फेवातालमा डुबेर मृत्यु हुने बढे

- राजाराम पौडेल

चैत्र ९, २०७५

चैत २ गते शनिबार बिहान पौने १० बजेतिर पोखरा महानगरपालिका वडा नं. १८ सेदीबगर नजिकै खपौंदीमा तालको किनारामा लुगा र हेल्मेट मात्र देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । खबर पाएलगत्तै त्यहाँ पुगेको प्रहरीको रेस्क्यु टिमले तालमा खोजतलास गर्दा म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशिर केसीको शव भेटियो । केसी पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी थिए । अहिले अवैधानिक असुलीका लागि विवादमा रहेको गण्डकी मेडिकल कलेजका विद्यार्थीको शव यसरी मृत अवस्थामा फेला परेपछि प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको थियो । अनुसन्धानपछि स्थानीय प्रहरी आफ्नो साथीलाई पठाएको म्यासेजअनुसार शिशिरले तालमा हाम फालेर आत्महत्या गरेको निष्कर्षमा पुगेको थियो ।

केसीले आफ्नो मोबाइलबाट साथीहरूलाई आफूलाई खोज्न आउनु भनेर विभिन्न म्यासेज गरेको प्रहरी अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । आत्महत्या गर्नुअघि शिशिर आफूले लगाएको पहिरन फुकालेर तालमा हाम फालेको अनुमान गरिए पनि उनको मोटरसाइकल र हेल्मेट फरक–फरक ठाउँमा देखिनुले उक्त घटनालाई सन्देहको घेरामा ल्याएकोले घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मृतक शिशिरले डिप्रेसनको औषधिसमेत प्रयोग गर्ने गरेको तथ्य खुलेपछि प्रहरीले सघन अनुसन्धान गरिरहेको बताइन्छ । 

यसअघि फागुन १९ गते पोखरा नर्सिङ क्याम्पसमा अध्ययनरत कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी घर भै पोखरा सिद्धार्थचोक बस्ने १९ वर्षीया दिव्या अधिकारीको शव पनि फेवातालमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । त्यसबेला अधिकारीको शव पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाट फेवाताल किनारमा भेटिएको थियो । 

फागुन १९ गते नै फेवातालमै डुबेर प्याराग्लाइडिङ सिक्दै गरेका एक विदेशी सोलो पाइटलको मसेत मृत्यु भएको थियो । रोमानियाका ती ४० वर्षीय पाइलट एड सिजर फेवातालमाथिको आकाशमा प्याराग्लाइडिङ गरिरहेको अवस्थामा एक्कासि तालमा खसेका थिए । 

 

प्रकाशित :चैत्र ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्