदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ भने यसलाई मेष संक्रान्तिको नामले समेत चिनिन्छ । 

नयाँ वर्ष मनाउने चलन कहिलेदेखि चल्यो भन्ने कुरा यकिन नभए पनि एक अनुमानअनुसार पृथ्वीमा जतिबेलादेखि समयको गणना वर्षमानका आधारमा गर्न थालियो त्यही बेलादेखि नयाँ वर्ष मनाउने परम्परा चलिआएको पाइन्छ ।

 हरेक देश र समाजको जातीय परम्परा एवं मान्यताअनुसार नयाँ वर्ष मनाउने समय र तरीका भिन्दभिन्दै भए अनुसार हाम्रो देशमा बिहान सबेरै उठी तीर्थस्थल वा जलाशयमा गएर नुहाई–धुवाई गरी विभिन्न देवस्थल वा शक्ति पीठको दर्शन पूजन गरी चराचर जगत्को मंगल कामना गर्दै नयाँ वर्ष मनाइएको पाइन्छ । यस दिन भक्तपुरमा लाग्ने विस्केट जात्रा र काठमाडौँको टोखास्थित सपनतीर्थमा लाग्ने मेला महत्वपूर्ण मानिन्छन् ।

विश्वका केही देशमा 

रोमन ग्रिक इन्साइक्लोपेडियामा हर्ष र उमङ्गका साथ नयाँ वर्ष मनाउने परम्परा भएको कुरा उल्लेख छ । त्यसैगरी ब्रिटिस म्युजियम लन्डनको एक अरबी शोध पत्रअनुसार हजारौं वर्ष पूर्व नाइल उपत्यकाको सभ्यताका मानिसहरू नयाँ वर्षको पूर्वसन्ध्यामा सामूहिक भोजको आयोजना गर्थे भने बेलायतको अर्को एउटा पुरानो ऐतिहासिक ग्रन्थअनुसार त्यहाँका केही आदिवासी नयाँ वर्षको अघिल्लो दिन एकै ठाउँमा जम्मा भएर आ–आफ्नो इष्टदेवता विशेष गरी सूर्यको पूजा गरेर नयाँ वर्ष मनाउँथे ।

यस्तै स्कटल्यान्ड–आयरल्यान्ड तथा त्यसवरिपरिका क्षेत्रमा नयाँ वर्षका दिन कालो केश हुने पुरुष तथा महिलालाई सम्मान गरिन्छ । त्यहाँका बासिन्दाहरू यस दिन कालो कपाल हुने पुरुष तथा महिलालाई साक्षात् देवताको दूत मान्छन् । नयाँ वर्षको दिन विशेषतः अग्ला र कालो केश भएका पुरुष तथा महिलाको आफ्नो घरमा प्रवेशलाई शुभ प्रतिक मानिन्छ । नयाँ वर्षको प्रभातमा कालोवर्णका मानिस वा कालो वस्तुलाई देखे शुभ हुन्छ भन्ने उनीहरूको मान्यता छ । 

जापानमा नयाँ वर्षका बेला घर वरिपरि रूखबिरुवा सजाउनुका साथै शुद्ध जल पिइन्छ, जसलाई ‘नव जात जल’ भनिन्छ । जल पिउँदा आयु वृद्धि तथा आरोग्यता प्राप्त हुन्छ भन्ने विश्वास जापानीहरूमा छ । जापानीहरू यही दिन मान्यजनबाट आशिष लिने र ऋण चुक्ता गर्ने कामसमेत गर्छन् । यस दिन चंगा उडाइन्छ भने स–साना बालबालिकाहरूको अक्षरारम्भ गर्न पनि नववर्षलाई नै शुभ मानिन्छ । जापानीहरू यसलाई ‘याबुरी’ भन्छन् । 

चीनमा रातभर जाग्राम बसेर आमा, बाबु तथा गुरुप्रति आदर भाव व्यक्त गरी आशिर्वाद लिनुका साथै विशेष भोजन ग्रहण गर्ने चलन छ भने नयाँ वर्ष प्रारम्भ हुनुभन्दा एक हप्ता अगावै विभिन्न किसिमका पटाका पट्काइन्छ । चिनियाँहरू भान्साको देवताका साथै पछिल्लो वर्षलाई बिदा दिएर फेरि त्यो देवताको आगमन भएको भन्दै नयाँ वर्षको स्वागतमा दीपदानद्वारा गर्छन् ।

 थाइल्यान्डसँगै सम्पूर्ण दक्षिण–पूर्व एसियाली मुलुकका निवासीहरू आ–आफ्नो घर सफा–सुग्घर गरी घरघरमा दियो बालेर नयाँ वर्षको स्वागत गर्छन् । त्यहाँ बौद्ध मन्दिरहरूमा गएर प्रार्थना गर्नुका साथै भिन्न–भिन्न प्रकारका खानेकुरा खाएर–ख्वाएर नयाँ वर्ष मनाइन्छ । बर्मामा नयाँ वर्षको उत्सवलाई ‘विजान’ भनिन्छ । त्यहाँ घर तथा टोल सजिसजाउ पारेर आफन्तहरू भेटघाट गर्दै एकसाथ खाना खाएर शुभकामना व्यक्त गरिन्छ । उक्त दिन शान्ति एवं सद्वुद्धि प्राप्तिका लागि भगवान बुद्धको पूजा गर्ने चलन छ ।

कोरियामा नयाँ वर्षका दिन कन्याहरूलाई श्रृंगार पटार गरी गाउँका मुखियाको अगाडि नचाइन्छ । त्यसपछि मुखियाले उनीहरूलाई आफूले चाहेको वरसँग विवाह गर्ने अनुमति दिन्छन् । त्यतिबेला ती मुखियाले गाउँका राजाको प्रतिनिधित्व गर्ने विश्वास लिइन्छ । त्यसपछि गाउँमा अर्थात् कन्याले चाहेको वर वरण गरिसकेपछि त्यहाँ पुनः सामूहिक नाचको आयोजना गरिन्छ ।

मेक्सिकोमा नयाँ वर्षको दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरिन्छ भने ल्याटिन अमेरिकाको एक जनजाति विशेषमा आफूलाई मन नपरेको जीवनसाथी भए उसलाई छोडपत्र दिई नयाँ जीवनसाथी छानिन्छ । उता, इरान र इराक सहित अरब देशहरूमा नयाँ वर्षको आगमन उत्सवलाई ‘नौरोज’ भनिन्छ । गहुँ तथा जौको हरियो अंकुरा भएको भाँडाको वरिपरि ऐना, फूल, मैनबत्ती तथा रोटी राखिन्छ । यी चीजलाई त्यहाँ शुभ संकेतका रूपमा लिइन्छ । त्यहाँ राति दियो बालेर त्यसको प्रकाशमा उत्साहपूर्वक रमाइलो गरिन्छ । 

भ्याटिकन सिटीमा आज पनि क्रिसमसपछि नयाँ वर्ष नै हर्षोल्लासपूर्वक मनाइन्छ । भ्याटिकनहरू नयाँ वर्ष मनाउने क्रममा पहिलो दिन बिहान आकाशमा सेता परेवाहरू उडाएर तथा एउटा ठूलो केक काटेर भ्याटिकन सिटीको चर्चको परिसरमा केक बाँड्छन् । यस्तै, जर्मनीमा नयाँ वर्षको उत्सव मनाउने क्रममा पानीले भरिएको धातुको भाँडामा मुद्रा खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवक्ताहरूले विभिन्न प्रकारका भविष्यवाणी गर्छन् । त्यस क्रममा उनीहरू मिठाई पनि खान्छन् । 

फ्रान्समा नयाँ वर्षलाई वसिली दिवसका रूपमा मनाउने चलन छ भने पोर्चुगलमा साँढे जुधाएर रमाइलो गरिन्छ । अस्ट्रेलियामा स्वर्ण मुद्रा, ब्रस, चिम जस्ता वस्तुहरू आदान–प्रदान गरिनुका साथै अन्य उपहारहरू साटासाट गरेर नयाँ वर्ष मनाइन्छ । यस्तै अमेरिकामा नयाँ वर्षमा अभिनन्दन समारोह आयोजित गर्ने चलन छ । न्युजिल्यान्डमा ब्रिटिस परम्परा अनुसार नयाँ वर्ष मनाइन्छ । त्यहाँ उक्त दिन शुभकामना पत्र आदान प्रदान गर्नुका साथै अनेक किसिमको उत्सव मनाउने परम्परा पनि छ ।     

 

प्रकाशित :चैत्र ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्