नेपाल चिनाउने सपना बोकेकी ललिता

- साप्ताहिक संवाददाता

चैत्र ८, २०७५

कास्की जिल्लाको अर्घौ अर्चलेमा जन्मिएकी ललिता लामिछाने पोखराको मुस्ताङचोकमा बस्छिन् । हालसम्म उनले १० किलोमिटर, ५ किलोमिटर, ३ किलोमिटर, १५ सय मिटर तथा ८ सय मिटरका विभिन्न दौडमा भाग लिएर उपाधि जितिसकेकी छिन् । ‘मेरो सबै ध्यान दौडमै छ, म दौडमा नेपालको नाम राख्न चाहन्छु’ ललिताले भनिन् ।

उनको दैनिकि त्यति सहज भने छैन तर पनि मेहनतका साथ लक्ष्यमा पुग्ने उनको प्रयास छ । ललिता विहान ४ बजे उठछिन् । ५ बजेसम्म फ्रेस हुन्छिन् । ६ बजे प्रशिक्षणका लागि पोखरा रंगशालातर्फ लाग्छिन् । साढे ६ बजेदेखि दुई घण्टा प्रशिक्षण लिन्छिन् र घरमा फर्कन्छिन् अनि स्कुलतर्फ लाग्छिन् । कतै प्रतियोगिता छ भने समय मिलाएर भाग लिन्छिन । ललिताले शंकर शाहसँग प्रशिक्षण लिँदै आएकी छिन् । 

ललिता कक्षा ९ मा अध्ययनरत छिन् । उनको सपना सफल म्याराथन धावक बनेर नेपाललाई विश्वमा चिनाउनेछ । त्यसका लागि उनी मेहनत पनि गरिरहेकी छिन् । उनी सानो उमेरदेखि नै दौडन थालेकी हुन् । सानोमा आमाले उनलाई दौडाउने गर्नुहुन्थ्यो । ‘हर्लिक्स’ दिने बहानामा आमाले उनलाई दौडाउन थाल्नुभयो । ‘यति दौडेर आएपछि यति चम्चा हलिक्स दिन्छु भनेपछि हलिक्स खाने चाहनामा दौडन थाले’ उनले विगत सम्झिदै भनिन् । लामिछानेलाई यसरी दौडन हौस्याउने उनकी आमा विष्णुमाया लामिछाने अहिले यो संसारमा छैनन् । पाँच वर्ष अघि जण्डीसका कारण उनको निधन भैसकेको छ । 

ललिता जीवनयापनका लागि परिवारले चलाएको लामिछाने चमेनागृहमा सघाउँछिन् । केही समय घरको काम गरी पसलमा सघाउन पुग्छिन् । पढाइका लागि बेलुका र बिदाको समय छुट्याउँछिन् । नेपालगञ्जमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ हजार ५ सय तथा ८ सय मिटरमा गण्डकी प्रदेशबाट प्रथम हुँदै छनौटमा परेकी ललिता अब त्यसमा राम्रो गर्ने योजनामा छिन् । यसअघि उनी राष्ट्रपति कपमा कास्की जिल्ला प्रथम भएकी थिइन् । 

लामिछाने झापाको दमकमा भएको ३ किलोमिटर दौडमा प्रथम, लुम्बिनी म्याराथनमा ५ किलोमिटरमा प्रथम, कास्कीको लेखनाथमा भएका विभिन्न दौँड प्रतियोगिता, काहुँ म्याराथन, सराङकोट म्याराथनमा प्रथम, पोखरा म्याराथनमा लगातार तीन वर्षसम्म छात्रातर्फ प्रथम भएकी थिइन् । उनले इटहरीमा भएको राष्ट्रिय प्रतियोगितामा समेत भाग लिएकी थिइन् । 

खेल तथा बसाइका कारण उनले अध्ययन गर्ने स्कुल भने परिवर्तन भैरहेको छ । डाइनामिक एकेडेमी, लक्ष्मी मावी हुँदै अघिल्लो वर्षदेखि बेसलाइन एकेडेमीमा अध्ययनरत ललिता भन्छिन्— ‘खेलको माध्यमबाट परिवारको, जन्मठाउँको, देशको तथा आफ्नो नाम राख्ने सपना छ ।’

 

प्रकाशित :चैत्र ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्