घोडेजात्रा

- साप्ताहिक संवाददाता

चैत्र २२, २०७५

 

आज चैत २२ गते काठमाडौंको टुँडिखेलमा घोडेजात्रा मनाइँदैछ । काठमाडौं उपत्यकाका प्रसिद्ध जात्राहरूमध्ये घोडेजात्रा पनि एक हो । अन्य जात्राहरूको जुन सांस्कृतिक महत्व छ, त्यसको तुलनामा घोडेजात्राको तान्त्रिक महत्व बढी छ । प्रचलित कथाअनुसार कुनै बेला काठमाडौंका मानिसहरूलाई उनीहरूका केटाकेटी चोरेर खाइदिने विशालकाय दैत्यलाई मार्न तान्त्रिक अनुष्ठान गरी दैत्यमाथि घोडा दौडाइएको थियो । उक्त दैत्य मारिएपछि काठमाडौंका नागरिकहरूले फेरि–फेरि त्यस्तो दुःख बेहोर्नु नपरोस् भनेर बर्सेनि काठमाडौंको टुँडिखेलमा काल्पनिक दैत्यलाई घोडाको टापले कुल्चने परम्पराको विकास भएको हो, जुन अहिलेसम्म निरन्तर जारी छ । 

पहिले–पहिले घोडेजात्रा मनाइँदा स्थानीय मानिस तथा घोडेजात्रासँग सम्बन्धित गुठीका गुठियारहरू मात्र संलग्न हुन्थे । नेपाल एकीकरणपछि यो जात्रामा राज्यले हस्तक्षेप गर्‍यो । राज्यको हस्तक्षेपपछि घोडेजात्रा नेपाली सेनाको वार्षिक कार्यक्रममा पर्‍यो । त्यसयता अहिलेसम्म घोडेजात्रा नेपाली सेनाले नै मनाउने गरेको छ ।

यसमा घोडेजात्रासँग सम्बन्धित सामाजिक पक्ष तथा गुठियारहरूलाई समेत संलग्न गराइए पनि अहिले यो शुद्ध रूपमा सेनाको इभेन्टजस्तो देखिन्छ । सेनाले घोडेजात्रासँग सम्बन्धित मिथकीय पाटोहरूलाई विधि विधानसहित पूरा गर्छ भने त्यसका साथै अन्य विभिन्न साहसिक खेलहरू समेत प्रदर्शन गरिन्छ । यो कथाले घोडेजात्राको सन्दर्भलाई कोट्याए पनि खासमा घोडा मानिसको सबैभन्दा नजिकको साथी जनावर हो । यसैकारण पनि हाम्रो समाजमा घोडाको विशेष स्थान छ । 

घोडा र मानिस 

सृष्टिको अनादिकालदेखि नै घोडा र कुकुर मानिसको साथमा रहँदै आएको विश्वास गरिन्छ । अन्य घर पालुवा जनावरभन्दा अघि नै घोडा र कुकुरले मानिसलाई साथ दिदैं आएको मानव इतिहासमा अंकित छ । यसैकारण पनि घोडा हाम्रो समाजमा विशेष रुपले सम्मानित छ । 

घोडालाई लगभग ६ हजार वर्षअघि मानिसले जंगलीबाट घरेलु प्रजातिमा रुपान्तरण गरेको वैज्ञानिकहरूको मत छ । ६ हजार वर्षअघिको समय भनेको हाम्रा लागि महाभारतकालको प्रमाणित समय हो । यसरी हेर्दा घोडा महाभारत युगमा मानिसको सामीप्यमा आइसकेको थियो र त्यतिबेलाको भारत वर्ष (अहिलेको सम्पूर्ण दक्षिण एसिया) मा घोडा लोकप्रिय सवारी साधन तथा राजामहाराजाहरूको प्रिय जनावरमा रुपान्तरण भैसकेको विश्वास गर्न सकिन्छ ।

 

के हो घोडा ? 

घोडा वैज्ञानिक परिभाषाअनुसार इक्युडी (भ्त्रगष्मबभ) परिवारअन्तर्गतको स्तनधारी प्राणी हो । यो परिवार अन्तर्गत नै गधा, जेब्राजस्ता जनावर पनि छन् । घोडाको प्राचीनतम स्वरुप इयोहिप्पस (भ्यजष्उउगक) लाई मानिन्छ । घोडाको वैज्ञानिक नाम इक्वस (भ्त्रगगक) हो । यो ग्रीक शब्द हो, जसको अर्थ नै घोडा हुन्छ । संसारभर घोडाका घरेलु र जंगली सबैथरिका प्रजातिका लागि यही एउटा शब्दमात्र प्रयोग हुन्छ । अहिलेको अवस्थामा मध्य एसियाको पश्चिमी मंगोलिया र पूर्वी तुर्किस्तानका घासे मैदानमा मात्र घोडाको वास्तविक जंगली प्रजाति पाइन्छ । अन्यत्रका लगभग सबै घोडा घरेलु घोडामा परिणत भैसकेका छन् । स्मरणीय छ, मानिसका लागि अनेकौं भूमिका निर्वाह गरेपनि घोडाले मानिसको हाउभाउ तथा आदेश कसरी बुझ्छ ? भन्ने विषयमा अहिलेसम्म गरिएका कुनै पनि अध्ययनले यही विशेषताका कारण घोडाले मानिसलाई बुझ्छ भनेर ठोकुवा गर्न सकिएको छैन । 

प्राकृतिक रूपमा घोडा शाकाहारी प्राणी हो । जंगली अवस्थामा दानासहितको घाँस मन पराउने घोडाले मानिसको सम्पर्कमा आएपछि अन्य अनाजको स्वाद पाएको हो । ती अनाजमध्ये चना र मकै घोडाका लागि प्रिय मानिन्छन् । यद्यपि अहिले पनि घोडाले पकाएको अनाज वा अन्य खानेकुरा रुचाउँदैन । उसका लागि काँचो अनाज नै प्रिय हुन्छ । 

मानिसले आफ्ना लागिजस्तै घोडा लागि पनि आवासको व्यवस्था गर्दै आएको छ । घोडा नै आवासको व्यवस्था पाउने पहिलो जनावर हो । अहिले पनि गाईभैंसीलगायतका जनावरका लागि गोठको व्यवस्था गर्दा घोडाका लागि पनि विशेष रूपमा तबेलाको व्यवस्था गरिएको हुन्छ । तबेलामा घोडा आफ्नो प्रजातिसँग मात्र बस्न रुचाउँछ । तबेलामा घोडाले अन्य जनावरको संगत मन पराउँदैन । 

घोडा सामाजिक प्राणी हो । जंगली अवस्थामा यो झुण्डमा रहन मन पराउँछ । एउटा झुन्डमा लगभग १ हजारसम्म घोडा भेटिएका छन् । घोडाले एक पटकमा एउटा मात्र बच्चा जन्माउँछ भने जन्मिएको ६ महिनासम्म स्तनपान गराउँछ । घाँस चर्ने भएपछि घोडा आफ्नी आमाबाट बिस्तारै अलग हुन थाल्छ । वयस्क भएपछि जोडी खोजेर आफ्नो परिवार बनाउनेतर्फ प्रेरित हुन्छ । यसो हुँदा पनि उसले आफ्नो झुण्ड त्याग्दैन् । पहिले–पहिले मानिसले आफूलाई आवश्यक घोडा यस्तै कलिला घोडा जंगलबाट समातेर घरमा ल्याई प्रशिक्षण दिएर तयार गर्थे । कालान्तरमा घोडाको प्रजनन समेत मानिसले आफै गराउन थाल्यो जुन अहिलेसम्म निरन्तर छ । 

घोडाको इतिहास 

घोडालाई सबैभन्दा पहिले एसिया र युरोपलाई छुट्याउने युराल पर्वत वरिपरि बसोबास गर्ने मंगोल समुदायका मानिसले प्रयोग गरेको विश्वास गरिन्छ । निकै पछिसम्म पनि फिरन्ता र सिकारी जीवन बिताएका मंगोलहरूका लागि घोडा वरदान नै थियो । कालान्तरमा मध्यएसियादेखि युरोपसम्म मंगोल साम्राज्य विस्तार हुँदा उनीहरूको सैनिक अभियानमा घोडा सबैभन्दा भरपर्दो साथी थियो ।

इतिहासकारहरूको मान्यताअनुसार घोडालाई लडाइँमा प्रयोग गर्ने पनि मंगोलहरू नै थिए । घोडाको यस्तै सफल र सबल प्रयोगका कारण नै कुनै बेला सम्पूर्ण एसिया र युरोप मंगोल साम्राज्यको अधिनमा थिए । हन्निबाल, अटिला, चंगेज खान, तैमुरलङजस्ता इतिहास प्रसिद्ध योद्धाहरू घोडाकै सफल प्रयोगका कारण आफ्नो साम्राज्य विस्तारमा सफल भएका थिए ।

प्रकाशित :चैत्र २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्