होली अर्थात् फागुको महिमा 

- साप्ताहिक संवाददाता

चैत्र ४, २०७५

बसन्त ऋतुको प्रारम्भमा मनाइने फागु अर्थात् होलीको हिन्दु समाजमा आफ्नै किसिमको सांस्कृतिक महत्व छ । अन्य हिन्दू चाडको तुलनामा होलीलाई धार्मिकभन्दा पनि सांस्कृतिक चाडका रूपमा लिइन्छ । हिन्दु मान्यताअनुसार होलीलाई भगवान विष्णुका परमभक्त प्रल्हादसँग पनि जोडिएको छ । उक्त पौराणिक कथाअनुसार दैत्यराज हिरण्यकश्यपुका छोरा प्रल्हादले आफ्ना पिता हिरण्यकश्यपुलाई ईश्वर मान्न अस्वीकार गरेको परिप्रेक्ष्यमा हिरण्यकश्यपुले आफ्नी बहिनी होलिका (जसले आगोमा नडढ्ने बरदान पाएको भनिन्छ) मार्फत प्रल्हादलाई जलाएर मार्ने निर्णय गरेका थिए ।

त्यसैअनुरुप हिरण्यकश्यपुको आग्रहअनुसार होलिका आफ्ना भदा प्रल्हादलाई काखमा लिएर आगोमा बसेकी थिइन् तर, भैदियो उल्टो आगोले होलिकालाई बरदानका बाबजुद डढाइदियो भने प्रल्हादलाई केही भएन् । त्यही खुसीमा अहिले पनि होलीको अघिल्लो रात घर–घरमा, टोल–टोलमा होलिका दहनका रूपमा आगो बालिन्छ । भोलिपल्ट त्यही आगो निभेर बनेको खरानी उडाएर होली मनाइन्छ । होलीका बारेमा नारद पुराण तथा भविष्य पुराणमा पनि उल्लेख भएको पाइन्छ । 

श्रीकृष्ण र होली 

कथाअनुसार द्वापर युगमा बालक श्रीकृष्णलाई मार्न कंसले पठाएको पुतना नामक राक्षसलाई श्रीकृष्णले बध गरेपछि ब्रजका बासिन्दाहरूले पुतनाको शव जलाएर उल्लासमय वातावरणमा आपसमा रंग–अविर छरेर मनाएको खुसियालिको स्मरण स्वरूप पनि होली मनाइन्छ । 

जनकपुरको होली 

नेपालमा मनाइने स्थान विशेषका होलीमध्ये जनकपुरमा मनाइने होलीको आफ्नै सांस्कृतिक महत्व छ । होलीअघि जनकपुर क्षेत्रमा चल्ने १५ दिने मध्य मिथिला परिक्रमा सकिएपछि मात्र यो क्षेत्रमा होली मनाइन्छ । जनकपुरमा मनाइने होलीमा रंगको तुलनामा परिकारलाई विशेष महत्व दिइन्छ । होलीका अवसरमा जनकपुर क्षेत्रमा विझिन्न किसिमका हास्यव्यंग्यात्मक कार्यक्रमहरू समेत हुन्छन् । त्यस्ता हास्यव्यग्यं कार्यत्रममार्फत समाजका प्रतिष्ठित व्यक्तिहरूलाई मुर्खाधिराज, महामूर्खजस्ता उपाधिले विभूषित गरिन्छ । 

काठमाडौंको होली

होलीसँग सम्बन्धित आख्यानअनुसार काठमाडौंमा मनाइने होलीलाई सबैभन्दा लामो मानिन्छ । महाशिवरात्रीपछि काठमाडौंको बसन्तपुरमा विधिपूर्वक चीर ठड्याएर फागु पर्व सुरु भएको संकेत दिइन्छ । यो कथाअनुसार भक्तपुरको बाँसघारीबाट ल्याइएको बास र गुहेश्वरीको जंगलबाट ल्याइएको मयलको हागालाई विशेष पूजा गरी चीरका रूपमा ठड्याइन्छ । त्यसरी ठड्याइएको चीरमा रंगीचंगी कपडा बाँधिन्छ । उक्त चीर ठड्याइएपछि सबैभन्दा पहिले नेपाली सेनाको गुर्जुको पल्टनले चीरलाई सलामी दिन्छ । त्यसपछि असत्यमाथि सत्यको विजय हुने उद्घोष गर्दै फागु खेल्ने उर्दी जारी गरिन्छ । फागु पूर्णिमाका दिन उक्त चीर ढालेर टुँडिखेलमा दहन गर्ने परम्परा छ । 

काठमाडौंमा प्रचलित अर्को कथाअनुसार त्यतिबेलाको ठमेलमा बसेर काठमाडौं—ल्हासा व्यापार गर्ने सिंह सार्थबाहु नामक ब्यापारी एक पटक आफ्नो समूहका साथ तिब्बत पुगेका थिए । तिब्बतबाट फर्कने क्रममा व्यापारी सिंह सार्थबाहूका सबै साथी बाटोमै मारिए । सिंह सार्थबाहूमात्र सकुशल बाचेर फर्किएको खुसियालिमा सिन्दुर जात्रा गरी उनलाई घर भित्र्याइएको थियो । त्यही बेलादेखि काठमाडौंमा होली खेल्न थालिएको एकथरि इतिहासकारको दाबी छ । यसलाई स्थानीय भाषामा चकं द्य जात्रा समेत भनिन्छ ।

 

प्रकाशित :चैत्र ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्