रंगको सांस्कृतिक महत्व 

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७५

होलीमा प्रयोग हुने रंगले हाम्रो मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ । होलीमा विशेषतः निलो, रातो, हरियो तथा पहेलो रंग प्रयोग गरिन्छ । हिन्दू मान्यताअनुसार हरेक रंगको आ–आफ्नै सांस्कृतिक महत्व छ । 

नीलो रंगः नीलो रंगलाई हिन्दू धर्मशास्त्रले धर्मयुद्धको रंगको प्रतीक मानेको छ । त्यसैले हिन्दु कथाहरूमा निलो वर्णका श्री विष्णुले अधर्मको नाश गर्न र धर्मको रक्षा गर्न हरेक युगमा अवतार लिदैं आएका छन् । लोकहितका निम्ति महादेव विषपान गरेर नीलो भएका थिए । निलो रंगलाई शक्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । 

रातो रंगः रातो रंगलाई हिन्दु मान्यताले शक्ति र सौभाग्यको सूचक मान्छ । हिन्दु नारीहरूको श्रृंगारमा रातो रंगले विशेष प्राथमिकता पाएको छ । रातो रंगलाई शुद्धता एवं पवित्रताको प्रतीकसमेत मानिन्छ । त्यसैले हरेक धार्मिक कार्यमा रातो रंग प्रयोग गरिन्छ । स्वच्छ, सफा र चित्तशुद्धीको प्रतीकका अतिरिक्त रातो रंग साहस र प्रेमको प्रतीक समेत हो । त्यसैले पनि होलीमा खेलिने रंगमा रातो रंगको प्रधानता हुन्छ । 

हरियो रंगः हिन्दु धर्मशास्त्रले हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मान्छ । यो रंगलाई जीवनशक्तिको आन्तरिक मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने स्वभावका हुन्छन् । उनीहरू आत्मविश्वासले भरिपूर्ण मानिन्छन् । 

पहेलो रंगः हिन्दू धर्मले पहेलो रंगलाई भक्ति र धर्म परायणताका रुपमा लिन्छ । यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् । यही कारणले फागु पर्वमा पहेलो रंगको प्रयोगलाई विशेष मानिएको छ । यो रंगको सम्बन्ध खुशी र हर्षसँग पनि छ । मनोविज्ञहरूका अनुसार पहेलो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्ने स्वभावका हुन्छन् । 

कालो रंगः कालो रंगलाई ईर्ष्या र स्वार्थसँग गाँसिएको छ । यो रंग अन्धकारको प्रतीक पनि हो । यो रंगको प्रयोग बिना अन्य रंगको कुनै अर्थ नहुने कुरा धर्मशास्त्रहरूमा उल्लेख छ । 

सेतो रंग : सेतो रंगलाई हिन्दु धर्मले शुद्धताको प्रतीक मान्छ । सेतो रंग बिना अरु रंगको अस्तित्वको कल्पना हिन्दु धर्मशास्त्रले गरेको छैन् । यो रंगमै अरु सबै रंग आफ्नो स्वभावअनुरुप खुल्छन् । चहकिलो सेतो रंगलाई सरसफाइ र शुद्धताको प्रतीकका रूपमा लिइन्छ ।

 

प्रकाशित :चैत्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्