भ्रष्टाचारको जरो

- अधिकारी रवीन्द्र

चैत्र १४, २०७५

केही साताअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तसमेत चरम भ्रष्टाचारको आहालमा लिप्त रहेको खुलासा भयो । देशका लागि योभन्दा बढी विडम्बना के होला कि भ्रष्टाचार नियन्क्रण गर्नैका लागि नियुत्त गरिएका जिम्मेवार व्यक्ति नै भ्रष्ट छन् । अब कोचाहिँ चोखो होला भनेर प्रश्न सोध्नै नपर्ने भयो । नेपाल १ सय ८० राष्ट्रमध्ये भ्रष्टताको सूचीको ५७ औं स्थानमा छ । जुनसुकै लामो यात्रा आखिर पहिलो कदमबाटै सुरु गरिन्छ । विकास र समृद्धिको यात्राको पहिलो कदम भनेको भ्रष्टाचार नियन्त्रण हो, अन्यथा जस्तोसुकै नीति तथा योजना ल्याए पनि पहिलै पाइलामा ठेस लाग्ने निश्चित छ । अहिले सरकारले एकपछि अर्को योजना सार्वजनिक गरिरहँदा जनतामा फिटिक्कै आशा नजाग्नुको एउटै कारण हो– मौलाएको भ्रष्टाचार । यदि हामीले भ्रष्टाचारलाई ठेगान लगाउन सक्दैनौँ भने मेलम्ची खानेपानीले भोगेको दुष्चक्र पुनः पानीजहाजले नभोग्ला भन्ने ग्यारेन्टी छैन । काङ्ग्रेसले एमालेलाई, एमालेले फोरमलाई, फmोरमले माओवादीलाई, एक व्यक्ति वा दलले अर्को व्यत्ति वा दललाई आरोप–प्रत्यारोपको जुहारीबाहेक हामीले केही गर्न जानेनौँ । आखिर गएको तीन दशकमा सबै दलको सबै कुरा देखियो ।

वास्तवमा हामी तैंले र मैले, यसले र उसलेको विवादमै अल्झिरह्यौँ । भ्रष्टाचारको जरो के हो ? चिरफार गर्नतिर लागेनौँ, तसर्थ यो अझ बल्झिँदै गयो । लोकमानको ठाउँमा राजनारायण आए, फेरि उनको ठाउँमा अर्को आउँछ । अनुहार फेरिन्छ, प्रवृत्ति उही रहन्छ । जुनसुकै निकायमा चलिरहेको चक्र यही हो । एउटा भ्रष्टाचारीलाई कठालो समायो, उसको ठाउँमा आउने अर्को पनि त्यस्तै भैदिन्छ । यसबाट थाहा हुन्छ कि अधिकांश सरकारी कार्यालय कर्मचारीलाई घुस्याहा बनाउने कारखाना भएका छन् । अन्यथा लोकसेवाको कठिन परीक्षा उत्तीर्ण गरी राष्ट्रसेवामा छिरेको मेहनती ठिटो एकाएक अल्छी र भ्रष्टाचारी किन हुन्छ ?

पहिलो कारण हाम्रो संस्कार गलत छ । अनुशासन, इतिहास, संस्कृति, नैतिक शिक्षाका विषयहरूलाई ओझेलमा पार्दै पाश्चात्य रहनसहनका पाठ्यसामग्रीलाई ग्राह्यता दिने विद्यालय एवं शिक्षकहरूले नेपाली बोल्दा अपराधी शैलीमा नानीहरूलाई सजाय दिन्छन् ।

एसेम्बलीमा राष्ट्रिय गान गाउँदैमा बालबालिकामा राष्ट्रप्रेम पलाउँदैन । अभिभावक र विद्यालय मिलेर पैसा, मनोरञ्जन एवं व्यक्तिकेन्द्रित मनोवृत्ति हटाएर बाल्यकालदेखि नै देशप्रेम, इमान्दारी एवं समाजमुखी आचरण सिकाउनुपर्छ, अन्यथा तिनै नानीहरू पछि घूस खाएर घरघडेरी जोड्ने लालसामा सरकारी सेवामा छिर्नेछन् । यसरी आज राष्ट्रसेवामा होम्मिन्छु भनेर प्रवेश गर्नुभन्दा उद्देश्य नै धेरै पैसा कमाउँछु भनेर सरकारी जागिरमा छिर्ने मानिसहरू बढी भए । अतः यो अभियान हाम्रो हो, हामीले आ–आफ्नै घरबाट भ्रष्टाचार विरोधी पुस्ता खडा गर्नुपर्छ ।

साँचै भन्ने हो भने केन्द्रदेखि स्थानीय निकायसम्म व्याप्त बेथितिहरूलाई पटाक्षेप गर्ने तागत जनप्रतिनिधिमा हुन्छ, तर उनीहरूले यो जन्जाललाई किन चिर्न सकिरहेका छैनन् ? यसका दुईवटा उत्तर छन्– एउटा उनीहरू कायर छन्, चलिआएको कुप्रथालाई युटर्न गराउँछु भन्ने हिम्मत उनीहरूसँग छैन । अर्को कर्मचारीहरूसँगको मिलेमतोमा उनीहरू नै कमाउ धन्दामा छन् । यो प्रक्रियामा हुने भ्रष्टाचारको बिज आज होइन, चुनावताकानै हामी आफैंले रोपेका हौ । यिनले जिते भने भविष्यमा मौका पाइन्छ भन्ने अभिलाषाले हामीमध्ये कतिले चन्दा दियौँ । त्यतिबेला व्यापारीहरूले गरेको सहयोगको गुन अहिले नीतिगत भ्रष्टाचार गर्दै तिर्नु परेको छ । उम्मेदवारहरू भएभरको श्रीसम्पत्ति नै दाउमा राखेर पनि चुनाव लडे । यो मानवीय बाध्यता हो कि त्यो खर्च उठाउनैपर्छ ।

जो भए पनि गर्ने त्यही हो, आफ्नै बिल्लिबाठ उठाएर राजनीति गर्छु भनेर कोही हिंडेका छैनन् । अझ सके त अर्को चुनाव लड्ने खर्च जुटाउने मौका पनि यही हो । बिचरा नेतालाई त जनताले नै चेपुवामा पारे । एकथरी पैसा बिना भोट नखसाल्ने, अर्काथरी म पैसा दिन्छु भोट किनेर जित्ने हो भन्दै चन्दा दिने । अहिले आएर नेतालाई मात्र एकतर्फी गाली गरेर हुन्छ ? हामी आफैंले चन्दाको नाममा एक पैसा नदिएको भए अनि मासुभात र पेट्रोलमा नबिकेको भए उम्मेदवारहरूलाई पैसा खर्च गर्ने स्रोत र बाध्यता दुवै हुँदैनथ्यो । त्यसपछि खेलै खत्तम । तसर्थ नागरिकहरू नै सचेत नभै सुख छैन ।

त्यसैगरी अर्को महत्वपूर्ण कुरा हामी जनता कि त कार्यकर्तामात्र भयौँ कि त सरकारको घोर विरोधीमात्र भयौँ । कार्यकर्ता गुलियो रस चाट्न पाउन्जेल चुप लागेर बस्ने भयो । विरोधीले सबै काम सरकारको हो भनेर आफ्नो भूमिका बिर्सिरह्यो । कसैलाई अन्याय पर्दा वा कसैले घूस खाँदा पनि हामी नदेखेझैँ गर्छौं । सार्वभौम राष्ट्रको सचेत नागरिकको सही आवाज निकै शक्तिशाली हुन्छ भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । घूस खानेको पिठ्युँपछाडि विरोध गर्ने होइन, घुस कहिल्यै कसैलाई दिने छैन भनेर प्रण गर्नुपर्‍यो । कसैले घूस मागे वा खाएको देखे हाकिमको टेबल ठटाउने वा मिडिया गुहारेर भण्डाफोर गर्ने ल्याकत राख्नुपर्‍यो । 

संगठित भ्रष्टाचार मौलाउनुको अर्को कारण भनेको दण्डहिनता र भ्रष्टाचारको ऐश्वर्यलाई समाजले इज्जत गर्नु पनि हो । यसको अन्त्य एक पक्षले मात्र गरेर सक्दैन । हामी सबै तह र तप्काका मानिसहरू संलग्न हुनुपर्छ । कोही भ्रष्टाचारमा मुछिएको आरोप लागेपछि दोषी प्रमाणित हुने प्रकृया नै कलुषित पारिन्छ । पैसा र पहुँचको प्रयोगले दोषी पनि निर्दोष सावित भैदिन्छ । दोषी प्रमाणित भैसकेपछि पनि कार्वाही प्रक्रिया अनुग्रहित छ । यसमा पक्रकारदेखि नागरिक सबैले सधैं सत्रिय पैरवी गरेर कानुनअनुसार दण्ड–सजाय दिलाउन लागिपर्नुपर्छ । भ्रष्टाचारीको वैभव र उसको परिवारलाई सामाजिक बहिष्कार गर्ने अभियान सुरु गर्नुपर्छ । 

अन्ततः भ्रष्टाचार सरकार वा व्यक्तिको कमजोरी मात्र होइन, यो एउटा रोग हो जसबाट तपाईं हामी जो कोही संक्रमित वा ग्रसित हुन सक्छौँ । सबै मिलेर यो रोगको उपचार गर्न ऐक्यबद्धता जनाऔँ । 

 

प्रकाशित :चैत्र १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्