नेपाली रंगमञ्चको पुनर्जागरण 

- राजाराम पौडेल

चैत्र १२, २०७५

नेपाली रंगमञ्चीय गतिविधिमा देखिएको गतिशिलताले रंगमञ्चको माहोल देशैभर बढ्दै गएको छ । गएको फागुन महिनामा मात्रै नेपालमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरका महोत्सव भए । काठमाडौं, पोखरा, विराटनगर, जनकपुरमा भएका ती अन्तर्राष्ट्रिय नाटक महोत्सव तथा सुर्खेतमा भएको राष्ट्रिय नाटक महोत्सवले नाट्यप्रेमीमाझ रौनकता थप्यो । साँस्कृतिक संस्थानले रारा राष्ट्रिय नाटक महोत्सवको आयोजना गरेर नाट्य क्षेत्रमा सरकारको उपस्थिति समेत देखायो । यस्ता महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय मात्र नभएर स्थानीय सम्भावना बोकेका टिमले समेत नाटक देखाए, जसका कारण रंगमञ्चमा सक्रिय हुनेहरूमा उत्प्रेरणा थपियो । 

अहिले अन्तर्राष्ट्रिय नाटक हेर्ने अवसर कामाडौंमा मात्र नभएर मोफसलमा समेत प्राप्त हुन थालेको छ । यसले नाट्य क्षेत्रमा आशा जगाएको छ । यस्ता कार्यक्रमले नाट्य क्षेत्रमा नयाँ अवधारणा सोच्ने नाट्यकर्मीलाई पे्ररित गर्छ । कहीँ थिएटर खोलेर माहोल बनाउन थालिएको छ भने कतै रंगमञ्चमा राम्रो गर्न खोज्ने समूहले यसलाई समर्थन गरिरहेका छन् । रंगमञ्चीय गतिविधि काठमाडौंमा मात्र सीमित छैन । मोफसलका विभिन्न ठाउँमा थिएटर सञ्चालनमा आएका छन् । त्योभन्दा बढी विभिन्न ठाउँमा नाटक मञ्चन हुने क्रममा वृद्धि भएको छ । हल भाडामा लिएरै भए पनि नाटक मञ्चन भैरहेका छन् । 

यतिबेला नेपाली रंगमञ्चको माहोल बढेको रंगकर्मी राजन खतिवडा बताउँछन् । ‘रंगमञ्चको माहोल अहिले बढेको छ, गर्मागर्मी बढेको छ’ उनले भने । नाटककै मात्र भर परेर जीवन चलाउने अवस्था आउन थालेको छ । ५–७ वर्षदेखि रंगकर्मीहरू रंग क्षेत्रमा टिकिरहेकाले यसो भन्न सकिने अवस्था सिर्जना भएको खतिवडाको तर्क छ । 

हुन पनि केही रंगकर्मी रंगमञ्चमा लागेर सामान्य जीवन चलाउन सफल छन् । नाट्य क्षेत्रमा साधना गरेर खारिएका कलाकार नेपाली चलचित्रमा समेत आफ्नो दबदबा कायम गर्न सफल छन् । दर्शकले रंगमञ्चबाट उदाएका कलाकारको अभिनयमा जीवन्तता भेट्छन् ।

नाट्य क्षेत्रमा आउनेहरू फरक–फरक स्वभावका छन् । कोही रहरले आउँछन् । कोही केही गर्ने उद्देश्यले आउँछन् । मञ्चन हुने नाटक अझै पनि लोकशैली र परम्परागत शैलीमा घुमिरहेको छ । प्रयोगात्मक शैली अपनाउने कमै छन् । सबै तिरको स्कुलिङ नहुँदा यस्तो भएको खतिवडा बताउँछन् । रंगकर्मीबीच छलफल अन्तरक्रिया हुने क्रम बढेको छ, अन्तरसंवाद हुन थालेको छ । त्यसैले लामो साँस्कृतिक इतिहास रहेको नेपाली रंगमञ्च परिपक्व बन्दैछ ।

रंगमञ्च सिमितता तोड्दै व्यापक हुँदै गएको छ । केन्द्रीकृत गतिविधि विकेन्द्रित हुन थालेका छन् । नाट्य क्षेत्रमा नयाँ–नयाँ सम्भावना देखिन थालेको छ । विभिन्न कार्यक्रममार्फत नाट्यकर्मी, नाट्य पारखीलाई जमघट गराउने कार्यक्रममा समेत वृद्धि हुँदै गएको छ । 

अब नेपाली रंगमञ्चको आफ्नै फाउन्डेसन बनाउनु पर्ने आवश्यकता रंगकर्मी खतिवडा औंल्याउँछन् । नाटक कहिल्यै मर्दैन, यसको प्रतिस्पर्धी अरू छैनन् । गहिरो साधना गर्ने क्षेत्र हो नाटक । व्यावसायिक बाटोमा हिँड्नेहरूभन्दा पनि साधना गर्नेहरू यसमा रमाउँछन् । नाटकमा नयाँ भाषा खोज्ने समय आएको मण्डला नाटकघरका क्रियटिभ डाइरेक्टर समेत रहेका रंगकर्मी खतिवडा बताउँछन् । नाटक पर्फमेन्सको भाषा हो । न्यारेटिभको भाषामा नयाँपन खोज्नुपर्छ । अभ्यास र चिन्तन जारी राख्नुपर्छ । 

रंगकर्मी सोमनाथ खनाल रंगमञ्चीय गतिविधिका कारण रंगमञ्चमा काम गर्नेहरू बढ्दै गएको बताउ“छन् । ‘दर्शक च्यालेन्जिङ छन्, राम्रो नाटक भए दर्शक आर्कर्षित हुन सक्छन्’ उनले भने । नेपालमा स्कुलिङ तथा नाटकको समीक्षा कम हुन्छ । राज्यको नीति स्पष्ट छैन । अहिले कलाकारले निजीस्तरबाटै आफ््ना रुचिका लागि काम गरिहेका छन्, खनालले थपे । 

हाल नेपालमा थिएटर मलको कीर्तिपुर रंगमञ्च, कथा घेरा समूहको कौशी थिएटर, मण्डला नेपाल थिएटरको मण्डला नाटक घर, शिल्पी थिएटरको गोठाले नाटक घर, सर्वनाम नाटकघरको कुञ्ज थिएटर, शैली थिएटर सञ्चालनमा छन् । यस्तै पुरानोघर थिएटर बन्दैछ । होटल ब्रजमा नागा थिएटर छ, जहाँ हरेक वर्ष कम्तिमा एउटा अंग्रेजी नाटक देखाइन्छ । यस्तै झापामा परिवर्तन थिएटर छ । विराटनगरमा गुरुकुल थिएटरको सुशीला कोइराला नाटकघर छ भने झोराहटमा झोराहट थिएटर सञ्चालनमा छ । पोखरामा पोखरा थिएटरको गन्र्धव नाटकघर सञ्चालनमा छ । यसका अलावा केही नाटकघर बन्ने क्रममा छन् । कतिपय ठाउँमा हल भाडामा लिएर रंगमञ्चलाई सक्रिय बनाउने गरिएको छ । झापा, इलाम, मोरङ, सुनसरी, जनकपुर, मुगु, पोखरा, हेटौंडा आदि ठाउँ रंगमञ्चको क्षेत्रमा अघि बढ्दैछन् । 

नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ केही सहरी क्षेत्रमा रंगमञ्चीय गतिविधि बढ्दै गएको बताउँछन् । व्यक्तिगत प्रयासमा माहोल बनेको छ । नाट्यकर्मीकै पहलमा भैरहेको यो प्रारम्भिक प्रयास हो । अब राज्यले अनुकुल वातावरण सिर्जना गरिदिनुपर्छ । नाट्यकर्मीकै जागरुकताले यहाँसम्म आएको हो । सरकारी पक्षले होस्टेमा हैसे गरिदिए हुन्छ श्रेष्ठले बताए । 

श्रेष्ठ भन्छन्, हामी नाटकमा कमजोर छैनौं । अन्तर्राष्ट्रिय स्तरका नाटक हेर्दा नेपाली नाटकको आफ्नै स्वाद देखिन्छ । उनीहरूको परिवेश र हाम्रो परिवेश फरक छ, तर हाम्रा नाटक प्राविधिक रूपमा कमजोर देखिन्छन् । व्यवस्थित हुन समस्या देखिन्छ, नाटकघर सञ्चालन तथा नाटक समूहको सक्रियताले यसमा पनि परिवर्तन भने आउँदैछ । नेपालमा यति नाट्यकर्मी छन्, यति ठाउँमा नाटक मञ्चन हुन्छ भन्ने ठ्याक्कै तथ्याङ्क नभए पनि संख्या र क्रियाशिलता बढाएको अनुभूति यहाँ हुने गतिविधिले गराउँछ । 

नेपालमा नाटकसम्बन्धी स्कुलको आवश्यकता भएको नाट्यकार सरुभक्त श्रेष्ठ बताउँछन् । ‘नेपाली नाट्यकर्मीका लागि शिक्षा लिन नाट्य महाविद्यालयको आवश्यकता छ’ श्रेष्ठले बताए । नाट्यकर्मी, नाट्यशालाको विकासमा ठोस पहल गर्न राज्यले निश्चित बजेट छुट्याउनु पर्ने उनको तर्क छ ।

नाट्यकर्मी अनुप बराल नेपालको रंगकर्म भाइबे्रन्ट बन्न थालेको बताउँछन् । नाट्य चेत, त्यसको अभ्यास अनि अनुशासन । दर्शकको उपस्थिति । परफरमिङ स्पेस र यी सबैलाई जोड्ने रचनात्मक वातावरण । सायद यिनै कुराहरू हुन् जसले हाम्रो रंगकर्मलाई भाइब्रेन्ट बनाउँदैछ ।

पोखरा थिएटरका क्रियटिभ डाइरेक्टर परिवर्तन थिएटर स्थापनाले मात्र रंगमञ्चले गति लिन नसक्ने बताउँछन् । रंगमञ्चले गति लिन निरन्तरता र दर्शक आवश्यक पर्ने उनको बुझाइ छ । पोखरामा थिएटर सञ्चालनमा आएपछि विभिन्न २९ वटा नाटक मञ्चन भएर माहोल बढाए पनि यसलाई कायम राख्न सहज नभएको उनले बताए । 

वरिष्ठ कलाकार प्रकाश घिमिरेले रंगमञ्चलाई चलायमान बनाउन थिएटरहरूले मुख्य भूमिका खेलेको बताउँछन् । पछिल्लो समयमा रंगमञ्चीय गतिविधि बढेकोमा उनी खुसी छन् । रंगकर्मी माओत्से गुरुङ रंगक्षेत्रको माहोल जाग्दै गएको कारण आफू १८ वर्षपछि पुनः रंगमञ्चमा फर्केको बताउँछन् । 

नाट्य क्षेत्रका लागि हुने कार्यशालाका कारणसमेत नयाँ पुस्ताको आकर्षण रंगक्षेत्रमा थपिँदै गएको छ । नाटक निर्माण गर्दा लाग्ने लगानीको तुलनामा मञ्चनबाट प्राप्त हुने आम्दानी कम हुने हुँदा यो क्षेत्रमा अघि बढ्न खोज्नेलाई अप्ठ्यारो परेको छ । राज्यले यसमा सहजता प्रदान गर्न सक्ने हो भने नेपाली रंगमञ्चको भविष्य उज्जवल बन्दै उनीहरू लामो समयसम्म यो क्षेत्रमा टिक्न सक्ने रंगकर्मीहरू बताउँछन् । 

हरेक वर्ष मार्च २७ तारेखमा विश्व रंगमञ्च दिवस मनाइन्छ । दिन विभिन्न कार्यक्रम आयोजना गरी रंगमञ्चीय गतिविधिका बारेमा बहस छलफल समेत हुने गर्छ । यसपालीको विश्व रंगमञ्च दिवस चैत १३ गते बुधबार परेको छ । 

प्रकाशित :चैत्र १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्