तीन हाइप्रोफाइल अपराध

- दुर्गालाल केसी, अनिल श्रेष्ठ, शंकर आचार्य

चैत्र २३, २०७५

नैतिक एवं मानवीय आचरणको उच्चतम विकासले मानव समाजलाई आधुनिक बनाएको हो । आधुनिक मानव त्यही कारणले बढी नैतिक, गुणी, संस्कारी एवं मानवीय भावनाले ओतप्रोत प्राणी मानिन्छ । शिक्षा, सचेतना, नैतिकताजस्ता गुणलाई आधुनिक समाजका गहनाका रूपमा हेरिन्छ । अझ शिक्षित, सार्वजनिक पदमा रहेका तथा हाइप्रोफाइल व्यक्तिहरूबाट समाजले उत्कृष्ट ब्यवहारको अपेक्षा गरेको हुन्छ । त्यो व्यवहार जो बाँकी समाजका लागि प्रेरणा बनोस्, अनुसरण योग्य होस् । यद्यपि यसको ठीक विपरीत केही दिनयता मोरङ, पर्सा र दाङमा घटेका तीनवटा घटनाले हाइप्रोफाइल व्यक्तिबाट सभ्य समाजको अपेक्षामा प्रश्नचिन्ह खडा गरेको छ । 

तीनवटै घटनासँग जोडिएका व्यक्ति शिक्षित र हाइप्रोफाइल हुन्, तर उनीहरूको व्यवहार अनपेक्षित मात्र छैन, जघन्य प्रकृतिकै छ । रूसमा डाक्टरी पढेर सरकारी अस्पतालमा कार्यरत पर्साका डा. सच्चितानन्द यादव श्रीमती सुनिता यादवलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । निर्मम कुटपिटबाट गम्भीर घाइते भएकी उनकी श्रीमती सुनिताको १५ चैतमा शिक्षण अस्पताल काठमाडौंमा निधन भैसकेको छ । राजनीति र व्यवसायमा संलग्न मोरङ बेलबारीका योगेन्द्र गुरुङ आफ्नो अनैतिक सम्बन्ध लुकाउन प्रेमिका रमिला राईको हत्या गरेको आरोपमा हिरासतमा छन् । लामो समय प्रमिलासँगको सम्बन्धलाई विवाह परिणत गर्न दबाब दिँदा उनले प्रेमिकाको हत्या गरेको प्रहरीले जनाएको छ । 

दाइजो नदिएको झोकमा श्रीमतीलाई मरणासन्न हुने गरी पिटेको आरोपमा पक्राउ परेका चिकित्सक तथा नाजायज सम्बन्ध ढाकछोपका लागि प्रेमिका मारेर कोशी नदीमा बगाउने आरोप लागेका ब्यवसायी एवं राजनीतिज्ञसँग जोडिएका यी घटनाले सामाजिक संवेदना र मानवीय मूल्यमाथि निर्मम प्रहार गरेका छन् । 

दाङमा घटेको अर्को एक घटनामा पनि हाइप्रोफाइल व्यक्ति नै जोडिएका छन् । विलासी जीवनका लागि दाङ तुलसीपुर उपमहानगरपालिका–११ का भुवन धितालले कैयौं महिलालाई लाखौं ठगेका मात्र छैनन्, विभिन्न दबाब र प्रलोभनमा उनीहरूको अस्मितामाथि पनि खेलवाड गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले पत्रकार भेषधारी भुवनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइसकेको छ । यी तीन घटनाले समाजका केही शिक्षित र हाइप्रोफाइल भनिएकाहरूमा बढिरहेको सम्पत्तिको लालसा, यौन भोक र आडम्बरलाई उदांगो पारिदिएको छ ।

चिकित्सकमाथि पत्नी हत्याको आरोप 

शंकर आचार्य

सर्वसाधारणले भगवान् उपमा दिने एक चिकित्सकउपर नै पत्नी हत्याको आरोप लागेको छ, त्यो पनि दाइजो नपाएको निहुँमा । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा कार्यरत चिकित्सक डा. सचितानन्द यादवउपर त्यस्तो आरोप लागेको हो । गत साता डा. यादवकी जेठी श्रीमती ४३ वर्षीया सुनितालाई उनको माइती पक्षले गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरेको थियो । 

सुनितालाई उनको घरबाट उद्धार गर्दा उनको शरीरभरि घाउ नै घाउ देखिएको सुनिताका काका तर्फका दाजु जयप्रकाश यादवले बताए । ‘उनीहरूले तपाईंकी बहिनीको अवस्था ठीक छैन भन्दै फोन गरेपछि हामी लिन गयौं,’ जयप्रकाशले भने, ‘उनको शरीरमा घाउ नभएको ठाउँ नै थिएन ।’ माइती पक्षले डा. सचितानन्द र उनको परिवारले सुनितालाई आगोले डामेको तथा करेन्ट लगाएर यातना दिएको दाबी गरेको छ । कुटपिटबाट सुनिताको अवस्था गम्भीर भएपछि मात्र उनीहरूले माइतीलाई खबर गरेका थिए । त्यसपछि माइती पक्षले सुनिताको उद्धार गरी स्थानीय गण्डक अस्पतालमा भर्ना गरेका थिए । त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाडौं लगेर शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । शिक्षण अस्पतालका डाक्टरहरूको अथक प्रयासका बाबजुद पनि सुनितालाई बचाउन सकिएन् । 

सुनिताको मृत्युपछि डा. यादव तथा उनको परिवारका अन्य सदस्यसमेत मिली सुनितालाई कुटपिट गर्नुका साथै मानसिक यातना समेत दिएर गम्भीर घाइते बनाएको दाबी माइती पक्षको छ । चैत ११ गते सुनिताका दाजु बारा, बहुअरीका मनोहरप्रसाद यादवले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि त्यसै दिन डा. यादवलाई प्रहरीले पक्राउ गरेको थियो । सामाजिक सन्जालमा यो घटना भाइरल भएपछि प्रहरीले डा. यादवलाई तत्कालै नियन्त्रणमा लिएको हो । 

हिरासतमा बस्दा आफू बिरामी भएको भन्दै डा. सचितानन्दले उपचारको माग गरेपछि उनलाई उनी कार्यरत नारायणी अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । तीन दिन त्यही आराम गरेका डा. यादवलाई पत्नी सुनिताको चैत १५ गते काठमाडौंमा उपचारका क्रममा मृत्यु भएपछि पर्सा प्रहरीले अस्पतालबाटै पुनः नियन्त्रणमा लिएको थियो । माइती पक्षको दाबी जे भए पनि डा. सचितानन्दको परिवारले भने सुनिता नालामा लडेको र उनी पोलमा ठोक्किएर घाइते भएको दाबी गरेको छ । 

बारा, परवानीपुर–५ की सुनिताको ९ फागुन २०५९ मा सचितानन्दसँग विवाह भएको थियो । त्यति बेला माइती पक्षले नगद र गरगहना गरी १५ लाख रुपैयाँ र अन्य सामान गरी झन्डै २० लाख रुपैयाँ बराबरको दाइजो दिएका थिए । त्यसपछि पनि सचितानन्दको परिवारले थप दाइजो मागेको र आफूहरूले थप दाइजो दिन नसकेपछि सुनिताको मृत्यु हुने गरी क्रूरतापूर्वक कुटपिट गरी यातना दिइएको दाबी माइती पक्षको छ । सुनिताका काकातर्फका दाजु जयप्रकाश यादवका अनुसार, विवाह गर्ने बेलामा सचितानन्द यादव रुसमा एमबीबीएस अध्ययनरत थिए । समाजमा प्रतिष्ठित मानिने जय प्रकाशको परिवारले डाक्टरी पढिरहेका यादवको परिवार र उनीहरूको सामाजिक प्रतिष्ठा हेरेर छोरी दिएको बताएका छन् । जयप्रकाशका अनुसार सचितानन्दलाई रुस जान/आउन र पढाइमा समेत सुनिताको माइतीले सहयोग गरेको थियो । 

सचितानन्द पढाइ सकेर रूसबाट फर्किर्एपछि सुनितालाई दाइजो माग्न भन्दै टर्चर दिन थाले, तर सुनिताले बुवाले जति दिनुभयो अब सक्नुहुन्न, मेरा अरु दाजुहरू पनि हुनुहुन्छ भनेर डा. यादवलाई आफ्नो माइती पक्षको असमर्थता सुनाउदैं आएको बताइन्छ । सुनिताको माइती पक्षले सुनिताको विवाह भएको दुई महिनापछि नै डा. यादव तथा उनको परिवारले सुनिताको माइतीपक्षसँग जग्गा र गाडी माग्दै उनलाई यातना दिन थालेको दाबी गरेको छ । कतिसम्म भने सुनिता माइती आएका बेला डा. यादवको परिवारले सुनितालाई अब घर आउनु पर्दैन माइतमै बसेर खा भनेर लिन नै आउन छाडे । मानसिक तथा शारीरिक यातना निकै बढेपछि २०६२ असार २ गते सुनिताले जीउज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिइन् । त्यतिबेला पनि सचितानन्दले कुटपिट नगर्ने सर्तमा मिलापत्र गरिएको थियो । 

सुनितामाथि कुटपिट र यातना दिने क्रम त्यसपछि पनि नरोकिएको र पटक–पटकको यातनापछि सुनिता डिप्रेसनमा गएको अनि ०६४ सालतिर डा. यादवले दाइजोका लागि सीमापारी विहार, रक्सौलकी एक महिलासँग दोस्रो विवाह गरेको सुनिताका माइती पक्षको दाबी छ । दोस्री पत्नीबाट डा. यादवका छोराछोरी समेत जन्मिएका छन् । जेठी श्रीमती सुनिता हरतपतगंजस्थित डा. यादवको पुर्ख्यौली घरमा बस्थिन् । सचितानन्द भने वीरगन्जमा दोस्री पत्नी र बालबच्चासँग बस्दै आएका थिए । सचितानन्दले त्यतिबेला दोस्रो विवाह गर्दा पनि मिलेर बसौं भनेर आफूहरूले बहुविवाहको मुद्दा नहालेको जयप्रकाशले बताए ।

पर्सा प्रहरीका प्रवक्ता अनन्तराम शर्मा प्रहरीले घटनाको अनुसन्धान जारी राखेको बताउँछन् । ‘घटना अनुसन्धानका क्रममा छ,’ उनले साप्ताहिकसँग भने, ‘हामीले गर्नुपर्ने अनुसन्धान तदारुकताका साथ अघि बढाइरहेका छौं ।’ प्रहरीसँग सचितानन्दले आफूले दाइजो नलिएको र कुटपिट पनि नगरेको बयान दिएका छन् । 

घटनामा पति सचिदानन्द, ससुरा नागेन्द्र यादव, सासू आशादेवी तथा देवर अचितानन्द माथि पर्सा प्रहरीले ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । डा. यादवबाहेक अरुलाई पर्सा प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनाको विरोधमा वीरगन्जका सामाजिक अगुवा तथा महिला अधिकारकर्मीहरूले वीरगन्जमा पटक–पटक प्रदर्शन गर्दै आएका छन् । सुनिताका ससुरा नागेन्द्र यादव गएको स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट वीरगन्ज महानगरको २० नम्बर वडाको वडाध्यक्ष पदको उम्मेदवार थिए तर, निर्वाचनमा उनी पराजित भए । 

नेता प्रेमीबाट मारिइन् रमिला

अनिल श्रेष्ठ

मोरङ, बेलबारी–४, धरहरा चौक घर भएका तत्कालीन एमालेका नगर अध्यक्ष तथा स्थानीय नोबेल हस्पिटलका सञ्चालक योगेन्द्र गुरुङकी श्रीमती काम विशेषले लामो समयदेखि काठमाडौंमा बस्छिन् । यही क्रममा योगेन्द्र सम्बन्धविच्छेद गरी सोही ठाउँमा छिमेकीका रूपमा बसोबास गर्दै आएकी २६ वर्षीया रमिला राईसँग नजिक हुन्छन् । प्रहरीका अनुसार योगेन्द्रले रमिलालाई आर्थिक सहयोगदेखि उनलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीको जोहो गरिदिन्थें । योगेन्द्रले सारो गाह्रो पर्दादेखि लिएर दुःख–सुखसम्ममा साथ दिन थालेपछि रमिला उनीसँग नजिक भइन् । उनीहरूको सम्बन्ध प्रेममा परिणत भयो । घुम्दै रमाइलो गर्दै आएका उनीहरूले ६ वर्ष जति प्रेमी–प्रेमिकाका रूपमा जीवनको भरपुर आनन्द लिए । 

रमिला र योगेन्द्रको सम्बन्धका बारेमा रमिलाको परिवारलाई जानकारी थियो । यद्यपि यही कुरा योगेन्द्रको परिवारलाई भने थाहा थिएन, तर विवाहका लागि रमिलाबाट दबाब आएपछि योगेन्द्रको मन फेरियो । उनीहरूबीच वादविवाद बढ्न थाल्यो । हिजोअस्तिसम्म आफ्नो सबैभन्दा निकट रहेकी प्रेमिका रमिलालाई योगेन्द्रले जीवनको काँडाका रूपमा हेर्न थाले । अन्ततः चतुर योगेन्द्रले रमिलाको रहस्यमय ढंगले हत्या गरे । 

समाजमा प्रतिष्ठित कहलिएका योगेन्द्रलाई प्रेमिका रमिलाले विवाह गर्न दबाव दिएपछि उनको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । योगेन्द्रले आफ्नो घरमै कुटपिट गर्दै श्वासप्रश्वास बन्द गराएर रमिलाको हत्या गरेको कुरा बयानका क्रममा स्वीकार गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक रामकुमार राईले बताए । ‘योगेन्द्र बेलबारीमा नोबेल अस्पतालका सञ्चालकका साथै स्थानीय नेतासमेत भएकाले समाजमा इज्जतिला मानिन्थे,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘सामाजिक कार्यमा लागि परेका, परिवार भएका मान्छे । रमिलाले विवाह गर्न दबाव दिदै होहल्ला गर्न खोजेपछि हत्या गरेको प्रराम्भिक अनुसन्धानबाट खुल्न आउँछ ।’ 

यसरी गरे हत्या 

गत फागुन १७ गते साँझ रमाइलो गर्ने भन्दै योगेन्द्र रमिलासँगै थप दुई जना साथी लिएर रेस्टुराँ जाने भए । योगेन्द्रले प्रयोग गरिरहेको बा.१५ च. ७९१६ नम्बरको आइट्वेन्टी कार लिएर उनीहरू विराटचौकतर्फ हान्निए । बेलबारी बजारबाट करिब ५ किलोमिटर पश्चिम विराटचौकमा छ– हवाना रेस्टुरेन्ट । उनीहरू साँझदेखि रेस्टुराँमा मदिराको चुस्कीसँगै नाचगान गर्दै रमाइलो गर्न थाल्छन् अनि १०ः५२ मा रेस्टुराँबाट निस्किएर बेलबारीतर्फ लाग्छन् । सँगै गएका दुई जना साथीलाई गन्तव्यमा पुर्‍याएपछि योगेन्द्र रमिलालाई लिएर आफ्नो घर पुग्छन्, रातको ११ः३० मा । दुवै जना मदिराको नशामा थिएँ । योगेन्द्रको घर पुगेलगत्तै रमिलाले होहल्ला गरिन्, विवाह गर्नुपर्छ भन्दै । मध्यरातमा छिमेकीहरूले उनको होहल्ला सुन्ने भयले योगेन्द्रले रमिलाको मुख बन्द गरी कोठाको भित्तामा धकेले । परिणाम स्वरूप उनको निधार र टाउँकोमा गहिरो चोट लाग्यो । रमिला त्यही ढलिन । त्यसपछि योगेन्द्रले रमिलाको घाँटी र मुख बन्द गरे । रमिलालाई स्वास फेर्न गाह्रो भयो, उनले प्रतिकार गर्न खोजिन् तर सकिनन् । योगेन्द्रले दरिलो तरिकाले मुखमा हात राखेर अँठ्याए । रमिलाको प्राण त्यहीं गयो ।

शव कोसी ब्यारेजको २९ नम्बर ढोकाबाट मिल्काए

रमिलाको हत्यापछि योगेन्द्रलाई शव व्यवस्थापन गर्न समस्या भयो । तत्काल उनले जुक्ति निकाले– लास कोसी ब्यारेजबाट सप्तकोसी नदीमा बगाउने । रमिलाको दुवै हात र खुट्टा डोरीले बाँधे अनि करिब ५ फिट लामो सेतो प्लास्टिकमा रमिलाको शव बेरे । त्यसपछि उक्त शवलाई सेतो रंगको प्लास्टिकको बोरामा हाले । निधार र टाउकोमा चोट लागेर बगेको रगत तन्नाले पुछे अनि उक्त तन्नालाई पनि शवसँगै बोरा भित्र कोचे । शव घरबाट निकाल्ने तयारी गर्दागर्दै घरमै रातको २ बज्यो । गुरुङले उक्त शव आफैंले प्रयोग गर्दै आएको बा.१५ च. ७९१६ नम्बरको गाडीको डिक्कीमा हाले । तीव्र गतिमा गाडी दौडाउँदै योगेन्द्र बेलबारीबाट करिब एक घण्टामा (बिहान ३ बजे)कोसी ब्यारेज पुगे अनि गाडी साइड लगाए । माछा मार्ने स्थानीय माझीसँग माछाको व्यापार सोध्ने बहाना बनाएर सप्तकोसीको कति नम्बरको ढोका खुल्ला छ ? भन्ने प्रश्न गरेपछि ती माझीले जवाफ दिए— २९ नम्बर । योगेन्द्रले हतार–हतार पानीको बहाव बढी भएतिरबाट रमिलाको शव कोसीमा मिल्काए अनि गाडी घुमाएर बेलबारी फर्किए । घर पुगे पनि उनी तनावमा थिए— शव खोलाले बगायो कि बगाएन ? भनेर । योगेन्द्र भोलिपल्ट फागुन १८ गते पुनः शवको अवस्था बुझ्न कोसी ब्यारेज पुगें । नदीमा फालेको रमिलाको शव के भयो ? कोसी ब्यारेजबाट मिल्काएको ठाउँमा पुगेर हेरे । शव हालेको बोरा कतै देखिएन् अनि ढुक्क भएर घर फर्किए । 

हत्यापछि योगेन्द्रको नाटक 

सँगै हिँड्ने, सँगै घुम्ने भएकाले योगेन्द्र रमिलाको परिवारसँग परिचित थिए । योगेन्द्रसँग गएकी रमिला भोलिपल्ट पनि घर नफर्किएपछि परिवारले सोधीखोजी सुरु गरे । योगेन्द्रले रमिलाको परिवारलाई भनेका थिए– फागुन १७ गते राति साढे ११ बजे नै मैले घरअगाडि छोडिदिएको थिएँ तर योगेन्द्रले भने जस्तो उनले रमिलालाई घरमा छोडेका थिएनन् । ‘भोलिपल्ट रमिलाको परिवारलाई लिएर योगेन्द्र आफैं रमिला हराएको उजुरी लिएर इलाका प्रहरीक कार्यालय बेलबारी आए,’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले भने, ‘गुरुङले बेपत्ता भएकी रमिलाको खोजीका लागि पहल गरिदिन भन्दै आफैंले निवेदन दिए, साथमा रमिलाको तस्बिरसमेत बुझाए ।’ प्रहरी र आफन्तसहित योगेन्द्रले प्रेमिका रमिला हराएको भन्दै नजिकको जंगल तथा खोलातिर खोज्न पनि सघाए । रमिला हराएको उजुरी दिएको पाँच दिन बितिसक्दा पनि केही पत्ता नलागेपछि प्रहरीले आफ्नो अनुसन्धानलाई अन्यत्र मोड्यो ।

योगेन्द्रसँगै हिँडडुल गर्ने रमिला उनीसँगै गएको दिनदेखि एक्कासि बेपत्ता भएकाले प्रहरीले पहिले योगेन्द्रमाथि नै ‘गोप्य’ अनुसन्धान थाल्यो । प्रहरी निरीक्षक राईका अनुसार त्यस क्रममा गुरुङको मोबाइलको कल विवरण (सिडिआर) समेत हेरिएको थियो । योगेन्द्र फागुन १७ गतेदेखि २५ गतेसम्म प्रहरीको खोजीमा संलग्न थिए । ‘आफैं खोज्न लागिपरेको घटनाका सम्बन्धमा प्रहरीले प्राविधिक रूपमा अनुसन्धान थालेको तथा आफू शंकाको घेरामा रहेको कुरा बुझेपछि योगेन्द्र डराए,’ राईले भने, ‘प्रहरी अनुसन्धान आफैंतिर सोझिएको यकिन भएपछि गुरुङ विराटनगर जान्छु भन्दै फागुन २४ गते मोबाइल अफ गरेर आफैं बेपत्ता भए ।’

सिसी टिभी फुटेजले पत्ता लगायो हत्यारा 

प्रहरीले पक्राउ गर्ने सुइको पाएपछि योगेन्द्र फागुन २४ गते इलामको पशुपतिनगर हुँदै दार्जीलिङतर्फ लागे । प्रहरीले उनको खोजी तीव्र बनाएको थियो । प्रहरीले पक्राउ गर्ने भएपछि भागेको दुई दिनपछि योगेन्द्रलाई इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले दार्जीलिङबाट फर्कने क्रममा फागुन २६ गते इलाममा पक्राउ गरेको थियो । ‘पक्राउ परेपछि पनि उनले घटनाको वास्तविकता लुकाउन खोजे,’ प्रहरी निरीक्षक राईले भने, ‘प्रहरीले बेलबारीदेखि इटहरी हुँदै पश्चिम कोसी ब्यारेजसम्म राजमार्ग किनारमा जोडिएका सिसिटिभी क्यामेराको फुटेज निकाल्यो । प्रहरीले जुन दिन रमिला हराएकी थिइन, त्यही दिनको सिसिटिभी फुटेज हेर्‍यो । सिसिटिभी फुटेज हेर्दा योगेन्द्रले प्रयोग गरिरहेको बा.१५ च. ७९१६ नम्बरको गाडी इटहरीबाट पश्चिमतर्फ लागेको देखियो ।’ बेलबारीदेखि इटहरीसम्म १३–१४ वटा सिसिटिभी छन्, जसको फुटेजबाट योगेन्द्र पश्चिमतर्फ लागेको 

पुष्टि भएको प्रहरी निरीक्षक राईले बताए । 

प्रहरीले कोसी ब्यारेजको समेत सिसिटिभी फुटेज निकाल्यो । योगेन्द्रको यात्रा त्यही रोकियो, जहाँ योगेन्द्रले गाडीबाट एउटा ठूलो बोरा निकालेर सप्तकोसी नदीमा फालेको प्रष्ट भयो । सिसिटिभी फुटेजमा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साढे २ बजे इटहरीबाट पश्चिम लागेको देखिएको थियो । ‘शनिबार बिहान साढे ४ बजेको फुटेजअनुसार योगेन्द्र गोठगाउँबाट पुनः पूर्व लागेको देखिन्छ,’ राईले भने ।

शव सप्तकोसीमा फालेपछि योगेन्द्रले गाडी फर्काएको भिडियो रेकर्ड फेला परेपछि रमिलाको हत्या उनैले गरेको निष्कर्ष प्रहरीले निकालेको थियो । यी सबै तथ्यका आधारमा बयान लिन थालेपछि हिरासतमा रहेका योगेन्द्रले घटना लुकाउन सकेनन् । ‘रमिलाको हत्या आफैंले गरेको स्वीकार गरे,’ प्रहरी निरीक्षक राईले भने, ‘कोसी ब्यारेजमा शव फालेको बयान दिए । त्यसलगत्तै हामी शव खोज्न ब्यारेज पुग्यौं ।’ 

२६ दिनपछि शव फेला पर्‍यो 

कोसी ब्यारेजबाट सप्तकोसीमा फालिएको रमिलाको शव फेला पार्न प्रहरीलाई २६ दिन लाग्यो । सेतो बोरामा हात खुट्टा बाँधिएको अवस्थामा रमिलाको शव गत बुधबार कोसी ब्यारेजबाट बरामद गरिएको हो । रमिलाको हत्याको आरोपमा पक्राउ परेका योगेन्द्रले प्रहरीलाई दिएको बयानका आधारमा मोरङ प्रहरीले सुनसरी प्रहरीको सहयोगमा रमिलाको शव खोज्न एक साताभन्दा बढी विशेष टोली परिचालन गरेको थियो । 

कोसी ब्यारेजका स्थानीय युवाहरूको सहयोगमा रमिलाको शव सप्तकोसी नदीबाट बाहिर निकालिएको थियो । नदीमा बोराको ठूलो पोको देखेपछि स्थानीय बासिन्दाहरूले प्रहरीलाई खबर गरेका थिए । पछि स्थानीय प्रहरीको अनुरोधमा कोसी ब्यारेजका तीनजना युवाले उक्त शव करिब डेढ घन्टा लगाएर डुङ्गाको सहयोगमा नदीबाट बाहिर निकालेका थिए । राईका आफन्तले शव बुझेपछि धरानस्थित बीपी कोइराला प्रतिष्ठानमा त्यसको पोर्स्टमार्टम गरियो । रमिलाका आफन्तले उनको दाहसंस्कार बेलबारीमै गरेका थिए । 

को हुन् योगेन्द्र गुरुङ ?

बेलबारी–४ घर भएका ४६ वर्षीय योगेन्द्र सम्पन्न परिवारका हुन् । उनी राजनीतिमा लागेपछि विभिन्न संघसंस्थामा आवद्ध भए । तत्कालीन नेकपा एमालेका बेलबारी नगर अध्यक्ष गुरुङ स्थानीय नोबेल हस्पिटलका संचालक पनि हुन् । हाल उनी नेकपाका प्रभावशाली स्थानीय नेता मानिन्थे । उनी बेलबारी किसान साझेदारी वन तथा बेलबारी बोर्डिङ स्कुलका अध्यक्ष रहनुका साथै विभिन्न संघसंस्थामा आवद्ध छन् । गुरुङका २ छोरा तथा श्रीमती छन् । 

कारबाहीको माग 

योगेन्द्रले क्रूर तरिकाले हत्या गरेको भन्दै रमिलाका आफन्तले उनका विरुद्ध हदैसम्मको कारबाहीको माग गरेका छन् । ‘यो हत्या योगेन्द्र एक्लैले गरेका होइनन्, यसमा अरूको पनि संलग्नता हुनुपर्छ,’ पीडित परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा रमिलाकी दिदी गंगामायाले भनिन्, ‘प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरी घटनाको यथार्थ विवरण सार्वजनिक गर्नुपर्छ ।’ रमिलाको हत्यासँगै उनकी १० वर्षीया छोरी शिखाको भविष्य अन्यौलमा परेको भन्दै परिवारले उनको लालनपालन एवं शिक्षा दीक्षाका लागि आवश्यक पहल गरिदिन समेत माग गरेको छ । 

कसरी प्रेममा परे ?

श्रीमान्सँग छुट्टिएर माइतीमा बस्दै आएकी रमिला र योगेन्द्र विगत पाँच वर्षदेखि प्रेममा थिए । रमिलाको तेह्रथुमका भीम लिम्बूसँग विवाह भएको थियो । उनीहरूकी १० वर्षकी छोरी शिखा आमा रमिलासँगै थिइन् । विगत ६ वर्षदेखि रमिला र उनका श्रीमान्बीच राम्रो सम्बन्ध नभएको रमिलाको पारिवारीक स्रोत बताउँछ । तेह्रथुम घर भए पनि विवाहपछि रमिला र भीम ससुरालीमै बस्दै आएका थिए । उनीहरूबीच खटपट भएसँगै भीमले रमिलालाई छोडेर गएको रमिलाकी दिदी गंगाले बताइन् । यद्यपि हालसम्म सम्बन्ध–विच्छेद भने भैसकेको थिएन । ५ वर्षअघि रमिला बेलबारीकै एक फेन्सी पसलमा काम गर्थिन् । सोही क्रममा रमिला र योगेन्द्रबीच चिनजानसँगै भेटघाट बढ्न थाल्यो । चिनजान भएको छोटो समयमै उनीहरूबीच प्रेम बस्यो । गुरुङकी पत्नी काठमाडौं बस्दै आएका कारण पनि रमिलासँग उनको प्रेम झाँगियो । उनीहरूबीच पति–पत्नी सरहको सम्बन्ध भएको दाबी गरिन्छ । लामो समयदेखि प्रेममा रहे पनि उनीहरूले एकअर्कालाई साथी भन्दै आएका थिए । रमिला र योगेन्द्रका बारेमा गाउँमा कुरा चल्न थालेपछि रमिलाकी दिदी गंगा सुनुवारले तिमीहरूको सम्बन्ध के हो भन्दै प्रश्न उठाएकी थिइन् । त्यसपछि रमिलाले योगेन्द्रसमक्ष विवाहको प्रस्ताव राखेकी थिइन् । गत कात्तिकदेखि रमिलाले विवाह गर्नुपर्छ भन्न थालेपछि उनीहरूबीचको ठाकठुक बढ्दै गएको थियो । 

रमिलासँग प्रेममा रहेकै बेला योगेन्द्रको अर्कीर् युवतीसँग पनि चक्कर चलेको हल्ला चलेपछि उनीहरूबीच पटक–पटक झगडा हुँदै आएको थियो । गत फागुन २ गते भ्यालेन्टाइन डे मा पनि रमिला र योगेन्द्र सँगै घुम्न गएका थिए । त्यसक्रममा पनि उनीहरूबीच झगडा परेको बताइन्छ । त्यतिबेला रमिलाले योगेन्द्रको गाडीको सिसा फुटाइदिएकी थिइन् । त्यसदिन रमिलालाई योगेन्द्रले आधा बाटोमै छोडिदिए, तर रमिला भने ट्याम्पो रिजर्व गरी योगेन्द्रको घरमै पुगेर हल्लाखल्ला गर्न थालिन् । त्यसपछि उनीहरूको सम्बन्धका बारेमा गम्भीर प्रश्न खडा हुन थालेको थियो । रमिलाकी दिदी गंगाका अनुसार रमिलाले आफूलाई स्वीकार गर्न योगेन्द्रमाथि दबाब दिँदै आएकी थिइन् । ‘मैले यस्तो नगर भनेर बहिनीलाई धेरै पटक सम्झाएँ, योगेन्द्रलाई पनि सम्झाएको थिएँ’ गंगाले भनिन्– ‘रमिलाले मलाई प्रयोग गर्ने अनि अरुसँग सम्बन्ध बढाउने भनेर कुरा निकालेपछि उनीहरूबीच झगडा हुने गरेको हामीले प्रत्यक्ष सुनेका थियौं ।’ रमिला र योगेन्द्रको सम्बन्धको हल्ला चलेपछि योगेन्द्रकी पत्नी काठमाडौंबाट बेलबारी आएकी र योगेन्द्रले उनलाई आफू कुनै सम्बन्धमा नरहेको विश्वास दिलाउँदै काठमाडौं फर्काएको बताइन्छ । त्यसपछि रमिला योगेन्द्रको टाउको दुखाइ हुन थालिन् । पत्नीले आफ्नो सम्बन्धका बारेमा सुइँको पाएपछि अन्ततः योगेन्द्र रमिलाको हत्यासम्म पुगे ।

महिलालाई ठग्दै शारीरिक सम्बन्ध

दुर्गालाल केसी

वैदेशिक रोजगारीपछि विभिन्न व्यवसाय हुँदै अन्त्यमा ठगी र जर्बर्जस्ती करणीमा लागेका एक व्यक्ति लामो समयपछि पक्राउ परेका छन् । शैक्षिक स्तर कमजोर भएका, एकल महिला तथा श्रीमान् विदेश गएका महिलाहरूलाई लक्षित गरी उनीहरूसँग सम्पर्क गर्ने, ढुकुटी खेल्ने भनेर रकम संकलन गर्ने अनि विभिन्न प्रलोभन एवं दबाबमा पारी यौनसम्पर्क गर्ने तुलसीपुर उपमहानगरपालिका–११, बेलगनारका ४० वर्षीय महेश भनिने भुवन धिताल प्रहरी फन्दामा परेका हुन् ।

धितालले जबरजस्ती करणी गरेको भन्दै तीन जनाको छुट्टाछुट्टै जाहेरी परेको छ । उनीहरू तीनै जनाले विभिन्न समयमा दबाब र प्रलोभनमा पारी आफ्नो यौनशोषण समेत गरिएको दाबी गरेका छन् भने पाँच जनाले ठगिएको भन्दै सामूहिक जाहेरी दिएका छन् । धिताल पक्राउ परेपछि पीडित महिलाहरूले जिल्ला प्रहरी कार्यालय पुगेर ऊनीविरुद्ध चर्को आक्रोश व्यत्त गरेका थिए । ‘यसले लुट्न केही बाँकी छैन । हाम्रो सबथोक लुटेको छ,’ एक पीडित महिलाले भनिन्, ‘हाम्रो पैंसा र इज्जत लुट्नेलाई कडा कार्वाही हुनुपर्छ ।’ धितालका कारण आफ्नो घरबार बिग्रने खतरा भएको पीडित महिलाहरूको गुनासो छ ।

 पीडितहरूको जाहेरीका आधारमा धिताललाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे बताउँछन् । धिताललाई दाङ र बाँकेको सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी पाण्डेले जानकारी दिए । बाँके हुँदै भागेर काठमाडौ जान लागेका बेला उनलाई पक्राउ गरिएको एसपी पाण्डेले बताए । पीडितहरूले प्रहरीमा जाहेरी दिएको जानकारी पाएपछि उनले जिल्ला छोड्ने योजना बनाएका थिए । आफ्नै गाडीमा नेपालगन्ज पुगेर त्यहाँबाट जहाजमा काठमाडौं जाने योजनामा अघि बढेका धिताललाई प्रहरीले बाटैबाट पक्राउ गरेको हो ।

महिलाहरूको रकम लिएर ठग्ने र पैसा फिर्ता माग्दा आफू पत्रकार भएको, प्रहरीका हाकिमहरूसँग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै धम्क्याउँदै आएको पीडितहरूले बताएका छन् । धितालले जलजला खबर डट कमको नामबाट पत्रकार परिचयपत्र बनाएर त्यसको दुरुपयोग गरेको प्रहरीले जनाएको छ । कहिलेकाहीं रकम सापटी दिने र धम्क्याएर ३६ प्रतिशतसम्म व्याज असुल गर्ने, खाली चेकमा हस्ताक्षर गर्न लगाउने र विभिन्न तरिकाले प्रलोभन र दबाबमा पारी यौनशोषण गर्ने गरेको पीडितहरूको उजुरीमा उल्लेख भएको एसपी पाण्डेले बताए ।

धितालको साथबाट १ करोड ६९ लाख रुपैयाँका ८२ थान चेक, दुईवटा खाली चेक, १ करोड २४ लाख रुपैयाँका ३२ वटा तमसुक, बा १५ च ७६६८ नम्बरको एउटा सेतो फोर्ड गाडी, भे ८ प ३९५५ नम्बरको एउटा स्कुटर, चारवटा ढुकुटी खेलाएको रजिष्टर, चारवटा खाली तमसुक, दुईवटा मोबाइल, दुई सुनका औंठी, एउटा ब्रासलेट, १८ हजार ५ सय रुपैयाँ, एउटा घडी तथा एउटा पत्रकार परिचयपत्र बरामद भएको एसपी पाण्डेले जानकारी दिए ।

धितालको आर्थिक स्रोत र सम्पत्तिका बारेमा थप अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई समेत अनुरोध गरी पठाइएको एसपी पाण्डेले बताए । प्रहरीले धितालबाट पीडित भएकाहरूसमक्ष निर्धक्क जाहेरी दिन अनुरोध गरेको छ । ‘उनको जीवन निकै विलासी देखिन्छ । आम्दानीको स्रोत केही पनि देखिँदैन । पीडितहरू पनि धेरै भएको अनुमान छ,’ एसपी पाण्डेले भने,‘उनको सम्पत्तिका बारेमा थप छानबिन हुनुपर्ने देखिन्छ । यसमा अरु कोही संलग्न भए नभएको पनि अनुसन्धान गरिरहेका छौं ।’

२०३५ जेठ १ गते तुलसीपुरको बेलगनारमा जन्मिएका धिताल एसएलसीसम्म पढेर २०६० साल वैशाखमा वैदेशिक रोजगारीका लागि मलेसिया गै तीन वर्षपछि फर्किएका थिए । उनी केही वर्ष घरमै खेतीपातीको काम गरेर २०६६ सालमा फेरि दुबई पुगे । २०६८ मा नेपाल फर्किएर धितालले घोराही–१५, दीपशिखा रोडमा तीन वर्ष तथा इन्द्रेणी टोलमा ८ महिनाजति होटल व्यवसाय सञ्चालन गरेका थिए । २०७२ मा होटल व्यवसाय छोडेका धितालले केही समय घरमै बसेर जग्गाको कारोबार गरेका थिए । त्यसयता उनी निरन्तर ठगी र यौनशोषणमा लागेको प्रहरीले जनाएको छ ।

जग्गा कारोबारका क्रममा धिताल ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ । ‘जग्गा दलाली गर्दा बिभिन्न क्षेत्रका मानिसहरूसँग सम्पर्क हुने, पैंसा भएका मानिसहरू पहिचान हुने, श्रीमान् विदेश भएका र यहाँ घडेरी किन्न खोज्ने महिला धेरै हुने भएकाले उसलाई ठगीमा संलग्न हुन सजिलो भएको पाइन्छ,’ एसपी पाण्डेले भने, ‘जग्गा कारोबारकै क्रममा उसले पैसा भएका थुप्रै महिलासँग सम्पर्क गरेको देखिन्छ । सुरुमा कारोबारका नाममा सम्पर्क बढाउने धितालले कतिपयसँग शारीरिक सम्बन्ध राख्दै ठगीसमेत गरेको पाइएको छ ।’

 

प्रकाशित :चैत्र २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्