विदेशी औषधी प्रतिबन्धको बहस

- साप्ताहिक संवाददाता

चैत्र २१, २०७५

नेपालमा पटक–पटक बहस हुने गरेको छ, नेपालमै उत्पादन हुने औषधी विदेशबाट ल्याउन प्रतिबन्ध गर्ने कि नगर्ने ? पछिल्ला पाँच वर्षदेखि यो बहस चल्दै आए पनि कुनै निष्कर्षमा भने पुगेको छैन, जसका कारण बजारमा हल्ला फैलिने गरेको छ, ‘यो औषधी नेपालमा प्रतिबन्धित भयो, त्यो औषधी प्रतिबन्धित भयो ।’ यो समाचार तयार पार्दासम्म औषधी व्यवस्था विभागमा दर्ता भएका कुनै पनि औषधी नेपालमा प्रतिबन्धित नगरिएको विभागका कर्मचारीहरू बताउँछन् ।

विभागका महानिर्देशक नारायण ढकाल भन्छन्, ‘नेपालमै उत्पादन भएर नेपाली जनताका लागि पर्याप्त पुग्नसक्ने गुणस्तरीय प्रमाणीत भएका केही औषीधीको कच्चा पदार्थ मात्र ल्याउने गरी रोक लगाउने तयारी भैरहेको छ ।’ ढकाल भन्छन्, ‘नेपालमा उत्पादन नहुने सबैखालका औषधी प्रतिबन्धित गर्ने भनिएको होइन ।’ स्वास्थ्य मन्त्रालयले एक वर्ष अध्ययन गरी नेपालमै उत्पादन हुने र आपूर्ति गर्न सक्षम ३० प्रकारका औषधीको कच्चा पदार्थ आयात मात्र गर्ने गरी सरकारलाई प्रस्ताव पठाएको छ । 

विदेशी औषधीमा प्रतिबन्ध लगाउँदा त्यसले सर्वसाधरणमा असर गर्छ कि गर्दैन, त्यसको गहन बहस भने भएको छैन । सबै विदेशी औषधीलाई खुला गरिनुपर्छ भन्ने तथा नेपाल आत्मनिर्भर भैसकेको औषधीलाई प्रतिबन्धित गर्नुपर्छ भन्नेहरूका आ–आफ्ना तर्क छन् । विदेशी औषधीमाथि प्रतिबन्ध लगाउनु हुँदैन भन्नेहरूको दलिल हुन्छ, ‘नेपालमा उत्पादन भएका औषधीको गुणस्तर कमजोर छ । 

नेपाली औषधी उद्योगीहरूको तर्क छ, ‘विदेशी भन्दैमा सबै औषधी गुणस्तरीय छैनन्, ती भन्दा गुणस्तरीय औषधी हामीले उत्पादन गरिरहेका छौं । उनीहरूको दाबी छ, नेपालमा जति पनि औषधी उद्योगले औषधी उत्पादन गरिरहेका छन्, ती अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरका छन् । नेपाली औषधी उद्योगीको कुरामा सत्यता भएको नेपालको स्वास्थ्य अर्थशास्त्रसम्बन्धी गहिरो अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक शिवहरि अधिकारी बताउँछन् । ‘विदेशबाट आएका केही औषधी ज्यादै कम गुणस्तरका छन् ।’ अधिकारी भन्छन्, ‘ती औषधीले बिरामीमा राम्रो प्रभाव नपार्दा उपचार नै महँगो हुने गरेको छ ।’ विदेशी औषधीलाई भन्दा स्वदेशीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा अधिकारीको छ । स्वदेशी औषधीलाई प्राथमिकता दिदा उनीहरूको नियमन र मूल्यांकन गर्न पनि सहज मात्र हुँदैन, कुनै कारबाही गर्नुपर्ने अवस्था आए पनि तत्काल एक्सनमा जान सकिन्छ । ‘विदेशी औषधी कम्पनीले गुणस्तरहीन औषधी बिक्री वितरण गरे त्यसलाई बन्द मात्र गराउन सकिन्छ ।’ अधिकारी भन्छन्, ‘यदि नेपाली औषधी कम्पनीले गल्ती गरे तत्काल कारबाही गर्न सकिन्छ ।’ जसले गर्दा सरकारले नेपाली औषधी कम्पनीलाई थप जिम्मेवार बनाउन सक्छ ।

गुणस्तर र मापदण्ड पुगेका मात्र होइन, केही त्यस्ता उत्पादन पनि छन् जसलाई अब विदेशबाट मगाउनुपर्ने आवश्यकता छैन । बरु बिस्तारै ती औषधी विश्व बजारमा जाने प्रक्रिया सुरु भएको छ । दुई नेपाली औषधी उद्योग लोमस र नेसनल हेल्थ केयरले गत वर्ष ७ करोड रुपैयाँभन्दा बढीको औषधी विदेश निर्यात गरेका थिए । ‘नेपाली औषधी गुणस्तरीय नभएको भए विदेश निर्यात हुने कुरै थिएन ।’ लोमस फर्मासिटिकलका निर्देशकसमेत रहेका औषधी उत्पादक संघका महासचिव प्रज्वलजंग पाण्डे भन्छन् ‘अव हाम्रो उत्पादन विश्वस्तरीय भएको छ, हामीले उत्पादन गरेका औषधीको ग्यारेन्टी हामी लिन्छौ ।’

सरकारले नेपालमै पूर्ण रूपमा उत्पादन भएर आत्मनिर्भर भएका ३० प्रकारका औषधीहरूको कच्चा पदार्थ मात्र आयात गर्ने नीति मन्त्रीपरिषदमा पुगेको थियो । स्वास्थ्य मन्त्रालयबाट पास भै विभिन्न मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद्मा पुगेको उक्त प्रस्ताव थप छलफलका लागि प्रतिनिधिसभाको सामाजिक समितिमा पठाइएको थियो । त्यो प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको झन्डै एक वर्ष पुग्न लाग्दा पनि त्यसमा कुनै निर्णय हुन सकेको छैन । क्यान्सरका, सुइजन्य, इन्सुलिन तथा क्रिटिकल केयरका औषधीबाहेक अन्य धेरै प्रकारका औषधीमा नेपाल आत्मनिर्भरतर्फ उन्मुख भएको महासचिव पाण्डे बताउँछन् । 

नेपालमा उत्पादन हुने सबै बन्द गर्छौं : स्वास्थ्य मन्त्री

उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव सरकारले ३० प्रकारका मात्र नभएर नेपालमै उत्पादन भएर गुणस्तरमा सुनिश्चितता भएका र कुनै पनि अवस्थामा अभाव नहुने औषधीको सुनिश्चतिता गरी त्यस्तै प्रकारका औषधी विदेशबाट ल्याउन रोक लगाउन लागेको कुरा बताउँछन् । गत महिना स्वास्थ्य मन्त्रीको अध्यक्षतामा बसेको औषधी परामर्श परिषद्को बैठकले त्यस्तो निर्णय गरेको थियो । ‘गुणस्तरीयता कायम हुनुपर्छ ।’ मन्त्री यादवले भने ‘सरकार स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न तत्पर छ ।’ औषधी उद्योगीहरूले औषधी उत्पादनमा मात्र नभएर कच्चा पदार्थ उत्पादनमा समेत जोड दिनुपर्ने उनको सुझाव छ । 

यसअघि औषधी परामर्श समितिको बैठकले नेपाल आत्मनिर्भर भएका र गुणस्तरमा शतप्रतिशत सुनिश्चितता भएका औषधीकालागि विदेशबाट कच्चा पदार्थ मात्र आयात गर्न पाउने गरी रोक लगाउने प्रस्ताव पास गरी मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले फाइल तयार गरी मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहेको औषधी व्यवस्था विभागका महानिर्देशक ढकालले बताए । 

संघका अध्यक्ष दिपक दाहालले सरकारले नेपाली उद्योगलाई विश्वास गरेको हुँदा त्यो विश्वासलाई अझ मजबुत बनाउन आफुहरू लागि पर्ने बताउँछन् । ‘नेपाल आत्मनिर्भर हुने मात्र होइन, विदेशमा पनि निर्यात गर्ने गरी औषधी उत्पादन गर्ने हाम्रो तयारी छ,’ दाहाल दावी गर्छन् । नेपालमा हाल ५६ वटा उद्योगले तीन सय भन्दा बढी प्रकारका औषधी उत्पादन गरिरहेका छन् । ती औषधीको २० अर्ब रुपैयाँ बरावरको कारोवार हुने इनोभेटिव फर्मा ल्याबका प्रवन्ध निर्देशक विप्लव अधिकारी बताउँछन् । नेपालको औषधी बजारको ४५ प्रतिशत हिस्सा नेपाली उत्पादनकै रहेको अधिकारीको दाबी छ । ‘नेपालमा ४५ अर्ब रुपैयाँ बराबरको औषधीको कारोबार हुने गरेको छ,’ अधिकारी भन्छन्, ‘४५ अर्ब रुपैयाँमध्ये २५ अर्ब बिदेसिने गरेको छ ।’ 

औषधी व्यवस्था विभागले नेपाल आत्मनिर्भर भएका भनिएका औषधीहरूमा जुकाको औषधी अल्वेन्डाजोल, एन्टिवाइटिक एमोक्सासीलिन र एजिथ्रोमाइसिन, झाडापखालाका लागि प्रयोग हुने मेट्र्रनाजोल र पुर्नजलीय झोल, ग्यास्ट्रिक हुँदा प्रयोग हुने ओम्नीप्राजोल, पेन्टाप्राजोल र रेनिटिडिन आदि छन् । त्यसैगरी भिटामीन, कफ सिरफ, इन्जाइमका औषधीहरूमा नेपाल आत्मनिर्भर भएको विभागको सिफारीसमा उल्लेख छ । ज्वरो, रुघाखोकी, दुखाइ कम गर्ने, छालाको रोगसम्बन्धी औषधीहरू उत्पादनमा नेपाली कम्पनी आत्मनिर्भर भएको भन्दै मन्त्रालयले ती औषधी उत्पादनका लागि चाहिने कच्चापदार्थ मात्र आयात गर्न पाउने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । 

विदेशबाट आयातमा रोक लगाउन प्रस्ताव गरिएका औषधि 

१. एल्बेन्डाजोल 

२. एमोक्सिलिन 

३. एजिथ्रोमाइसिन 

४. ट्रिमेथोरपिम 

५. मेट्रोनिडाजोल 

६. एन्टासिड 

७. ओम्नीप्राजोल 

८. पेन्टाप्राजोल 

९. रेनिटिडिन 

१०. भिटामिन 

११. प्यारासिटामोल 

१२. कफ सिरफ 

१३. इन्जाइम 

१४. रि–हाइड्रेसन 

१५. आइबुप्रोफेन 

१६. सेट्रिजिन 

१७. इन्डोमेथासिन 

१९. डिक्लोफेन्याक 

२०. टिनिडाजोल 

२०. अल्बेन्डाजोल, भेट 

२१. अक्सिक्लोनाजाइड, भेट 

२२. लेभामिसोल, भेट 

२३. प्यारासिटामोल, भेट 

२४. अक्सिटेट्रयासाइक्लिन, भेट 

२५. क्यालामाइन लोसन 

२६. क्याल्सियम कार्बोनेट 

२७. जेन्सन भोइलेट 

२८. निमेसुलिड 

२९. ट्रामाडोल 

३०. साइप्रोहेप्टाडिन

 

प्रकाशित :चैत्र २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्