मुड होलीको कलाकार र होली 

- महेश तिमल्सिना

चैत्र ४, २०७५

होली अर्थात् रंगहरूको पर्व । फागु पूर्णिमाको दिन मनाइने यो पर्व सामान्य मानिसदेखि चर्चित सेलिब्रिटीहरूसम्मले उत्तिकै उत्साहका साथ मनाउँछन् । कतिपयले आफन्त, छिमेकी तथा साथीभाइहरू माझ होली मनाइरहेका हुन्छन् भने कतिपयले होली विशेष कार्यक्रमनै आयोजना गरेर उल्लासमय ढंगले होली मनाउँछन् । होलीलाई बर्सेनि उल्लासमय ढंगले मनाउने अभिनेत्री मध्येकी एक हुन्– करिश्मा मानन्धर । उनलाई सानैदेखि मनपर्ने पर्व हो– होली । करिश्मा होलीलाई साथीभाइबीच गेट टुगेदर गर्ने अवसरका रूपमा लिन्छिन् । त्यसो त उनी बर्सेनि आफ्नै घरमा आफन्त तथा साथीभाइहरूलाई बोलाएर सँगै होली मनाउँछिन् । यद्यपि उनी यसपालि भने होली नमनाउने पक्षमा छिन् । एसईई नजिकिँदै गएकाले परीक्षाको तयारी गर्नुपर्ने भएकाले होली नमनाउने निर्णय गरेको करिश्मा बताउँछिन् । 

यस्तै, विराटनगरमा जन्मिएकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पनि होली आफूलाई एकदमै मनपर्ने चाड भएको बताउँछिन् । ‘तराईमा हुर्किएकी हुनाले पनि होली मलाई एकदमै मनपर्छ ।’ दीपाश्री भन्छिन्, ‘हामी सानो हुँदा बुबाले हाँडीको मुस्लो तेलमा भिजाएर दिनुहुन्थ्यो, त्यो लगाएर होली खेल्न एकदमै रमाईलो लाग्थ्यो, तर नुहाउँदा भने बाह्र बज्थ्यो ।’ सानो हुँदा आफन्त तथा साथीभाइहरूसँग होली मनाउने दीपाश्री कलाकारितामा लागेपछि कलाकारहरूको घर–घरमा पुगेर होली खेल्न थालेको बताउँछिन् । यसरी साथीभाइहरूको घरमा पुगेर होली खेल्दा आत्मियता बढ्ने तथा सम्बन्धलाई नवीकरण गर्न पाइने निरौलाले बताइन् । 

हिन्दूहरूको यो चाड अभिनेता प्रदीप खड्का पनि रूचाउँछन् । उनी किशोरावस्थामा मामाघरसम्म पुगेर होली खेल्थे, तर अभिनेता भएपछि भने प्रदीप विभिन्न संघ–संस्थाले आयोजना गर्ने होली विशेष कार्यक्रममा व्यस्त हुन्छन् । दिउँसो यस्तै कार्यक्रमहरूमा व्यस्त भए पनि बेलुका साथीहरूसँग कतै बसेर रमाइलो गर्छन् । होलीको समयमा साथीभाइ भेटघाट गरेर खुसी साटासाट गर्न पाइने अनि रमाइलो गर्ने वातावरण पनि हुने भएकाले आफूलाई होली पर्व विशेष मन पर्ने खड्का बताउँछन् । गायक प्रकाश सपूतलाई पनि होली एकदमै मनपर्छ । उनी सानै उमेरदेखि होली खेल्थे । यद्यपि उनले बाल्यकालमा खेल्ने होली र अहिले खेल्ने होली फरक छ । उनी गाउँमा छँदा आफ्ना बाल्यावस्थाका साथीहरूसँग अबिर, हिलो तथामाटो दलेर रमाइलो गर्दै होली खेल्थे, कलेज पढ्दा सडकमा अबिरका प्याकेट बोकेर हिंड्थे, तर पछिल्लो स्टेज कार्यक्रमहरूमा व्यस्त हुने भएकाले त्यतै दर्शकहरूसँग होली मनाउँदै आएको सपूत बताउँछन् । रंगको होलीले आम मानिसमा सकारात्मक सोचको विकास गर्ने प्रकाशको बुझाइ छ ।

निर्माता तथा निर्देशक दिपेन्द्र के खनाल काठमाडौंको तुलनामा तराईमा खेलिने होली बढी रुचाउँछन् । उनले केही वर्ष पहिले इटहरीमा होली खेल्ने मौका पाएका थिए । त्यतिबेला एकदमै रमाइलो भएको उनी बताउँछन् । ‘तराईमा त रंगमात्र खेलिने हुँदा धेरै रमाईलो हुँदो रहेछ ।’ खनाल भन्छन्, ‘काठमाडौंमा होली खेलियो भने वातावरण नै प्रदूषित हुन्छ । त्यसैले मलाई काठमाडौंको होली खासै मनपर्दैन ।’ 

झापामा जन्मिएकी गायिका टीका प्रसाईं सानैदेखि विशेष रूपमा होली मनाउँदै आएकी छिन् । उनी प्रायः आफ्ना साथीहरूसँग होली मनाउँछिन् । अहिलेको तुलनामा स्कुले जीवनमा बढी होली खेलेको प्रसाईँ बताउँछिन् । प्रसाईं त्यति बेलाको सम्झना गर्दै भन्छिन्, ‘होलीको दिन स्कुल छुट्टी थियो, त्यो दिन दाइ–दिदीले घरमा भाङ धतुरो हालेर लड्डु बनाउनुभएको रहेछ, मैले खाएँ, त्यसपछि त म हाँसेको हाँस्यै भएछु ।’ यस्तै, अभिनेत्री शिल्पा पोखरेल आफूलाई दशैं तिहारभन्दा पनि होली पर्व रमाइलो लाग्ने बताउँछिन् । शिल्पा ‘होलीको दिन सुरुमा आफ्नो परिवारसँग रमाउँछिन् ।’ त्यसपछि आफ्ना नजिकका साथीहरूको घर–घरमा पुगेर रंग नलाएका साथीहरूलाई पनि रंग दल्दै हिँड्न रमाइलो लाग्छ ।’ पोखरेल भन्छिन्– होलीले एकअर्कामा आत्मियता बढाउँछ । आफूसँग मनमुटाब भएका साथीहरूलाई होलीको दिन ह्याप्पी होली भन्दै रंग दल्दा सम्बन्धमा सुधार आउने पोखरेलको बुझाइ छ । 

लोला खाँदा 

दीपशिखा खड्का, अभिनेत्री 

थुप्रै चाडपर्वहरू मध्ये होली मलाई मनपर्ने चाड हो । मलाई यो पर्व आफैंमा कलरफूल लाग्छ । जताततै रंगीन देखिनु यो पर्वको विशेषता हो । सामुहिक रुपमा खेलिने हुँदा यो पर्वले सद्भाव पनि बढाउँछ । विगतका वर्षहरूमा होलीसंगै थुप्रै विकृति भित्रिएका थिए । त्यस्तो विकृतिको शिकार म आफैं पनि भएकी छु । मैले जीवनमा धेरै पटक लोला खाएकी छु । लोलासँगै घरको छतबाट हानिएको फोहोर पानीले समेत निथ्रुक्क भिजेकी छु । 

पहिलो पटक लोला खाँदा म निकै सानी थिएँ । तीन–चार कक्षामा पढ्दा खाएको एउटा लोलाका कारण त मेरो कानबाट रगत नै बगेको थियो । त्यति बेला सानी भएकाले खासै प्रतिकार गर्न सकिन । अलि बुझ्ने भएपछि पनि लोला खान कम भएन । करिव चार वर्षअघिको होलीको दिन म स्कुटरमा कतै गैरहेकी थिएँ । केटाहरूको एउटा समूहले कौशीबाट हानेको लोलाले म झण्डै दुर्घटनामा परें । स्कुटर रोकेर सोझै लोला हानिएको ठाउँमा गएर केटाहरूलाई नराम्रोसँग झपारें । मेरो स्वभाव अन्याय सहेर बस्नु हुँदैन भन्ने खालको भएकाले मलाई ताकेर लोला हान्नेहरूले मेरो गाली खाए । 

पछिल्लो दुई–तीन वर्षयता भने होलीमा लोलाको शिकार हुनु परेको छैन । प्रशासनले जबर्जस्ती होली खेल्न मनाही गरेकाले अचेल होली शान्त नै देखिन्छ । यसपटकको होली मेरा लागि विशेष हुँदैछ । मैले आफैंले निर्माण गरेको चलचित्र ‘प्रेम लीला’ होलीको पर्सि पल्टदेखि प्रदर्शनमा आउने भएकाले होलीको दिन कलाकारहरूको समूहलाई लिएर केही टेलिभिजन स्टेशनको कार्यक्रममा सहभागि हुँदैछु । होली कार्यक्रममा सहभागी हुन मैले चलचित्रको शीर्षक अंकित टिसर्ट समेत तयार पारिसकेकी छु । 

होलीको के राम्रो के नराम्रो ?

 सुरक्षा पन्त, अभिनेत्री 

राम्रो

     नजिकका आफन्त एवं साथीहरूसँग भेटेर रमाइलो गर्न पाइन्छ । 

     रङले भावनालाई व्यक्त गर्छ । यो पर्वले रङको सम्मान गरेको राम्रो लाग्छ । 

     यो हामी हिन्दू धर्मावलम्बीहरूको मौलिक चाड हो । 

     होलीको अवसरमा सार्वजनिक हुने गीत–संगीत, होलीकै मौकामा हुने इभेन्ट । 

     छुट्टी हुने भएकाले पनि होली मनपर्छ ।

 

नराम्रा

     रमाइलोको नाममा आफू बसेको वातावरण फोहोर पारिन्छ । 

     स्वतन्त्र ढंगले हिड्न पाइँदैन ।

     राम्रो क्वालिटीको रङ नपर्दा छालालाई असर पर्छ । 

     मादकपदार्थ सेवन गरेर होहल्ला एवं झैझगडा गरिन्छ ।

     होली रमाइलोसँग मनाउनेभन्दा पनि सोसल मिडियामा तस्बिर पोष्ट गर्न जबर्जस्ती मनाउने चलन समेत छ । 

भाङ खाएपछि उफ्री–उफ्री नाचेछु 

नीता ढुंगाना, अभिनेत्री 

म लाई यो भाङ भन्ने चिज अचम्मको लाग्छ । म सानै थिएँ । शिवरात्रीको दिन हेटौंडाको शिव मन्दिरमा पूजा गर्न गएकी थिएँ । त्यहाँ भाङ मिसाइएको लड्डु बेच्न राखिएको रहेछ । मैले प्रसाद स्वरूप त्यो लड््डु खाएँ । त्यसमा भाङ मिसाइएको छ भन्ने मलाई थाहा थिएन । त्यो लड्डु खाएपछि म लट्टिएछु । त्यसपछि म कतिबेला घर पुगे भन्ने थाहा भएन । त्यसपछि घरमा गएर हाँसेको हास्यै गरेछु । घर पुगेपछि उफ्रिने, रुने, हास्ने गर्न थालेपछि बुबाममी पनि डराउनुभएछ । त्यसको केही समयपछि म सुतेछु । करिब १२ घण्टा सुतेपछि भाङको नशाले छोड्यो । त्यसपछि त बुबाममीको धेरै गाली खाएँ अनि साथीहरूले पनि मैले अघिल्लो दिन गरेको व्यवहार सम्झेर मलाई जिस्क्याउन थाले । त्यसपछि लाजले कतिदिन त घर बाहिरै निस्किन सकिनँ । 

यही क्रममा म काठमाडौं आएँ । यहाँ धेरै मानिससँग चिनजान हुन थाल्यो । नयाँ–नयाँ साथी पनि बन्न थाले । तीन वर्ष अघिको कुरा हो । म होली खेल्न चाबहिलस्थित एक जना साथीको घर गएकी थिएँ । त्यहाँ मलाई खानेकुरामा भाङ मिसाएर दिएछन् । म झुम्म भएछु । मलाई नाच्न एकदमै मन लाग्ने त्यसैले भाङ खाएपछि उफ्री–उफ्री नाचेछु अनि साना–साना कुराहरू देख्यो भने पनि त्यसैलाई सम्झेर धेरै हाँसेको अलि–अलि सम्झना छ । भाङ खाएपछि त त्यसको तालमा साथीहरूसँग होली खेल्न निकै रमाइलो भएको थियो । त्यतिमात्र होइन, जब मलाई भाङ लाग्दै गयो त्यसपछि कहिले कम्प्युटर चलाएको जस्तो गर्न थालेछु, अनि कहिले साथीहरूसँग हात मिलाउन जाँदो रहेछु अनि कहिले हातमा दिसा देख्दो रहेछु अनि रुँदै मेरो हातमा गु लाग्यो भनेर आफ्नो हात भित्तामा पुछ्दो रहेछु । यो कुरा मलाई केही पनि थाहा थिएन । भोलिपल्ट साथीहरूले तैले हिजो यसो गरिस् भनेर सुनाए पछि चाहिँ निकै हाँसो उठ्यो । भाङ खाएपछि भोक पनि अत्यधिक लाग्दो रहेछ । मुख सुक्खा हुने अनि केही खानेकुरा देख्यो भने पनि खान मन लागि हाल्ने, जति खाए पनि नअघाउने हुँदो रहेछ । अहिले चाहिँ तीन वर्ष भयो मैले भाङ खाएको छैन । 

२६ वर्षअघिको त्यो होली 

शिवशंकर रिजाल

जोगिन्दर पानवाला

२० ४९ सालमा होली मनाउने क्रममा कक्षा ९ मा अध्यनरत थिएँ । मधेशको होलीमा त्यसै पनि जाँड–रक्सी भन्दा पनि घोट्टा पिउने चलन हुन्छ । त्यस्तो चलन आजसम्मको मितिसम्म पनि जारी नै छ । घोट्टा बनाउन धेरै नै मेहनत गर्नुपर्छ । खाँटी शुद्ध  दूधबाट बनाइने घोट्टामा धतुरो हालिन्थ्यो । म किशोरावस्थामै थिएँ । आफूभन्दा ठूलाहरूले मुख मिठ्याइ–मिठ्याइ घोट्टा खाएको देखेर म पनि मनमनै लोभिइसकेको थिएँ । त्यसमाथि साथीभाइको  करकापमा परेपछि मेलै पनि एक गिलास घोट्टा तनतनी पिएँ । पहिलो पटक जिब्रोले घोट्टाको स्वाद चाखेकाले होला, एक गिलासले धित मरेन । मलाई त त्यो घोट्टा सरबतजस्तो लाग्यो, असाध्यै मिठो । त्यसैले अर्को एक गिलास थपें । त्यसले पनि नपुगेजस्तो भएर अर्को एक गिलास पनि थपें । 

असाध्यै स्वादिलो लागेर एकपछि अर्को गर्दै तीन गिलास खाएको एकै छिन पछि त त्यसले आफ्नो असर देखाउन थालिहाल्यो नि । मैले त्यतिबेला तीन लोक र चौध भुवन एकै ठाउँमा देखें । त्यसपछि मैले देखाएका हरकत पछि साथीहरूको मुखबाट सुनेपछि पो लाजले भुतुक्क भएँ । घोट्टा लागेपछि त म कराउन थालेछु, बरबराउन थालेछु, घरी रुने अनि घरी हाँस्ने गर्न थालेछु । त्यति गर्दा पनि म आफूलाई चाहिँ केही पनि थाहा थिएन ।

१३–१४ वर्षको छोरा पागलजस्तै बहुलाउन थालेपछि मेरा आमा–बुवा पनि आत्तिनु भएछ । डरले धामी–झाँक्री बोलाउने निर्णय गर्नु भएछ । छिमेकीहरूले 

‘तिम्रो छोराले घोट्टा खाएको छ’ भनेपछि आमाले अमिलो कागती र दही ख्वाउनु भएछ । त्यसले पनि काम गरेनछ । म त्यो होलीको दिनदेखि करिब तीन दिनसम्म अचेत भएर सुतेको सुत्यै भएँ । बुवाले त आफ्नो सानो छोरालाई घोट्टा ख्वाएको आरोपमा घोट्टा बनाउने विरुद्ध प्रहरीमा उजुरी नै दिनुभएछ । तीन दिनपछि म होसमा आएपछि मात्र त्यो उजुरी फिर्ता लिनु भएछ अनि गाउँलेहरूसँग माफीसमेत माग्नु भएछ । सबैभन्दा रोचक कुरा के भने मेरा आमा–बुवाले घोट्टा बनाउनेविरुद्ध प्रहरीमा उजुरी गरेपछि मेरा केही साथी भागेर १–२ वर्ष गाउँ नै फर्किएनन् । केही वर्षपछि मात्र उनीहरू गाउँ फर्किएर मलाई भेट्न आएका थिए । 

त्यो होली र घोट्टा म जीवनभरी बिर्सन सक्दिन । मलाई तीन दिनसम्म बेहोस बनाउने र मलाई घोट्टा खुवाउनेहरूको केही वर्षसम्म होस उडाउने त्यो होली र घोट्टा म कसरी बिर्सन सक्छु ? त्यो होलीपछि मैले आजका दिनसम्म घोट्टा खाएको छैन र भविष्यमा पनि खाने छैन साथै अरु कसैलाई पनि त्यस्तो नहोस् भन्ने कामना गर्छु–जय होली । विजयको प्रतीक होली खुसीसाथ शुभकामना आदान–प्रदान गरेर मनाऊँ, तर सोमरस र घोट्टा खाएर बबाल नमच्चाऊँ–जय भगवान् नरसिंह । 

प्रकाशित :चैत्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्