नेपालमा कानुन मिच्दा ठूलो मान्छे भएको भान पर्छ 

- साप्ताहिक संवाददाता

चैत्र २४, २०७५

 

सावित्रा भण्डारी नेपाली फुटबलकी नयाँ नक्षत्र हुन् । (हार्दा पनि आफूलाई प्रमाणित गर्न सक्नुपर्छ ।) दक्षिण एसियाकै अब्बल महिला फुटबलरसँग साप्ताहिकले लिएको अन्तर्वार्ता सराहनीय छ । सावित्राले आगामी दिनमा पनि देशको नाम यसरी नै राख्दै जाऊन्— शुभकामना । 

मनिता धिताल

नयाँ आउन लागेका प्रविधि उत्कृष्ट र जीवनोपयोगी लागे । (२०१९ मा देखिनेछन् यी १० प्रविधि) ज्ञान–विज्ञानको यस्तो विकासले मानिसमा आशा जगाउँछ । साप्ताहिकको प्राथमिकतामा यस्तै सामग्री पर्नुपर्छ । 

उपहार मैनाली

पढ्न र सिक्नलाई उमेरले छेक्दैन भन्ने कुरा यसपटकको एसईईमा पनि देखियो । (एसईईका चर्चित) शान्ता चौधरी, करिश्मा मानन्धर, युगमाया कार्कीमा जागेको शिक्षाको भोकले धेरैलाइ प्रेरणा दिएको छ । 

अपूर्ण थापा

आशिष अब्बल गायक तथा संगीतकार हुन् । (आशिषको अविरल यात्रा) उनको सक्रियतामा नयाँ–नयाँ सिर्जना सुन्न पाइयोस् । उनका गीत सबैका मुखमा झुन्डिने खालका हुन् । 

माया राउत

अहिले नेपाली चलचित्रको बजार खस्कँदो छ । (आकर्षक भएर पनि चलेन कागजपत्र) लेखन, निर्देशन, छायांकनका साथै प्रचार–प्रसार पनि त्यत्तिकै चाहिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा दर्शकलाई हलसम्म ल्याउने अर्ग्यानिक खुराक आवश्यक हुन्छ । 

पूर्णबहादुर घर्ती

नेपालमा कानुन मिच्दा ठूलो मान्छे भएको भान पर्छ । (लुकिछपी ट्रान्स पार्टी) देशको कानुनविपरीत बारम्बार ट्रान्स पार्टी हुनु भनेको राज्यलाई चुनौती हो । कानुनलाई हातमा लिएर यस्तो व्यवसाय गर्नेहरूविरुद्ध कडाभन्दा कडा कारबाही हुनुपर्छ । खुकुलो कानुन कार्यान्वयनका कारण पटक–पटक यस्ता पार्टी हुने गरेका छन् । यदि ट्रान्स पार्टी सही हो भने कानुन बनाएर व्यवस्थित गरे भयो नि । 

रामचन्द्र धामी

यदि नेपाल नै औषधीमा आत्मनिर्भर छ भने विदेशबाट ल्याउन रोक लगाउनु नै राम्रो हुन्छ । (विदेशी औषधी प्रतिबन्धको बहस) नेपाली उद्योगहरूलाई प्रोत्साहित गर्न सके मूल्यांकन र अनुगमन सहज हुनेछ भने हजारौं युवायुवतीले स्वदेशमै रोजगारी प्राप्त गर्न सक्नेछन् । 

कौशल थापा

प्रकाशित :चैत्र २४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्