महिला भएर जन्मिएकोमा  भाग्यमानी मान्छु

- नरेन्द्र रौले

चैत्र १५, २०७५

शैली बस्नेत, स्ट्यान्डअप कमेडियन

पत्रकारिता छाडेर कमेडीतिर किन लाग्नुभयो ?

आफ्नो रुचि फलो गर्दै जाँदा यहाँ पुगियो । यसको पनि ठेगान छैन । खोला जस्तै बग्दै जाँदा कहाँ पुगिन्छ, कहिले पहाड कहिले मैदान, कहिले झरना बन्न पुगिन्छ । एउटै पेशामा लागेर केश फुलाउनुपर्छ भन्ने पनि छैन ।

मानिसहरूलाई हँसाउन सजिलो कि रुवाउन ?

सजिलो त रुवाउन नै हो । दुनियाँमा दुःखको कमी छैन । कहिले भुइँचालो, कहिले नाकाबन्दी । हँसाउन कला चाहिन्छ, मेहनत गर्नुपर्छ । 

जनावरले मानिसको भाषा बुझ्ने भए कुन जनावरसँग कुरा गर्नुहुन्थ्यो ?

जनावरले मानिसको भाषा पक्कै बुझ्छ । मलाई चाहिँ सर्पसँग संवाद गर्न मन छ । सर्प साइलेन्ट वाचर जस्तो लाग्छ । रुखको टोड्कोमा, कताकता कुनामा लुकेर बसेको हुन्छ ।

 

भगवानले एयरहोस्टेस, पाइलट तथा चरामध्ये एउटा बन्ने अवसर दिए कुन रोज्नुहुन्थ्यो ?

पाइलट नै रोज्छु । मैले स्यापियन्स शीर्षकको पुस्तकमा पढेकी थिएँ– चरा उडे पनि सबै कुरा उसको नियन्त्रणमा हुँदैन । मानिसले हवाइजहाज नै उडाउन सक्छ । मानिससँग नै असीमित क्षमता र सम्भाबनाहरू छन् । जहाज चढ्दा पनि खासै डर लाग्दैन मलाई ।

 

मन रोज्नुहुन्छ कि धन ?

अहिलेको समयमा चाहिन त दुवै चाहिन्छ । अहिलेलाई धन रोज्ने, त्यो पुगेपछि मनभन्दा पनि पर पुगेर ज्ञानी, महात्माको बाटो रोज्ने ।

 

केटी बनेर जन्मिएको पछुतो लाग्छ कि लाग्दैन ?

लाग्दैन, हाम्रो पुस्ताभन्दा अगाडिको समाजमा योगमाया जस्ता पात्र थिए । महिला पछाडि पर्नुपर्ने कारण छैन । महिला हुनुमा खुसी नै छु, म एकदमै उत्साहित छु । ऊर्जा नै ऊर्जाले भरिएको मान्छु म आफूलाई । कुन हिमाल चढौं, कुन आकाश चुमौं जस्तो लाग्छ । उर्जाको सीमा नै छैन । म आफूलाई एकदमै भाग्यमानी छु । १२ वर्ष भयो मैले सगरमाथा चढेको । मैले यसबीच समाजका चर्चित मानिसहरूसँग काम गर्न पाएकी छु । मेरो वरिपरिको उदाहरणीय मानिसहरूसँग काम गर्न पाएँ । नेपाली समाजका गुमनाम रोल मोडलहरूसँग काम गर्न पाइरहेको छु जसले मौन क्रान्ति ल्याईरहनु भएको छ । 

डेट गैरहेका बेला बुबा, आमाले देख्नुभयो भने के प्रतिक्रिया दिनुहुन्छ ?

अहिले त मेरो विवाह भएको ८ वर्ष नै भैसक्यो । तपाईंको प्रश्न त्यही हुन्छ कि परिवर्तन हुन्छ ? जब हामी (म र श्रीमान्) रिलेसनसिपमा थियौं, त्यो बेला पनि मेरो परिवार खुसी थियो । कुनै आपत्ति थिएन । त्यसको कारण छ, सानैदेखि म आफ्नो निर्णय आफैं लिन्थें । मलाई कसैले रोकेन । दुःख पाएपनि, सुख पाए पनि म आफ्नो निर्णय आफैं गर्थें । कसैले गुनासो गरेपनि मलाई अरूको कुराले फरक पर्दैन । एक बारको जुनी हो, अरूको कुरा सुनेर के बस्नु ?

 

निदाइरहेका बेला सपनामा सबैभन्दा बढी के देख्नुहुन्छ ?

समग्रमा उडेको सपना बढी देख्छु । हिमाल–पहाड पुगेको, शाहसिक यात्रामा गएका देख्छु । प्रकृतिमा रमाएको सपना देख्छु । 

आफ्नो जिन्दगीमा भोगेका कुराले बढी रुवाउँछ कि चलचित्रका कथाले ?

म आफ्नो जीवनमा कमै रुन्छु । सजिलै त चलचित्रका कथाले रुवाउँछन् । आफ्नो जीवनमा त जिम्मेवार भइन्छ । त्यो अवस्थालाई कसरी सहज बनाउने भनेर सोचिन्छ । आफ्नो वास्तविक जीवनमा दुःख पर्दा म रुन्न । पछिल्लो पटक मेरो नजिकको मानिस बित्दा रोएँकी थिएँ अनि म बिफोर यु अंग्रेजी चलचित्र हेर्दा पनि रोएँ ।

प्रकाशित :चैत्र १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्