स्टेजमा एक्लै भएको छु

- महेश तिमल्सिना

चैत्र २६, २०७५

लोकदोहोरीका अहिलेका सर्वाधिक चर्चित गायक हुन्– कुलेन्द्र विश्वकर्मा । उनको पाँचौं एल्बम ‘सालको पात टपरी हुनी’ गीतले इतिहास रचिसकेको छ । उक्त गीतले युट्युबमा हालसम्म ३ करोड ७० लाखभन्दा बढी भ्युज पाइसकेको छ । यससँगै कुलेन्द्रको व्यस्तता समेत निकै बढेको छ । यही सेरोफेरोमा साप्ताहिकका लागि महेश तिमल्सिनाले उनीसँग गरेको कुराकानी :-

सालको पात.... हिट हुनुभन्दा अघिको कुलेन्द्र र पछिको कुलेन्द्रमा के फरक पाउनुहुन्छ ? 

त्यस्तो फरक केही छैन, मेरो जीवनशैली त्यस्तै छ । हिजो म जस्तो थिएँ आज पनि त्यस्तै छु र भोलि पनि त्यस्तै रहन्छु । हो, यो गीतपछि मेरो व्यस्तता अलि बढेको छ । अर्को कुरा, सालको पातको भिडियोमा मैले नै अभिनय गरेकाले मेरा श्रोताहरूले मलाई सहजै चिन्न थाल्नु भएको छ । 

एउटा गायकले गीत गाएरै आफ्नो जीविकोपार्जन गर्न सक्छ ? 

मैले करिब १८ वर्षजति यही क्षेत्रमा बिताइसकेँ । अहिलेसम्म गीत गाएरै जीविकोपार्जन गरिरहेको छु । कामप्रतिको लगाव र मेहनत कति गरेको छ भन्ने कुरामा भर पर्छ । कुनै पनि क्षेत्रमा आजको भोलि प्रतिफल पाइँदैन । आफ्नो काममा दत्तचित्त भएर लागियो भने एउटा गायकले गीत गाएकै भरमा आफ्नो जीवन सहजैसँग चलाउन सक्छ ।

तपाईं एउटा गीत गाएबापत कति पारिश्रमिक लिनुहुन्छ ? 

यति नै भनेर पारिश्रमिक तोकेको छैन । आफू पनि चल्नु र सन्तुष्ट हुनु ठूलो कुरा हो । म परिस्थिति हेरेर पारिश्रमिक लिन्छु । यद्यपि अहिले साथीभाइको सल्लाह–सुझावका आधारमा अलिकति पारिश्रमिक बढाएको छु । 

सालको पातले तपाईंको पारिश्रमिक पनि बढाइदियो नि ? 

सालको पातले मेरो मात्र होइन, सबैको पारिश्रमिक बढाइदिएको छ । पहिलो कुरा त दोहोरी गीत भन्नेबित्तिकै नाक खुम्च्याउनेहरूका लागि यो गीत उदाहरणीय सावित भएको छ, जसले गर्दा लोकदोहोरी क्षेत्रकै शिर ठाडो भएको महसुस भैरहेको छ । अहिले नेपाली चलचित्रलाई सफल बनाउनमा लोकगीतकै योगदान बढी देखिएको छ । सालको पातले सबै कुराको स्तरोन्नति गरेको छ । 

सालको पातले यति धेरै सफलता पाउनुको रहस्य के होला ? 

यो गीतमा सबै कुरा छन् । रचनाकार नवराज पन्तले राम्रो गीत लेख्नुभयो, संगीतकार वसन्त थापाले मीठो लय बनाउनुभयो, शिव विकले उत्कृष्ट नृत्य निर्देशन गर्नुभयो, आशिष अविरलले पनि एरेन्जरको काम निकै राम्रोसँग गर्नुभयो । यस्तै म्युजिक भिडियोमा मरिष्का पोखरेलको अभिनय त्यत्तिकै राम्रो रह्यो । गायिका विष्णु माझीले पनि मलाई राम्रो साथ दिनुभयो, त्यसैले यो गीत साँच्चिकै सालजस्तै बलियो भएर निस्कियो । 

सालको पातले यति सफलता पाउला भन्ने अपेक्षा थियो ? 

सालको पातको सबै पक्ष राम्रो छ, केही न केही चाहिँ हुन्छ भन्ने लागेको थियो, तर यति धेरै सफलता पाउला भन्ने कल्पना भने गरेको थिइनँ ।

सालको पातका संगीतकार वसन्त थापासँग तपाईंको खटपट छ भन्ने खबर पनि बाहिरिएको छ नि ? 

हामीबीच त्यस्तो केही पनि छैन, हाम्रो सम्बन्ध पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । 

लोकदोहोरी गीतले सफलता पाउन कुन–कुन तत्वले काम गर्नुपर्छ ? 

कुनै पनि गीतले सफलता पाउन शब्द, संगीत, एरेन्जमेन्ट, गायक, गायिका, स्टुडियोको स्तरदेखि लिएर भिडियोको नृत्य निर्देशक सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गर्नुपर्छ । गीत रचना गर्दा ठेट शब्द प्रयोग गरिनुपर्छ, जसमा मौलिकता झल्कियोस् । 

तपाईंको गीत छान्ने मापदण्ड के हो ? 

मैले त्यस्तो कुनै मापदण्ड निर्धारण गरेको छैन, तैपनि शब्द चयनमा विशेष ध्यान दिन्छु । लोकदोहोरीमा पच्ने खालको शब्द हुनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसबाहेक संगीतको पाटोमा पनि मेरो ध्यान जान्छ । म शब्द र संगीतलाई गहिरिएर अध्ययन गर्छु । शब्द र संगीतले मन जित्यो भने म गीत गाउन तयार हुन्छु ।

स्वरलाई मिठासपूर्ण बनाउन के गर्नुहुन्छ ? 

त्यस्तो खासै केही गर्दिनँ । खानपिन बार्ने बानी छैन । म चिल्लो–पिरोको पारखी हुँ । अचार तथा अमिलो निकै मनपर्छ, तर यी कुराले मेरो स्वरलाई खासै असर गरेको छैन । म नियमित रियाज गर्छु । यो मेरो नित्यकर्म नै भैसकेको छ । म दैनिक कम्तीमा दुई–तीन घण्टा रियाज गर्छु । एउटा गायकका लागि रियाज अत्यावश्यक मानिन्छ ।

सालको पातकी गायिका विष्णु माझी गुमनाम हुनुहुन्छ, तपाईंले महोत्सवहरूमा गएर गीत गाउँदा दर्शकले विष्णु माझीको खोजी गर्दैनन् ? 

गर्छन्, कतिपयले तपाईं र विष्णु माझी आउनुपर्‍यो भनेर अनुरोध गर्नुहुन्छ, तर उहाँ (विष्णु माझी) मिडियामा त देखिनुहुन्न भने स्टेजमा हजारौं दर्शकका अघि आफूलाई सार्वजनिक गर्नुहुन्छ जस्तो लाग्दैन । धेरै आयोजकले हामी दुवैलाई निमन्त्रणा दिए पनि विष्णु माझी कार्यक्रममा हिँड्नु हुन्न, त्यसैले स्टेजमा म एक्लै हुन्छु । विष्णु माझी पनि गीत गाउन हिँडिदिनुभएको भए साह्रै रमाइलो हुन्थ्यो । उहाँका बारेमा धेरै ठाउँमा प्रश्न उठ्छ कतिपय ठाउँमा त जवाफ दिँदादिँदै हैरान भइन्छ । 

लोकदोहोरी क्षेत्रमाथि उठ्न नसक्नुको कारण के होला ? 

हिजो–आज लोकशैलीको गीतले नै बजार पिटेको छ । हाम्रो लोकदोहोरी क्षेत्रमाथि नै उठेको छ । त्यसैले म यो कुरा स्वीकार गर्दिनँ । त्यसको पछिल्लो उदाहरण हो— सालको पात । सालको पातले मलाई मात्र होइन, लोकदोहोरी उद्योगलाई नै माथि उठाएको छ । 

तपाईंको आइडल को हो ? 

मलाई राजु परियारका साथै विष्णु माझीको स्वर पनि मन पर्छ । म राजु परियारलाई आफ्नो आइडलका रूपमा लिन्छु । पहिले–पहिले कतिपयले मलाई कुलेन्द्रले राजु परियारको जस्तै गीत गाउँछ भन्थे । एउटा घटना पनि छ । राजु परियारले काठमाडौं डिजिटलमा गीत गाउँदा–गाउँदै लोडसेडिङ भएछ । त्यति बेला उहाँ निकै चर्चामा हुनुहुन्थ्यो । उहाँले गाउँदा–गाउँदै छाड्नुभएको त्यो गीत पूरा भएको थिएन । पछि त्यो गीतको बाँकी भाग मैले गाएर पूरा गरेको थिएँ । त्यो गीत मैले उहाँकै आवाज निकालेर गाएको थिएँ र त्यो स्वरमा कसैले पनि भिन्नता पाउन सकेनन् । यतिसम्मकी उक्त गीतका संगीतकारले पनि मेरो र राजु परियारको स्वर छुट्ट्याउन सक्नुभएन । 

सालको पातपछि कुलेन्द्र अमेरिकातिर पलायन भयो भन्ने आरोप पनि लागेको थियो नि ? 

सालको पात हिट हुनुभन्दा अघि पनि म दुईपटक अमेरिका पुगिसकेको थिएँ । त्यहाँ संसारभरका मानिस ठूलै सपना लिएर पुग्छन् । तीमध्ये कसैको सपना पूरा हुन्छ, कसैको हुँदैन । कलाकारहरूको हकमा कुरा गर्ने हो भने अमेरिका पुगेका अधिकांश कलाकार विरलै फर्किएका छन् । मैले गीत गाएरै आफ्नो परिवार पालिरहेको छु । मलाई पैसाको आवश्यकता छ, तर मैले आर्थिक रूपमा छलाङ नै मार्नुपर्छ म एकाएक धनी हुनुपर्छ भन्ने सोचेको छैन, त्यस्तो सोचेको भए म अहिले अमेरिकामै हुन्थें, तर अहिले म जे छु त्यो मलाई लोकदोहोरीले नै दिएको हो । त्यसैले मैले पनि लोकदोहोरीका लागि केही गर्नुपर्छ भनेर अमेरिकाबाट फर्किएको हुँ ।

कलाकारहरू किन विदेश भासिन्छन् ? 

आर्थिक समस्या नै हो, अरू केही होइन । एउटा कलाकार चर्चाको शिखरमा पुगिसकेपछि उसले लाउने–खानेदेखि लिएर आफ्नो परिवारलाई पनि केही परिवर्तित गरौं, आर्थिक रूपमा पनि बलियो भएर बसौं भन्ने चाहना हुन्छ । चर्चामा आइसकेपछि कलाकारलाई एउटा गाडीको आवश्यकता हुन्छ अनि सहरमा एउटा घर भैदिए हुन्थ्यो भन्ने पनि हुन्छ । यी आधारभूत आवश्यकता पूरा गर्न नसकेपछि कलाकारहरू बिदेसिन्छन् । 

फुर्सदमा के गर्नुहुन्छ ?

साथीभाइसँगको भेटघाटमै व्यस्त हुन्छु । बाँकी समय गीत–संगीतका बारेमा पनि सोचिरहेको हुन्छु । कहिलेकाहीँ पुस्तक पनि पढ्छु ।

परिवारलाई समय दिन भ्याउनुभएको छैन होला, परिवारको गुनासो कतिको रहन्छ ?

परिवारले गुनासो गरिरहन्छ । हाम्रो क्षेत्रमा भगवान्ले साथ दिएर, दर्शक–श्रोताले माया गरेर आयोजकले मन पराएपछि हामीले काम पाउने हो । कहिलेकाहीँ यसो घुमघामका लागि निस्किऊँ भन्ने हुन्छ । मलाई पनि गाह्रै छ । फेरि परिवारले मप्रति गरेको गुनासो बेठीक पनि होइन । परिवारसँग बसेर खानपिन एवं घुमघाम गर्न पाए हुन्थ्यो भन्ने चाहना सबैमा हुन्छ, ममा पनि छ ।

सालको पातभन्दा अघि र अहिले आम्दानीमा परिवर्तन आएको छ ? 

परिवर्तन आएको छ, कायापलट गर्न सक्ने कमाइ त होइन तैपनि विगतका वर्षको तुलनामा सालको पात हिट भएपछिको कमाई केही बढेको छ ।

आफ्नो कमाइलाई कसरी सदुपयोग गरिरहनुभएको छ ? 

असार–साउनको भेलजस्तो कमाइ छैन । आफ्नो जिन्दगी चलाउनलाई पुगेको छ । म आफैं संघर्ष गरेर आएको मानिस हुँ । मैले पैसाको महत्व बुझेको छु । त्यसैले अनावश्यक खर्च गर्दिनँ ।

तपाईंले आफ्नो सिर्जनाबाट रोयल्टी पाउनुभएको छ ? 

यो सिस्टम बसेको पनि धेरै भएको छैन । मैले पनि धेरथोर रोयल्टी पाएको छु । 

फ्यान फलोइङ कत्तिको छ ? 

पहिलेको तुलनामा धेरै समर्थक पाएको छु । उहाँहरूको मायाले नै यो क्षेत्रमा अघि बढ्न थप ऊर्जा मिलेको छ । 

छोराछोरी कति छन् ? 

एउटी छोरी छिन् । 

कस्तो खानपिन रुचाउनुहुन्छ ? 

सामान्य दाल–भात नै हो । 

पहिरन नि ? 

ब्रान्डेडभन्दा पनि आफूलाई सुहाउने पहिरन लगाउँछु । 

सवारी साधन के छ ? 

एउटा मोटरसाइकल छ ।

घुमघामका लागि कत्तिको निस्किनुहुन्छ ? 

घुमघाम गर्ने बानी अलि कम छ । खाली समय आनन्दले बस्न पाए हुन्थ्यो भन्ने लाग्छ । त्यसैले घुमघामका लागि त्यति निस्किन्नँ ।

तपाईंलाई मन पर्ने खेल कुन हो ? 

भलिबल । 

मन पर्ने अभिनेता–अभिनेत्री ? 

राजेश हमाल तथा रेखा थापा । 

मन परेको नेपाली चलचित्र ? 

पशुपतिप्रसाद । 

मन पर्ने गायक–गायिका ? 

राजु परियार र विष्णु माझी । 

मनपर्ने गीत ? 

रामकृष्ण ढकालको मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो निकै मन पर्छ ।

 

प्रकाशित :चैत्र २६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्