भाङ खाएपछि उफ्री–उफ्री नाचेछु 

- साप्ताहिक संवाददाता

चैत्र ५, २०७५

नीता ढुंगाना, अभिनेत्री 

मलाई यो भाङ भन्ने चिज अचम्मको लाग्छ । म सानै थिएँ । शिवरात्रीको दिन हेटौंडाको शिव मन्दिरमा पूजा गर्न गएकी थिएँ । त्यहाँ भाङ मिसाइएको लड्डु बेच्न राखिएको रहेछ । मैले प्रसाद स्वरूप त्यो लड्डु खाएँ । त्यसमा भाङ मिसाइएको छ भन्ने मलाई थाहा थिएन । त्यो लड्डु खाएपछि म लट्टिएछु । त्यसपछि म कतिबेला घर पुगे भन्ने थाहा भएन । त्यसपछि घरमा गएर हाँसेको हास्यै गरेछु । घर पुगेपछि उफ्रिने, रुने, हास्ने गर्न थालेपछि बुबाममी पनि डराउनुभएछ । त्यसको केही समयपछि म सुतेछु । करिब १२ घण्टा सुतेपछि भाङको नशाले छोड्यो । त्यसपछि त बुबाममीको धेरै गाली खाएँ अनि साथीहरूले पनि मैले अघिल्लो दिन गरेको व्यवहार सम्झेर मलाई जिस्क्याउन थाले । त्यसपछि लाजले कतिदिन त घर बाहिरै निस्किन सकिनँ । 

यही क्रममा म काठमाडौं आएँ । यहाँ धेरै मानिससँग चिनजान हुन थाल्यो । नयाँ–नयाँ साथी पनि बन्न थाले । तीन वर्ष अघिको कुरा हो । म होली खेल्न चाबहिलस्थित एक जना साथीको घर गएकी थिएँ । त्यहाँ मलाई खानेकुरामा भाङ मिसाएर दिएछन् । म झुम्म भएछु । मलाई नाच्न एकदमै मन लाग्ने त्यसैले भाङ खाएपछि उफ्री–उफ्री नाचेछु अनि साना–साना कुराहरू देख्यो भने पनि त्यसैलाई सम्झेर धेरै हाँसेको अलि–अलि सम्झना छ । 

भाङ खाएपछि त त्यसको तालमा साथीहरूसँग होली खेल्न निकै रमाइलो भएको थियो । त्यतिमात्र होइन, जब मलाई भाङ लाग्दै गयो त्यसपछि कहिले कम्प्युटर चलाएको जस्तो गर्न थालेछु, अनि कहिले साथीहरूसँग हात मिलाउन जाँदो रहेछु अनि कहिले हातमा दिसा देख्दो रहेछु अनि रुँदै मेरो हातमा गु लाग्यो भनेर आफ्नो हात भित्तामा पुछ्दो रहेछु । यो कुरा मलाई केही पनि थाहा थिएन । 

भोलिपल्ट साथीहरूले तैले हिजो यसो गरिस् भनेर सुनाए पछि चाहिँ निकै हाँसो उठ्यो । भाङ खाएपछि भोक पनि अत्यधिक लाग्दो रहेछ । मुख सुक्खा हुने अनि केही खानेकुरा देख्यो भने पनि खान मन लागि हाल्ने, जति खाए पनि नअघाउने हुँदो रहेछ । अहिले चाहिँ तीन वर्ष भयो मैले भाङ खाएको छैन । 

प्रकाशित :चैत्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्