बन्ने भयो धुर्मुसको रंगशाला 

- साप्ताहिक संवाददाता

चैत्र ९, २०७५

धुर्मुस–सुन्तली फाउन्डेसनले ३ अर्ब रुपैयाँ लगानी गरेर चितवनमा बनाउने भनिएको अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध रंगशालाको निर्माणका प्रारम्भिक चरणका कामहरू सुरु भएका छन् । गत माघ १६ गते निर्माणको घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला नाम दिइएको उक्त बहुउद्देश्यीय परियोजनाका प्रारम्भिक चरणका कामहरू तीन सातादेखि अघि बढाइएको परियोजनाका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’ले जनाएका छन् ।

‘अहिले प्रारम्भिक चरणका कामहरू अगाडि बढिरहेका छन् । कम्पाउन्डिङ, स्टोर निर्माण गर्ने, कामदार बस्ने घरहरू निर्माण, आयोजना कार्यालय बस्ने घर निर्माणका कामहरू अघि बढिरहेका छन्,’ फाउन्डेसनका अध्यक्ष धुर्मुसले भने, ‘प्राविधिकतर्फ गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।’ निर्माणका लागि गुरुयोजनालाई अत्यन्त महत्वपूर्ण मानिन्छ । गुरुयोजनाअन्तर्गत नै कुन संरचना कहाँ बनाउने, कत्रो साइजको संरचना बनाउने, कुन–कुन विद्याका खेलहरूलाई समेट्नेजस्ता कुराहरू प्रस्ट हुनेछन् । 

धुर्मुसका अनुसार गुरुयोजनामा ध्यान पु¥याइएन भने त्यसको डिजाइन र डीपीआरमा समस्या आउने भएकाले पनि हामी अहिले गुरुयोजनामा बढी केन्द्रित भएका छौं । ‘हामीले दुई–चार चरणमा गुरुयोजनामाथि पनि छलफल गरिसकेका छौं,’ उनले थपे, ‘गुरुयोजनामा अहिले सम्बन्धित विषयका विज्ञहरूले गहन अध्ययन गरिरहेका छन् । गुरुयोजना यो वर्षको अन्त्यसम्ममा टुंगोमा पुगिसक्छ ।’ गुरुयोजना टुंगो लागेसँगै २५ हजारभन्दा बढी दर्शक क्षमताको उक्त रंंगशालाका अन्य कामहरू अघि बढ्ने धुर्मुसले बताए । मुख्य रंगशाला क्रिकेटका लागि बनाइने भए पनि उक्त रंगशालामा क्रिकेटबाहेक फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, स्वीमिङलगायतका संरचनाहरूको पनि परिकल्पना गरिएको छ । 

निर्माणको प्रारम्भिक काम सुरु

गुरुयोजना आउनेबित्तिकै काम सुरु हुन्छ, किनभने त्यसअघि नै हामीले तयारीका कामहरू सकिसकेका हुन्छौं । नेपालमा कुनै पनि योजना गुरुयोजना नबनाएरै शिलान्यास गरिन्छ भने कुनै तयारी नै नगरिएको योजना यति समयमा सक्ने भनेर समय निर्धारण गरिन्छ, तर हामीले शिलान्यासपछि कुनै पनि काम नरोकियोस् भनेर पहिले नै तयारी गरिसकेका छौं । सामान डम्पिङदेखि भण्डारणसम्मका सबै काम हामीले अहिल्यै गरिरहेका छौं । बालुवा, गिट्टी, रोडादेखि लिएर सिमेन्टसम्मको तयारी अगाडि बढिसकेकोले शिलान्यास गरिसकेपछि तोकिएमै मितिमा रंगशालाको निर्माण सम्पन्न गरिसक्ने हाम्रो लक्ष्य छ । 

सहयोगी थपिँदै 

कला क्षेत्र, सामाजिक क्षेत्र र व्यवसायिक घरानाहरूबाट पनि अन्तर्राष्ट्रिय स्तरको उक्त बहुउद्देश्यीय रंगशाला निर्माणका लागि सहयोगहरू जुट्न थालेका छन् । देशदेखि विदेशबाट पनि थुप्रैले सहयोग गर्ने वचन दिएका छन् । अहिले यो परियोजनामा थुप्रै मानिस जोडिएका छन् । यति नै जनाको टिम र यो नै भनेर हामीले किन भनेनौं भने यो सबैको साझा परियोजना हो । यसमा सबैले अपनत्व ग्रहण गर्नुपर्छ । भोलिका दिनमा दुई तीन महिनापछाडि कुनै निर्माण कम्पनी अभियन्ता बनेर आउन सक्छन्, उनीहरूलाई पनि यो अभियानमा जोड्नुपर्छ । अहिले धेरैभन्दा धेरै समाजमा प्रतिष्ठित व्यक्तिहरू हाम्रो यो परियोजनामा जोडिनुभएको छ र धेरैभन्दा धेरै विषयविज्ञहरू जोडिनुभएको छ । हरेक दिन कैयौं मानिस जोडिइरहेका छन् । भोलिका दिनमा सबै नेपाली दाजुभाइहरू दिदीबहिनीहरू हामीसँग जोडिनुहुन्छ ।

यसरी जुटाइँदैछ पैसा 

रंगशाला निर्माणका लागि आवश्यक स्रोत जुटाउने सन्दर्भमा धुर्मुस भन्छन्— हाम्रो एउटा एप आउँदैछ, मोबाइलबाट पनि डोनेसन गर्न मिल्ने । केही समयभित्रै सार्वजनिक गर्ने गरी त्यसको प्रक्रिया अघि बढिरहेको छ । हामीले एचआर पार्टनरका रूपमा मेरो जबलाई लिएका छौं, कर्मचारीको भ्याकेन्सी भएर नियुक्तिको प्रक्रिया अगाडि बढिसकेको छ । हामीले केही मार्केटिङ म्यानेजरहरू पनि माग गरेका छौं । उहाँहरू आइसकेपछि उहाँहरूले विभिन्न ठाउँका सहयोगीले सहयोग घोषणा गरेको ठाउँ वा अरु ठाउँहरूमा गएर आर्थिक सहायता जुटाउन थाल्नुहुन्छ । त्यसबाहेक विदेशमा कार्यक्रम आयोजना गर्नेदेखि त्यहाँ रहेका विभिन्न संघसंस्था, विभिन्न समाज, आमा समूह, अन्य समूहहरूबाट सहयोग जुटाउन विभिन्न अभियान सुरु भएका छन् । 

धुर्मुसका अनुसार रंगशाला निर्माणका लागि हरेक जिल्लामा सहयोग समितिहरू गठन हुँदैछन् । यो हरेक जिल्लाको अपनत्व ग्रहण हुने परियोजना किन हो भने खेलकुदका महत्वपूर्ण विधाका खेलाडीहरू हरेक जिल्लाबाट छनौट भएर आउँछन्, त्यसैले जिल्लाहरूले पनि रंगशालाको अपनत्व लिनेछन् । 

स्वदेशी प्रयासमै निर्माण 

यो परियोजना सम्पूर्ण रुपमा नेपालीहरूकै सहयोगमा पूरा गर्ने धुर्मुसले बताएका छन्, अन्यथा यसको निर्माणको प्रक्रिया नै अर्को हुन्थ्यो होला, कुनै कम्पनीमार्फत अघि बढ्थ्यो होला, सेयर आह्वानका कुरा हुन्थे होलान्, तर हाम्रो चाहना भनेको सीमित व्यक्ति र वर्गलाई अपनत्व ग्रहण गराउने र लाभ दिने होइन । सिंगो देशको चिनारी हुने यो रंगशाला अन्तर्राष्ट्रिय रुपमा छुट्टै पहिचान बोकेको रंगशाला हुनेछ । 

अलग सन्देश प्रवाह

नागरिकले नै यो संरचना तोकिएको समयमा पूरा गर्दा यसले दिने सन्देश फरक हुन्छ । देशका कैयौं राष्ट्रिय गौरवका परियोजनाहरू अलपत्र छन्, कतै ठेकेदार भागिरहेका छन्, कतै तोकिएको समयमा संरचना पूरा भएका छैनन् । नागरिकले नै समयमा यत्रो ठूलो परियोजना आफ्नै बलबुतामा पूरा गर्न सके भने राज्यले पनि आफ्नो नीति नियम संशोधन गरेर निर्माण प्रक्रियाको मोडल बदल्न सक्छ कि ? यसले समग्र देशको विकासलाई कुन बाटोमा हिँडाउने र कुन प्रक्रियाले देशको छिटो विकास हुन्छ भन्ने कुरा यो परियोजनाले निर्धारण गर्नेछ । 

निर्माण परिचालन मोडल 

रंगशाला निर्माण परिचालनको मोडल ठ्याक्कै कस्तो बनाउने भन्ने विषयमा अहिले हामी छलफल गरिरहेका छौं भन्दै धुर्मुस भन्छन्— बस्ती बनाउँदा फास्टट्र्याकमा जसरी काम गरेका थियौं, त्यही मोडल हुनेछ । समग्र नेतृत्व म आफैले गर्ने हो । धुर्मुस–सुन्तली फाउन्डेसन यो परियोजनाको संयोजक मात्रै हो, यो विषयविज्ञहरूबाट बन्ने हो । यसका लागि प्राविधिक समिति, लेखा समिति, खेलकुद समितिलगायतका छुट्टाछुट्टै समितिहरू छन्, अरू समितिहरू पनि गठन हुँदैछन् । दिगो रुपमा खट्ने मानिसहरूलाई सम्मिलित गराएर तीब्र गतिमा काम गर्ने लक्ष्य छ । त्यस्ता व्यक्तिहरू समेटेर लगभग पाँचवटा समितिहरू क्रियाशील हुनेछन् । लेखा समितिको नेतृत्व वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट मदन शर्माले गरिरहनुभएको छ । प्राविधिक समितिमा नेपालका वरिष्ठ इन्जिनियरहरू हुनुहुन्छ । 

कामदार व्यवस्थापन 

उक्त रंगशाला नेपाली कामदारबाटै काम सम्पन्न गर्ने भनेर आह्वान भैसकेको छ । धुर्मुसका अनुसार दक्षताको हकमा विषयविज्ञ नेपालीबाटै बनाउने प्रयास भैरहेको छ, तर हामी कहाँ यत्रो ठूलो संरचना निर्माणको अभ्यास, अनुभव छैन् । त्यसकारण भविष्यमा हामीले अन्तर्राष्ट्रिय कन्सल्टेन्सी हायर गर्नुपर्ने पनि हुन सक्छ । तैपनि अहिले हामीले प्रारम्भिक चरणका कामहरू अगाडि बढाइरहेका छौं । रंगशालासम्बन्धी सबै काम नेपालीबाटै गराउने हाम्रो चाहना हो, तर त्योसम्बन्धी अनुभवी मानिस कति पाइन्छन् ? धेरै कुरा त्यसैमा भर पर्छ । 

प्रकाशित :चैत्र ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्