थरी–थरीका आँसु

- अविरल थापा

चैत्र १९, २०७५

मानिस हेर्दा जतिसुकै बलवान् लागे पनि यो धर्तीको सबैभन्दा कमजोर प्राणी हो । ऊ सदैव अरूको सहारा खोजेर हिँड्छ, चाहे मनको होस् वा तनको । अरूसँग खुसी खोज्छ, अरूसँग प्रेम खोज्छ । मोलतोल गर्छ । कोसँग सम्बन्ध राखेर कति खुसी हुन्छु, सुखी हुन्छु भनेर हिसाब–किताब गर्छ, सम्बन्ध राख्छ तर मानिसको जिन्दगीमा सदैव बेरुजु निस्किन्छ । यस्तो एउटा मानिस पनि यो धर्तीमा छैन जसको जिन्दगीको हिसाब–किताब ठ्याक्क मिलेको होस् । आसक्ति र आशाले अन्ततः निराशा दिन्छ र मानिस रुन्छ । कोही एकान्तमा रुन्छन्, कोही सबैका सामुन्ने । कोही मनमनै रुन्छन् कोही बलिन्द्र धारा आँसु बगाउँछन् । समाजले केटा मानिस भएर रुनु हुँदैन भन्छ र उसलाई कठोर हुन प्रशिक्षित गर्छ ।  

जिन्दगीमा एकपटक पनि नरोएको त को होला र ! मानिस धेरै खुसी हुँदा पनि रुन्छ, दुःख पर्दा पनि रुन्छ । रुँदा, भावविह्वल हुँदा, खुसीको उत्कर्षमा पुग्दा अनायास आँसु बग्छ । आँसु प्रेम र दुःखको भाषा हो । हाँस्ने छुट भएजस्तै यहाँ रुने छुट पनि जो–कसैलाई छ तर मानिसहरू भन्छन्— सितिमिती रोइहाल्नु हुँदैन । 

के रुनु कमजोर हुनु हो र ?

आँखाबाट बग्ने आँसु एउटै होला तर त्यो आँसुभित्र लुकेको पीडा र आँसु खस्नुको कारण एउटै हुँदैन । एउटै आँखाबाट बग्ने आँसुका पनि अनेक अर्थ र गहिराइ हुन्छन् । मानिसको रुवाइ पनि एउटै हुँदैन । शरीरमा चोट लागेर रुनु र मनमा चोट लागेर रुनुको रन्को बेग्लै हुन्छ । जीउमा लागेको घाउले एकछिन रुवाउला तर मनको घाउले जीवनभर रुवाउँछ । मन मिलनमा पनि रुन्छ, बिछोडमा पनि रुन्छ । रुनु मानिसको नियति हो, छुट्नु मानिसको नियति हो । मानिस आफ्नाहरू टाढा हुँदा वा प्रेममा घात हुँदा सबैभन्दा बढी रुन्छ । नरोई मानिसको जीवन पूर्ण हुँदैन ।

धनी पनि रुन्छ, गरिब पनि रुन्छ । चोटअनुसार, घातअनुसार रुवाइको घनत्व फरक–फरक हुन्छ । रुवाइको आवाज पनि बेग्लै हुन्छ । आफ्नो सबैभन्दा नजिकको मानिस मर्दा आउने रुवाइको आवाज र अरू कोही मर्दा आउने रुवाइको आवाज पनि एकनास हुँदैन । रुँदा आउने आँसुको मात्रा पनि फरक–फरक हुन्छ । 

मानिस हेर्दा जतिसुकै बलवान् लागेपनि यो धर्तीको सबैभन्दा कमजोर प्राणी हो । ऊ सदैव अरूको सहारा खोजेर हिँड्छ, चाहे मनको होस् वा तनको । अरूसँग खुसी खोज्छ, अरूसँग प्रेम खोज्छ । मोलतोल गर्छ । कोसँग सम्बन्ध राखेर कति खुसी हुन्छु, सुखी हुन्छु भनेर हिसाब–किताब गर्छ, सम्बन्ध राख्छ तर मानिसको जिन्दगीमा सदैव बेरुजु निस्किन्छ । यस्तो एउटा मानिस पनि यो धर्तीमा छैन जसको जिन्दगीको हिसाब–किताब ठ्याक्क मिलेको होस् । आसक्ति र आशाले अन्ततः निराशा दिन्छ र मानिस रुन्छ । कोही एकान्तमा रुन्छन्, कोही सबैका सामुन्ने । कोही मनमनै रुन्छन् कोही बलिन्द्र धारा आँसु बगाउँछन् । समाजले केटा मानिस भएर रुनु हुँदैन भन्छ र उसलाई कठोर हुन प्रशिक्षित गर्छ । कैयन् पटक पुरुषले आफूलाई सम्हाल्छ, सार्वजनिक रूपमा रुँदैन पनि, तर एक्लै हुँदा वा मौका पाउँदा ऊ पनि रुन्छ । रुनुमा नारी वा पुरुष भन्ने हुँदैन, कोही रोइहाल्छन्, कोही सहन्छन् । 

कैयन् पटक मानिसलाई धक फुलाएर कुरा गर्न र रुन पनि साथी चाहिन्छ । ऊ आफूले नजिक मानेको साथी, प्रेमी वा जीवनसाथीसँग कुरा गर्दागर्दर्र्र्र् ैरुन्छ । कहिलेकाहीं मानिस अनायास रोइदिन्छ, थाहा छैन उसको मनमा के कुराले हिर्काउँछ । विगत सम्झेर र माया गर्ने मानिस सम्झेर पनि मानिस एकान्तमा रोएर बस्छ । अरूसँग रोएका बेलाको तुलनामा एक्लै हुँदा रोएको आँसु शुद्ध आँसु हो, किनभने त्यो मनको मुहानबाट आएको हुन्छ । मानिसको स्वाभाव र प्रकृतिअनुसार कोही कम रुन्छन् कोही धेरै रुन्छन् ।

सकेसम्म दुःख र कमजोरी दबाइन्छ । मानिसले दुनियाँलाई ढाँट्न सक्छ तर आफूलाई ढाँट्न सक्दैन, त्यसैले आफ्नै बानी र हर्कत सम्झेर पनि मानिस एक्लै रुन्छ । मानिस कहिलेकाहीं एक्लै ऐना हेरेर क्वाँक्वाँ रुन्छ । धेरै मानिसको चोट सहने बानी हुन्छ, सहँदासहँदा यति चोट थुप्रिसकेको हुन्छ कि कुनै दिन वा कुनै पल सानो कुराको छेस्कोले हृदय फुटाइदिन्छ र डाँको छोडेर होलसेलमा रुन्छ । 

काँडाले नकोतरेको तन र पिरतीले नकोतरेको मन कसको हुन्छ र ! प्रेमले जति खुसी दिन्छ उति नै आँसु पनि दिन्छ । जसले हँसाउँछ उसैले रुवाउँछ पनि । अरू चोटमा मानिस एकपटक रुन्छ तर प्रेमपीडामा ऊ पटक–पटक र जीवनभर रुन्छ । रुँदा मन हल्का हुन्छ । आँसुले जति मनलाई अरू कुनै चिजले पखाल्न सक्दैन । मानिस उही हो तर सानो छँदा, जवान छँदा र वृद्ध हुँदाको रुवाइ बेग्लै हुन्छ । मानिस चरम आनन्दमा पनि रुन्छ । यौनको चरम आनन्द प्राप्त हुँदा अधिकांश महिलाले आफ्नो आँसु थाम्न सक्दैनन् ।

त्यो पल किन रोएको वा आँसु किन झारेको भनेर न प्रश्न सोध्नुको तुक रहन्छ, न जवाफमा पूर्णता । जिन्दगीमा कतिपय प्रश्नको जवाफ आँसुले दिन्छ, बुझ्नेले बुझ्छन्, नबुझ्नेलाई कहिल्यै बुझाउन सकिँदैन । आँसु एकदमै शक्तिशाली हतियार पनि हो । आँसुले कसैलाई रोक्न सक्छ, कसैको बाटो छेक्न सक्छ । रोएर कसैले कसैलाई नजिक राख्न सक्छ, नजिक डाक्न सक्छ । कसैलाई कमजोर बनाइदिन सक्छ । 

मिलनको आँसु, विछोडको आँसु, घातको आँसु, पश्चातापको आँसु, प्राप्तिको आँसु, क्षतिको आँसु, आँसुका रंग र प्रकृति अनेक हुन्छन् । कैयन् रुवाइले शान्ति पनि दिन्छ तर पश्चातापको आँसुले मानिसलाई सबैभन्दा बढी पोल्छ, जीवनभर पोलिरहन्छ । हात छुट्दा साथ टुट्दा आँसु कसको झर्दैन र !

सधैं हाँसिरहने को छ ? रुन कसलाई मन लाग्दैन र !

प्रकाशित :चैत्र १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्