होलीको मिठास त गाउँमै छ

- कृष्ण भट्टराई

चैत्र ५, २०७५

एक दशकभन्दा लामो समयदेखि कलषोक्रमा सत्रिय छन्– कामेश्वर चौरसिया । वीरगन्ज नगरपालिकाको वडा नम्बर–१९ नगुवामा जन्मिएका चौरसिया नेपाली चलचित्र तथा रंगमञ्चमा आफ्नै पहिचान बनाएका छन् । दर्जनौं नाटकमा अभिनय गरिसकेका यी कलाकारले एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । लुटबाट प्रारम्भ भएको उनको चलचित्र अभिनय यात्रा गरुड पुराणसम्म आइपुग्दा परिपक्व भैसकेको छ । विराज भट्टको नयाँ चलचित्र ‘साङ्लो’ मा अनुबन्धित कामेश्वर होली भनेपछि हुरुक्क हुन्छन् । चौरसियाले साप्ताहिकका कृष्ण भट्टराईसँग होलीका बारेमा लामै कुराकानी गरे :

होली आइसक्यो, तपाईंलाई कत्तिको लागेको छ ? 

होली एकदमै नजिक छ । होलीको साता त प्रारम्भ नै भैसक्यो । तपाईहरूलाई जस्तै मलाई पनि करिब–करिब होली लागिसकेको छ । 

के छ त यो वर्षको होली तयारी ? 

हरेक वर्ष झैं यसपटकको होलीमा पनि म आफ्नो गाउँ नगुवा पुग्दैछु । होलीभन्दा दुई दिनअघि घर जान्छु । परिवारका सदस्यहरू मात्र होइन, छर–छिमेक, नाता–गोता, साथीभाइ सबैसँग घुलमिल भएर होली मनाउँछु । जहाँसम्म तयारीको कुरा छ, त्यो पनि गाउँ पुगेपछि मात्र थाहा हुन्छ । 

तराईको होलीको विशेषता के छ ? 

जे विशेषता छ, त्यो तराईकै होलीमा त छ । काठमाडौंको होली त कर्पोरेट भैसकेको छ । काठमाडौंमा त होलीका इभेन्टहरू हुन्छन् क्यारे, त्यसको पनि आफ्नै रमझम होला तर गाउँको होलीमा जुन मिठास छ, त्यो शहरको होलीमा कहाँ पाइन्छ ? गाउँको होलीको आफ्नै मिठास हुन्छ । 

भन्नाले तपाईंले काठमाडौंमा होली मनाउनु भएको छैन ? 

अहँ, काठमाडौंमा मनाएको छैन । म नियमित रुपले काठमाडौं बस्न थालेको ११ वर्ष हुन लाग्यो, अहिलेसम्म होलीका लागि भनेर काठमाडौंमा अडिन सकेको छैन । अझ भनौं, मलाई काठमाडौंको होलीले आजको मितिसम्म रोक्न सकेको छैन । यो वर्ष पनि नरोक्ने निश्चित छ, किनभने म यसपालि पनि होली मनाउन वीरगञ्ज पुग्दैछु । 

बाल्यकालको होली र अहिलेको होलीमा के भिन्नता पाउनु हुन्छ ? 

ओहो...बाल्यकालको होलीको त कुरै नगर्नुस् । त्यति बेलाको होली पो होली त । हामी त होली आउनु भन्दा दुई–तीन हप्ताअघि देखि नै होलीको तयारी गथ्यौं । बाँस काटेर पिचकारी बनाउनेदेखि भाङको लड्डु बनाउन भाङको पात सुकाउनेसम्मको तयारी गर्नु पर्थ्यो । अहिले त गाउँमा पनि प्लाष्टिकको पिचकारी प्रचलनमा आइसकेको छ । भाङको लड्डू पनि तयारी नै पाइन थालेको छ । 

होली मनाउन तपाईंलाई गाउँ नै किन प्यारो लागेको ? 

होलीमा बिन्दास भएर खाने–पिउने काम हुन्छ । म पिउने प्रसंगमा अलि कमजोर छु, तर भाङ खाने प्रसंगमा भने अगाडि छु । गाउँमा जति नै खाएर ढक भए पनि कसै न कसैले घरसम्म पुर्‍याइदिन्छन् । खाएर जति नै हल्ला गरे पनि कसैको डर हुँदैन । हो–हल्ला नै भए पनि कसैले हात हाल्देला भन्ने डर हुँदैन । आफ्नै गाउँ, आफ्नै मान्छे भएपछि निर्धक्क भएर होली खेल्न पाइन्छ । होली खेल्ने क्रममा अति नै गरियो भने पनि बुरा ना मानो होली है..भन्दै माफी समेत माग्न पाइन्छ । होलीको असली मजा त गाउँ मै छ नि । 

होलीको सकारात्मक पक्ष के देख्नु हुन्छ ?

होलीका सकारात्मक पक्ष धेरै छन् । मलाई त यो पर्व बडो मज्जाको लाग्छ । वर्षभरीको गिला–सिकवा दुर गर्ने पर्व नै होली हो । कोही रिसाएको छ भने माफी मागेर नयाँ सम्बन्धको थालनी गराउने पर्व पनि होली नै हो जस्तो लाग्छ । खाएको बेला पनि माफी माग्न पाइने एउटै मात्र पर्व भनेकै होली हो । होलीको दिन सबै चिज माफ हुन्छ । मलाई त एक प्रकारले होलीको दिन नयाँ वर्षको पहिलो दिन जस्तै लाग्छ, सबै चिज नयाँ–नयाँ लाग्छ । 

अनि नकारात्मक ? 

नकारात्मक कुरा त केही पनि देख्दिन । हो, कसैको इच्छाविपरीत, जबर्जस्ती होली खेल्नु हुँदैन । त्यस बाहेक म होलीको नराम्रो पक्ष केही पनि देख्दिन । एउटा कुरा चाहिँ छ है, यो होली भन्ने पर्व कम्तिमा तीन–चार दिनको हुनु पर्ने । बिहान १०–११ बजेदेखि खेल्न थाल्यो, १–२ बजेसम्ममा सकिसक्छ । जम्मा एक दिन यो पर्व मनाएर धित मर्दैन । हल्का भाङ लागेर मात्तिने बेलासम्म होली नै सकिसक्छ । यो पक्ष चाहिं मलाई मन पर्दैन । 

मज्जाले मनाएको होली सम्झनुस् न ? 

मेरो त हरेक वर्षको होली मज्जाकै हुन्छ । अझ होलीको अवसरमा वीरगन्जमा आयोजना हुने महामूर्ख सम्मेलनको आफ्नै विशेषता छ । महामूर्ख सम्मेलनमा म हरेक वर्ष दर्शकका रूपमा सहभागि हुन्छु । कवि सम्मेलनमा पनि उत्तिकै रमाइलो हुन्छ । आफूलाई सबैभन्दा मूर्ख बनाउन सहभागीहरूले गर्ने प्रतिस्पर्धा गज्जबकै हुन्छ । 

तपाईं आफैंले चाहिँ भाग लिनु भएको छैन ? 

कतिपय प्रतिस्पर्धामा आफैंले भाग लिनुभन्दा दर्शकका रूपमा सहभागी हुनुमा अझ बढी रमाइलो हुन्छ । महामूर्ख सम्मेलन पनि त्यस्तै खालको एउटा रमाइलो प्रतिस्पर्धा हो । 

कलाकार भैसकेपछिको होली र कलाकार हुनुभन्दा अघिको होलीमा के फरक पाउनुभयो ? 

कलाकार हुनुभन्दा अघि म आफैं भैया प्रणाम, बुरा ना मानो होली है..भन्दै होली खेल्न घरबाट निस्कन्थें । कलाकार भैसकेपछि अरूले मलाई खोज्दै आएर होली खेल्न लिएर जान्छन् । 

यसपटकको होलीको विशेष योजना के छ ? 

यसपटकको होलीका लागि आफैंले भाङको लड्डू बनाउने योजना छ । म भोले बाबाको भक्त समेत भएकाले होलीमा हल्का रमाइलो गर्न मन लाग्छ । यसबाहेक मलाई माछा–मासुभन्दा मिठाइ नै बढी मन पर्ने भएकाले रसभरी, लालमोहन, रसमलाइ, बर्फी, खुवा जस्ता परिकार बनाएर खाने, ख्वाउने योजना बनाएको छु । 

खानपिनमा कत्तिको रुचि राख्नु हुन्छ ? 

म खानपिनको प्रसंगमा अति नै सहज छु । विशेष यही परिकार भन्ने छैन । दाल, भात, तरकारीदेखि माछा–मासुसम्म मलाई उत्तिकै प्रिय लाग्छन् । यद्यपि म नन भेजभन्दा भेज खानालाई नै प्राथमिकतामा राख्छु । रमाइलो कुरा के छ भने म खाना खानभन्दा पनि खाना बनाउन सिपालु छु । मैले बनाएको माछाको परिकार खानु भयो भने तपाईं पनि पल्किनु हुनेछ । 

प्रसंग बदलौं, अभिनयमा कसरी आउनुभयो ? 

म सानैदेखि अभिनय भनेपछि हुरुक्क हुने स्वभावको थिएँ । गाउँमा लाग्ने मेलादेखि स्कूलका नाचगानका कार्यक्रममा प्रायः अग्रसर भैरहन्थें । त्यही कलाकारिताको भोकले मलाई प्रमाणतत्र तहपछि काठमाडौं लिएर आयो । वास्तवमा म वीरगञ्जबाट काठमाडौं आउने कारण नै कलाकार बन्नका लागि हो । 

काठमाडौं आएपछिको यात्रा कसरी अघि बढ्यो ? 

काठमाडौं आएपछि संघर्ष नगरि सुखै थिएन । यद्यपि, मेरो संघर्ष त्यति कठोर थिएन । सन् २००८ मा काठमाडौं आएपछि म सोझै गुरुकुल थिएटर पुगें, किनभने मसंग थिएटरको अनुभव थियो । गुरुकुलमा सुनिल पोखरेलसँग भेट भयो । त्यति बेला गुरुकुलमा थिएटर फेस्टिभल चलिरहेको थियो । मैले भोलेन्टियरका रूपमा काम गर्ने मौका पाएँ । नाटकको वर्कसपमा सहभागिता जनाउने मौका पाएँ । रंगमञ्च सम्बन्धि धेरै कुराको ज्ञान मिल्यो । बिस्तारै अनुप बराल, वीरेन्द्र हमाल, राजन खतिवडाजस्ता रंगमञ्चका गुरुहरूसँग भेट भयो । अनुप बराल सरसँग त मैले प्रशिक्षण समेत लिएँ । त्यही क्रममा मैले चरणदास चोर, मलामीसहित थुप्रै नाटकमा अभिनय गरें । त्यो बेलादेखि प्रारम्भ भएको मेरो नाटय यात्रा भरखरै सम्पन्न अन्तर्राष्ट्रिय नाटक महोत्सवसम्म जारी नै छ । 

चलचित्रमा कसरी आउनुभयो ? 

नाटकमा अभिनय गर्दा–गर्दै भूषण दाहालले कान्तिपुर टेलिभिजनका लागि निर्माण गर्नु भएको टेलिश्रृंखला ‘हाम्रो टिम’ का केही दृश्यमा अभिनय गर्ने मौका पाएँ । त्यसपछि चलचित्र हाइवेबाट सानो भूमिकाका लागि प्रस्ताव आयो । अभिनय त गरें, तर चलचित्रमा मैले गरेको अभिनयले स्थान पाएन छ । तै पनि खासै दुःख लागेन । चलचित्र लूटमा रंगमञ्चका धेरै कलाकारलाई स्थान दिइएको थियो । मैले पनि सानो मौका पाएँ । दयाहाङ राईसँग करिब आधा मिनेटको दृष्यमा अभिनय गर्ने मौका पाएँ । त्यो पनि मेरा लागि ठूलै कुरा थियो । ती दुई चलचित्रको अनुभवपछि मैले चलचित्र ‘छड्के’ मा तराई मूलकै चरित्र निर्वाह गर्ने मौका पाएँ । उक्त चलचित्रमा मैले अभिनय गरेर देखाउने अवसर पाएँ । त्यही चलचित्रपछि हो मैले लगातार चलचित्र पाउन थालेको । चलचित्र रेशम फिलिलीको अभिनयले मलाई स्थापित गरायो ।

रेशम फिलिलीबाट नै मलाई दर्शकहरूले कलाकारका रूपमा नोटिस गर्न थाल्नु भयो । त्यसपछि मलाई हरेक चलचित्रमा फरक–फरक चरित्रमा प्रस्तुत गर्न थालियो । चलचित्र संरक्षणमा पनि म राम्रै भूमिकामा थिएँ । रेखा थापाको चलचित्र पलाँसमा नकारात्मक भूमिकामा प्रस्तुत भएँ । फाटेको जुत्ता, अमेरिका ब्वाइजदेखि भरखरै प्रदर्शनमा आएको चलचित्र गरुढ पुराणसम्म आइपुग्दा म आफ्ना हरेक भूमिकाबाट सन्तुष्ट छु । 

अहिले चाहिँ कुन चलचित्रमा व्यस्त हुनुहुन्छ ? 

अर्को महिनादेखि छायांकन प्रारम्भ हुने चलचित्र साङ्लोमा अभिनय गर्दैछु । अभिनेता विराज भट्टको यो चलचित्रमा विराजजी र म समानान्तर भूमिकामा छौं । 

संख्यात्मक हिसाबले चलचित्रमा अलि कमै देखिनु हुन्छ नि ? 

म चलचित्रका लागि काम खोज्दै हिंड्दिन । यदि मलाई कसैले अफर गर्छ भने म काम गर्न तयार हुन्छु, मलाई अभिनय गराउनु पर्यो भन्दै हिंड्दिन, शायद त्यसैले मेरा चलचित्रको संख्या अलि कम भएको हो । यसबाहेक मेरा बारेमा चलचित्र क्षेत्रमा केही भ्रम समेत फैलिएको छ । 

कस्तो भ्रम ? 

म अलि एट्टीच्यूटवाला छु, घमण्डी छु भन्नु हुन्छ कतिपयले । वास्तवमा म त्यस्तो छँदै छैन । मलाई भेट्दै नभेटी, मसँग कुरै नगरी मेरा बारेमा त्यस्ता चर्चा चल्छन् । भेटेपछि सबै कुरा स्पष्ट हुन्छ भन्ने मेरो भनाइ हो । मलाई लाग्छ, म अलि एकलकाँटे स्वभावको भएकाले त्यस्तो भ्रम चलेको हुनु पर्छ । कम्प्युनिकेसन ग्यापलाई कसरी घटाउने भन्ने कुरा मलाई थाहा छैन । भन्नेहरूले त मलाई मिडियामा पनि कम आउँछ भन्छन् । मलाई मिडियामा कसरी आउनुपर्छ भन्ने पनि थाहा छैन । आज पनि तपाईंले फोन गरेपछि मात्र हाम्रो भेट भएको हो । 

सामाजिक सञ्जालमा कक्तिको सत्रिय हुनुहुन्छ ? 

म त्यहाँ पनि सक्रिय छैन । शायद कम्युनिकेसन ग्याप हुने कारण त्यो पनि होला । म एक–डेढ महिनाको फरकमा फेसबुक चलाउँछु । 

किन त त्यस्तो ? 

कुनै बेला मैले फेसबुकमा घण्टौं बिताएको छु तर त्यसबाट मैले खासै उपलब्धि पाइन । केही उपलब्धि नभएपछि बिना काम त्यसरी घण्टौं बर्बाद गर्नु हुँदैन भन्ने लागेरै मैले फेसबुक चलाउन कम गरेको हुँ । फेसबुक चलाउने समयमा त म एउटा राम्रो पुस्तक पढ्न भ्याउँछु, एउटा राम्रो चलचित्र हेर्न भ्याउँछु, जसले मलाई धेरै कुरा सिकाइरहेको हुन्छ, धेरै कुराको ज्ञान दिइरहेको हुन्छ । 

कस्ता पुस्तक पढ्नु हुन्छ ? 

राम्रा समिक्षा पाएका पुस्तक खोजी–खोजी पढ्छु । कुमार नगरकोटी, नारायण वाग्ले आदि मलाइ मनपर्ने लेखक हुन् ।

मनपर्ने कलाकार ? 

मुकुन्द श्रेष्ठ, हरिहर शर्मा, सन्तोष पन्त, विपिन कार्की, सौगात मल्ल आदि । 

तपाईंका लागि अभिनय के हो ? 

अभिनय अर्थात कलाकारिता मेरो प्यासन हो । मेरो भित्रैदेखि आएको रुची र रहरको विषय हो । यसका लागि मैले ठूलो मूल्य चुकाएको छु । त्यसैले मलाई लाग्छ मेरो मेहनतको कदर हुनुपर्छ, मैले गरेको संघर्षको कदर हुनुपर्छ । 

१० वर्षपछि आफूलाई कहाँ पाउनु हुनेछ ? 

भविष्यका बारेमा त म कसरी भनौं, यद्यपि अबको दश वर्षपछि म एउटा परिपक्व कलाकारका रूपमा चलचिक्रवृत्तमै सत्रिय रहनेछु । 

चलचित्र निर्माण–निर्देशनको क्षेत्रमा आउने सम्भावना कत्तिको छ ? 

त्यो सम्भावना करिव–करिव शून्य छ । किनभने चलचित्र निर्माण गर्ने क्षमता ममा छैन । निर्देशकका रुपमा काम गर्ने प्रतिभा पनि ममा छैन । लेखनमा पनि म निकै कमजोर छु । 

अभिनयबाहेक तपाईंलाई मनपर्ने कुरा के हो ? 

म घुमफिरमा सौखिन छु । नेपालका प्रायः जिल्लाको भ्रमण गरेको छु । तराईदेखि हिमालसम्म घुमेर देशको कला, संस्कृतिलाई नजिकबाट नियालेको छु । 

अन्त्यमा, आफ्ना प्रशंसकहरूलाई होलीको के सन्देश दिन चाहनु हुन्छ ? 

मैले एऊटा मुक्तक रचना गरेको छु । यो मुत्तक नै मेरो तर्फबाट सबैलाई होलीको शुभकामना हो । 

अब तक जो हुवा उसे भुला देना है 

दुश्मनोंको भि दिल से दुवा देना है 

आ मेरे दोस्त, पहले गले लगजा 

फिर देखना है क्या लेना है, क्या देना है ।

 

प्रकाशित :चैत्र ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्