२०७५ : निराश फिल्म उद्योग

- रामजी ज्ञवाली

चैत्र २८, २०७५

 

यो वर्ष नेपाली फिल्ममा करोडौं लगानी भयो । महँगो ठाउँमा सुटिङ भएको देखि लिएर चल्तीका अभिनेताले महँगो पारिश्रमिक लिएका खबर मिडियामा छाइरहे । डेढ–दुई करोड बजेटमा बनेका फिल्मले लगानी अनुसार प्रतिफल चाहिँ उठायो कि उठाएन त ! नेपाली नयाँ वर्षको अन्त्यमा उठेको प्रश्न हो, कति सफल भए त फिल्महरु ? बलिउडजस्तो विश्व सिनेमाको दोस्रो ठुलो सिनेमा उद्योगमा पनि यस वर्ष ‘स्टारडम छ’ भनेर भनिएका कलाकारका फिल्महरु फ्लप भए । आफुलाई होनाहार फिल्ममेकर्स ठान्ने निर्माताहरु पनि डुबे । सुपरस्टार आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि त हलवालाले क्षतिपुर्ती नै मागेको घटनाले बलिउडमा तरंग ल्याएको थियो । बलिउड किङ शाहरुख खानको प्रतिक्षित भनिएको फिल्म जिरो र सलमान खानको रेस–३ पनि सोचेअनुसारको आम्दानी नगरेपछि खानहरुहरुप्रति प्रश्न उठेको थियो ।

समग्रमा यस वर्ष नेपाली फिल्मका लागि कस्तो रह्यो त ? फिल्म वितरक गोविन्द शाही भन्छन्, – ‘अघिल्लो वर्ष झण्डैं ४० प्रतिशत फिल्मले लगानी उठाएका थिए, यो बर्ष निकै नराम्रो भयो ।’ फिल्मको भिड धेरै र क्वालिटी नभएका फिल्मका कारण अधिकांस फ्लप भएको उनको तर्क छ ।

यसबाट बुझ्न सकिन्छ, फिल्म प्रचारले मात्र चल्दैन ।

५ प्रतिशत मात्रै सफल ?

कस्ता फिल्मलाई सफल मान्ने त ? यो प्रश्नको अनेक किसिमका उत्तरहरु आउँछन् । कसैले फिल्मको कन्टेन्टलाई कसरी प्रस्तुत गरियो, त्यसलाई सफल मान्छन् । कसैले  समीक्षकले राम्रो भनेमा फिल्मलाई सफल मान्छन् त कसैले व्यापारलाई लिएर फिल्मलाई सफल मान्छन् । तर, एउटा बुझ्नैपर्ने कुरा के हो भने फिल्मको सफलता-असफलताको एउटा मापक भनेको फिल्मको व्यापार नै हो । त्यत्रो लगानी गरेर बनाइएका फिल्मको सफलतालाई समीक्षकको प्रतिक्रिया या विषयवस्तुको प्रस्तुतिलाई मात्र आधार मान्न सकिन्न । 

केही समय अगाडि रिलिज भएको मार्भल स्टुडियोको महिला सुपरहिरोमा बनेको हलिउड फिल्म ‘क्यप्टेन मार्भल’ ले संसारभरबाट एक अर्ब ४० करोड डलरभन्दा ज्यादा कमाइ ग¥यो । अन्ना वोडेन र ¥यान फ्लेकले संयुक्त रुपमा निर्देशन गरेको यो फिल्मले निर्देशकिय पाटो, कलाकारहरुको अभिनय र पटकथा लगायत धेरै कुरावाट तारिफ कमायो । फिल्म कस्तो हुनुपर्छ ? कसरी दर्शक तान्ने ? दर्शकलाई पुरै समय हलमा कसरी बाँध्न सकिन्छ ? यो फिल्म एकपटक हेर्नेहो भने थाहा हुन्छ ।

विशेषतः मनोरन्जनलाई केन्द्रमा राखेर बन्ने गर्छन् फिल्महरु । जसको पहिलो सर्त हो नाफा कमाउनु । फिल्मको सफलता यो पनि हो कि फिल्मको निर्माण खर्च कटाएर निर्माताको हातमा चाहिँ कति रकम प¥यो ?

यस वर्ष विभिन्न विषयवस्तुमा निर्माण गरिएका नेपाली फिल्महरु प्रदर्शन भए । एक ढंगबाट हेर्ने हो भने फिल्महरुको बाढी नै आयो । यति सानो बजार भएको फिल्म उद्योगबाट हप्तामा दुई वा सोभन्दा बढी फिल्म दर्शकमा पुग्नु चानचुने कुरा हुँदै होइन । एउटा उत्साह पनि हो । वर्षभरिमा लगभग ८० भन्दा माथि फिल्महरु प्रदर्शन भए । एकदम कम फिल्मले मात्र निर्माताको खल्तीमा नाफा हालिदिए । केहीले लगानी उठाए भने केही नराम्रोसँग घाटामा गए । यो वर्ष छक्का पञ्जा–३, प्रसाद, नाई नभन्नु ल-५, जयभोले र इन्टु मिन्टु लन्डनमाले अपेक्षाकृत व्यापार गरेको बताइएको छ । यीबाहेक अन्य केही फिल्म हरि, साइँली, क्याप्टेन, लभ स्टेसन, कायरा जस्ता लगायतले चर्चा त कमाए तर, व्यापारिक हिसाबमा असफल साबित भएको बताइन्छ । के सफल भएको भनिएका फिल्म साँच्चिकै सफल नै भएका थिए त ? फिल्म समिक्षक शिव मुखिया भन्छन्, ‘यो बर्ष नेपाली सिनेमालाई ट्रायल वा सिकारु बर्ष भन्दा बढी सान्दर्भिक हुनसक्छ । किनभने सिनेमामा अभ्यास गर्न खोज्ने पुस्ता आए । उनीहरुले सिनेमा बनाउने अभ्यास गरे । अर्थात, परिपक्क, पोख्त, अभ्यस्त फिल्ममेकर्सको सर्वथा अभाव रह्यो ।’ उनका अनुसार यसवर्ष आफुलाई होनाहार ठान्ने फिल्ममेकर्स पनि चिप्लिएका छन्, खुलेर तारिफ गर्न सकिने किसिमका फिल्म आएनन् ।

०७५ मा ९० करोड बढी स्वाहा ! 

यो बर्ष नेपाली फिल्म क्षेत्रमा केही नयाँ गर्न खोज्ने फिल्मकर्मीहरुको भिड लाग्यो । एक ढंगबाट हेर्दा त उनीहरुको कोसिस सह्राहनीय नै थियो । जस्तो ‘बुलबुल’ मा चोपेन्द्रको भुमिकामा देखिएका मुकुन भुसालले गरे । निर्देशक विनोद पौडेलले खुबै मिहेनत गरेर नयाँ गर्न खोजे । साथै अन्य नयाँ चेहरा पनि निकै देखिए । कोही रहरले, कोही लिगेसीले त कोही प्यासनले नै आए । तर, दर्शकको माया भने उति पाउन सकेनन् ।

अन्य फिल्मको कुरा गर्दा फिल्मको कथावस्तुमा मिहेनत भन्दा फिल्मको प्रचारमा व्यापक मिहेनत गरे फिल्म निर्माता–कलाकारले । सायद, भ्रम नै सृजना गरे । त्यसको असर  फिल्म रिलिज भएको पहिलो दिन देखियो, कलाकारले फ्यानसँग हलहलमा गएर सेल्फी पनि खिचे । तर, दोस्रो दिनबाट हलमा कुर्सी मात्र बाँकी रह्यो, दर्शक बेपत्ता भए ।

परिपक्क, पोख्त, अभ्यस्त अनि धैर्य रहेका फिल्ममेकर्सको पनि अभाव रह्यो । पढेर आएका फिल्ममेकर पनि नराम्रोसँग पछारिए । यो वर्ष आम्दानी नगरे पनि खुलेर तारिफ गर्न सकिने केही फिल्महरु रिलिज त भए, तर व्यलसायिक हिसाबमा सफल भएनन् । हप्तामा औसत दुई वटा फिल्म सार्वजनिक भए । केही हप्ता त ३÷४ फिल्म नै दर्शक खोज्दै हलसम्म आए । तर, पोस्टर टाँस्न खर्च हुने माडको पैसा समेत उठाउन सकेनन् ।

नेपाली फिल्मसँग निकै लामो समयदेखि नजिक रहेकाहरुले मजाले भन्न सक्छन् कि यो वर्ष नेपाली फिल्मका लागि निकै निाशाजनक रह्यो । अलि निर्मम भएर भन्नुपर्दा यो वर्ष नेपाली फिल्मका लागि अँध्यारो वर्ष पनि हो । हुन त पनि हो, अघिल्लो वर्षभन्दा पनि दयनीय अवस्थाबाट गुज्रियो फिल्म उद्योग । छक्का पन्जा ३ बाट राम्रो कमाइ गरेका दीपकराज गिरी भन्छन्, ‘यो वर्ष झुर फिल्म धेरै बने । नेपाली फिल्म मेकर्सका लागी फिल्म लेखन र निर्माणका लागी एउटा राम्रो तालिमको आवश्यकता देखियो ।’ मानिसको यथार्थ जिवन खोज्नेहो भने सडकमा पाइन्छ, अस्पतालमा पाइन्छ, उनले थपे, ‘यथार्थ जिवनभन्दा माथीको सम्भावना र मनोरन्जनका लागी फिल्म हलमा दर्शक जानुपर्छ । दर्शकले फिल्म हेर्न गएपछि टेलिश्रृखला जस्तो स्तरको पनि नभेटेपछि के हुन्छ ? हो त्यस्तै भएको हो यो बर्ष ।’

यो वर्ष ९६ फिल्म रिलिज भए । दुइवटा बाँकी नै छन – ए मेरो हजुर ३ र यात्रा । निर्माताहरुले दुई करोड र तीन करोड  लगानीको दाबी गरे पनि फिल्ममा हुनै सबै खर्चलाई मधयनजर गर्दा एउटा फिल्ममा औसत एक करोड खर्च हुनेगर्छ । एक करोडलाई नै आधार मान्ने हो भने पनि ९६ फिल्मको खर्च ९६ करोड भएकोे देखिन्छ । तर, एक वर्षमा ९६ करोड लगानी नेपाली फिल्म उद्योगले धान्छ त ? फिल्म निर्माता सन्तोष सेन भन्छन्, –निर्माताको ओइरो मात्र लाग्यो, फिल्मलाई नबुझ्ने मानछे धेरै आए ।’ वर्षको सुरुवातवाटै एकपछि अर्को निम्न स्तरको फिल्म दर्शकलाई दिएर उनिहरुको मन भाड्ने काम गरियो अनि कहाँ नजिक पर्छन दर्शक ?, उनले थपे । दुई चार जनाको हवैयाको कारण गम्भिर रुपमा लाग्ने फिल्मकर्मीलाई असर परेको उनको तर्क छ ।

यो वर्ष केही फिल्मले लगानी उठाए पनि अन्य फिल्महरुले ‘हावा’ खाए । २९ गते सार्वजनिक हुने फिल्म यात्रा र ए मेरो हजुर ३ ले के कस्तो व्यापार गर्छन्, त्यो भने हेर्न बाँकी नै छ । फिल्मले लगानी उठाउनका लागि औसत ३ करोड कलेक्सन गर्नैपर्छ । औसतमा ५०–६० हलमा प्रदर्शन हुने फिल्मले लगानी उठाउनका लागि दुई साता चल्नैपर्छ । तर, यहाँ तीन दिनमा हल रित्तो हुन्छ । अनि हल्ला फैलाइन्छ, २ दिनमा करोड माथीको ब्यापार, ३ दिनमा २ करोडको व्यापार ।

आश गरिएकाबाटै निराश

यो वर्षको सुरुवातमा केही यस्ता फिल्महरुले आशा जगाएका थिए, जसले राम्रो गर्छन् भन्ने सबैलाई लाग्थ्यो । डमरुको डन्डिबियो, रोमियो एण्ड मुना, कायरा, मेरी मामु, रोज, गोपी, समर लभ, द म्यान फ्रम काठमाडौं, साइँली, क्याप्टेन, लभ स्टेशन लगायतले प्रदर्शनअघि निर्माणको बेलादेखिनै निकै चर्चा पाएका थिए । भन्नुको मतलब, फिल्म हलमा नलागेसम्म राम्रै चर्चा पाएका हुन् । प्रचारलाई हेर्दा लाग्थ्यो, राम्रै फिल्म बनेका छन्– धमकेदार व्यापार गर्नेछन्, दर्शकको मन जित्नेछन् । तर, त्यसो भएन । बरु नारायण गोपालको एउटा गीत जस्तो भयो– सोचेजस्तो हुन्न जीवन... । अधिकांस निर्माताको अवस्था रामकृष्ण ढकालको गीत जस्तै भयो – ओराली लागेको हरिणको ताल भो... ।

चलेनन् स्टार

सुन्दा तीतो लाग्न सक्छ, तर सत्य के हो भने अनावश्यक स्टारडम (मिडिया र हल्लाले बनाएका) भएका स्टारका फिल्मले यो वर्ष पनि निर्मातालाई निराश बनाए । २०१८ मा बलिउडमा खानहरुकै अवस्था रह्यो, नेपाली फिल्म क्षेत्रमा । तर पनि उनीहरुसँग साँच्चै स्टारडम छ, नेपाली स्टारहरुसँग कस्तो स्टारडम छ त ? केही युवती फ्यानहरु र केही सेल्फीहरुमा मात्र समेटिएका छन् नेपाली स्टारहरु । स्टार भनिएका अभिनेता अनमोल केसी, प्रदीप खड्का, विपीन कार्की लगायतका फिल्मनै असफल भए । बिपिन कार्की फिल्म प्रसादबाट केही मात्रामा जोगिए पनि पुर्ण सफल भने हुन सकेनन् । 

हिरोइनको अवस्था पनि उस्तै रह्यो । बोल्ड रुपमा प्रस्तुत हुने हिरोइन साम्राज्ञी राज्यलक्ष्मी शाह पनि असफल भइन् । नाम चलेका टप १० (मिडियाले बनाएका) अधिकांश कलाकार असफल भए । अभिनेता प्रदीप खड्का अभिनित फिल्म रोज र लभ स्टेसन दुवै फ्लप भए । अनमोल केसी अभिनित फिल्म क्याप्टेनले लगानी समेत उठाउन सकेन । साम्राज्ञीको तिमिसँग हलमा दुई दिन पनि टिकेन । पहिलोपटक १० लाख पारिश्रमिक लिएर महंगी अभिनेत्री वनेको फिल्म कायरा पनि अपेक्षा अनुसार सफल भएन । बिपिन कार्कीको हरि, गोपीले समीक्षकबाट मात्र राम्रो प्रतिक्रिया मात्रै पायो । धमाधम फिल्म खेल्ने अभिनेत्री प्रियंकाको पनि फिल्म हिट भएनन् । अरु धेरैका कथा पनि यस्तै यस्तै भए । यसले नेपाली सिने कलाकारलाई के आधारले स्टार भन्ने, सवाल उठाएको छ ।

तर यो वर्षको दशैंमा रिलिज भएको फिल्म छक्का पन्जा ३ व्लकवस्टर हिट भएको छ । फिल्मले १६ करोडभन्दा बढी ग्रस कलेक्शन गरेको निर्माण पक्षको दावी छ । तर सत्य निर्माण पक्षलाई नै थाहा छ ।

नयाँ हिरोइनको भिड

यो वर्ष नेपाली फिल्म उद्योगमा नयाँ हिरोइनको भिड लाग्यो । तर भिड मात्र लाग्यो, कोही कसैले केही गर्न सकेनन् । नजिकै छिमेकी फिल्म उद्योगमा पछिल्लो समय चम्किएकी अभिनेत्री सारा अली खानको जस्तो कुनै अभिनेत्रीको भएन । जाहन्वी कपुरले जस्तो कसैले दर्शक चोर्न सकेनन् । कुरा के हो भने सारा अली खानले पहिलो फिल्म केदारनाथ र अर्को फिल्म सिम्वावाट यति धेरै प्रशंसा कमाइन् की १५–२० बर्षदेखी उद्योग कव्जा गरेका हिरोइनलाई पनि सोच्न वाध्य पारिन् । जाहन्वी कपुरले एउटा फिल्म धडकमा काम गरेर उद्योगमा काफी नाम कमाइन्, बलिया निर्माताको नजर आफुतिर तानिन् । धमाधम ठुला व्यानरका फिल्ममा साइन् गरिन् ।

नेपाली फिल्म उद्योगमा यो वर्ष हिरोको तुलनामा हिरोइन संख्यामा धेरै देखिए । वर्षको सुरुवात्मा सार्वजनिक भएको फिल्म हैरानबाट आरोही शर्माले फिल्म क्षेत्रमा पाइला राखिन् । तर, बक्स अफिसमा यो फिल्म पूर्ण रुपमा असफल भयो । आरोहीको करिअर पनि चम्किन सकेन । त्यस्तै, म्यूजिक भिडियोमा नाम र दाम कमाएकी एलिसा शर्मा ची मुसी चीबाट फिल्म उद्योगमा पाइला टेकिन् । तर, यो फिल्मले पनि असफलताकै ट्याग भि¥यो । फिल्म बेबी आइ लभ यु बाट पुजा तिवारी पनि हिरोइन बनिन् । तर, कसैले चिन्न सकेनन् ।

कहीँ कतैबाट कलाकार सिवानी गिरी, मेरी मामुमार्फत कुसुम गुरुङ, ड्रिम गर्लबाट आश्मा गिरी, अनुरागबाट पत्रकार ऋषी धमलाकी श्रीमती एलीजा गौतम, रणविरमार्फत् सुभेच्छा खड्का र सुपुष्पा भट्ट, उपन्यासमा आधरित फिल्म समर लभबाट रेवती क्षेत्री, क्याप्टेनबाट उपासना सिंह ठकुरी र प्रियंका एमभी लगायत नयाँ अनुहार त देखिए, तर देखिए मात्र, देखिइरहने छाँट कसैले देखाएनन् । फिल्म दि ब्रेकअपबाट शिल्पा मास्के, जानी नजानीबाट निरिषा बस्नेत, सुभ लभबाट क्रिस्टिन पौडेल कसैको पनि नेपाली फिल्म उद्योगमा सफल अवतरण भएन ।

वर्षको अन्तिममा सार्वजनिक हुन लागेको फिल्म यात्रावाट मलिका महतले पनि डेब्यु गर्दैछिन् ।  ए मेरो हजुर ३ बाट अभिनेत्री झरना थापाकी छोरी सुहाना थापाको समेत डेब्यु हुँदैछ । यी दुईले अगाडि रिलिज भएका फिल्मबाट डेब्यु गरेका नयाँ हिरोइनकै पथ अंगाल्छन् या स्थापित हुने छाँट देखाउँछन्, त्यो भने हेर्नै बाँकी छ । 

असफल बक्स अफिस

सरकारले गत साउनमा फिल्म विकास बोर्डमार्फत काठमाडौैं उपत्यकामा बक्स अफिस प्रणाली सुरु गरे पनि प्रभावकारी हुन सकेन । फिल्मको व्यापार पारदर्शी हुने धेरैको अपेक्षा भए पनि अपेक्षा पुरा भएन । विगतमा जस्तै यति आम्दानी भयो, उति आम्दानी भयो भन्दै निर्माताले हावादारी रिपोर्ट सार्वजनिक गरिरहे । यो कुरा हालै विकास वोर्डको अध्यक्षमा नियुक्ती भएका केशव भट्टराइले पनि स्विकार्छन् । केशव भट्टराई भन्छन्, – मेरो कार्यकालको पहिलो काम नै बक्स अफिसलाई लागु गर्नु हो ।’ पुर्व अध्यक्ष निकिता पौडेलले लागु गरेको वक्स अफिस भट्टराइको कार्यकालमा सफल हुन्छ या हुँदैन, त्यो भने हेर्नै बाँकी छ ।

२०७६ :  चेत खुल्ने सम्भाबना

फिल्म फ्लप भइरहे पनि लगानीकर्ता जोशका साथ आइरहेका छन् । अनि धेरैले प्रश्न गर्छन्– किन लगानीकर्ताको भिड लागिरहेको छ ? हुन त आगामी वर्ष प्रदर्शन हुने फिल्म ०७५ को तुलनामा निकै कम हुने अनुमान गरिएको छ । भ्रर्खरै छायांकन सकिएको फिल्म दाल, भात, तरकारी वैसाखको २० मा सार्वजनिक हुँदैछ । अहिले प्रेमगीतको सिक्वेल प्रेम गीत ३ निर्माणको तयारी गरिएको छ । यो फिल्म ०७६ मै आउँने निर्माता सन्तोष सेनले बताएका छन् । त्यस्तै, सुर्दशन थापाको निर्देशनमा युरोपमा छायांकन भएको फिल्म सम्हालिन्छ कहिले मन आगामी भदौमा सार्वजनिक गर्ने तयारी छ ।

त्यस्तै सफल फिल्म जय भोलेका निर्देशक अशोक शर्माले निर्देशन गर्ने फिल्म रातो टिका निधारमा आगामी दशैमा रिलिज हुने पक्का भएको छ । यो फिल्म अहिले छायांकनमा जाने तयारी छ । छायांकन सकिएको फिल्म विर विक्रम जेठ ३ मा सार्वजनिक हुँदैछ । नवल नेपालको निर्देशनमा छायांकन भैरहेको फिल्म मारुनी, सुरज सुव्वा नाल्वोको निर्देशनमा छायांकन भैरहेको फिल्म हृदयभरी, आर्यन सिग्देलको चाचाहुइँ र हजार जुनीसम्म, विपीन कार्कीको जात्रैजात्रा २०७६ मा प्रदर्शन हुने पक्का छ । र यी फिल्मले दर्शक तान्न सक्ने अनुमान पनि गरिएको छ ।

अहिले निर्माण भइरहेका या प्रदर्शनको मिती लिएर बसेका केही फिल्मलाई लिएर आँकलन गर्ने हो भने यस वर्ष ०७५ को नियती नदोहोरिने अनुमान गर्न सकिन्छ । र, अधिकांस नेपाली फिल्मका सुभचिन्तकको चाहना पनि यहि हो, दर्शकलाई थेग्न सक्ने मात्रै फिल्म प्रदर्शन भैदिए हुन्थ्यो ।

०७६ नेपाली फिल्म उद्योगका लागि राम्रो होस्, शुभकामना !

प्रकाशित :चैत्र २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्