देशैभरि एसईई सुन्दर सुन्दरी छान्ने लहर

- रोजिन शाक्य

चैत्र २४, २०७५

वर्ष २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १० गते प्रारम्भ भएर चैत २१ गतेसम्पन्न भएको छ भने एसईई परीक्षा सकिँदा–नसकिँदै एसईई सौन्दर्य प्रतियोगिताको चहल–पहल प्रारम्भ भएको छ । एसईई सम्बन्धित प्रतियोगिताहरूले आ–आफ्नो फेसबुक पेजको भित्तामा प्रतियोगितासम्बन्धी प्रचारप्रसार गरेको पाइन्छ जसमा प्रायः सबैले फेसबुक स्पोन्सर्ड विज्ञापन सुविधा प्रयोग गरेका छन् । केहीले भने त्यससँगै पोस्टर, पम्प्लेट र लिफ्लेट समेत प्रयोग गरेका छन् । काठमाडौं केन्द्रित अधिकांश एसईई प्रतियोगिताले आफ्नो अडिसन चैत २३ गते शनिबारलाई तय गरेका छन् । यस अर्थमा एसईई प्रतियोगिताहरूबीच आफैंमा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

एएनपी मिडिया हाउसको ब्यानरमा घोषणा भएको मिस्टर एन्ड मिस एसईई आइकन, नयाँ बानेश्वरस्थित रोयल एलिनाज् बेकरी क्याफेमा, रिबन इन्टरटेनमेन्टको ब्यानरमा सञ्चालन हुने मिस्टर एन्ड मिस एसईई अफ द इयर तथा स्टार वान इन्टरटेनमेन्टको आयोजनामा संचालन हुने मिस टिन एसईई, संखमूलस्थित होटल रानी महलमा, डिएम इन्टरटेनमेन्टले सञ्चालन गर्ने एसईई मोडल हन्ट, नयाँ बानेश्वरस्थित मोक्ष लाउन्जमा, ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले सञ्चालन गर्ने मिस्टर एन्ड मिस एसईई ग्ल्याम, नयाँ बानेश्वरस्थित बियोन्ड बाउन्ड्रिज एजुकेसन कन्सल्टेन्सीमा, पेजेन्ट नेपालको आयोजनामा सञ्चालन हुने मिस्टर एन्ड मिस एसईई ग्लोबर स्टार, संखमूलस्थित होटल अर्याल इन्टरनेसनलमा, मोडल सङ्स नेपालको आयोजनामा हुने मिस्टर एन्ड मिस एसईई सुपरस्टार, नयाँ बानेश्वरस्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकनमा अडिसन सञ्चालन गर्दैछन् । 

यतिबेला काठमाडौंमा मात्र ४० भन्दा बढी यस्ता प्रतियोगिताको घोषणा, तयारी र अडिसन भैरहेका छन् । मोफसलका विभिन्न क्षेत्रमा पनि यस्ता प्रतियोगिताको क्रेज बढिरहेको छ । काठमाडौं र मोफसलसमेत जोड्दा यो वर्ष घोषणा भएका यस प्रकारका कार्यक्रमको संख्या ७० को हाराहारीमा पुगिसकेको छ भने यो वर्ष मात्र दुई दर्जनभन्दा बढी प्रतियोगिता थपिएका छन् । 

थालनीका कुरा 

एसएलसी परीक्षार्थीहरूमा केन्द्रित सौन्दर्य प्रतियोगिताको थालनी वि.सं. २०६८ देखि भएको हो । यो अवधारणामा सबैभन्दा पहिले सिजन मिडियाले काम गरेको थियो । त्यतिबेला प्रतियोगिताको शीर्षक एसएलसी प्रिन्सेस–२०११ तथा स्लोगन अ गेटवे फोर हायर एजुकेसन एन्ड करियर थियो । २०६८ साल जेठ २ गते अडिसनमार्फत छनौट गरिएका ३० जना प्रतियोगीलाई करिब एक महिनाको ग्रुमिङपश्चात् २०६८ साल असार १२ गते पहिलो एसएलसी प्रिन्सेसको छनौट गरिएको थियो, जसमा परिक्रमा राईले पहिलो एसएलसी प्रिन्सेसको उपाधि जितेकी थिइन् । प्रतियोगिताको तयारी र प्रशिक्षण अवधिमा ब्रिज कोर्स, स्टेज पर्फमेन्स, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, विभिन्न शैक्षिक संस्थाहरूको स्थलगत भ्रमण, करियर काउन्सिलिङ, शैक्षिक भ्रमण, विभिन्न सामाजिक कार्यक्रममा सहभागिता, सेलिब्रेटीहरूसँगको साक्षात्कार, फिटनेस, फेसन, सौन्दर्य एवं पौडीको प्रशिक्षण आदिले यो प्रतियोगितालाई अरूभन्दा फरक र उपयोगि बनाएको थियो । 

दोस्रो वर्ष वि.सं. २०६९ मा सिजन मिडिया सँगै थपियो बन्दना कला केन्द्र र उसको अयोजनामा सञ्चालन भयो मिस एसएलसी–२०१२ प्रतियोगिता । वि.सं. २०७१ सम्म पुग्दा द फेसन प्लसको आयोजनामा थपियो— मिस एसएलसी नेपाल–२०१३ । वि.सं. २०७१ मा यस्तो प्रकृतिको प्रतियोगिताको संख्या ७ पुग्यो । काठमाडौंमा एएनपी मिडिया हाउसको मिस एसएलसी आइकन–२०१४ तथा ट्रिनिटी मार्केट्रिङ एन्ड इभेन्ट म्यानेजमेन्टको मिस एसएलसी आइडल–२०१४ थपिए । पोखरामा इभेन्ट फोर युको आयोजनामा मिस एलएलसी पोखरा–२०१४ तथा धरानमा धरान जेसिजको आयोजनामा मिस एसएलसी धरान–२०१४ थपियो । त्यसपछिका वर्षहरूमा यस्ता प्रतियोगिताको संख्या निरन्तर बढ्दै गएको छ ।

एसईई सौन्दर्य प्रतियोगिताको आकर्षण

गुणात्मक शिक्षाले विद्यार्थीको करियरको संरचना तयार गर्छ झने अतिरिक्त त्रियाकलापले उक्त संरचनामा रंग भरेर त्यसको डिजाइनलाई आकर्षक बनाउने काम गर्छ । यस्ता प्रकृतिका प्रतियोगिताको उपयोगितालाई उल्लेखित कुरासित जोडेर पनि हेर्ने गरिएको छ । अतः एसईइमा सहभागी भएका परीक्षार्थीहरूमा केन्द्रित प्रतियोगिताको संख्यात्मक वृद्धिले यसको आकर्षणलाई नै पुष्टि गर्छ । यी आयोजनाको प्रचार सामग्रीमा उल्लेख भए अनुसार सहभागीहरूले प्रतियोगितामा मुख्य गरी अंग्रेजी, गणित र विज्ञान विषयको ब्रिज कोर्सको तयारी, अंग्रेजी भाषाको आधारभूत कक्षाहरू, व्यक्तित्व विकास, उद्घोषण, कम्युनिकेसल स्किल, नृत्य, गायन, संगीत, अभिनय, फिटनेस, चित्रकला, पौडी आदिको आधारभूत प्रशिक्षण, स्वास्थ्य परीक्षण, शैक्षिक भ्रमण, विभिन्न सामाजिक संस्था, सञ्चारगृह, वृद्धाश्रम आदिको स्थलगत भ्रमण, फोटोसेसन, फेसन एवं सौन्दर्यसम्बन्धी जानकारी, करियर काउन्सिलिङ, स्टेज प्रस्तुतिकरणसम्बन्धी प्रशिक्षण, योगा, ध्यान, जुम्बाजस्ता विषयमा प्रशिक्षण प्राप्त गर्नेछन् ।

त्यसबाहेक प्रतियोगितासँग सम्बद्ध संस्थाहरूमा कम्प्युटर, फेसन डिजाइनिङ, मोडलिङ, एयर होस्टेस, ब्युटिसियन तालिममा विशेष छुटको व्यवस्थासंगै प्रतियोगितासँग आबद्ध शैक्षिक संस्थाहरू विशेषतः १० जोड २ र ए लेभलका कलेजहरूमा विशेष छुटदेखि आंशिक छात्रवृत्तिको व्यवस्थासमेत गरिएको पाइन्छ । यीमध्ये पनि विजेता भएपछि प्राप्त हुने विभिन्न अवसर विशेषतः मिडिया प्रोमोसन, मोडलिङ आदिका साथै गिफ्ट ह्याम्पर, नगद पुरस्कार तथा प्रतियोगितासित प्रायोजक, सह–प्रायोजक वा अन्य कुनै रूपमा आबद्ध शैक्षिक संस्थाहरूमा उच्च शिक्षा अध्ययनमा पूर्ण वा आंशिक छात्रवृत्तिको व्यवस्थाले एसईईपछि सञ्चालन हुने यस्ता प्रतियोगिताप्रति सहभागीहरू बढी आकर्षित भएको बताइन्छ । यसपटक विदेश भ्रमणको प्याकेज, स्कुटर, नगद तथा महँगा मोबाइल फोन आदि पुरस्कारको व्यवस्थाले यस्ता प्रकृतिका प्रतियोगिताको क्रेज बढाउन मलजल गर्ने निश्चित छ । यस प्रकारका अधिकांश प्रतियोगिताले विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने कुरालाई पनि प्राथमिकताका साथ प्रचार–प्रसार गरेका छन् । सबैजसो प्रतियोगितामा प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको छ भने प्रशिक्षण तथा सहभागिता शुल्क १२ हजारदेखि १५ हजार रुपैयाँसम्म राखिएको छ ।

यी प्रतियोगिताहरूसित १० जोड २ वा ए लेभल अध्यापन गराउने संस्थाहरू मुख्य प्रायोजक, प्रायोजक वा सहयोगीका रूपमा आबद्ध भएको पाइन्छ । ती संस्थाहरूलाई हुने लाभको कुरा गर्दा यस्ता प्रकृतिका प्रतियोगिताबाट सहभागी विद्यार्थीहरूमाझ प्रत्यक्ष रूपमा आफ्नो संस्था र त्यहाँ उपलब्ध हुने शिक्षा र सुविधाका सम्बन्धमा जानकारी प्रदान गर्ने अवसर प्राप्त हुन्छ, जुन अन्य विज्ञापनको तुलनामा प्रभावकारी हुने गरेको छ । विद्यार्थीवर्गले पनि यस्ता प्रतियोगिताबाट कलेजहरूका बारेमा राम्रो जानकारी र काउन्सिलिङको सुविधा प्राप्त गर्छन् ।

वर्ष २०१९ का लागि घोषणा भएका 

एसईई सौन्दर्य प्रतियोगिता 

प्रतियोगिताको शीर्षक     आयोजक 

एसएलसी प्रिन्सेस    सिजन मिडिया 

मिस एसईई २०१९    सेन्टर मिडिया प्वाइन्ट

मिस एसईई नेपाल, एसईई प्रिन्स    इभेन्ट्स नेपाल

मिस्टर एसईई एन्ड मिस एसईई–२०१९    इभेन्ट्स नेपाल

मिस्टर एन्ड मिस एसईई आइकन    एएनपी मिडिया हाउस

मिस्टर एन्ड मिस नेपाल्स एसईई आइकन    एएनपी मिडिया हाउस

मिस एसईई एलिगेन्ट    एएनपी मिडिया हाउस

मिस्टर एन्ड मिस एसईई आइडल    ट्रिनिटी मार्केटिङ एन्ड इभेन्ट म्यानेजमेन्ट 

मिस एन्ड मिस्टर एसईई अफ द इयर     रिबन इन्टरटेनमेन्ट

मिस्टर एन्ड मिस एसईई–२०१९    द फेसन इरा

मिस्टर एन्ड मिस एसईई इन्टरनेसनल नेपाल–२०१९    द फेसन इरा

मिस्टर एन्ड मिस एसईई सबकन्टिनेन्ट–२०१९    द फेसन इरा

मिस्टर एन्ड मिस टिन एसईइ    स्टार वान इन्टरटेनमेन्ट

मिस एसईई ग्लोब    स्टार वान इन्टरटेनमेन्ट

मिस्टर एन्ड मिस एसईई ग्ल्याम    ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट

मिस एसईई युनिभर्सनल    ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट

मिस्टर एन्ड मिस एसईई ग्लोबल    प्लान बी इन्क

एसईई मोडल हन्ट     डिएम इन्टरटेनमेन्ट

मिस्टर एन्ड मिस एसईई मोडल नेपाल     इडिबस इन्क

मिस एसईई आइकन–२०१९     रेक्स फेसन होम

मिस एसईई स्टार–२०१९    भवानी इन्टरटेनमेन्ट

एसईई प्रिन्स एन्ड प्रिन्सेस     इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट

एसईई एन्जल–२०१९    टिन मिडिया

मिस्टर एन्ड मिस एसईई बेस्ट मोडल अफ द इयर     युथ क्रिएसन नेपाल

मिस्टर एन्ड मिस ग्रेस एसईई     ग्रेस इभेन्ट्स

मिस्टर एन्ड मिस नेपाल एसईइ    अभ्यानी प्रोडक्सन

मिस्टर एन्ड मिस एसईई सुपरस्टार    मोडल सङ्स नेपाल

मिस्टर एन्ड मिस एसईई ग्लोबल स्टार    पेजेन्ट नेपाल

मिस्टर एन्ड मिस स्टुडेन्ट अफ द इयर एसईइ    फेसन फ्याक्ट्री

मिस्टर एन्ड मिस एसईई मोडल    एकाग्र इन्टरटेनमेन्ट वर्ल्ड 

मिस्टर एन्ड मिस एसईई स्टार    दक्ष इन्टरनेसनल 

मिस एसईई स्टार     भवानी इन्टरटेनमेन्ट

एसईई मिस्टर एन्ड मिस प्राइड अफ नेपाल    जेभि स्टुडियो

एसईई टप मोडल आइकन    ग्यालेक्सी मल्टि मिडिया एन्ड इभेन्ट्स

एसईई किङ क्वीन    आरके इन्टरटेनमेन्ट ग्रुप

एसईई इलाइट मोडल नेपाल    ड्रिम्स प्रोडक्सन इभेन्ट म्यानेजमेन्ट

एसईई च्याम्पियन    एक्सन इन्टरटेनमेन्ट

मिस्टर एन्ड मिस एसईई क्यापिटल    क्यापिटल मिडिया ग्रुप

मिस्टर एन्ड मिस एसईई क्रिएटिभ नेपाल    क्रिएटिभ मिडिया हाउस

नेपाल्स मिस्टर एन्ड मिस एसईइ    र्‍याम्प जोन इन्टरटेनमेन्ट

मिस्टर एन्ड मिस एसईई सुपर टिन     ब्राइट इभेन्ट म्यानेजमेन्ट

मिस्टर एन्ड मिस ग्रेस एसईइ    ग्रेस इभेन्ट्स

प्रकाशित :चैत्र २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्