ह्याप्पी न्यू इयर–२०७६

- किशोर नेपाल

चैत्र २१, २०७५

संसारमा यस्ता राजधानी सहर सायद नहोलान्, जहाँ गाउँले र सहरियाका रूपमा जनता स्थायी हिसाबले विभाजित गरिएका छन् र यस्ता राजधानी सहर पनि कमै होलान्, जहाँ झन्डै–झन्डै प्रत्येक महिना नयाँ वर्षका उत्सव मनाइन्छन् । के हुन्छ नयाँ वर्षमा नयाँ ? कुन हिसाबले फरक हुन्छ एकै दिनको फरकमा ? समयले सबै कुरा छर्लंग देखाएको छ । तैपनि, हामी जात्राका मानिस हौं । जात्रामा हामी रमाउँछौ । हाम्रो समाजमा सधैं कुनै न कुनै नयाँ जात्रा मनाउने आकांक्षा बढी नै रहेका हुन्छन् । रेमिट्यान्सको कमाइ भित्रिन थालेपछि नेपालीहरूको स्तरोन्नति भएको छ एक हिसाबले । हामी बढी नै रौसिएका छौं चाडपर्व मान्ने र मनाउने कुरामा ।

महाकवि देवकोटाले त्यसै भन्नुभएको त पक्कै होइन, काशी, कस्मिर, अजब काठमाडौं ! (महाकविले त काशी, कस्मिर अजब नेपाल नै लेख्नुभएको हो । संशोधन मेरो हो । मेरो आशय पनि गलत होइन । महाकविको आशय पनि यही होला, काठमाडौं अर्थात् तीन सहर नेपाल । काठमाडौंलाई नेपाल खाल्डो भन्ने चलन अझैसम्म कायम छ ।)

दसैंलगत्तै, मध्यतिहारमा, नेपाल संवतको पहिलो दिनदेखि सुरु भएको न्हूँदया भिन्तुना अर्थात् नयाँ वर्षको शुभकामनाको मीठो धून कहिले कहाँ पुगेर रोकिन्छ ? कसैले भन्न नसक्ला । काठमाडौंको टुँडिखेलबाट सुरु हुने दुई–तीन थरीका ल्होत्सार र माघी पर्वका समारोहले नेपालका विभिन्न क्षेत्रमा प्रचलित भिन्न संवत्को परिचय दिन्छन् । देशका हिमाल, पहाड, मधेस, तराई, भावर, खोच र नदी किनार– सबैतिर संस्कृतिका साना, ठूला र मध्यम खालका हजारौं एकाइ छन् । रमाइलो कुरा, ती सबै एकाइका आफनै संवत् र आफ्नै संवत्सर छन् । ती सबै संवत र संवत्सरका आफ्नै नयाँ वर्ष छन् । शालिवाहिनी शाके संवत्, हिजरी संव्त, बुद्ध संवत्, इस्लाम संवत्, माया संवत्इतिहासको पानामा खोज्दै र थप्दै, सबै नयाँ वर्षका पहिलो दिन पत्ता लगाएर काठमाडौंमा समारोह मनाइने हो भने नयाँ नेपालको वार्षिक पात्रोका पानाहरू अपुग हुन सक्छन् । 

यति सबैले भन्न सक्छन्– काठमाडौंमा मनाइने नयाँ वर्षका समारोह र उत्सवहरूसँग इस्वी संवत् मनाउन आयोजना गरिने समारोह र उत्सवहरूको तुलना नगर्दा नै असल हुन्छ । हाम्रो देशमा हामीबाहेक विश्व ब्रह्माण्डका कुनै पनि सामान्य मानिसले नबुझ्ने विक्रम संवत् प्रचलित छ । राजा–महाराजबाट संरक्षित तथा सरकारी मान्यता पाएको यो संवत्को नयाँ वर्ष चैत मसान्तमा पर्छ । नयाँ वर्षको दिन सरकारी छुट्टी हुन्छ । तैपनि, नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा न राजधानी जनवरी एकको स्वागतमा जस्तो जगमगाउँछ, न पिउने–पिलाउने र नाच्ने–नचाउने रमाइला समारोह नै हुन्छन् । 

समारोह नै नहुने होइन । केही सरकारी समारोह पक्कै हुन्छन्, तर ती समारोहमा रौनक हुँदैन । सहरका लागि पिउने–पिलाउने र नाच्ने–नचाउने काम त रेगुलर नै भए । आफ्नै संवत् भएका स्वतन्त्र देशका संवत्सर फेरिने समारोहमा दिसम्बरको अन्तिम चिसो रातमा जस्तो राजधानी काठमाडौंका स्टेजहरूमा लयबद्ध ढंगले नेपाली राष्ट्रियता थर्किंदैन । विक्रम संवत्का संरक्षक रहेका राजाहरूसमेत दिसम्बरमै रमाउँथे । यद्यपि, कसैले पनि यस विषयमा कुनै संस्मरण लेखेका छैनन्, तर काठमाडौंका पाँचतारे होटलका सिनियर सर्भिस वोय्जहरूका अनुसार पछिल्ला राजा वीरेन्द्रले पनि दिसम्बरमै सल्काउँथे हवाना सिँगार, उनका छोरा राजा दीपेन्द्रले पनि दिसम्बरमै खोल्ने गरेका थिए फेमस ग्राउज व्हिस्कीको बोत्तल । 

सामान्य मानिसका दृष्टिमा ‘हस्पिट्यालिटी बिजनेस’मा लागेर देशका टप पर्सनालिटी भएका श्याम कक्षपतिलाई रानीपोखरीको दक्षिण पश्चिम कुनामा स्थापित क्याफे डी पार्कबाट दरबारमार्गको दक्षिणी छेउमा सरेर नाङलो रेस्टुराँ स्थापित गर्न कुन्नि कति वर्ष लाग्यो होला ? अहिले नाङ्लोको नामान्तरण र रुपान्तरण भैसकेको छ शाम्स वन ट्रीका रूपमा । 

मारकाटको राजनीतिले पूरै देश बेहोस भएका बेला काठमाडौं सहर र दरबार मार्गमा इस्वी संवत्का दुई महान चाड क्रिसमस–न्यू इयर र भ्यालेन्टाइन डे धूमधाम मनाइएका थिए । तीनवटा नयाँ वर्षमा त दरवार मार्गका कुनै रेस्टुराँ, होटल, इटरी र पवमा पाइला राख्ने ठाउँसम्म थिएन । त्यो फेज आफैं सकियो । कसरी सकियो ? भन्न सकिँदैन ।

एक समयको पर्यटक केन्द्र थियो झोंछे । विन्दास । झोंछेमा मनाइने नयाँ वर्षमा स्थानीय सहभागिता कम हुन्थ्यो । पर्यटकको विन्दास नाचमा स्थानीय बासिन्दा तमासे बनेर रमाउँथे । डिसेम्बरको चिसोमा हट प्यान्ट लगाएका युवती देखेर मानिसहरू जिब्रो टोक्थे । सहरको पुरानो टोल नयाँ सभ्यताको अतिक्रमणमा परेको थियो । झोंछेबाट कहिले, कतिवेला र कसरी टुरिस्ट सेन्टर ठमेलतिर भासियो ? काठमाडौंले थाहै पाएन । 

थाहा छैन, काठमाडौंमा इस्वी संवत्को नयाँ वर्ष मनाउने चलन कहिलेदेखि चल्यो ? त्यसको तिथिमिति काठमाडौंको इतिहासमा लेखिएको छैन । काठमाडौंलाई यतिमात्र थाह छ– नयाँ वर्ष देशमा मनाइने हजारौं चाडमध्येको एउटा चाड हो, जहाँ तृषित आत्माहरू आफ्नो घाँटी भिजाउँछन् ।

नेपाल गणतन्त्र भैसकेपछि राजतन्त्रको मानकका रुपमा रहेको विक्रम संवत्लाई यति धेरै सरकारी मान्यता दिनुपर्ने र यत्रो सम्मान गर्नुपर्ने कुनै कारण देखिँदैन । साँखुको वज्रजोगिनी माईको मन्दिरमा राजा विक्रमादित्यको टाउकोको मूर्ति छ । त्यसको नजीकै एउटा ठूलो कराही राखिएको छ । यति कारणले माक्र वित्रम संवत्प्रतिको हाम्रो मोह जायज हुन सक्दैन । हाम्रो रासन–पानी, विकास–समृध्दि, दिमाग–मस्तिष्क लगायतका सबै विषय बडा दिनको चाड मनाउने धनधान्य सम्पन्नहरूको हातमा छ । हामी पासपोर्टमा इस्वी संवत्कै प्रयोग गर्छौं । 

विक्रम संवत् प्रयोग गर्नेबित्तिकै त्यो ५ देखि १० हजार रुपैयाँ मूल्य पर्ने सरकारी किताबको मूल्य खोस्टो जति पनि रहँदैन । त्यसमा पनि, हामी जुन देशलाई हेरेर अथवा जुन देशको संकेतमा आफनो नीति र राजनीतिको दिशा निर्देश गर्छौं, त्यो देशले शाके, हिजरी र विक्रम संवत्लाई होइन, इस्वी संवत्लाई वैज्ञानिक र वैधानिक मानेको छ । देश हिन्दूस्थान भनिए पनि संवत इंगलिस्थानकै चलेको छ । हामी नेपाली चाहिं राष्ट्रिय जनावरको सम्मान पाएको गैंडा मारेर, उसैको खाग निकालेर, आफ्ना मरेका बाबु–आमा र बाजे–बजैका नाममा रगतको तर्पण दिने राजाहरूको अहंकारको तुष्टिमा लागेका छौं अहिलेसम्म ।

नयाँ वर्ष समारोहका रंगहरू फेरिँदै गएका छन् । भारतमा पूरै देश अनिदो बसेर स्वागतमा लाग्छ नयाँ वर्षको, नयाँ एजेन्डा, नयाँ जोस, नयाँ फुर्तीका साथ । न्युयोर्क, लन्डन र पेरिसको त चर्चै किन गर्नु र ? ठूला होटल तथा रेस्टुराँहरू प्रत्येक नयाँ वर्षमा उत्कृष्ट परिकारको तयारीमा लागेका हुन्छन्– अभाकाडो वीथ जीन्जर–लेमन–हनी । पूरै संसारका पत्र–पत्रिका, टेलिभिजन, रेडियो एवं सञ्चारका अरु माध्यम नयाँ वर्षको एजेण्डा तय गर्न र पुरानो वर्षको मूल्यांकनमा व्यस्त हुन्छन् । हू वाज हू इन दिस वर्ल्ड ? 

नयाँ वर्षले पाइला टेक्ने बेला भएको यो वर्षान्तमा नेपाली समाज सामाजिक विघटन र आर्थिक स्खलनतिर तीव्रताका साथ उँधो घचेटिइरहेको देखिन्छ, जसका पति रेमिट्यान्स भित्र्याउन खाडीका देशमा मेहनत र गर्मीका पसिना बहाइरहेका छन्, ती सान्नानीहरू आफ्नो ब्वाइफ्रेन्डलाई अत्तर भरिएको वाथटवमा स्नान गराउने योजनामा मस्त छन् । पत्नीलाई अरू कसैको पतिको स्याहार–सेवामा पठाउने नालायक पतिहरू वर्षको अन्तिम गर्लफ्रेन्डलाई कुनै गतिलो रेस्टुराँमा लास्ट ट्रिट दिन हतारिएका देखिन्छन् । नयाँ वर्षका अर्थहरू हराइसकेका छन् । हुनेका लागि सधैं नयाँ वर्ष छ । नहुनेहरू नयाँ वर्षलाई पर्खेको पर्ख्यै छन् ।

तैपनि, चैत महिनाको हुरी–हुन्डरीका बीचमा ह्याप्पी न्यू इयर टू अल !!!

 

प्रकाशित :चैत्र २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्