पाकाहरूको लहरे भाका

- राजकुमार कार्की

चैत्र १७, २०७५

उमेरले तीन बीस नाघेका, सबैको अनुहारमा हाँसोको फोहोरा, एकटकले लहरे भाखामा गीत गाएर मनको पीर–व्यथा भुलाइरहेका थिए एक दर्जनजतिले । गोलन्जोर गाउँपालिका–४, तीनकन्याको धापचौकीमा पूर्णिमाको अवसरमा बर्सेनि लाग्ने मेला भर्न आएका ती वृद्धवृद्धा यसैगरि आफ्नो तिर्सना मेटाउँछन् । 

साइली माइलीबाट सम्झ्यो होला उबेलाको कुन कुरा’ भनेर लामो सुस्केरा हाल्दै ८५ वर्षीय वृद्ध बलबहादुर थापामगरले लहरे भाका हालेपछि जवाफमा ६६ वर्षीय मनमाया तामाङले ‘सिकारी सिकारै खेतमा त्यो बुझ्नु है आफ्नो मनमा’ भनेर उसैगरी लहरे भाका हालिन् । 

उमेरले तीन बीस नाघेका, सबैको अनुहारमा हाँसोको फोहोरा, एकटकले लहरे भाखामा गीत गाएर मनको पीर–व्यथा भुलाइरहेका थिए एक दर्जनजतिले । गोलन्जोर गाउँपालिका–४, तीनकन्याको धापचौकीमा पूर्णिमाको अवसरमा बर्सेनि लाग्ने मेला भर्न आएका ती वृद्धवृद्धा यसैगरि आफ्नो तिर्सना मेटाउँछन् ।

छिमेकी वडा बितिजोर, रतनचुरा, भुवनेश्वरी, डुडभन्ज्याङ आदि स्थानबाट आएर धापचौकीको खुल्ला चौरमा बसी उनीहरू लहरे भाकामा आफ्नो मनका वह पोख्छन् । मै बूढालाई पनि लहरे भाखाले लोभ्यायो, वृद्ध बलबहादुर थापामगरले भने, ‘आफ्नो मनको वह सबै कहन पाइन्छ, त्यसैले सालिन्दा आउने गरेको छु ।’ उनी लौरो टेकेर दुई घण्टाको हिंडाइपछि त्यहाँ पुगेका थिए ।

वर्षमा एक दिन आफ्ना पुराना साथीभाइसँग सुखदुःखका कुरा लहरे भाकाबाटै साटासाट गर्न पाइने भएकाले यो मेलामा सबै उपस्थित हुने वृद्धवृद्धाहरूले बताए । मेला भर्न आएका उनीहरूले सुरुमा सामान्य घरेलु मदिरा सेवन गरेपछि भाका हाल्ने गरेका छन् । फरक के छ भने मेलामा उनीहरूको घरेलु मदिरा किन्नु पर्दैन ।

आफ्नै घरमा बनाएको जाँड, रक्सी, निगार आदि लिएर आउने लहरे भाखामा सहभागी ७१ वर्षीय इन्द्रबहादुर थिङले बताए । थिङ भन्छन्, ‘कसले राम्रो रक्सी लिएर आउने भन्ने होड नै चल्छ, बाँडेर खाने गरेका छौं ।’ वर्षौंदेखि मेला भर्ने क्रममा एक–अर्कासँग सबै परिचित भएको ६९ वर्षीया इन्द्रमायाँ विकले जनाइन् ।

भाका सुरु हुनुअघि आफ्नो हालखबर सबैका सामु राख्ने गरिएको छ । सुखदुःखका कुरा सुनाएपछि त्यसैलाइ भाखामा मिलाउछौं, वृद्ध थिङले भने । उमेर बुढो भएर के भो त मन बुढो भएको छैनन, उनले भने, ‘त्यही भएर हाम्रा धेरैजसो भाखा प्रेममा आधारित हुन्छन् ।’ त्यस्तो भाखा हालेपछि यूवायूवती समेत झुम्मिने गरेका छन् । 

भरदिन लहरे भाका हालेपछि उनीहरूलाइ फेरि वर्ष दिन कहिले पुग्लाजस्तो हुन्छ । घरमा गयो उही दैनिकी, फर्कन मन लाग्दैन, तर भाखा हालेर मात्र नहुने ७१ वर्षीया रामकुमारी योञ्जनले भनिन्, ‘हामी अर्को वर्षको प्रतिक्षामा हुन्छौं । हामी बुढा भएकाले कतिपय साथी थपिने–घट्ने हुन्छ, तर हामीलाइ केही छैन, जीवन दुई दिनको चोला हो भन्ने कुरा थाहा छ ।

मेलामा युवायुवतीहरू नाचगान गर्छन्, तर त्यो पाकाहरूलाई मन पर्दैन । त्यही भएर उनीहरू छुट्टै खाली चौरमा बसेर आफ्नै भाकामा रम्छन् । अहिलेका गीत मन पर्दैनन्, कानै खाने गरी बाजा बजाउँछन्, रामकुमारीले भनिन्, ‘आफैंले गीत गाउने होइन्, अरूले गाएकोमा के रमाइलो हुनु ?’ मेला भर्नुपहिले सबै हिंडेर आए पनि यतिबेला धापचौकीमा मोटरबाटो पुगेको छ । त्यसैले अहिले यात्रा केही सहज भएको वृद्धवृद्धाहरू एक स्वरमा बताउँछन् ।

 

प्रकाशित :चैत्र १७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्