होलीको खाना

- मोदनाथ पौडेल (न्युट्रिसियन)

चैत्र ६, २०७५

    होली जाडो सकिएर गर्मीको आगमन हुने बेलामा पर्छ । यति बेला मौसम ठिक्कको हुन्छ । 

    होली रंगको पर्व भए पनि यस दिन विभिन्न परिकार बनाएर खाने चलन छ । यो दिन परम्परागत मिठाइ, गुलिया, गुजिया तथा दूधजन्य मिठाइ बढी प्रयोग गरिन्छ । 

    मिठाइ मात्र खानुभन्दा माछा, मासु अनि फलफूल पनि आफ्नो खानामा समावेश गर्नु उपयुक्त हुन्छ । यसले सन्तुलित आहार प्राप्त हुनुका साथै यो समयमा लाग्ने रुघाखोकीबाट जोगिन सकिन्छ ।

    होलीमा भाङको घोट्टा खाने चलन छ । यस्ता खानेकुरा नखानु नै उचित हुन्छ । 

    दिनभर होलीको रंगमा मस्त भइने हुँदा बिहान सन्तुलित खाना खाएर मात्र घरबाहिर निस्कनुपर्छ । 

    अचारमा आलुको साटो काँक्रा, मुला तथा आलसमा कागती हालेर स्वस्थकर अचार बनाउन सकिन्छ । 

    दिनभर बाहिर हिँड्डुल गरिने भएकाले डिहाइड्रेसन हुन नदिन दिनभरमा कम्तीमा ८ गिलास पानी पिउनुपर्छ । बजारमा पाइने इनर्जी ड्रिङ्सको साटो उखु वा अन्य फलफूलको जुस पिउनु उपयुक्त हुन्छ । 

    यसैगरी केरा पनि खान सकिन्छ । केरामा प्रसस्त मात्रामा पोटासियम पाइन्छ । यसले इलेक्ट्रोलाइट सन्तुलनमा सहयोग पुर्‍याउने भएकाले उच्च रक्तचापका बिरामीलार्ई पनि फाइदा हुन्छ । 

    बूढाबूढी तथा मुटुका रोगीलार्ई चिल्लो कम भएका खानेकुरा दिनुपर्छ । मधुमेहका बिरामीले मिठाइ नखानु नै वेश हुन्छ । 

    घरमा सबैलार्ई एउटै खालको खानेकुरा बनाइने हुँदा गर्भवती, सुत्केरी तथा केटाकेटीहरूको खानामा विशेष ध्यान पुर्‍याउनुपर्छ । यति बेला उच्च क्यालोरीको आवश्यकता पर्छ त्यसैले प्रोटिन तथा कार्बोहाइड्रेडजन्य खानेकुरामा जोड दिनुपर्छ । 

    बिहानको नास्तामा मांसाहारीले अण्डा खानसक्छन् । यो शक्तिवर्द्धक नास्ता हो । शाकाहारीले भने दही, फलफूल अनि बदाम खानु उपयुक्त हुन्छ । गाजरको खिर खाँदा प्रोटिनका साथमा फाइबर पनि प्राप्त हुन्छ । यस्तो खिर स्वादिलो, पोषिलो तथा भरिलो हुन्छ ।

 

प्रकाशित :चैत्र ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्