सबै क्षेत्रमा फैलन सक्दिन

- नरेन्द्र रौले

चैत्र २६, २०७५

अभिनेत्री सोविता सिम्खडा कुनै बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने नमस्ते कलिउड कार्यक्रम सञ्चालन गर्थिन् । उनले डेढ वर्ष कार्यक्रम सरोबर पनि चलाइन्, जुन नृत्य प्रतिस्पर्धामा आधारित थियो, त्यो पनि नेपाल टेलिभिजनबाटै प्रसारण हुन्थ्यो । नमस्ते कलिउड कार्यक्रम सञ्चालनकै सिलसिलामा उनले चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन् । केही अघि उनको उपन्यास वराङ्गना बजारमा आएको थियो । सोवितासँग नरेन्द्र रौलेको जम्काभेट : 

तपाईंको पहिलो उपन्यास वराङ्गनाबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

अत्यन्तै राम्रो प्रतिक्रिया पाएँ । वराङ्गना बजारमा आएपछि धेरै ठाउँका अन्तर्क्रियामा भाग लिएँ । नेपाल बाहिर कतार पुगें । स्वदेश–विदेश सबैतिरबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त भयो । 

नयाँ के लेख्दै हुनुहुन्छ ?

दोस्रो उपन्यास लेख्दैछु जुन सामाजिक विषयवस्तुमा केन्द्रित छ । हाम्रै देशको समस्यामा आधारित छ । पूरा हुन भने अझै केही समय लाग्छ । यसका लागि थप अनुसन्धानको खाँचो छ । 

चलचित्रको तुलनामा लेखनतिर तानिदै जानु भएको हो ?

तानिँदै गएको होइन तानिइसकेकी छु । मलाई एकान्त मनपर्छ । म एकान्तमा लेखपढ गर्न रुचाउँछु । आफ्नो स्वभावअनुसार मलाई चलचित्र भन्दा लेखन नै उपयुक्त लाग्यो । 

चलचित्रको तुलनामा लेखनबाट बढी पारिश्रमिक आएर हो कि ?

पैसा कहिल्यै मेरो प्राथमिकतामा परेन । मैले आफ्ना इच्छा–आकांक्षालाई प्राथमिकतामा राखें । पैसाको हिसाब किताब खासै गरिएन । दैनिक जीवन चलाउन पाए पुग्छ । धेरै धनसम्पत्ति बटुलेर को नै खुसी भएको छ र ? आनन्दित हुनुपर्‍यो, खुसी हुनुपर्‍यो । 

लेख्न रमाइलो कि पढ्न ? 

पढ्न, पढेर नै लेख्ने रहर पलाएको हो । लेखाइ र पढाइ दुवै एक अर्काका परिपूरक हुन् ।

तपाईं अध्यात्मप्रति समर्पित हुनुहुन्छ । किन यतातिर लाग्नुभयो ?

अध्यात्मले चेतनाको स्तर बढाउँछ । मैले धेरै बेहोसी मानिस देखेकी छु । जीवनमा मैले पाउनु केही छैन । म आफूलाई यति भाग्यमानी मान्छुकी हरेक दिन भगवानलाई धन्यवाद दिन्छु । म माछामासु खान्न, डिस्को, डान्सबार छिरेकी छैन, वाइन पिउँदिन । धादिङमा हाम्रो घर नजिकै ओशो तपोवन थियो । त्यही पृष्ठभूमिमा हुर्किएकाले होला, म अध्यात्ममा लागें ।

लेखन र चलचित्रमा काम गर्दाको फरक अनुभूति कसरी साट्नुहुन्छ ?

लेखन कर्म आफ्नै मुड भर पर्छ । आफूले सोचे जसरी काम गर्न पाइन्छ । आफ्नो समयअनुसार जतिबेला, जहाँ लेखे पनि भयो । चलचित्रमा भने अर्काको मुड, इच्छाअनुसार काम गर्नुपर्छ । फेरि चलचित्रमा निर्देशक तथा अरू कलाकारहरू पनि हुन्छन् उनीहरूसँग सहकार्य गर्नुपर्छ । लेखनमा भने सबैथोक आफै हो । आफैंमा रमाउन सकिन्छ ।

तपाईं कस्तो खालको व्यक्ति हो ?

म एकोहोरो स्वभावकी छु । जेमा मन लाग्यो, त्यसैमा केन्द्रित भैरहने खालकी । म सबै क्षेत्रमा फैलन सक्दिन ।

जीवनमा प्रेमपत्र कत्तिको पाउनुभयो ?

अलिअलि आउँथे, त्यस्तो धेरै त होइन । म लजालु र गम्भीर खालकी थिएँ । बोली हाल्न नसक्ने खालकी युवती । फेरि मेरो बुबा स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो, त्यसैले डर पनि लाग्थ्यो । मैले भने कसैलाई प्रेम पत्र लेखिनँ ।

 

तपाईंको प्रेम विवाह हो कि मागी विवाह ?

नितान्त आफैंले खोजेर, घरमा आफैंले भन्ने हिम्मत राखेर विवाह गरेकी हुँ । हामीबीच प्रेम भयो, कहिलेकाहीँ एक–अर्काको घर आउजाउ हुन्थ्यो । घरमा विवाहको कुरा आउन थाल्यो । मैले कुरा राखें । स्वीकार भयो । हाम्रो विवाह सजिलै भयो ।

 

जीवनको रमाइलो केमा छ ?

हरेक कुरालाई गम्भीर रूपमा लिनु हुँदैन । प्रफुल्लित रहनुपर्छ । आनन्द मान्नुपर्छ । जीवनमा पाउनु–गुमाउनु केही छैन भन्ने सोचले मानिसलाई आनन्दित तुल्याउँछ ।

प्रकाशित :चैत्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्