उनको समाचार

- मीनराज वसन्त

चैत्र २३, २०७५

भनुँ त, सयौं मधुमासहरू आएर

रित्तै डोली फर्किगएका छन्

जिन्दगीबाट ।

के अर्थ र ? तिमीबिनाको रित्तो डोलीको ।

भनुँ त, बर्सेनि अतिवृष्टि हुँदा

पग्लिँदै गईरहेको छ

चट्टानजस्तो घरमाथिको दमाहा ढुङ्गा

के लाग्छ मन नपग्लिएपछी,

तर, बगेको छ भयंकर पहिरो छातीबाट ।

भनुँ त, घरको भित्तामा 

गौंथली आफैंले बनाएको गुँड छोडेर

उडेकी छे सधैँका लागि ।

त्यसै शून्य–शून्य भएको छ मन ।

भनूँ त, आँखामा ओत लागेका सपनाहरू थिए केही 

ती पनि बगाएर लगिदिएको छ

मनताता आँसुहरूले ।

र, नभनूँ त प्रिय

भन्नैपर्ने एउटा समाचार छ तिमीसँग ।

समाचार यसप्रकार छ ।

तिमी भेटिएकी थियौ

कुनै होटलको ‘टि–टेवल’ मा

तिमी मुस्कुराएकी थियौ

बसेर हरियो दूबोको गलैंचामाथि 

र, पाउजु लगाएका खुट्टा हल्लाउँदै 

तिमी बोलिरहेकी थियौ

अरू कसैसँग ।

त्यही बेला हो

आँखाको लेन्स मिलाएर

तिम्रो फोटो खिचेको मैले

जसका बारेमा थाहै छैन तिमीलाई 

प्रिय, तिमी आफैंले थाहा नपाएको

एउटा सुन्दर तस्बिर छ मसँग ।

खै, कसरी काट्छु दिन कट्छ 

तर, रातभर वैशाखी टेक्छ तिम्रो तस्बिरले 

र, हिंडिरहन्छ आँखाको वारपार ।

तिमीसमक्ष पुग्नुपर्ने समाचार त

खासमा यही हो प्रिय

तर, हराएको छ जबदेखी हुलाकी

म आफै बोकि हिँडिरहेछु

तिम्रो समाचार ।

 

प्रकाशित :चैत्र २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्