मायादेवी मन्दिरको सात फन्को

- मनोज पौडेल

चैत्र १९, २०७५

 

एक/एक सेकेन्डको फरकमा उपाधिको निर्णय भयो । लुम्बिनीस्थित मायादेवी मन्दिर वरिपरिको ७ फन्को लगाएर काठमाडौंका २२ वर्षीय साइकल टेक्निसियन अनुज पराजुलीले निर्णायक क्षणमा ७७ किलोमिटर लामो साइकल दौड प्रतियोगिता जिते । पराजुलीले २ घण्टा ३० मिनेट १७ सेकेन्डमा उक्त दूरी पूरा गरेका थिए । फिनिसिङ लाइन आउनु ६ सय मिटर अघि सम्म उनी तेस्रो स्थानमा थिए । उनले जीउसँगै साइकललाई यसरी स्पिन्ट गरे कि फिनिसिङ लाइनमा १ सेकेन्ड अघि पुगेर उनले उपाधि चुमे । 

बुद्धस्थलको पर्यटन प्रवर्द्धन गर्न उक्त ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेन बाइक यात्रा सञ्चालनमा ल्याइएको थियो जसमा काठमाडौंका अर्का साइकल टेक्निसियन कुमार लामाले २ घण्टा ३० मिनेट १८ सेकेन्डमा निर्धारित दूरी पूरा गरेर दोस्रो स्थान प्राप्त गरे भने त्रिभुवन आर्मीका हिमाल टमाटा तेस्रो भए । उनले २ घण्टा ३० सेकेण्ड १९ मिनेटमा दौड पूरा गरेका थिए । ‘उपाधि चुमेर निक्कै खुसी छु’ अनुज पराजुलीले भने, ‘राइडसँगै शान्तिको अनुभूति पाए ।’ यो उपलब्धिले मेरो जीवनलाई नै सकारात्मकतातर्फ डोर्‍याएको छ । साइकल मर्मत गर्ने साधारण मानिसले उपाधि चुम्दा हर्षको सीमा छैन । अब म यसैलाई करियर बनाउँछु । 

महिलातर्फ ७७ किलोमिटरको दौडमा एपीएफकी सोनी गुरुङले पहिलो भइन् । उनले उक्त दूरी २ घण्टा ५७ मिनेट ४६ सेकेन्डमा पूरा गरेकी थिइन् । प्रतियोगितामा लक्ष्मी मगरले ३ घण्टा १६ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । प्रतियोगिताका क्रममा लक्ष्मीको साइकल दुई पटक पन्चर भयो । पन्चर बनाउन १५ मिनेटभन्दा बढी लाग्यो, तैपनि उनी दोस्रो स्थानमा आइन् । हुमी बुढामगरले ३ घण्टा १७ मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेकी थिइन् । 

४० वर्षभन्दा बढी उमेर समूहको ५५ किलोमिटरको दौडको उपाधि हर्क लामाले जिते भने यो विधामा चिन्तविक्रम लामा दोस्रो तथा प्रशान्त पाण्डे तेस्रो भए । उनीहरूले मायादेवी मन्दिरलाई ५ फन्को लगाएका थिए । यो मन्दिरको एक फन्को लगाउँदा ११ किलोमिटर पूरा हुन्छ ।

 बाबु–छोरी सहभागी

उक्त प्रतिस्पर्धामा बाबु दामोदर बुढामगर तथा छोरी हुमी बुढामगर पनि सहभागी थिए । छोरी महिलातर्फ तृतीय भइन् भने बाबु ४० वर्षमाथिको दौडमा चौथौ भएका थिए । 

प्रकाशित :चैत्र १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्